+
+

मनोवैज्ञानिक सपोर्ट ‘१८१८’ बाट सेयर बजार फर्किएको हो ?

कमल नेपाल कमल नेपाल
२०८० कात्तिक २२ गते १८:५०

२२ कात्तिक, काठमाडौं । १८१८ सेयर लगानीकर्ताका लागि विशेष महत्वको विन्दु हो, किनभने यो विन्दु पछिल्लो ५२ हप्ताकै न्यून हो भने पटक–पटक मनोवैज्ञानिक सपोर्ट पाएको विन्दु हो । यसअघि १ जेठमा बजार १८१८ विन्दुसम्म नै झरेर ७ साउनमा २२२७ विन्दुसम्म पुग्यो ।

तर, २२२७ भन्दा माथि जान नसकेपछि ओर्लिएको बजार गत आइतबार इन्ट्राडेमा १८१८ विन्दुमै झर्दा लगानीकर्ताले खरिद बढाए, जसले गर्दा सोही दिन बजार बन्द हुँदा नेप्से १८२६ विन्दुमा बन्द भयो ।

सोमबार २१.३०, मंगलबार ११.२२ र बुधबार ५.१७ अंक बढेपछि परिसूचक अहिले १८६३ विन्दुमा छ । १८१८ विन्दुमा बजारले पटक पटक सपोर्ट पाएकै कारण यो विन्दुलाई केही लगानीकर्ताले ‘डिमान्ड जोन’ भनेर व्याख्या गर्छन् भने कतिपयले सपोर्ट विन्दु भन्ने गरेका छन् ।

सपोर्ट विन्दुमै टेकेर बजार तीन दिन लगातार बढेकाले लगानीकर्तामा जिज्ञासा छ – के बजारले फेरि १८१८ को न्यूनतम विन्दुबाट सपोर्ट पाएको हो ?, अब फेरि २२ सय पुग्ला ? सेयर बजारबारे प्राविधिक रुपमा विश्लेषण गर्दै आएका जानकारहरु विगतको ट्रेन्डलाई हेरेर आगामी दिनको अंक बताउन नसकिने तर बजारमा आउने सम्भावित डिमान्ड र सप्लाई मात्रै आँकलन मात्रै गर्न सकिने बताउँछन् ।

‘१८१८ विन्दु डिमान्ड जोन हो, त्यहाँ विगतमा केही डिमान्ड देखिएकै कारण बजार तल झर्न सकेन, आइतबार पनि त्यस्तै देखियो, तर भोलि त्योभन्दा तल झर्दैन भन्ने निश्चितता हुँदैन,’ धितोपत्र बजारका जानकार रामहरि नेपालले भने, ‘दुई दिन बढ्दैमा बजार बढेर जान्छ भन्ने हुँदैन, भोलिका दिनमा आउने सप्लाईलाई खरिदकर्ताले कति पचाउन सक्छन् भन्नेमा भर पर्छ ।’ विगतमा पनि केही दिन बजार बढेर घट्ने गरेका उदाहरण प्रशस्त छन् ।

यद्यपि १८१८ विन्दुमा हालसम्म डिमान्ड पक्ष बलियो रहँदै आएकाले लगानीकर्तामा सकारात्मक मनोभाव बढ्दा बजारले सो अनुसारको प्रतिक्रिया जनाउने गरेको उनको भनाइ छ । १८१८ विन्दु लगानीकर्ताका लागि मात्रै नभई छोटो समयका लागि कारोबार गर्नेहरुका लागि खरिद गर्ने अवसर विगतमा बनेको छ । १८१८ नजिक आउँदा खरिद गरेर २२ सय नजिक पुग्दा बेचेर कारोबारीले पनि नाफा कमाएको देखिन्छ । यसले गर्दा हालसम्म १८१८ को सपोर्ट विन्दु बलियो बनेको छ । तर, आगामी दिनमा तय हुने ब्याजदरले पनि बजारलाई धेरै हदसम्म प्रभाव पार्ने देखिन्छ ।

सोमबार मात्रै नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले आगामी दिनहरुमा ब्याजदर क्रमिक रुपमा घट्दै जाने बताए । सो कार्यक्रममा उनले हालको निष्क्रिय कर्जा पनि बैंकहरुले घटाउँदै जाने बताए । उनले भनेजसरी बैंकहरुले मंसिरमा ब्याजदर घटाएमा यसले बजार बढ्न टेवा पुग्ने जानकार बताउँछन् ।

जय शम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अजय सिंह थापा निष्क्रिय कर्जा बढ्नुले पनि बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब रहेको बताउँछन् । ‘ब्याजदर उच्च दरले बढेका कारण पनि बैंकहरुको निष्क्रिय कर्जा बढेको हो, अब बैंकहरुले यो कर्जा उठाउनका लागि पनि ब्याजदर घटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘मौद्रिक नीतिको आगामी समीक्षाले पनि ब्याजदर घटाउनलाई दबाब पुग्छ भन्नेमा ढुक्क छौं ।’ कात्तिक महिनाभित्र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दैछ ।

त्यस्तै मौद्रिक समीक्षामार्फत सेयर धितोको भारित जोखिम १५० प्रतिशतलाई केही घटाउन सक्ने लगानीकर्ताको अनुमान छ । हाल नेपाल राष्ट्र बैंकले उच्च मुद्रास्फीतिले कसिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ ।

तर, गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय नेपालको कारण मात्रै नभई बाह्य कारणले मुद्रास्फीति बढेको बताइरहेका छन् । यही साता ल्याउन लागिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाउन सक्ने आशा गर्न सकिन्छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ यही साता मौद्रिक नीतिको प्रथम त्रैमसिक समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको बताउँछन् ।

गत साता नेपाल आर्थिक पत्रकार संघ (नाफिजको) १५ औं वार्षिकोत्सवमा गभर्नर अधिकारीले निक्षेपको भारित औसत ब्याजदर मुद्रास्फीतिभन्दा तल रहँदा वास्तविक ब्याजदर नेगेटिभ रहेको बताएका थिए । यसले राष्ट्र बैंकले कर्जाको माग बढाउन कर्जाको जोखिम भार बढाउने लगायतका नीति लिन सक्ने भएपनि नीतिगत ब्याजदर धेरै घटाउने पक्षमा भने गभर्नर अधिकारी नरहेको बुझ्न सकिन्छ ।

‘मौद्रिक नीति समीक्षाले सेयर धितोमा व्यक्तिले पाउने अधिकतम १५ करोडको हालको कर्जा सीमालाई नचलाए पनि, जोखिमभारलाई १५० बाट केही घटाउने विश्वास छ,’ नेपालले भने, ‘त्यसो भएमा बजार बढ्न टेवा पुग्नेछ ।’

अर्कोतर्फ अहिले धेरै बैंकहरुको निक्षेपमा कर्जा अनुपात (सीडी) रेसियो पनि घटेको छ, यसले गर्दा मंसिरमै ब्याजदर घट्ने उनको भनाइ छ । सीडी रेसियो घट्नुले बैंकहरुमा लगानीयोग्य रकम थपिनु जनाउँछ ।

गत वर्षको असोज मसान्तमा यस्तो अनुपात ८७.१५ प्रतिशत थियो भने यो वर्षको असोज मसान्तसम्म ८२ प्रतिशतमा झरेको छ । ९० को सीमानजिक हुनु भनेको थप लगानीको लागि असहज अवस्था हुनु हो । दशैं र तिहारको लागि बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप तिहारपछि क्रमश बैंकिङ प्रणालीमा आउने र रेमिट्यान्स पनि उल्लेख्य रुपमा बढेकोले बैंकिङ प्रणालीमा निक्षेप बढ्ने अपेक्षा गर्न सकिन्छ ।

बैंकहरुले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती अधिकतम ११ प्रतिशत ब्याज दिँदै आएका छन्, मंसिरका लागि बैंकहरुले कात्तिक मसान्तसम्म नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्दछ । तसर्थ बैंकहरुले ब्याजदर घटाएमा सेयर बजार राम्रोसँग बढ्न जाने थापाको दाबी छ । तर, वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत एकल अंकमा झरिसकेकोले छ ।

यद्यपि बजार १८१८ भन्दा तल आउँदैन भनेर दाबी गर्न नसकिने उनले बताए । ‘बजार १८१८ को सपोर्टविन्दुबाट तल झर्दैन भनेर ठोकुवा गर्न त मिलेन, तर अब बजार माथि जानेमा म आशावादी छु, हाम्रो इन्भेस्टमेन्ट कम्पनीले पनि सो अनुसार खरिद रणनीति बनाइरहेको छ,’ थापाले भने।

फियर जोनबाट अझै उठेको छैन नेप्से

लगानीकर्ताको मनोविज्ञान जनाउने फियर एन्ड ग्रीड मिटरअनुसार नेप्से परिसूचक यतिबेला ‘फियर जोन’मा छ । ३ दिन केही अंक बढेपनि नेप्से ‘फियर जोन’बाट माथि उक्लन अरु केही दिन बढ्नुपर्दछ । थोरै दिनको वृद्धि क्षणिक पनि हुन सक्ने भएकाले जोनलाई प्रभाव पार्न सक्दैन । तसर्थ बजार टिक्नेमा यो मिटरले अझै सुनिश्चितता नरहेको जनाउँछ ।

फियर जोनले लगानीकर्ता सेयरमा थप लगानी गर्न र होल्ड गर्न डराएको अवस्थालाई जनाउँछ । समग्र नेप्से फियर जोनमा रहे पनि केही क्षेत्रमा सकारात्मक प्रभाव देखिइसकेको छ । होटल तथा पर्यटन ग्रिड जोनमा पुगिसकेको छ । होटल तथा पर्यटन समूहमा लगानीकर्ता सकारात्मक देखिएको यो जोनले प्रस्ट पार्छ । लगानी उपसमूह न्युट्रल जोनमा छ भने अन्य उपसमूह न्युट्रलबाट ग्रिड जोनमा प्रवेश गर्दैछ । ती बाहेकका उपसमूह ‘एक्स्ट्रिम फियर’ र ‘फियर’ जोनमा छन् ।

आरएसआई सूचकका आधारमा नेप्से परिसूचक बुधबार ४१ मा छ । नेप्से १८१८ मा हुँदा आरएसआई ३० सम्म झरेको थियो । होटल तथा पर्यटन उपसमूहको आरएसआई ५०, अन्यको ५३ देखिन्छ भने विकास बैंक, फाइनान्स, उत्पादन, बैंकिङ उपसमूहको ५० भन्दा तल छ ।

आरएसआई ३० भन्दा तल रहेको अवस्थाले सेयरको मूल्य ‘अन्डरभ्यालुड’ जनाउँछ, त्यतिबेला ‘ओभरसोल्ड’ भएको मानिन्छ । आरएसआई ३० भन्दा तल झर्नुले सेयर किन्नुपर्ने बेलालाई जनाउँछ । ५० को आरएसआईलाई न्युट्रल मानिन्छ भने ७० भन्दा माथि पुगेपछि ‘ओभरबाउट’ भइसकेको र बेच्नुपर्ने संकेत मानिन्छ । बोलिंगर ब्यान्डअनुसार नेप्सेको क्यान्डिलस्टिकले तल्लो (डेभिएसन) रेखा छोएर मध्यम रेखा छुन खोजेको छ, मध्यम रेखा नाघेपछि मात्रै सेयर खरिदका लागि उपयुक्त हुने यो संकेतले देखाउँछ । नेप्सेको क्यान्डिलस्टिकसँगसँगै अरु धेरै सूचकहरु चल्ने भएकाले विगतका सूचकहरुकै आधारमा आगामी दिनको बजार भन्न नसकिने विश्लेषकहरु नै स्वीकार्छन् । तर विगतका सूचकरुले नेप्सेको स्थितिबारे जानकारी दिने भएकाले सूचकहरु पर्याप्त केलाउनुपर्नेमा उनीहरुको जोड छ ।

नेप्सेभन्दा पनि कम्पनीको विश्लेषण गर्नुपर्छ : जानकारहरु

सेयर लगानीकर्ताले बजारको सूचकहरुभन्दा पनि आफ्ना कम्पनीहरुलाई बढी जोड दिनुपर्ने र राम्रा कम्पनीको सेयर थप्ने बेला भएको विश्लेषकहरुको टिप्पणी छ । परिसूचक घट्दा पनि कतिपय राम्रा कम्पनीहरुको मूल्य धेरै नघटेको र परिसूचक बढ्दा ती कम्पनीको मूल्य पनि बढ्ने भएकाले यस्ता कम्पनीमा लगानीकर्ता केन्द्रित हुनुपर्ने जानकार बताउँछन् ।

अहिले वित्तीय स्थिति बलियो बन्दै गएका कम्पनीमा थप लगानी गर्न सकिने थापा बताउँछन् । अहिले किन्नेलाई भन्दा बेच्नेलाई धेरै जोखिम रहेको र बेच्नेलाई भन्दा किन्नेलाई लाभ सम्भावना बढी रहेको उनले बताए । बजार बढ्दा खराब कम्पनीहरुको मूल्य पनि बढ्ने भएकाले त्यस्ता कम्पनीमा लगानीकर्ता सधैं सजग रहनुपर्ने उनी बताउँछन् ।

त्यस्तै छोटो अवधिका लागि कारोबार गर्नेहरु र केही लामो अवधिका लागि लगानी गर्नेका लागि पनि अहिले उपयुक्त समय रहेको नेपाल बताउँछन् । ‘कतिपयलाई बजार १८ सयमा आउँदा पनि अझै घट्छ जस्तो लागेको हुन सक्छ, बजार घटेका बेला बढ्दैन भन्ने भावना विकास हुन्छ,’ उनले भने, ‘तर, बजारले कतिबेला युटर्न गर्छ भन्ने विषय थाहा नै हुँदैन ।’

राम्रा कम्पनीहरु यतिबेला थप गरेर एभरेजिङ गर्ने बेला पनि भएको उनले बताए । ‘तर एभरेजिङ गरेपछि केही घट्न गएमा पनि लामो अवधिका लागि लगानी गरेकाहरु आत्तिनुहुँदैन’ नेपालले भने ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?