+
+

तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १४:२१

२३ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गरेका हुन् । ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि तिब्बत सरकारले ५ करोड रुपैयाँ सहयोग दिने भन्नु भएको छ’, सापकोटाले भने ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले प्रचण्डसँगको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको सल्लााहकार सापकोटाले जानकारी दिए ।

यस्तै भेटका क्रममा संघीय मामिला मन्त्रालयसँग सन् २०२४ देखि ०२८ सम्म नेपालको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्नका लागि २० मिलियन आरएम्बी (२६ करोड ४५ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने बारे एमओयू गर्ने विषयमा छलफल भएको छ । वाङको नेपाल भ्रमणकै क्रममा मन्त्रालयसँग यस विषयमा एमओयू हुने छ ।

डिसेम्बर १३ बाट केरला नाका सञ्चालनमा ल्याउने र परम्परागत नाकाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिए ।

सीपीसीका नेता वाङले तिब्बतको ल्हासा विमानस्थल पूननिर्माणको काम सम्पन्न भइसकेको भन्दै छिट्टै नेपाल र ल्हासाबीच पुनः हवाई सञ्चालन गर्ने बताएका छन् ।

यससँगै चिनियाँ राष्टङपति सी चिनफिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका सहमति र सम्झैतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि भेटमा छलफल भएको छ ।

प्रचण्डले उक्त सम्झौता कार्यान्वयनमा लैजानका लागि चिनियाँ पक्षले देखाएको सक्रियताका लागी सीपीसी नेतालाई धन्यवाद व्यक्त गरेका छन् । वाङले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?