+
+

इजरायलका पूर्वप्रधानमन्त्री भन्छन् : हमासलाई बलियो बनाएर नेतान्याहु प्यालेस्टाइनीहरुमाथि दमन गर्न चाहन्थे

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:००

एजेन्सी । हमासलाइ लक्षित गर्दै इजरायलले आफ्नो भीषण कारबाही जारी राखेको छ । मानवीय सहायताका लागि अल्पकालीन युद्धविरामको आग्रह हुँदा पनि जारी रहेको भीषण कारबाहीको अवस्थामा शान्ति कल्पना बाहिर छ ।

गाजामा ज्यान गुमाउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म १० हजार ५ सय भन्दा बढीको ज्यान गएको राष्ट्रसंघको तथ्यांक छ । यस हिंसाले इजरायलको नैतिक र राजनीतिक परिस्थितिलाइ पंगु बनाइरहेको परिस्थिति छ । उता प्यालेस्टाइनहरु आवासको पहुँचबाट बाहिरै रहने परिस्थितिको निर्माण भइरहेको छ ।

भीषण युद्ध जारी रहेको समयमा इजरायलका पूर्व प्रधानमन्त्री नयाँ शिराबाट शान्ति प्रक्रियालाइ पुर्नजिवित बनाउनुपर्ने बताउँछन् । इजरायलका पूर्व प्रधानमन्त्री येहुद बाराकले अहिले पनि दुइ राज्य नै समस्या समाधानको दीर्घकालीन उपाय रहेको बताउँछन् ।

बाराक उनै व्यक्ति हुन् जसले सन् २००० मै वेस्ट बैंकको ९७ प्रतिशत भूभाग, सम्पूर्ण गाजा र पूर्वी जेरुसेलमका केही भूभाग समेटेर प्यालेस्टाइन राज्य बनाउने प्रस्ताव राखेका थिए ।

अहिले पनि प्यालेस्टाइनको न्यायका लागि भन्दा पनि इजरायलको सुरक्षा, भविष्य र पहिचान सुरक्षितका लागि यो नै एक विकल्प रहेको उनको विचार छ ।

तर इजरायली सेनाले एक राज्यको नीतिबाट पछि नहट्ने बताइसकेको छ। यस्तो अवस्थामा  युद्धको अन्त्य कसरी होला? नेतान्याहूको राजनीतिक भविष्य कस्तो होला र इजरायल र प्यालेस्टाइन द्वन्द्वको दीर्घकालीन समस्याको समाधान के हुनसक्छ ?

यिनै प्रश्नको सेरोफेरोमा  इजरायलका पूर्व प्रधानमन्त्री बाराकसँग टाइम म्यागेजिनले गरेको अन्तर्वार्ताको अनुवाद:

हमासले हमला गरेको जानकारी पाउँदा तपाइँको पहिलो प्रतिक्रिया कस्तो थियो ?

इजरायल राज्यको स्थापनापछि यस मुलुकका लागि यो पहिलो गम्भीर झट्का थियो । यहुदीहरु चयनसँग सुत्न पाउन् भन्ने उद्देश्यले पृथ्वीमा इजरायलको स्थापना भयो । शान्तसँग बसिरहेको अवस्थामा एक्कासी बालबालिका, गर्भवती महिला तथा निहत्था नागरिकमाथि बर्बरतापूर्ण हमला भएको थियो ।

मेरो पुस्ताले सन् १९७३ मा यस्तै त्रासदी व्यहोरेको थियो । त्यसबेला हामी जवानै भइसकेका थियौँ । अहिले निकै नै कान्छो पुस्ताले क्रुरतापूर्ण आक्रमण व्यहोर्‍यो । इजरायल  र यहुदीहरुको सुरक्षामा अबको पुस्ताले सोच्ने विषय यो हमलाले तय गरिसकेको छ ।

हमासले यो हमला किन गर्‍यो, यसबारे के सोच्नुभएको छ ?

उनीहरुले एक महिना अघि वा दुई महिनापछि नै हमला गर्न सक्थे । नेतान्याहूले प्यालेस्टाइनको मुद्दा नटुंग्याएरै पनि त्रिपक्षीय सम्झोतामार्फत शान्ति कायम गर्न सकिन्छ भन्ने सोचेका थिए । त्यसतर्फ नै उनी ढिपी कसेर लागेका थिए । अक्टोबर ७ मा हमला गर्नुको तात्पर्य अमेरिका, साउदी अरब र इजरायलबीच हुन लागेको त्रिपक्षीय सम्झौतामा भाँजो हाल्नु हो ।

इजरायल कहाँ चुक्यो उसको तयारी किन कमजोर देखियो ?

हमासको यस हमला सफल हुनुमो हाम्रो जासुसी संयन्त्रको निकै ठूलो कजमोरी छ । कम्तिमा पनि उनीहरुले सरकारलाइ केही पूर्व सन्देश दिएर सजग राख्नुपर्थ्यो । हमासले यो आक्रमण एक्कासी  गरेकै होइन ।

यसका निम्ति उसले वर्षौँ देखि योजना बनाएको थियो । त्यसबारे थाहै नपाउनु निकै ठूलो कमजोरी हो । यसका सम्पूर्ण पाटा अनुसन्धानपछि खुल्दै जालान् । तर म विश्वस्त छु यो हाम्रो जासुसी संयन्त्रको ठूलो असफलता हो । सबै तह र तप्कामा हाम्रा जासुसी संयन्त्र असफल भए ।

इजरायलका पूर्व प्रधानमन्त्री येहुद बाराक

यस घटनाप्रति नेतान्याहूले कति जिम्मेवारी लिनुपर्छ ?

नेतान्याहूतर्फ प्रश्न गर्दा मानिसहरु जासुसी संयन्त्रको असफलताप्रति प्रश्न उठाउन विर्सिन्छन् । जासुसी संयन्त्रले पूर्व चेतावनी दिएर उनले वेवास्ता गरेको स्थितिमा यसको सम्पूर्ण जिम्मेवारी नेतान्याहूले लिनैपर्थ्यो र राज्यका कुनैपनि निकायलाई हमासको हमलाको कुनै सुचना प्राप्त थिएन ।

घटनाको सम्पूर्ण रुपमा उनी जिम्मेवार नरहे पनि केही हदसम्म उनी जिम्मेवारनै छन् । पाँच वर्षसम्म उनले हमासलाइ सम्पत्ति र प्यालेस्टाइन अधिकारीलाइ दायित्वका रुपमा लिए । दुइ राज्यको विपक्षमा रहेका हर कोहीले पनि हमासप्रतिको आफ्नो नीतिलाइ समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

कतारले हमासलाइ १ अर्ब ५० करोड डलर दिँदासम्म पनि उनले हमासकै समर्थन गरिबसे । कतारको सहयोग रकम मध्ये आधा रकम हमासले आफ्नो सैन्यबललाइ बलियो बनाउन खर्चेको थियो । यही कारणले नै इजरायलको शान्तिमा खलल पुगेको हो । हमासलाइ बलियो बनाएर प्यालेस्टाइन जनतामाथि नेतान्याहू दमन गर्न चाहान्थे ।

यदि नेतान्याहूको दृष्टीकोण एक राज्य हो र दुइ राज्यको अवधारणा होइन भने हमासलाइ सहयोग गर्नुपर्ने आवश्यकतानै किन थियो त ? हमासलाइ सहयोग गरेर उनले अमेरिकी र युरोपियनलाइ अलमल्याउन चाहेका थिए । उनीहरुले प्यालेस्टाइनसँग सम्झौता नगरेको विषयमा प्रश्न गर्दा, प्यालेस्टाइनले गाजाका आधा जनतालाइ शासित गर्दैन ।

यस्तो अवस्थामा ऊसँग कसरी सम्झौता गर्ने भनेर टार्नका निम्ति उनले यो नीति लिएका थिए । हमासलाइ आतंककारी भनिसकेकाले कोही पनि हमाससँग सम्झौता गर्न चाहन्नथे । यो परिस्थितिमा नेतान्याहूले खेल खेलेका हुन् । त्यसैले उनी यस घटनाप्रति जिम्मेवार छन् ।

गाजा निहत्था नागरिकको मृत्यु बढेसँगै अन्तर्राष्ट्रिय समुदायबाट इजरायलले आलोचना व्यहोरिरहेको छ। हमासले गाजा क्षेत्रमा सुरुङ निर्माण गरेर त्यहाँ बसेकाले पनि इजरायलाइ कठिनाइ भइरहेको छ । के इजरायलले निहत्था नागरिकलाइ असर नपुर्‍याइकन आफ्नो सैन्य गतिविधि गर्नसक्छ ?

विना कुनै क्षती सैन्य कारबाही संभव छैन । हालको क्षतीलाई न्युनीकरणको पहल भने गर्न सकिन्छ । आक्रमणपूर्व यथेष्ट चेतावनी दिएर कारबाही अघि बढाउने काम त भइरहेका छन् । रेडियो, टेलिभिजन लगायतका माध्यबाट सुचना प्रवाह गर्दै सुरक्षित हुन निहत्था नागरिकलाइ चेतावनी दिइन्छ ।

गाजाबाट १०  लाख मानिस सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ । हालसम्म  ८ लाख मानिस गएका छन् । जान खोजेका कतिपय अवस्थामा हमासले रोकेका छन् । आफु बच्नका लागि नागरिकमाथि उसले बलपुर्वक अत्याचार गरेको छ । हमासमा कुनैपनि बहाना छोडिनुहुन्न ।

यो युद्धको राजनीतिक परिणाम के होला ?

यस्तो राजनीतिक परिणाम अनुमान गर्न सकिँदैन । यो युद्धको चार जटिलता छन् ।  पहिलो हमासले बन्दी बनाएकाहरुलाइ रिहा गर्नुपर्‍यो । दोस्रो हिज्जबुल्लालाई सक्रिय हुन दिनुभएन । तेस्रो जटिलता अन्तर्राष्ट्रिय कानुन पनि छ र चौथो जटिलता बनेको इरानले पश्चिम इरान र सिरियामा छोडेका सशस्त्र समुह पनि हाम्रा लागि खतरा छन् ।

हामी अन्तर्राष्ट्रिय कानुनमा प्रतिबद्ध छौँ । अहिले हामीले वृहत समर्थन प्राप्त गरे पनि विस्तारै हाम्रो साथ छोड्नेछन् भन्नेमा हामी जानकार नै छौँ । हामीसँग अमेरिकीहरु केही समयका लागि नजिक भएपनि वा समर्थन दिएपनि अनन्तकालसम्म अमेरिकाले हामीलाइ नै समर्थन गर्नेछ भन्ने निश्चित हुँदैन ।

केहीले इजरायली र अमेरिकनले त्यहाँ शान्ति कायमका लागि र प्यालेस्टाइन अधिकारीले गाजामा नियन्त्रण नलिँदासम्म अरब नेतृत्वको अन्तर्राष्ट्रिय शान्ति सेना खटाउने प्रस्ताव पनि गरेका छन् । के हो संभव छ ?

१५ वर्षअघि म रक्षामन्त्री हुँदा पनि हमाससँग भिडन्त भएको थियो । तर इजिप्टमा गएर वार्ता गरेसँगै दुइ वर्षको लागि युद्ध साम्य भएको थियो । त्यसबखत पनि हमासलाइ सखाप किन नपार्ने भन्ने प्रश्न उब्जिएका थिए । मैले इजिप्टका राष्ट्रपति होस्नी मुबारकसँग भनेको थिएँ यदि कोही गाजामा शासन गर्न तयार छ भने अर्को पटक फेरी भीडन्त भएमा हामी हमासलाइ समाप्त पार्नेछौँ ।

के अरब राष्ट्रहरु गाजाको जिम्मेवारी लिन तयार छन् त ? स्थिति साम्य पारेर गाजा प्यालेस्टाइन अधिकारीको अधिनमा सुम्पिन सक्छन् त? मेरो प्रश्नको जवाफमा उनले भनेका थिए- ‘गाजा अब तिमीहरुकै मामिला भयो इजिप्टले यसमा हात हाल्दैन । यही प्रश्न मैले अब्बु मजेनसँग गर्दा पनि त्यहाँ हात नहाल्ने बताए । मलाइ उनीहरुको उत्तर त चित्तबुझ्दो लागेको थिएन । उनीहरुको बाध्यता भने मैले बुझेको थिएँ

यस हमलामा इरानको कुन हदसम्मको संलग्नता हुनसक्छ ?

इरान नै हमासको प्रेरणाको श्रोत हो । उसले हमासलाइ वित्तीय, यान्त्रिक, प्राविधिक देखि तालिमसम्म उपलब्ध गराएको छ । यस हमलाका लागि हमासले इरानसँग स्वीकृति लियो भन्ने त मलाइ लाग्दैन। इरानमा अमेरिकी र इजरायली जासुसी संयन्त्रको प्रभावकारी उपस्थितिका कारण उनीहरुले त्यहाँ कुनै छलफल नै गरेनन् ।

के नेतान्याहूले यसको परिणाम थेग्न सक्लान् ?

नेतान्याहूले जनविश्वास गुमाइसके । यस्तो अवस्थामा अन्यत्र प्रधानमन्त्रीले राजीनामा दिने गर्छन् । तर इजरायलमा यो अवस्था सामान्य नै हो । उनले राजीनामा दिन अस्वीकार गरेपनि जनताले उनलाइ बाध्य बनाउनेछन् । यो इजरायलले निर्मम सत्य हो ।

सन् १९७३ मा गोल्डा मेयर जनदबाबकै कारण सत्ताबाट बाहिरिनुपरेको थियो । सन् १९८२ मा मेनाचेम बेगिनले पनि राजनीनामा दिनुपरेको थियो । इहुद अल्बर्टले पनि जनदबाबकै कारण सत्ता छाडेका थिए । नेतान्याहूले इतिहास राम्रोसँग बुझेका छन् । राज्यसत्ता र जनताको संघर्षमा कुनै पनि प्रधानमन्त्रीले जितेका छैनन् । यो घटनाको जिम्मेवार नेतान्याहु नै रहेको धेरैको मानसिकतामा परेकाले उनलाइ झनै कठिनाइ आइपर्न सक्छ ।

उनले हालसालै युद्धकालीन एकता क्याबिनेट गठन गरेका छन् । यसको मतलब के उनी युद्ध अन्त्य नहुन्जेलसम्मका लागि सत्तामा बस्नेछन्?

सर्वेक्षणहरुमा ८० प्रतिशतले घटनामा नेतान्याहु नै जिम्मेवार रहेको बताएका छन् । ७० प्रतिशतले उनले राजीनामा दिनुपर्ने बताएका छन् । ती मध्ये आधाले नेतान्याहूले तत्कालै सरकार छोड्नुपर्ने बताएका छन् भने आधाले युद्ध सकिएपछि राजीनामा दिनुपर्ने बताएका छन् ।

त्यसो भए युद्ध लम्बिएमा अवस्थामा सरकारलाइ स्थिर राख्नका निम्ति इजरायली जनताले उनको समर्थन गर्छन्?

अवचेतन रुपमा यो कुरा सही हुनसक्छ । सचेत अवस्थामा भने धेरैले यसलाइ अस्वीकार गर्छन् । उनले युद्ध अन्त्य अगावै सत्ता छोड्नुपर्ने पनि हुनसक्छ । यो कुरा नितान्त जनताको हातमा छ ।

दुइ राज्यको अवधारणाको वकालन गर्ने सबैभन्दा प्रखर व्यक्ति तपाइँनै हो । यो घटनापछि पनि के त्यसले समाधान दिन्छ भन्ने तपाइँलाइ लागेको छ ?

जस्तोसुकै जटिल र कठिन परिस्थितिमा पनि उद्देश्यबाट अविचलित हुन हुँदैन । इजरायलको दीर्घकालीन हितका निम्ति दुइ राज्यनै उपयुक्त छ । दुइ राज्यको अवधारणालाइ हेर्ने दृष्टीकोण परिवर्तन गर्नुपर्छ । यसको कार्यान्वयन प्यालेस्टाइनको  न्यायका निम्ति होइन, इजरायलको दीर्घकालीन शान्ति, उज्जवल भविष्य र पृथक पहिचानका लागि आवश्यक मात्रै होइन अत्यावश्क छ ।

यदि भुमध्यसागर र जोर्डन नदीकोबीचमा एकमात्रै राजनीतिक इकाइले शासन गर्थ्यो भने यसलाइ यहुदी वा लोकतन्त्र विरोधी भनिन्थ्यो । यदि यो प्रस्तावमा लाखौँ प्यालेस्टाइनले मतदान गरेभने इजरायल रातारात बहुल राज्य भन्छ । मुस्लिम बहुमत सहितको बहुल राज्य यहुदीहरुको सपना होइन । यदि प्यालेस्टाइनले मतदान गर्न पाएनन भने त्यो लोकतन्त्र होइन । तर वर्तमान सरकार र बहुमत इजरायलीहरु एक राष्ट्रको पक्षमा छन् यो निकै खराब विकल्प हो ।.

अक्टोबर ७ को आक्रमणपछि कठोर बनेका दक्षिणपन्थी गठबन्धन र इजरायली जनतालाइ दुइ राज्यको विकल्पमा कसरी मनाउन सक्नुहुन्छ ?

तत्काल हामीले युद्धमा ध्यान केन्द्रित गर्न जरुरी छ । युद्धको अन्त्यपछि पनि केही समय लाग्दा तर यो विकल्पमा सबैलाइ सहमत गराउन सकिन्छ र दुइ राज्य कार्यान्वयनका लागि  उपयुक्त समय पनि अहिलेनै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?