+
+
कभर स्टोरी :

जाजरकोटको सन्देश : घर बलियो बनाउन अर्को भूकम्प पर्खने होइन

‘भूकम्पीय जोखिमलाई मूल्यांकन गरेर अब हिमाल–पहाड–तराईमा उपलब्ध स्रोत, साधन अनुसार बलियो घर कसरी बन्छ भन्नेमा एकसाथ बल लगाउनुपर्छ । थाहा भइसकेको जोखिम मतलब नगरी जाजरकोट जस्तो अर्को भूकम्प कुरेर बस्नुहुँदैन ।’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० कात्तिक २४ गते २०:३०

२४ कात्तिक, काठमाडौं । शुक्रबार मध्यरातिको भूकम्पले आठबिसकोट गाउँपालिका १४ ज्यामिरेका शेरु मल्लको घर भत्कियो । ढल्दा–ढल्दैको घरको बार्दलीबाट हाम फालेर उनी चाहिं बाँचे । मल्ल भन्छन्, ‘ढोका खुलै भएकाले म हाम फालेर जोगिएँ ।’

ज्यान जोगियो, घर बाँकी रहेन । उनको त्यो घर ५० वर्ष पुरानो थियो । बुबाले बनाएको पाँच दशक पुरानो त्यो घरमा उनले ढुंगामाटो र दार (काठ) हालेर २५ वर्षअघि माथिल्लो तला थपेका थिए । तीन लाख खर्च गरेर बनाएपछि उनलाई लागेको थियो, आफ्नो जीवनकालभरि कसो नटिक्ला ? तर सोचे जस्तो भएन ।

यो भूकम्पमा परेर शेरुकै गाउँका १२ घर भत्किए । बाँकी बचेका केही घर पनि चर्किएर बस्न सक्ने स्थिति छैन । ‘गाउँका घर ढुंगामाटोले बनेका थिए’ उनले भने, ‘हेर्दा बलिया देखिए पनि ती भूकम्प प्रतिरोधी थिएनन्, ढले ।’

ज्यामिरेका स्थानीयले अहिले थाहा पाए पनि मुलुकभर हाम्रा घरहरू कति सुरक्षित छन् भन्ने अध्ययन सरकारसँग पनि छैन । देशभर कति घरहरू भूकम्पीय जोखिमका हिसाबले संवेदनशील अवस्थाका छन् भन्ने यकिन विवरण मुलुकसँग नै छैन । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई आधार बनाएर केही विश्लेषण भने गर्न सकिन्छ ।

तथ्यांक अनुसार, नेपालभर ६६ लाख ६० हजार ८४१ परिवार बस्ने ७५ लाख ५२ हजार ६६ वटा घर छन् । त्यसमध्ये ५९.८२ प्रतिशत एक तले, २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले र ०.०१३ प्रतिशत ८ तले भन्दा अग्ला छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख डा. हेमराज रेग्मी कुल घरमध्ये एकतले घर मधेश प्रदेशमा बढी (८४.४२ प्रतिशत) रहेको बताउँछन् । पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन् ।

यसले पहाडी क्षेत्रमा एकभन्दा बढी तला भएका घरको बाहुल्य रहेको देखाउँछ । ढुंगामाटोका ती घरहरू जति बढी तलाका हुन्छन्, त्यसले भूकम्पीय जोखिम पनि उत्तिकै बढी हुन्छ । त्यसैकारण तुलनात्मक रूपमा पहाडी र हिमाली क्षेत्रका घहरू नै बढी भूकम्पको जोखिममा देखिन्छन् ।

तथ्यांक अनुसार २७.९५ प्रतिशत घर ४ वर्षसम्मका हुन् । तर, ०.५ प्रतिशत घर १०० वर्ष भन्दा पनि पुराना छन् । यसले देशभर नै ४ वर्षभन्दा पुराना घरहरूको बाहुल्य रहेको देखाउँछ । घरहरू जति पुरानो हुँदै जान्छन्, जीर्ण बन्ने जोखिम पनि बढ्दै जाने भएकाले भूकम्पमा त्यस्ता घरहरू छिटो ढल्न सक्ने सम्भावना उच्च रहन्छ ।

तथ्याङ्क अनुसार, १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएका छन् । यस्तो अनुदान मुख्यतया गोरखा भूकम्पपछि बनेका ७ लाख घरका लागि उपयोग भएको देखिन्छ । यसबाहेक जनता आवास कार्यक्रम अन्तर्गतका घरहरू समेत सरकारी अनुदान लिएर बनेका हुन् ।

बचेकाहरूको सुविधाका लागि पूर्वतयारी स्वरुप पाल, औषधि र खानेकुराको जोहो त गर्नैपर्छ, तर साँच्चै भूकम्पबाट बाँच्ने हो भने त पहिले घर नै बलियो बनाउनुपर्छ – रमेश गुरागाइँ, विज्ञ

सरकारी निगरानीमा बनेका ती घर भूकम्प प्रतिरोधी रहेको मान्ने हो भने बाँकी ६८ लाख घरहरू कस्तो अवस्थामा छन् अहिले पनि स्पष्ट छैन । ४ वर्षयता बनेका घरहरू भूकम्प प्रतिरोधी छन् भन्ने मान्ने हो भने पनि करिब ५४ लाखभन्दा बढी घर भूकम्पको बढी जोखिममा हुनसक्ने तथ्यांक कार्यालयका अधिकारीहरू बताउँछन् ।

‘यही आधा दशकयता बनेका पनि सबै घर भूकम्पको जोखिमबाट मुक्त छन् वा पुराना सबै घर जोखिममा छन् भन्ने ठोकुवा भने गर्न सकिन्न’ एक जना अधिकारीले भने, ‘नयाँ बनेका र सरकारी अनुदान दिएका अधिकतम घर बागमती प्रदेशमा हुनुले २०७२ को भूकम्पपछि बनेका घरहरू भएको देखिएकाले पुराना घरहरू भूकम्प प्रतिरोधी छैनन् कि भन्नसम्म चाहिं सकिन्छ ।’

घर मामिलाका अध्येता तथा पुनर्निर्माण विज्ञ रमेश गुरागाइँ नेपालमा भूकम्पबाट बच्ने उद्देश्यले घर नबनाइने बताउँछन् । उनका भनाइमा, घरको मुख्य काम नै व्यक्तिलाई घामपानी, जाडो र गर्मीबाट जोगाउने र धनजनको सुरक्षा प्रदान गर्नु हो । गुरागाइँ भन्छन्, ‘तर अब भने घर बनाउँदा भूकम्पबाट बच्ने सोच र उद्देश्य पनि राख्नुपर्छ ।’

भत्किने जोखिम बढी हुँदाहुँदै पनि ढुंगामाटाकै घर बनाएर बस्नु नेपालका ग्रामीण क्षेत्रको बाध्यता हो । त्यसैले पनि असुरक्षित यस्ता घरमा समेत मान्छेहरू ढुक्कका साथ बसिरहेका छन् । गुरागाइँका अनुसार, भूकम्पलाई मात्रै सोच्ने हो भने बाँस र त्यसका टाटीबाट घर बनाउनु नै सबैभन्दा उपयुक्त हुनसक्छ । तर, त्यसले सुरक्षा अनुभूति कम दिने भएकाले मान्छेले बाक्लो गारो खोज्ने गरेका छन् । अनि मान्छेले घरबाट जाडोमा न्यानो, गर्मीमा शीतल सहितका सुविधा पनि खोज्छन् ।

स्थानीय रूपमा जुन सामग्री सजिलो र सस्तोमा उपलब्ध हुन्छ तिनबाटै घर बनाइन्छन् । त्यसैले तराईमा काठ र टाटी, पहाड र हिमालमा ढुंगामाटो तथा काठबाट घरहरू बढी बन्छन् । तर, यही सुरक्षा र सुविधा दिने आफ्नै घरले किचिएर ज्यान जाने र धन समेत गुमाउनुपर्ने जोखिमप्रति धेरै मानिस अझै पनि संवेदनशील छैनन् ।

‘नेपालको जहाँसुकैका र जुनसुकै स्थानीय सामग्री र प्रविधि प्रयोग गरेर बन्ने घरहरूलाई ठूलै भूकम्प आउँदा समेत मान्छे नमर्ने गरी सुरक्षित तवरले बनाउन सकिन्छ’ गुरागाइँ भन्छन्, ‘भूकम्प प्रतिरोधी घरलाई हाम्रो प्राविधिक, आर्थिक, निर्माण सामग्रीको उपलब्धता, रहनसहन मैत्री र दिगो उपयोगिताका हिसाबले पनि धान्न सकिन्छ, फेरि यो त्यति धेरै महँगो र असजिलो हुँदै होइन ।’

भूकम्पमा मान्छेको ज्यान जाने कारण मूलतः घर (भवन) नै हुन्छ । भूकम्पबाट जाने पहिरो लगायत कारण मृत्यु हुनेको संख्या निकै न्यून हुन्छ । करिब ९९ प्रतिशत मृत्यु संख्या घर भत्किएरै हुने गरेको तथ्यांकहरूले देखाएका छन् । २०७२ को भूकम्पमा लाङटाङमा गएको हिमपहिरोमा मारिएका केही बाहेक करिब ९ हजार व्यक्तिले संरचनाले नै किच्दा मृत्युवरण गर्नुपरेको थियो ।

पाइप लाइनबाट ग्याँस वितरण हुने शहरमा भूकम्प जाँदा आगलागीको सम्भावना हुन्छ । नेपालमा तत्काल त्यो सम्भावना देखिंदैन । नेपालमा भूकम्प जाँदा विद्युत् सर्ट भएर आगो लाग्दा ज्यान गएको घटना शून्य बराबर नै छ ।

विश्वव्यापी रूपमै भूकम्पबाट मृत्यु र घाइते हुनेहरू अधिकतम घर, अस्पताल, सिनेमा हल, विद्यालय, पसल, शपिङ मलहरू ढलेर र भत्किएर किचिनेहरू हुन् । जापानको कोबे भूकम्पमा मृत्यु भएकाहरूको कुन समयमा मृत्यु भयो भन्ने अध्ययनमा ९१ प्रतिशतको डेढ मिनेटभित्रै ज्यान गएको पाइएको थियो । ४ मिनेटभित्र त सबैजसो मान्छेको निधन भइसकेको भेटिएको थियो । यसले भूकम्पले ढलेका संरचनामा चेपिएपछि बाँच्ने सम्भावना निकै कम हुने देखाउँछ ।

‘भूकम्पबाट सुरक्षित हुने हो भने घर नै बलियो नबनाई उपाय नै छैन’ विज्ञ गुरागाइँ भन्छन्, ‘बचेकाहरूको सुविधाका लागि पूर्वतयारी स्वरुप पाल, औषधि र खानेकुराको जोहो त गर्नैपर्छ, तर साँच्चै भूकम्पबाट बाँच्ने हो भने त पहिले घर नै बलियो बनाउनुपर्छ ।’

‘मरिसकेकाहरूलाई भूकम्पपछि सोध्न सकिने अवस्था हुन्थ्यो भने उसले घरबाट जोगिएर ज्यान बाँचेको भए आकाशमुनि पनि महिनौं बस्न तयार हुन्थें भन्थ्यो कि ?’ उनी भन्छन्, ‘बाँचेकालाई खाना, औषधि, ओत र न्यानो महत्वपूर्ण हुन्छ, तर मरेकाको ठाउँमा बसेर सोच्ने हो भने त उसका लागि त जीवन नै महत्वपूर्ण थियो नि !’ त्यसैकारण भूकम्पलाई थेग्न सक्ने घर सबैभन्दा महत्वपूर्ण हुने गुरागाइँको तर्क छ ।

हाम्रा घर कति सुरक्षित छन् ?

रुकुमपश्चिमको सानोभेरी गाउँपालिका वडा नं. १ का ७० वर्षीय चन्द्रबहादुर घर्तीको घर पनि शुक्रबार राति भत्कियो । घर भत्किंदा उनीसँगै श्रीमती पनि पुरिइन् । घर्ती भन्छन्, ‘ढुंगामाटोले थिचेको तीन घण्टापछि ज्वाईं आएर उद्धार गरे । चिच्याउन सकेकाले मात्रै हामी बाँच्यौं ।’

चन्द्रबहादुरलाई २०५६ सालमा ५ लाख बढी खर्च गरेर बनाएको घर यति छिट्टै भत्केला भन्ने लागेको थिएन । अझ उनले श्रीमतीको १० तोला सुन बेचेर भित्र ढुंगामाटो र बाहिर सिमेन्टले प्लास्टर गरेर घर टल्काएका थिए । ‘त्यो बेला गाउँमा मेरो जस्तो घर अरूको थिएन’ उनले भने, ‘तर के गर्नु, भूकम्पको अगाडि कसैको केही नलाग्ने रहेछ !’

चन्द्रबहादुरलाई जस्तै ओत दिने घरहरू जुनसुकै बेला आफ्नै ‘काल’ बन्न सक्छन् भन्ने जाजरकोट भूकम्पले देखाएको छ । नेपालमा शहर र गाउँमा बन्ने सबैखाले घरहरूका आ–आफ्ना सीमा छन् । शहरमा धेरैजसो पिलरवाला र पिलर नभए पनि गाह्रो लगाएर माथि स्ल्याब ढलान गरिएका वा टिन लगाइएका घरहरू छन् ।

सामान्यतया पिलरवाला घरहरू भूकम्प प्रतिरोधी नै मानिन्छ । जाजरकोट भूकम्पमा पनि पिलरवाला घर खासै नभत्किनुले यो पुष्टि हुन्छ । तर, विज्ञहरू पिलरवाला घर हुँदैमा त्यो बलियो हुन्छ भन्ने मान्दैनन् । त्यस्ता घरलाई भूकप प्रतिरोधी प्रविधिमा आधारित भएर निर्माण नगरिए त्यसले ढुंगामाटोको घरभन्दा बढी जोखिम निम्त्याउने उनीहरूको बुझाइ छ ।

यस्ता घरहरू बलियो नबनाए ठूलो भूकम्पमा धुलोपिठो हुने गरी भत्किने र ढलानले किचेर मार्ने जोखिम हुन्छ । बलियो र अधिक लचकदार किसिमले पिलरयुक्त घरहरू बनाइयो भने त्यसले बढी सुरक्षा प्रदान गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

गुरागाइँका अनुसार, सामान्यतया आवासीय घरहरूका पिलरहरू सीधा लाइनमा राखेमा र बलियो जग तथा कम्तीमा १२/१२ इन्चको पिलर बनाएमा भूकम्प प्रतिरोधी घर बनाउन अरू ठूलो मिहिनेत नै गर्नुपर्दैन । कंक्रिटको गुणस्तर सहित डण्डीहरू राम्रोसँग जोड्ने, बिम र पिलरलाई गाँस्ने जस्ता कामले घरको लचकता र गुणस्तर पनि बढाउँछ ।

प्राविधिकका अनुसार, सामान्य घरहरूको संरचना ठड्याउन लाग्ने खर्चमा १० प्रतिशतसम्म रकम थप्ने हो भने भूकम्प प्रतिरोधी घर तयार हुन्छ । घर बनाउँदा लाग्ने खर्चको तुलना गर्दा त्यो करिब ५ प्रतिशत मात्रै हुन आउने गुरागाइँको दाबी छ  ।

विज्ञहरूका भनाइमा, ‘ढुंगामाटोको घर पनि भूकम्पबाट नलड्ने, नभत्किने, नचर्किने गरी बनाउन सकिन्छ । सामान्य सिद्धान्त अनुसार ढुंगाको आकारप्रकारले समेत घर भूकम्प प्रतिरोधी बन्ने/नबन्ने भन्ने हुन्छ । चेप्टा, लामा, ठूला, मिलेका र काटिएका ढुंगा छन् भने त्यसबाट बढी भूकम्प प्रतिरोधी घर बन्न सक्छन् । तर खोलाछेउ पाइने डल्ले ढुंगाहरू राखेर गारो बनाइएका घरहरू कम सुरक्षित हुन्छन् । झन् त्यस्ता ढुंगालाई माटोले जोडिएको छ भने त्यो त असुरक्षित नै हुन्छ ।

यसमा पनि एउटा गारो र अर्को गारो राम्रोसँग जोडिएको हुनुपर्छ । पहिलदेखि नै ‘सुर कस्ने ढुंगा’ खोज्ने प्रचलन एउटा गारोले अर्को गारोसँग कसिलोसँग बाँधिएको हुुनुपर्छ भन्ने मान्यताका आधारमा विकास भएको हुनसक्छ, जो वैज्ञानिक मानिन्छ ।

विज्ञहरूका भनाइमा, गारो नलडोस् भनेर ठाउँ–ठाउँमा पेटी (ब्यान्ड) बाँधिनुपर्छ । माथि दलिन राखेपछि त्यसलाई चारैतर्फबाट कस्ने काम गर्नुपर्छ । गाउँघरमा विगतबाटै यो कामलाई ‘सेफ्टी’ कस्ने भन्ने प्रचलन नै छ ।

यस्ता घर व्यावहारिक रूपमा के गर्दा बलिया हुन्छन् भन्नेमा विगतदेखि नै कतिपय प्रविधि प्रयोगमा छन् । तर, काठ महँगो हुँदै गएपछि मान्छेले काठको सट्टामा ढुंगा नै राख्ने गरेका छन् । विगतमा प्रयोग भएकै प्रविधि समेत अहिलेका धेरै घरहरूमा प्रयोग हुन छाडेका छन् ।

यसैकारण अहिले नेपालको भवन निर्माण संहितामा नै गारोलाई बलियो काठकै वा नभए सिमेन्ट र डण्डी राखेर मजबुत पेटी बनाउन सकिन्छ भन्ने उल्लेख छ । यसको अर्थ कंक्रिट र डण्डीको गुणस्तर र प्रयोगलाई उचित तवरले राख्नेमा विचार गर्ने हो भने ढुंगामाटोबाटै बन्ने घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ ।

तर, सकेसम्म ढुंगा काटेर मिलाएको र ती ढुंगा ठूला हुनुपर्ने गुरागाइँ बताउँछन् । उनका अनुसार दलिन र छाना राख्दा गारोको दुवै तर्फबाट चुकुल कस्ने काम गर्न सकिन्छ । यस्तो घरहरू एउटा हदशक्तिसम्मको भूकम्पमा चर्किन्छन् मात्रै, भत्किएर ज्यानै जाँदैन ।

‘यस्ता आधारभूत कुरामा ध्यान दिएर बनाइएका घरहरू गोरखा भूकम्प भन्दा शक्तिशाली भूकम्प आयो भने पनि थामिने देखिन्छ’ गुरागाइँ भन्छन्, ‘त्यसैले ढुंगामाटोको घर सकेसम्म एक तला वा बढीमा एक तला र आधी मात्रै बनाएर त्यसमाथिका तलामा काठ जस्ता हलुका निर्माण सामग्री प्रयोग गरेर बनाउनु बढी सुरक्षित मानिन्छ ।’

ढुंगामाटोका भूकम्प प्रतिरोधी घरको सीमितता धेरै तला जान नसकिनुलाई मानिन्छ । तर सुरक्षित हुनुपर्छ भन्ने चेतनाकै कारण पछिल्लो समयमा नेपालको पूर्वी ग्रामीण क्षेत्रमा एक तला वा एकतला र आधीसम्म ढुंगामाटो अनि त्यसमाथि काठ सहित हलुका निर्माण सामग्री प्रयोग भएका घरहरूको बाहुल्य देखिन्छ ।

भूकम्पविद् गुरागाइँका अनुसार, पश्चिमतर्फ भने खासै त्यस्ता घरहरू छैनन् । पश्चिम नेपालका ग्रामीण भेगमा भुईंतला, चोटा र बुईगलसम्मै ढुंगामाटोको गारो लगाएर घर बनाइन्छ । यदि राम्रोसँग सुर र पेटी नकसिएको र चुकुल नठोकिएका यस्ता घरहरू सानै भूकम्पमा पनि ढल्न सक्छन् ।

पछिल्ला साना क्षमताका डोटी, बझाङ र जाजरकोटका भूकम्पहरूले पनि पश्चिम नेपालका ग्रामीण बस्तीका घरहरु असुरक्षित छन् भन्ने देखाइसकेका छन् । भूकम्पका बेला सबैभन्दा पहिलो चुली गारो लड्ने जोखिम हुने भएकाले सकेसम्म त्यहाँ काठ नै प्रयोग गर्न उपयुक्त मानिने गुरागाइँको तर्क छ ।

विज्ञहरूका अनुसार ढुंगामाटोका घरमा दुई तला वा त्योभन्दा माथि जान नसकिने हैन । त्यसका लागि ढुंगामाटोका अग्ला घरका लागि ग्याबिन जाली वा वेल्डिङ मेसको प्रविधि प्रयोगमा छ । दुवैतर्फ जाली वा मेस राखेर गारोका ठाउँ–ठाउँबाट प्वाल पारेर तार मार्फत दुवैतर्फबाट कस्ने हो भने दुई तला र बुईगलसम्म जान समस्या पर्दैन ।

‘नयाँ घर बनाउँदा पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ’ उनी भन्छन्, ‘यो मूलतः रेट्रोफिटिङको प्रविधि त हो, तर ढुंगामाटोको घर अग्ला बनाउनुछ भने प्रयोग गर्नैपर्ने प्रविधि पनि हो ।’ उनका भनाइमा, गोला ढुंगा उपलब्ध हुने क्षेत्रमा समेत यो प्रविधि प्रयोग गरेर घर बलियो बनाउन सकिन्छ । यसरी जाली राखेर गारो कसेपछि त्यसमाथि सिमेन्टले प्लास्टर गर्दा ती घरले वर्षौंसम्म सुरक्षा प्रत्याभूत गर्न सक्छन् ।

‘पिलरवाला घर बनाउन ६० लाख लाग्थ्यो भने उत्रै ढुंगामाटोको भूकम्प प्रतिरोधी घर १२–१५ लाखमै बन्न सक्छ’ गुरागाइँ भन्छन्, ‘ढुंगामाटोको घरलाई भूकम्प प्रतिरोधी बनाउँदा सामान्य भन्दा ३० प्रतिशतसम्म महँगो भने पर्न सक्छ ।’

यी बाहेक काठ–काठ जोडेर प्यानल जस्तो बनाइएको टाटी (सेन्टीबेरा) मा प्लास्टर गरेर घर बनाउने प्रविधि पनि तराई सहितका केही क्षेत्रमा प्रयोगमा छ । त्यो प्रविधिमा लचकताका लागि त्रिकोण आकारमा ‘क्रस बेसिङ’ गर्ने हो भने पर्याप्त हुन्छ । त्यसले खासै खर्च नबढाउने गुरागाइँ बताउँछन् । ‘भूकम्पीय जोखिमलाई मूल्यांकन गरेर अब बलियो घरका लागि सबैले एकसाथ बल लगाउनुपर्छ’ उनी भन्छन्, ‘थाहा भइसकेको जोखिमलाई मतलब नगरी अर्को भूकम्प कुरेर बस्नुहुँदैन ।’

अर्को भूकम्प पहिले नै पुनर्निर्माण

भूकम्पविद्हरूका भनाइमा, दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्ने भएकाले धेरै जोखिम पनि यही क्षेत्रमा छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिम क्षेत्रमा पर्छ । यस्तो भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।

खानी तथा भूगर्भ विभागको तथ्यांक अनुसार, मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन । २ माघ १९९० मा ८ रेक्टरको भूकम्प जाँदा नेपालको राजधानी काठमाडौंमा समेत धनजनको ठूलो क्षति भएको थियो ।

अध्ययन अनुसार पश्चिम नेपालमा त सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । पश्चिमोत्तर भारत र पश्चिम नेपालमा ठूलो भूकम्प नगएको ५०० वर्ष जति भइसकेकाले सो क्षेत्रलाई बढी जोखिमयुक्त मानिन्छ ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भूगर्भविद् विशालनाथ उप्रेती १९९० सालको भूकम्पले कोशीपूर्व पनि खासै क्षति नगरेको बताउँछन् । ‘अध्ययनले सन् १२५५ मा गएको भूकम्पले मात्रै पूरै पूर्वी नेपाल प्रभावित भएको देखाएको छ’ उनी भन्छन्, ‘त्यसपछिको करिब ८०० वर्षसम्म पूर्वी नेपालमा  पनि ठूलो भूकम्प गएको छैन, यसैले पूर्वी नेपाल पनि जोखिममुक्त छैन ।’

खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटा पछिल्लो समयमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लामा गइरहेका साना भूकम्पहरूलाई ‘जोखिमको पूर्वसूचक घण्टी’ भन्छन् । यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा कम नगर्ने उनको भनाइ छ । ‘भूकम्प नगएर जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हन्छ’, सापकोटा भन्छन् ।

खानी तथा भूगर्भ विभागले तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पनि पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ । नक्सा अनुसार गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा बढी ऊर्जा सञ्चित भएर बसेको छ ।

प्राज्ञ उप्रेतीका अनुसार, सन् १२५५ र १५०५ का भूकम्पहरू १९९० र २०७२ सालका ठूला भूकम्प भन्दा पनि धेरै ठूला हुन् । त्यस्ता ठूला महाभूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिम कम गर्न अहिलेबाट नै सरकारले काम थाल्नुपर्छ ।

तर, सरकार भूकम्पपछिको प्रतिक्रियालाई नै आफ्नो कर्म ठानेर अघि बढ्ने गरेको छ । यसैको सिलसिला स्वरुप उसले पछिल्लो जाजरकोट भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एक वर्षभित्रै सक्ने घोषणा गरेको छ ।

यसअघि २०७२ को गोरखा भूकम्पपछि करिब ६ वर्ष लगाएर सरकारले झण्डै ३ खर्ब खर्चिएर ७ लाखभन्दा बढी निजी आवास (घर) पुनर्निर्माण सकेको थियो । ठूलो मूल्य चुकाएपछिको महँगो समेत हुने भूकम्पपश्चात्को पुनर्निर्माणलाई भन्दा सरकारले भूकम्पपूर्व नै पुनर्निर्माण अघि बढाउनु बुद्धिमतापूर्ण र लाभदायी हुने विज्ञ रमेश गुरागाइँ बताउँछन् ।

‘अहिले करिब ३ खर्बको योजना बनाउने हो भने नेपालका ग्रामीण क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका सबै घरहरू प्रबलीकरण गर्न सकिन्छ’ उनी भन्छन्, ‘अर्को भूकम्प आउँदासम्म कम धनजनको क्षति हुने अवस्था बनाउन सकिन्छ भने किन विपद् कुरिरहने ?’

भूकम्पपछि सरकारलाई पुनर्निर्माणका लागि समय लिने अवस्था नै नहुने भएकोले भूकम्प पूर्व उपलब्ध रहेको यो समयलाई उपयोग गर्नेतर्फ सोचिनुपर्ने उनको भनाइ छ । विज्ञहरूले थोरै समयमा पुनर्निर्माण गर्दा गल्ती हुने सम्भावना धेरै हुने भन्दै पर्याप्त प्राविधिक र आर्थिक तयारी गरेर भूकम्प पूर्वको पुनर्निर्माणलाई सरकारले महाअभियानका रूपमा अघि बढाउनुपर्ने बताउँदै आएका छन् ।

विघटित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली भत्किएपछि पुनर्निर्माण गर्नु भन्दा भूकम्पमा भत्किन सक्ने सम्भावनालाई हेरेर नीति बनाउनु र काम गर्नु उपयुक्त हुने बताउँछन् ।

‘साना भूकम्पमा समेत जोखिमयुक्त घरहरू भत्किरहेका छन्, त्यसले गरिरहेको क्षतिको मूल्य पनि ठूलो छ’ उनी भन्छन्, ‘अहिलेकै अवस्थामा २०७२ को जत्रै भूकम्प जाँदा पनि जनधनको ठूलो क्षति रोक्न सकिंदैन । झकझकाइरहेका भूकम्पलाई हेरेर भएका घर र संरचनालाई सुरक्षित बनाउने काम सुरु गरिहाल्नुपर्छ ।’

विघटन हुनुअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई भूकम्प पूर्वको पुनर्निर्माणमा लगाउनुपर्ने आवाज पनि उठेको थियो । तर, सरकारले खर्चको कारण देखाएर सबै काम नसकिंंदै विघटन गरेको थियो । जाजरकोट भूकम्पको सन्देशलाई ध्यानमा राखेर सरकारले भूकम्पीय जोखिम कम गर्ने गरी पुनर्निर्माण अभियान सुरु गर्नुपर्ने आवाज अब फेरि सुनिन थालेको छ ।

‘रेट्रोफिटिङको प्रविधि हामीसँग छ । जनशक्ति पनि उपलब्ध छन् । त्यसैले हामी कम्तीमा प्रबलीकरणको ढाँचामा गइहाल्नुपर्छ’ ज्ञवाली भन्छन्, ‘जीर्ण संरचनालाई भूकम्प प्रतिरोधी बनाउन भूकम्पपछिको पुनर्निर्माणको तुलनामा न्यून खर्च लाग्छ, त्यो काम अभियानकै रूपमा सुरु गर्नुपर्छ ।’

सरकारले घरहरू प्रबलीकरण गर्नेलाई सहुलियत (अनुदान) पनि दिनसक्ने विज्ञहरू बताउँछन् । पुनर्निर्माणविद् गुरागाइँ गाउँघरका सामान्य घरलाई ५० हजार मूल्यको सामग्री दिने हो भने अधिकतम घरहरू रेट्रोफिट हुने बताउँछन् ।

‘सरकारले रेट्रोफिटका लागि आवश्यक जाली दिने हो भने डकर्मी र प्लास्टर खर्च अधिकांश घरधनी आफैंले जुटाउन सक्छन्’ उनी भन्छन्, ‘प्राविधिक सहयोग स्थानीय तहहरू मार्फत दिलाउने मोडालिटीमा जाने हो भने अर्को भूकम्पमा धेरै धनजनको क्षति रोक्न सकिन्छ ।’

सँगै अब नयाँ बन्ने घरमा भूकम्प प्रतिरोधी प्रविधि अनिवार्य लागू गर्नुपर्ने विघटित पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ ज्ञवाली बताउँछन् । ‘पुरानोलाई प्रबलीकरण गर्ने र नयाँलाई भूकम्प प्रतिरोधी बनाउने अभियानले जनतालाई सुरक्षित राख्छ । सबै पालिकाहरूमा नक्सापास गराएर मात्रै घर बनाउने, भूकम्प प्रतिरोधी भवन निर्माणलाई अनिवार्य गर्नेतर्फ सोच्नुपर्छ’ उनी भन्छन्, ‘सार्वजनिक पूर्वाधारहरूलाई पनि सुरक्षित बनाउने काम गर्नुपर्छ । मान्छे धेरै जम्मा हुने विद्यालय र स्वास्थ्य चौकी भवनहरूलाई प्रबलीकरण गरेर सुरक्षित गरिहाल्नुपर्छ ।’

विज्ञहरू हालका घरहरूलाई नै भूकम्प प्रतिरोधी बनाउन आर्थिक, प्राविधिक हिसाबले जटिल नभएको तर्क गर्छन् । गल्ती हुने सम्भावना कम भएको, जसले पनि गर्न सक्ने, खर्च पनि कम लाग्ने भएकाले जाली राख्ने प्रविधिहरू नै बढी उपयुक्त हुने उनीहरूको मत छ ।

विज्ञ गुरागाइँका भनाइमा, पनि तीन तलासम्मका ढुंगामाटोका घरको प्रबलीकरण गर्दा करिब २ लाख रुपैयाँको जाली किन्न पैसा खर्च हुन्छ । डकर्मी र प्लास्टर खर्च भने ३ लाखसम्म लाग्न सक्छ ।

‘जाजरकोट भूकम्पपछि चर्किएका घरहरू प्रबलीकरण गर्ने हो भने त्यसलाई कम लागतमै बनाउन सकिन्छ’ गुरागाइँ भन्छन्, ‘तर माटोढुंगाका घर भत्किएको र पिल्लरका घर जोगिएको देखेकाहरूले आफ्नो चर्किएको घर भत्काएर नयाँ बनाउन ठूलो खर्च गर्ने सम्भावना छ । त्यसैले प्रबलीकरण बारेको चेतना जनतासम्म पुर्‍याउन ढिलो गर्नुहुन्न ।’

कभर स्टोरी
लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?