+
+

आफ्नै शरीरको पूजा म्ह: पूजा : के छ विधि ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० कात्तिक २७ गते १२:१२
फाइल तस्वीर

नेपाल भाषामा म्हः को अर्थ शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ शरीर पूजा नै हो । कतिपयले यसलाई आत्मपूजाको रुपमा पनि लिने गर्छन् । हरेक वर्ष तिहारको गोवर्द्धन पूजाको दिन मनाइने म्ह: पूजा नेवार समुदायको विशेष पर्व हो ।

म्हः पूजाकै दिन नेपाल संवतको नयाँ वर्ष पनि हो । भोलि (मंगलबार)बाट नेपाल सम्वत् ११४४ सुरु भएको छ ।

कसले कसलाई गरिन्छ पूजा ?

यो दिनमा परिवारकी ज्येष्ठ महिलाबाट सबै सदस्यलाई पूजा गरिन्छ । त्यसक्रममा उमेरअनुसार लहरै बस्ने गरिन्छ । यसअघि परम्पराअनुसार चामलको पीठोले मन्डला बनाउने र त्यसमा विभिन्न प्रकारका फलफूलहरु राख्ने पनि गरिन्छ ।

यो पूजा गर्नुपूर्व घरबाहिर पालामा दीप बाल्ने गरिन्छ । बत्ती बालेर घरभित्र मण्डप बनाइन्छ । यो पूजा प्रतिपदाको दिन राति गर्ने पूजा हो । विशेषगरी बुईंगल (घरको सबैभन्दा माथिको ठाउँ)मा यो पूजा गरिन्छ ।

कसरी गरिन्छ म्हः पूजा ?

संस्कृतिविद् ओम धौभडेलका अनुसार म्हः पूजा नेपालका नेवारहरुले मात्र मान्ने परम्परा हो । नेपालका धेरै संस्कृतिमध्ये अनुपम मानिने म्हः पूजा मौलिक पर्व हो ।

म्ह: पूजा गर्दा निम्न प्रक्रिया अपनाइन्छ :

-रातो माटोले लिपिन्छ ।

-चामलको पीठोले मण्डल बनाइन्छ (नेवारी भाषामा ‘मरङ्ग’ भनिन्छ) । यो दुई रंगको हुन्छ, अबिर र सुन्तला रंगको ।

-मण्डलालाई फूल, लाभा, फलफूलले सजाइन्छ ।

-मण्डललाई अगाडि राखेर बस्नुपर्ने हुन्छ ।

-बत्ती बाल्ने अक्षता राख्ने (आँखे), ओखर राख्ने ।

-मुटुमारी (चामलको एकप्रकारको रोटी) तयार पारिएको हुन्छ ।

यो सबै सामानलाई माना, पाथीलगायत सामानलाई राखेर टाउकोबाट खन्याउने गरिन्छ । यो दिन बालेको दीप तीनै लोकमा पुग्ने विश्वास छ । यही विश्वास अनुरुप यो दिन पनि घर झिलिमिली गराइन्छ ।

त्यस दिन मानिसको मात्रै होइन, घरमा राखेका सबै सजीव तथा निर्जीव वस्तुको पनि पूजा गर्ने गरिन्छ । कुचो, सिलौटोलाई जीव मानेर पूजा गर्ने चलन छ ।

म्हः पूजा विधि

संस्कृतिविद् ओम धौभडेलका अनुसार यो दिन आफ्नो शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ । यो पूजा गरेर वर्षभरि शरीरमा चोट नलाग्ने, बिरामी नहुने, सुखशान्ति प्राप्त हुने कामना गरिन्छ । त्यसैले परिवारका सबै सदस्य एकै स्थानमा भेला भएर सामूहिक पूजा गर्छन् । पूजा सकेपछि सगुन लिने गरिन्छ । अण्डा, माछा वा मासु र रक्सी सगुन दिइन्छ ।

धौभडेल भन्छन्, ‘नेवारीमा एउटा अति प्रचलित गीत छ– थःत थःम्ह म्हमसिया अति दुःख सिल रे अर्थात् आफूले आफैंलाई नचिनेर अति दुःख पाइयो रे । आफूले आफैंलाई चिन्न नसक्दा दु:ख पाइयो । त्यसैले मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैं अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ,’ उनी भन्छन् ।

किम्वदन्तीअनुसार परापूर्वकालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?