+
+

आफ्नो गीत अरुले गुनगुनाउँदा मख्ख पर्छु : हरिवंश आचार्य

मनिषा थापा मनिषा थापा
२०८० कात्तिक २८ गते ६:२८

काठमाडौं । हरिवंश आचार्यको नाम अगाडि झुन्ड्याइने विशेषण के हो ? जवाफ सरल छ, ‘हास्य अभिनेता ।’ कहीं कतै तपाईंले उनलाई गायक भनी सम्बोधन गरेको पाउनुहुन्न । तर, औंला भाँचेर गन्ने हो भने उनको स्वरबद्ध गीतको संख्या लगभग त्यति नै छ, जति औसत गायकको हुने गर्छ ।

गाउनु एउटा कुरा भयो । तर, उनले गाएका थुप्रै गीत मानिसको मुख–मुखमा झुण्डिएको छ । जस्तो साझा बसमा जो पनि चढ्दछ, चञ्चले–चञ्चले, हाम्री आमा साह्रै नि बाठी छन्, दाल भात तरकारी, सारङ्गी रेटौंला । यो क्रम तन्काउँदै जाँदा ‘काउली’ हुँदै ‘ए केटा मादलु पड्का’ सम्म आइपुग्छ । तिहारको पूर्वसन्ध्यामा हामीले भेट्दा पनि उनी गीत रेकर्डिङकै लागि तारतम्य मिलाइरहेका थिए ।

त्यसैले हामीले हरिवंशसँग हाँसोठट्टाको कुरा गरेनौं, गीत–संगीतको फेरो समातेर उनको गायकीबारे कुराकानी गर्‍यौं ।

सुरुमा एउटा औपचारिक प्रश्न, आजभोलि के गर्दै हुनुहुन्छ ?

नयाँ फिल्म ‘महाजात्रा’को सुटिङमा छु । त्यससँगै दुई वटा गीत रेकर्डको काम पनि भइरहेको छ । हाम्रो सरोज ओली भाइसँग सहकार्यले गीत गाउने थप उर्जा दिएको छ । सरोज भाइसँगको गीत काउली, मादलु पड्का धेरै राम्रो भयो । सोही गीतको सफलताले अरु गीतहरु गाउनका लागि पनि जाँगर मिल्यो ।

हरिवंश आचार्य भन्नासाथ हास्य अभिनेताको झल्को आइहाल्छ । तर, अहिले त तपाईं गीत गाउन र म्युजिक भिडियोमा बढी देखिन थाल्नुभयो नि ?

मेरो मूलकर्म भनेको अभिनय हो ।  त्यसमा पनि हास्यव्यङ्ग्य । त्यही विधाबाट स्थापित भएँ पनि । गीत गाउने चाहिं मेरो कर्म भन्दा सोख हो । मलाई गीत गाउनभन्दा बढी सुन्न मनपर्छ । गीत सुन्न मनपर्ने भएकाले गाउन पनि बेलाबेला जाँगर चल्छ ।

कुनै कुरामा लाग्नुको पछाडि दुईवटा कारण हुनेरहेछ, एउटा चाहिं आफ्नो रहर वा सोख । दोस्रो चाहिं, त्यसले प्राप्त गर्ने सफलता । मलाई गीत–संगीतमा लाग्नका लागि यी दुवै कुराले उक्साएको छ ।

रहरले एउटा गीत गायो, श्रोता मन पराइदिन्छन् । श्रोताले मन पराइदिएपछि अर्को गाउन मन पर्छ ।

यसमा अर्को पनि कुरा छ । फिल्म, नाटकका लागि लामो तयारी गर्नुपर्छ । लामै ग्याप पनि हुन्छ । सो ग्यापलाई परिपूर्ति गर्न पनि गीत गाउने र म्युजिक भिडियो बनाउने काम भइरहेको हो ।

गायनमा चाहिं कसरी लाग्नुभयो, संगीत सिक्नुभएको छ ?

संगीत सिकेको छैन । आफ्नै ढंगले गाइदिएको हो । तर, हार्मोनियम, मादल, गितार चाहिं पहिले पहिले सिकेको हो । गायक तथा संगीतकार राम थापा र गजेन्द्र लामासँग पहिलेदेखि चिनजान थियो । उहाँहरुले गाएको सुन्थें, हेर्थें । पछि मदन दाई (मदनकृष्ण श्रेष्ठ)ले पनि स्टुडियोमा गाएको सुनें ।

त्यस समयमा एउटा स्टुडियोमा लगानीकर्ताको रुपमा पनि म थिएँ । त्यहाँ गीत रेडर्क भइरहेको हुन्थ्यो । अरुले गाएको देख्दा मैले पनि गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, गाउने आत्मबल थिएन ।

यो गीत जता पनि बज्न, गाउन थालियो । मलाई यसले थप हौसला मिल्यो । अर्को गीत लेखें र गाएँ, ‘साझा बसमा जो पनि चढ्दछ ।’ यो गीत पनि उत्तिकै चल्यो ।

तपार्ईंले गीत गाउँदा अरुले के भन्थें ? प्रतिक्रिया कस्तो हुन्थ्यो ?

गीत चलेपछि धेरैले तारिफ गर्न थाले । म दंग परें । नेपाल टेलिभिजनको वार्षिकोत्सवमा ‘चञ्चले’ गीत गाए पछि तत्कालीन कार्यकारी निर्माता रोशनप्रताप राणाले भिडियो बनाइदिनुभयो ।  जुन अत्यधिक चल्यो ।

आफ्नो गीत अरुले गाएको सुन्दा झन् मज्जा आउँदो रहेछ म खुशी भएँ तर फुर्किनँ । त्यसपछि झन् मिहिनेत गरेर गीत गाउन अग्रसर भएँ ।

प्राय: आफूले गाउने गीत आफैं लेख्नुहुन्छ ? अरुले गीत दिंदैन भनेर हो वा आफैंले राम्रो गीत लेख्न सक्छु भनेर ?

मलाई अरुको गीत गाउछु भन्न असहज लाग्थ्यो । किनभने मैले संगीत सिकेको थिइनँ । कसैको गीत जिम्मा लिएर पछि चलेन भने गीत खेर गएको जस्तो हुन्छ भन्ने लाग्यो । त्यसैले गीत मागिनँ । गीत माग्न लाज पनि लाग्थ्यो ।

यस्तो अवस्थामा गीत लेख्नु मेरो बाध्यता पनि थियो । आफैं लेखेको गीत त धक फुकाएर गाउन पाइयो नि ! गीत लेखेर मोबाइलमा रेकर्ड गर्थें र नजिकका साथीभाइलाई सुनाउँथे । उनीहरुले राम्रो भनेपछि रेकर्ड गर्थें ।

गीत कसरी तयार गर्नुहुन्छ ? तयार भइसकेपछि कसलाई पहिला सुनाउनुहुन्छ ?

मूड राम्रो भएको बेला एक दुई लाइन कविता फुर्छ । त्यही कविता बढाउँदै लैजाने र संगीतमा ढल्दै लैजाने गर्छु । पहिला आफैं सुन्छु । त्यसपछि घरमा श्रीमती र नजिकका साथीभाइलाई सुनाउँछु । यति गर्दा चित्त बुझे अगाडि बढ्छु, नभए यत्तिकै छाड्छु ।

गीत लेख्ने, गाउने मात्र होइन म्युजिक भिडियो पनि खेल्ने गर्नुहुन्छ । कति बने म्युजिक भिडियो ? 

म्युजिक भिडियो मेरो सीमित छन् । हालसम्म २० वटा जति बनाएको छु । पहिलो ‘चञ्चले चञ्चले गरेको थिएँ जसमा पुरानो फुटेज जोडेर लिप्सिंग गरिएको थियो । ‘हाम्री आमा सारै नै बाठी छिन्’, ‘सारंगी रेटौंला’ जस्ता गीत लोक प्रिय भए । त्यसपछि केही गीतहरु गरें, जुन त्यति चलेनन् । पछिल्लो समय गरेको काउली राम्रो भयो ।

गीत गाउन रमाइलो कि अरुको गीत सुन्न ?

म संगीतप्रेमी हो । गीत गाउन र सुन्न  दुवैमा रमाइलो अनुभव गर्छु ।  गीत गाउने शास्त्रीय अनुभव नभए पनि मेरो यसमा ठूलो लगाव छ । यस्ता गीतले मेरो मन छुन्छ । गजल तथा क्लासिकल गीत सुनिरहेको हुन्छु । प्राय: घरमा बस्दा एउटा न एउटा गीत बजिरहेकै हुन्छ ।

मनपर्ने गायक कोही छन्  ?

गीत संगीतको क्षेत्रमा सबैभन्दा मनपर्ने स्वर सम्राट नारायण गोपाल हुन् । अरु पनि धेरै नयाँ तथा पुराना गायक गायिका हुनुहुन्छ, मेरो रोजाइको । एक जनाको नाम लिन पनि मुस्किल छ । धेरै जना चलेका गायक गायिकासँग मैले पनि गीत गाउने मौका पाएको छु ।

गीत कसरी हिट हुन्छ ? तपाईंको त धेरै गीत हिट भएका छन् ?

गीत गाउँदैमा हिट हुन्छ भन्ने हुँदैन । गीत हिट हुन प्रकृतिले दिएको स्वर हुनुपर्छ । दिनमा पाँच सय गीत रेकर्ड हुन्छन्, जसमध्ये चार वटा जति हिट हुन्छन् ।


यद्यपि गीत चाहिं जति सुन्यो उति सुनिरहन मन लाग्छ । यो एकपटक सुनेपछि सकिंदैन । जब गीत हिट हुन्छ, मान्छेले पटक पटक त्यही गीत सुन्छन् । हास्यव्यङ्ग्य, फिल्ममा त्यस्तो हुँदैन । हास्यव्यङ्ग्य सुरुमा हेर्दा जति रमाइलो लाग्छ, त्यसपछि जति हेर्‍यो, उति कम हाँस उठ्न थाल्छ । तर, गीत चाहिं जति सुन्यो उत्ति राम्रो लाग्न थाल्छ ।

हुन पनि अहिले यो सानोतिनो उद्योग नै बनिसकेको छ । यसमा धेरै जना सहभागी छन्, धेरैले रोजगारी पाएका छन् ।

तपाईंलाई आफ्नै स्वर कत्तिको मनपर्छ ?

मेरो स्वर हाइ पिचको छ । सुफी जस्ता हाइपिचको संगीत सिकेको भए म पनि गाउन सक्ने रहेछु । अहिले मेरो स्वरसँग फिट हुने गायिका भेटिन गाह्रो छ । त्यसैले प्राय: गीत एकल गाउनुपर्छ ।

आफ्नो स्वर नराम्रो लाग्दैन । विद्यालयका बच्चाहरु मैले गाएको गीतमा नाचेको देख्दा आफू ठिकै ठाउँमा छु जस्तो लाग्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?