+
+

बबरमहलमा पैदलयात्रुले स्वीच थिचेर रोक्छन् गाडी

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर ११ गते २०:३४

११ मंसिर, काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको जेब्राक्रसबाट दिउँसोको समयमा सडक पार गर्नेहरु अत्यधिक हुन्छन् ।

वारिपट्टी जिल्ला अदालतको मूल भवन, पारिपट्टि जिल्ला अदालतकै केही इजलास र विशेष अदालत । यहाँबाट सडक वारपार गर्नेमा अदालतका सेवाग्राही, अरु सर्वसाधारण र कानुन व्यवसायी धेरै हुन्छन् । व्यस्त सडकमा जेब्राक्रसबाट सडक वारपार गर्दा केही दुर्घटना पनि भएका थिए ।

तर सोमबार यहाँ अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ् (पेलिकन) प्रणाली जडान गरिएको छ । अर्थात् पैदलयात्रीले स्वीच थिचेर बाटो काट्ने पद्धति ।

काठमाडौं महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलका अनुसार, पैदलयात्रीले स्वीच थिचेपछिको ५ सेकेण्डमा जेब्रा क्रसतर्फ हरियो र गाडी गुड्नेतर्फ रातो बत्ती बल्छ ।

त्यसपछि गाडीहरु रोकिन्छन् र पैदलयात्रीले सडक पार गर्न पाउँछन् । पैदलयात्रीले ३० सेकेण्डमा सडक पार गरिसक्नुपर्छ । त्यसपछि फेरि गाडी गुड्न पाउँछन् । त्यसपछि पैदलयात्रीले पुनः स्वीच थिचेमा दुई मिनेटपछि पुनः सडक पार गर्न सक्छन् ।

सोमबार यो प्रणाली सुरु भएको दिन महानगरको नगर प्रहरी र ट्राफिक प्रहरी बसेर प्रणाली चलाउन र बाटो काट्न सर्वसाधारणलाई सिकाइरहेका थिए ।

‘महानगरले राम्रै गरेको हो तर पैदल यात्रुको लागि वारपार गर्ने समय चाहिँ छोटो भयो’, पैदलयात्रु सम्झना थापा मगर भन्छिन् ‘३० सेकेण्डमा वारपार गर्न त गाह्रै हुने रहेछ । कम्तीमा एक मिनेट राख्नुपर्ने हो, यत्रो भीड हुन्छ ।’

जिल्ला अदालतमा तारेखका लागि आएका कपनका सूर्य रोकाले स्वीच थिचेर बाटो काट्न बानी नपरेको बताए । ‘म त आजै ३–४ चोटी ओहोरदोहोर गरेँ, आज पुलिसले रोकेर मात्रै हो नत्र म झुक्किने रहेछु’ उनले भने ।

उनले अगाडि भने, ‘अहिले गाडी पनि रोकिन्छ, मान्छे पनि रोकिन्छन् तर पुलिस नभएपछि मनलाग्दी हुन्छ ।’ गाडीलाई मात्रै नभई नियम नमान्ने पैदल यात्रुलाई पनि चिट काट्नुपर्ने बताए ।

स्कुटर चालक संजोग साउदले यो प्रणाली जडान भएपछि गाडी चलाउनेलाई पनि सहज भएको बताए । ‘म यही बाटो अफिस ओहोरदोहोर गर्ने हो, यहाँनिर आएपछि कोही बाटो काट्दैछ कि भन्ने डर लाग्छ । अब ट्राफिक लाइट भएपछि हामीलाई पनि सहज भयो’, उनले भने ।

जिल्ला अदालत काठमाडौंमा आवतजावत गरिरहने अधिवक्ता भीमप्रसाद धिमाल महानगरले जडान गरेको प्रविधिप्रति खुसी व्यक्त गर्छन । ‘बबरमहल अगाडि हुने दुर्घटनामा अधिकांश अदालतसँग जोडिएका मान्छे थिए, कोही कर्मचारी, कोही अधिवक्ता, कोही न्यायाधीश परेका छन् । यसले ठूलो राहत दिएको छ’, धिमालले भने ।

धिमालका अनुसार बबरमहलको जेब्राक्रसिङबाट सडक पार गर्ने ८० प्रतिशत यात्रु अदालती कामले आएकाहरु हुन्छन् । ‘जिल्ला अदालतमा रहेको ३३ इजलासमध्ये २५ वटा नयाँ भवनतर्फ छ भने ८ वटा वनपरिसर तर्फ छ । अहिले गोलाप्रथाबाट इजलास तोकिने हुँदा कहिले यता, कहिले उता गर्दा गर्दै यहाँका कर्मचारी दौडधुपमै हुन्छन् । त्यसकारण यो सबैभन्दा धेरै फाइदा अदालतसँग जोडिएका मान्छेलाई हुनेछ’, धिमालले भने ।

सडक पार गर्ने समय बढाउन सकिने

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले बबरमहलमा जडान भएको ट्राफिक लाइट वैज्ञानिक प्रविधि र यात्रु मैत्री भएको बताए । ‘यो प्रणालीमा लाइटमा एकदम धेरै ध्यान दिनुपर्छ, नत्र झन् ठूलो दुर्घटना हुने सम्भावना पनि हुन्छ । यात्रु र सवारी साधनले अनुशासनको पालन गर्ने हो भने यस्तो चाप हुने स्थानमा ठूलो राहत हुन्छ’, उयनले भने ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिन सडक पार गर्न नगर प्रहरीले सहयोग गर्ने बताए । ‘यात्रु र सवारी साधन दुवैलाई बानी पार्न ३ जना नगर प्रहरी त्यहाँ खटिएका छन्, केही दिन बानी परोस् अनि अर्को निर्णय गरौं’, उनले भने ।

महानगरका सडक सुरक्षा विज्ञ खरेलले पैदलयात्रीले सडक पार गर्ने समय बढाउन सकिने बताए । ‘यसलाई ४० सेकेण्ड वा त्यो भन्दा बढी बनाउने हो कि भन्ने छलफल भइरहेको छ । आवश्यकता अनुसार परिमार्जन हुन सक्छ’, उनले भने ।

९ महिना अगाडि परीक्षण, ७ लाख खर्च

यो प्रणालीलाई पहिलो पटक महानगरले २०७९ फागुन १३ गते महानगरको कार्यालय रहेको क्षेत्र बागदरबारमा परीक्षण गरेको थियो । ‘महानगरले परीक्षणबाट सकारात्मक नतिजा प्राप्त भएपछि सार्वजनिक स्थलमा नमुना परीक्षणका लागि राख्ने योजना बनेको थियो सोही अनुसार बबरमहलमा राखेका हौं’, वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने ।

महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले यो प्रणाली प्रयोगबाट आउने नतिजाका आधारका महानगरपालिकाका ३६ वटा विद्यालय क्षेत्रमा प्रणाली विकास गर्ने योजना रहेको बताए ।

‘विद्यालय अगाडि राख्नुको पनि २ वटा उद्देश्य छन् । एउटा, बालिबालिकाहरुलाई सडक सुरक्षा प्रदान गर्न सकियोस् । अर्को, भविष्यका सडक प्रयोगकर्ता (बालबालिका) लाई सडक सुरक्षाका विषयमा व्यवहारिक ज्ञान दिन सकियोस्’, श्रेष्ठले भने ।

काठमाडौं महानगरका अनुसार सडक सुरक्षा विज्ञ खरेलका अनुसार बबरमहलमा प्रणाली जडान गर्न करिब ७ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । ‘२ वटा मात्र पोल राख्ने हो भने ५ लाख ४० हजार रुपैयाँ लागत आउँछ ।’

बबरमहलको प्रणाली सञ्चालन गर्न जिल्ला अदालतबाट विजुलीको आपूर्ति गरिएको छ ।

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?