+
+
बिहेको सिजनमा महँगियो सुन :

एक तोला गहनाको लागत १ लाख २९ हजार

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर १२ गते १३:३७

१२ मंसिर, काठमाडौं । सुनको भाउ आकाशिएपछि विवाहको सिजनमा एक तोला सुनका गहना बनाउन नै १ लाख २९ हजारसम्म खर्च गर्नुपर्ने भएको छ ।

प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

सुनका गहनामा सामान्यतया पसलहरुले १० प्रतिशत जर्ती राख्ने गरेका छन् । यस्तो अवस्थामा एक तोला सुनका गहना बनाउन १ लाख २९ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको हो । सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक हुने गर्छ ।

‘गहनाको प्रकारअनुसार सुनको बजार मूल्य, जर्ती र ज्याला गरेर प्रतितोला कम्तीमा पनि १ लाख २४ हजार रुपैयाँ लागत पुग्छ’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘एउटा निम्नमध्यम वर्गको मानिसलाई बिहेमा आधारभूत सुनका गहना जोड्न नै लाखौं लागत लाग्ने भएको छ ।’ सुनका गहना अनुसार लागत पनि फरक फरक पर्ने भएकाले लागत मूल्य अझै बढ्ने उनले बताए ।

बजार मूल्यमा हरेक दिन नयाँ नयाँ रेकर्ड कायम भइरहँदा सुनको बजारमा भने मन्दी छाएको छ । सामान्य अवस्थामा अघिल्ला वर्षको मंसिरमा दैनिक ३० देखि ४० किलो सुनको खरिद बिक्री हुने गरेकामा अहिले बजारमा सुनको खपत आधाले घटेको व्यवसायीहरुको दाबी छ ।

मूल्य उच्च हुँदा दैनिक २० किलो हाराहारी मात्रै सुनको कारोबार भएको महासंघका अध्यक्ष शाक्यले बताए । उनका अनुसार मंगलबारकै मूल्यमा पनि अहिले एक तोला सुनको गहना तयार गर्न कम्तीमा १ लाख २४ हजार रुपैयाँसम्म लागत लाग्ने देखिएको छ ।

सामान्यतया निकै कम मात्रामा गहना किन्नेका लागि पनि ५ देखि ७ तोला सुन चाहिने र यसको लागत मंगलबारको मूल्यअनुसार साढे ७ लाख रुपैयाँ भन्दा माथि पुग्ने देखिएको शाक्य बताउँछन् ।

सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यकाअनुसार अब सुन बिस्तारै आम मानिसको पहुँच भन्दा माथि पुग्दैछ । महँगीका कारण बिहेको मौसममा सुनको कारोबार ओरालो लागेको उनले बताए ।

बढ्दो मूल्यका कारण सुन खरिद गर्ने कम तर बिक्री गर्ने बढिरहेका कारण सुन चाँदीको व्यवसायमा संलग्नहरु नै समस्यामा परेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारको ट्रेण्डका कारण सुनको मूल्य अझै उकासिन सक्ने भएकाले सुनको व्यापारको भविष्यमै प्रश्न उठेको बज्राचार्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा बढेको चाप अस्वाभाविक भएका कारण सुनको मूल्य अझै अनिश्चित भएको शाक्य बताउँछन् ।

‘हामी अब सुन बजारको व्यवसायप्रति चिन्तित छौं’ शाक्य भन्छन्, ‘नयाँ बिक्री गर्नका लागि उपभोक्ताको आर्थिक हैसियतले नभ्याउने तर पुरानो सुन बिक्रीका लागि ग्राहकको चाप आयो भने गम्भीर समस्या सुरु हुनसक्छ । ’

अहिले बजारमा आएका ग्राहकहरुको मनोविज्ञान हेर्दा अति जरुरी अवस्थामा बाहेक सुन किन्न मानिसहरु तयार नभएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिइरहेको छ ।

गत वर्ष नेपालमा ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको ३ हजार ५०७ किलो सुन आयात भएको थियो । यस वर्ष कात्तिकसम्म ८ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको एक हजार ८५ किलो सुन नेपाल भित्रिइसकेको छ ।

नेपाली मुद्राको तुलनामा डलर मजबुत भएको र सुनको मूल्यमा पनि भएको उच्च वृद्धिको असरमा अहिले नेपाल परिरहेको छ । यो समाचार तयारगर्दासम्म (मंगलबार नेपाली समय १२ः५७ बजे) अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजर १६ डलर ३३ सेन्ट कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९८ डलरको वृद्धि हो । तर, पछिल्लो एक वर्षको मूल्य शृंखला हेर्दा २२ डिसेम्बर २०२२ को तुलनामा सुनको मूल्य प्रतिऔंस ३१६ डलर ३३ सेन्टले वृद्धि भएको छ ।

२२ डिसेम्बर २०२२ मा प्रतिऔंस १७ सय डलरमा सुनको कारोबार भएको थियो । यस बीचमा गत मे महिनामा सुनको मूल्य हालसम्मकै उच्च २ हजार ५२ डलर ३६ प्रतिऔंसमा सुनको कारोबार भएको थियो । तर, गत अक्टुबरसम्म पुनः ओरालो लागेर प्रतिऔंस १८ सय डलरको हाराहारी रहेको सुनको मूल्य पछिल्लो एक महिना हाराहारीमा पुनः साढे २ सय डलरले प्रतिऔंसले बढेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?