+
+

नेपाल सुपर लिग २ अपराजित टोली पोखरा र ललितपुर भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ८:१७

१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । त्यही लयलाई कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा पोखरा र ललितपुर छन् ।

ललितपुरले पहिलो खेलमा बुटवल-लुम्बिनी एफसीलाई २-० ले पराजित गरेको थियो । ललितपुरका लागि कप्तान तथा मार्की अनन्त तामाङ र दिनेश हेन्जनले गोल गरेका थिए ।

उता पोखराले भने पहिलो खेलमा एफसी चितवनलाई १-० ले पराजित गरेको थियो । पोखराका लागि विदेशी खेलाडी मोसेसले गोल गरेका थिए ।

अनन्तसहित वर्तमान राष्ट्रिय टोलीका चार खेलाडी रहेको ललितपुर यस सिजन बलियो देखिएको छ । टोलीमा अनन्त र दिनेश हेन्जनसहित सेसेहाङ आङ्दम्बे र सनिश श्रेष्ठ राष्ट्रिय टिमका खेलाडी छन् ।

यस्तै फ्रान्सदेखि नाइजेरियासम्मका विदेशी खेलाडी छन् । फ्रान्सका गोलकिपर जेफ्री बाल्टुस र फरवार्ड पापा इबोउ केबे छन् भने नाइजेरियाको राष्ट्रिय टिमबाट खेलेका इमोह इजेकेल पनि छन् । नेपाली घरेलु लिग खेल्दै आएका ओमालाजा करिम पनि ललितपुर टिममा छन् ।

ललितपुरले पहिलो खेलमा चार जना मात्र विदेशी खेलाडी खेलाएको थियो । भारती निखिल कदम टिममा रहेपनि उनी बेन्चमै सीमित रहे । यस्तै ललितपुरको टिममा नुर्लान नोब्रुजोभ पनि आएका छन् । मछिन्द्र क्लबबाट ए डिभिजन लिग जितेका नुर्लानले पहिलो सिजन पनि ललितपुरबाटै खेलेका थिए ।

युवा खेलाडी आयुष घलान मार्की रहेको पोखराको कप्तानमा दिनेश राजवंशी छन् । अष्ट्रेलिया बसेर उतै पुटबल खेल्दै आएका दिनेश आइकोनिक प्लेअर बनेर एनएसएल खेल्न आएका हुन् ।

पोखरामा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् । जसमा चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका प्रिसो गोलकिपर छन् । यस्तै लिग खेलिसकेका फ्रांकलिन क्युएटे टाला, जोए आइडु र मोसेस ग्याबाह पनि छन् । अर्का खेलाडीमा स्टेफेन कोजो छन् ।

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?