+
+

हिमालयन बैंकको सेयर हिमालयन रिइन्स्योरेन्सलाई बेचेर बाहिरिंदै हबिब

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १८:३७

१८ मंसिर, काठमाडौं । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेचेर बाहिरिने भएको छ । हिमालयनमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हबिबले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बिक्री गर्ने भएको हो ।

हिमालयन रिइन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिद गर्न लागेको जानकार स्रोतले अनलाइनखबरलाई बतायो ।

पाकिस्तानको हबिब बैंक र हिमालयन रिइन्स्योरेन्स बीच सेयर खरिद बिक्री सम्झौता भएर पूर्व सहमतिका लागि राष्ट्र बैंकमा पठाइएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले अनलाइनखबरलाई जानकारी दिए ।

गत शुक्रबार सेयर खरिदबिक्री सम्झौता भएको र त्यसको जानकारी बैंकमा पनि राणाले बताए । राष्ट्र बैंकले स्वीकृति दिएमा हिमालयन रि इन्स्योरेन्स कम्पनीले बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।

सिभिल बैंकलाई गाभ्नुअगाडि हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत सेयर थियो । मर्जरअगाडि बोनससहित १४ अर्ब ६२ लाख २३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकमा २० प्रतिशतले २ अर्ब ८० करोड १२ लाख ४४ हजार ७६० रुपैयाँ बराबरको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर रहेको छ ।

उक्त सेयर खरिद गर्ने सम्झौता भएर फिट एण्ड प्रोपर टेस्टको लागि राष्ट्र बैंकमा पठाएको हो । पाकिस्तानको हबिब बैंकले कोभिड-१९ महामारी अगाडि नै २०७६ मा हिमालयन बैंकको सेयर बेचेर बाहिरिन खोजेको थियो । उसले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने सम्झौता गरेको थियो । बैंकले सीडीसीसँग सेयर खरिदबिक्री गर्ने निर्णयमा पुगिसकेपछि पनि तत्कालीन बैंक अध्यक्ष मनोजबहादुर श्रेष्ठकै अवरोधका कारण त्यो सफल हुन सकेको थिएन ।

विद्यमान व्यवस्था अनुसार बहालवाला संस्थापक सेयरधनीले सेयर खरिद नगरेको अवस्थामा मात्रै संस्थापकभन्दा बाहिर सेयर बेच्न पाइने व्यवस्था थियो । प्रतिकित्ता २८० रुपैयाँ मूल्यांकन भएको सेयर खरिद गर्न संस्थापकहरु तयार भएनन् । त्यसपछि सीडीसीको प्रवेश करिब निश्चित भएको थियो । राष्ट्र बैंक पनि त्यसमा सकारात्मक हुँदा हुँदै पनि बैंकका तत्कालिन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले सीडीसीलाई सेयर खरिद गर्ने प्रक्रियामा अवरोध गरेको बैंक स्रोतले बतायो ।

त्यतिबेलादेखि नै हबिबले निरन्तर सेयर विक्री गर्ने प्रयास गरेको भएपनि सफल भएको थिएन । हबिबले ४ वर्षअगाडिको भन्दा अहिले घटेर सेयर बेच्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?