+
+

भिजिट भिसामा यूएई हुँदै रूस पुग्थे नेपाली युवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते २१:३४

१९ मंसिर, काठमाडौं । नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुसमा लैजाने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले अनलाइनखबरलाई बताए ।

रूसमा मारिएका इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तान पनि यूएई हुँदै रूसी सेनामा भर्ती हुन गएका थिए ।

प्रहरीले नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, उनीहरुले रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक सोधपुछमा खुलेको छ । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट समेत पठाएको छ । लगत्तै काठमाडौं प्रहरीले अपरेशन चलाएर नेपालीलाई रुस पठाउने गिरोहलाई समातेको हो ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको थियो । यद्यपि, यसरी कति नेपाली रुसमा पुगे भन्ने स्पष्ट छैन ।

रुसी सेनामा भर्ती भएका नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु छन् ।

युक्रेनी सेनामा पनि नेपाली भर्ना भएका विवरणहरु बाहिर आएका छन् । प्रधानमन्त्रीले सोमबार सम्पादकहरुसँग छलफलका क्रममा पनि भारतको दिल्ली हुँदै २६ जना नेपाली रुस गएको सूचना पाएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले कुनै देशमा जानै रोक लगाउनु प्रजातान्त्रिक विषय नहुने बताउँदै भनेका छन्, ‘तर, त्यहाँ जानु किन जोखिमपूर्ण छ ? अझ सेनामा भर्ती हुन जाने कुुरा किन घातक छ भन्ने बुझाउन जनचेतनामूलक कार्यक्रम ल्याउँदैछौं ।’

उनले भारत हुँदै गएकाहरुबारे पनि बुझ्न भनेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?