+
+

४ वर्षमा पनि पूरा भएन उत्तरी गोरखामा सौर्य उर्जा जडान योजना

विकास मरहट्टा विकास मरहट्टा
२०८० मंसिर २० गते १७:५३

२० मंसिर, गोरखा । उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकामा सञ्चालित घरेलु सौर्य उर्जा जडानको योजना अझै सम्पन्न हुन सकेको छैन । योजना सञ्चालन भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको उक्त योजनालाई जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गोरखाले रुग्ण योजनाको सूचीमा राखेको छ ।

दुई वटा पालिकाका ४ सय ६० घरधुरीमा घरेलु सौर्य उर्जा जडान गर्नका लागि भन्दै २०७६ साल असोज २९ गते कार्यालय र एम/एस सुर्य रोशनी कन्स्ट्रक्सन इन्डस्ट्रियल प्रालिबीच सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७७ साल असार महिनामा काम सक्नुपर्ने भए पनि त्यसतया चार पटक म्याद थप भइसकेको छ । तर योजना अझै सम्पन्न भएको छैन । चौथो पटक म्याद थप गर्दै कायालयले २०८० साल पुष मसान्तभित्र काम सक्न समयसीमा तोकेको छ ।

कार्यालयका अनुसार ४ सय ६० घरधुरीमा सोलार जडान भइसकेको छ । तर केही घरमा जडान भएको सोलारको व्याट्रीमा समस्या आएकाले त्यसलाई फेर्ने काम मात्र बाँकी रहेको कार्यालय प्रमुख मिलन पौडेलले बताए ।

‘जडान भइसकेपछि केही घरधुरीको सोलार व्याट्रीमा समस्या आयो,’ उनले भने, ‘बिग्रेको मात्रै फेर्ने भन्ने थियो तर मन्त्रालयले सबै घरको व्याट्री फेरेपछि मात्र भुक्तानी दिनु भनेपछि केही समय लागेको हो ।’

उनका अनुसार करिव तीन सय घरधुरीमा व्याट्री फेर्ने काम सम्पन्न भइसकेको छ । बाँकी घरधुरीका लागी पनि व्याट्री तयार रहेको तर स्थानीयले चासो नदिदाँ समस्या भएको कार्यालय प्रमुख पौडेलले बताए ।

‘ठेकेदारले व्याट्री सबै तयार छ भनेको छ, तर नबिग्रिएकाले स्थानीयले पनि फेर्नलाई चासो दिएका छैनन्, फेरि त्यो क्षेत्रमा बिद्युतको राष्ट्रिय प्रशारण लाइन र लघुजलविद्युत् समेत पुगिसकेकाले पनि सोलारमा स्थानीयले खासै चासो दिएको देखिएन,’ उनले भने । व्याट्री परिवर्तनमा समन्वय गरिदिन उनले स्थानीय उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

‘चलिरहेको व्याट्री फेर्नुभन्दा हामी पालिकालाई सबै व्याट्रीहरु एकमुष्ट हस्तान्तरण गर्छौं, पछि बिग्रिएपछि पालिकासँग समन्वय गरेर फेर्दा हुन्छ भनेर निर्माण व्यवसायीले भनेका छन्, तर पछि जडान गर्न समस्या हुन्छ भनेर हामीले सबै अहिले फेरिदिनु भनेका छौ,’ पौडेलले भने ।

यस विषयमा निर्माण व्यवसायीको धारणा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन । कुल लागत ७९ लाख ४७ हजार लागत रहेको उक्त योजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?