 
																			२३ मंसिर, काठमाडौं । जनकपुरधामकी आरती साहको न्यायका लागि माइती परिवारको चिसो सडकमा दिनरात काटेको झण्डै आधा वर्ष भयो ।
साउनको झरी भनेनन्, दशैंतिहार–छठ भनेनन्, काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिए । कयौं पटक प्रहरीको लाठी खाए, वार्ताको नाममा घर फर्काउने अनेक प्रपञ्च झेले ।
न्याय माग्दै धर्नामा बसेको १७४ औं दिन बुधबार सर्वोच्च अदालतले आरतीका श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका थुनामा पठाउने आदेश दियो र ससुरालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । यसमा उनको परिवारले चित्त बुझाएको छैन । तर न्याय मिल्छ कि भन्ने आशा भने जागेको छ ।
माइतीघरमा धर्ना बस्न सरकारले निषेध गरेपछि हाल शान्तिवाटिकामा धर्नारत आरतीका भाइ प्रेम भन्छन्, ‘अदालतले आंशिक न्याय दिएको छ, तर यसमा हाम्रो चित्त बुझाइ छैन । हाम्रो लडाईँ अझै जारी छ ।’
दाइजोको निहुँमा ८ जेठमा आरतीको हत्या भएको भन्दै माइती परिवारले सासुससुरा र देवरविरुद्ध किटानी जाहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न मानेको थिएन । काठमाडौं आएर विभिन्न निकायमा निवेदन दिएपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहनविरुद्ध जाहेरी दर्ता गरी पक्राउ गरेको थियो ।
तर निष्पक्ष अनुसन्धान नभएको भन्दै आरतीका बुबा विनोदप्रसाद, आमा निर्मलादेवी, भाइ प्रेम, बहिनी मनिषा र मामा सन्तोष साहसहित आरतीको माइती पक्ष न्याय माग्दै काठमाडौं आए । १ असारदेखि माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बसे ।
उनीहरु धर्नामा रहेका बेला ५ असारमा जिल्ला अदालत, धनुषाले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो । जिल्लाको आदेशप्रति सन्तुष्ट नभएर माइती परिवारले धर्ना भइरहेका बेला १८ भदौमा उच्च अदालत, जनकपुरले आरतीका श्रीमान र ससुरा दुबैलाई साधारण तारेखमा छाड्यो ।
साधारण तारेखमा छाड्दा शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको मृत्युको कारण ह्याङ्गिङ (पोसिबल सुसाइड इन नेचर) का आधार बनाइएको थियो ।
तर आइतीको माइती पक्षले धर्ना जारी राख्यो । जिल्ला सरकारी वकिल कार्यालयले पनि उच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन दिएको थियो, जसमा सर्वाेच्च अदालतले बुधबार फैसला सुनायो । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उच्चको फैसला आंशिक बदर गर्यो ।
मृत्युको कारण ह्याङ्गिङ भन्ने चिकित्सकको राय थप परीक्षणबाट पुष्टि नभएसम्म अकाट्य प्रमाणका रुपमा ग्रहण गर्न नसकिने सर्वोच्चको इजलासको ठहर छ । साथै मेडिकल काउन्सिलले छनबिन गर्दा शव परीक्षण प्रतिवेदनमा पोसिबल सुसाइड इन नेचर भन्नु त्रुटिपूर्ण भएको ठहर गरेको छ ।
घटनास्थलको मुचुल्कामा मृतकले झुण्डिन टुल, मेच वा अन्य वस्तु प्रयोग गरेको नदेखिएको र आरोपित श्रीमानले पहिल्यैदेखि झगडा हुने गरेको र घटना भएको दिन पनि ३/४ थप्पड हानेको स्वीकार गरेको भन्दै फैसलामा भनिएको छ, ‘मृतकको मृत्यु प्रतिवादी मोतीबाबु राहको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नुपर्ने अवस्था देखिँदा निजलाई मुद्दाको पुर्पक्षका लागि साधारण तारेखमा राख्ने गरी उच्च अदालत जनकपुरबाट २०८०/०६/१८ मा भएको आदेश वेरीतको देखिँदा बदर गरिदिएको छ ।’
तर आरतीका ससुरा मदनमोहनलाई थुनामा राख्नुपर्ने सम्मको अवस्था नदेखिएकाले १ लाख धरौटीमा छाड्न आदेश दियो । आरतीका श्रीमानलाई मात्र सर्वाेच्चले थुनामा पठाउने आदेश दिएपछि पीडित परिवार न्यायको अनुभूति गरेका छैनन् । त्यसैले धर्ना जारी राखेका छन् । ‘हाम्रो माग घटनाको निष्पक्ष छानबिन हुनु पर्यो र दोषी सबैलाई कारवाही होस् भन्ने हो’ उनले भने ।

आरतीको घटनामा उच्चस्तरीय छानबिन समिति बनाएर घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने माग पीडित परिवारको छ । ‘सुरुदेखि नै त्रुटिपूर्ण ढंगले अनुन्धान गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको छ’, आरतीका भाइ प्रेमले भने, ‘यसमा उच्चस्तरीय छानबिन समितिबाटै अनुसन्धान हुनुपर्छ भन्ने माग हाम्रो हो ।’
पीडित परिवारको आफूमाथि कुटपिट गर्ने धनुषाका तत्कालिन एसपी र डीएसपीलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् । प्रेमका अनुसार ३२ जेठमा जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी विश्वराज खड्का र डीएसपी बेदप्रसाद गौतमले उनीहरुलाई कुटपिट गरेका थिए ।
‘प्रहरीले बकपत्र गर्न बोलाएर हामीमाथि नै कुटपिट गरे । बहिनी र आमालाई रगत नै आउने गरी कुटपिट गर्यो,’ उनले भने, ‘विभागीय कारवाहीका नाममा एसपीलाई सीआईबीमा सरुवा गरिएको छ । यो त बढुवा भयो । कसरी कारवाही भयो र ?’
‘न्याय नपाएसम्म घर फर्कदैनौं’
माइतघर मण्डलामा निषेधज्ञा गरेसँगै आरतीको परिवार १५ दिनदेखि शान्तिवाटिकामा धर्ना दिइरहका छन् । सर्वाेच्चको अदालतको आदेश आएको भोलिपल्ट प्रहरीले ठाउँ छोड्न भनेको थियो । पीडित परिवारले भने बलियो अडान लिएको छ, ‘आफ्नो मागहरु पूरा नभए धर्ना जारी राख्ने, घर नफर्किने ।’
धनुषाबाट लखेटेपछि न्याय खोज्दै माइतीघर आएका र त्यहाँबाट लखेटिएर शान्तिवाटिका आइपुगेको भन्दै आरतीकी आमा निर्मलादेवीले भनिन्, ‘अहिले यहाँबाट पनि लखेट्न खोजिदैछ । तर डीएसपी र एसपीलाई निलम्बन गरी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग पूरा नभएसम्म हामी कहीँ जाँदैनौं ।’
आरती र मोतीबाबुबीच २९ असार ०७७ मा विवाह भएको थियो । ७ जेठ ०८० मा आरती मृत्यु भएको खबर माइती परिवारले पाए । तर दाइजोको निहुँमा यातना दिएर उनको हत्या गरिएको दाबी पीडित परिवारले गर्दै आएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4