+
+
कान्तिका निर्देशकसँग अन्तर्वार्ता :

‘कर्मचारीले बिचौलिया बनेर बिरामी बाहिर पठाएका छैनन्’

चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले कान्तिमा आएका बिरामीका लागि बिचौलियाको रुपमा काम गर्छ जस्तो लाग्दैन । ड्युटीमा रहेको सुपरभाइजरले कान्तिमा बेड नभएको बखतमा कुनै अस्पतालमा खाली रहेछ भनेर पठाउँदा त्यसलाई बिचौलियाको काम भन्न मिल्दैन ।

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते १९:३८

२५ मंसिर, काठमाडौं । डा. पंकज रायले कान्ति बाल अस्पतालको नेतृत्व सम्हालेको तीन महिना भयो । बालबालिकाको मात्र उपचार हुने केन्द्रीय अस्पतालमा अनेकौं बेथिती छ । यहाँ सजिलै आईसीयू बेड पाइँदैन भने शल्यक्रियाका लागि पनि एक वर्षसम्म पालो कुर्नुपर्छ ।

कमजोर व्यवस्थापन र सरकारको बेवास्ताका कारण कान्ति अस्पताल आफैं बिरामी अवस्थामा छ । त्यतिमात्रै होइन कान्तिकै स्वास्थ्यकर्मी र चिकित्सकले निजी अस्पताललाई फाइदा हुने गरी काम गरिरहेको आरोप पनि छ । यीनै विषयमा आधारित भएर डा. रायसँग अनलाइनखबरका पुष्पराज चौलागाईंले गरेको कुरानकानी :

अस्पतालको नेतृत्वमा आएपछि कस्तो अनुभव भएको छ ?

२०१९ सालमा त्यतिबेलाको जनसंख्यालाई हेरेर बनाइएका भवन तथा संरचनाबाट अहिले सेवा दिन कठिन भइरहेको छ । जनशक्ति र उपकरण पनि धेरै पहिलादेखि थप हुन सकेको छैन । अस्पतालमा २०५४ सालमा तय भएको दरबन्दी अनुसार कर्मचारी छन् । त्यसैले अभिभावकहरुको चाहना अनुसार सेवा दिन सकेको छैन ।

कान्ति बाल अस्पताल ।

त्यसमा पनि नर्सको अभाव भइरहन्छ । अन्त कतै राम्रो–सेवा सुविधा पाए नर्सले काम छाडिहाल्छन् । यहाँ काम गरिरहेका नर्स युरोप, अमेरिका, अस्ट्रेलिया जान योजना बनाइरहेका हुन्छन् । उनीहरु विदेश जाने निश्चित भएपछि काम छाडिहाल्छन् । त्यसैले महिना दिनजसोमै नर्सको विज्ञापन गरिरहनुपर्छ । यी सबै कारणले राम्रो सेवा दिन सक्ने अवस्था छैन ।

अर्को कुरा, कान्तिमा स्टाफ नर्सले नेपाल सरकारको स्केल बराबरको तलबमात्र पाउँछन् । नजिकैको त्रिवि शिक्षण अस्पताल, गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीर अस्पताल आदिमा भत्ता पनि पाउँछन् । यही कारण यहाँका कर्मचारी पनि वीर या शिक्षण अस्पतालमा जान कोसिस गरिहेका हुन्छन् ।

अभिभावकलाई कान्तिप्रतिको विश्वास एकदमै बढी छ । कान्तिमा प्रत्येक खालको रोगको उपचार हुन्छ । आईसीयूमै राखेर उपचार गर्दा पनि खासै आर्थिक भार पर्दैन ।

तपाईं निर्देशक भएपछि अस्पतालमा के के सुधार भए ?

हामीसँग २५ बेडको आकस्मिक कक्ष छ । चाप भएको बेलामा त्यहाँ एउटै शय्यामा ३/४ जना बिरामी राखेर उपचार गर्नुपर्छ । देशका विभिन्न ठाउँका अस्पतालबाट पहिलो प्राथमिकता राखेर कान्तिमा रेफर हुन्छ । अभिभावकहरुमा पनि कान्तिमा उपचार गरे निको हुन्छ भन्ने विश्वास छ ।

त्यसैले आकस्मिक कक्षमा लामो लाइन हुन्छ । त्यसलाई व्यवस्थापन गर्न आकस्मिक कक्षको गेट बाहिर ट्रियाज स्टिम (कुन बिरामीलाई कति प्राथमिकता दिएर उपचार गर्ने भनेर निर्धारण गर्ने प्रक्रिया) अनुसार भित्र लैजाने व्यवस्था गरियो ।

बालबालिकाको उपचार गर्न दूरदराजबाट आउने केही अभिभावक आफ्ना कुरा राख्न समेत नसक्ने हुनुहुन्छ । इमर्जेन्सी कक्षमा ड्यिुटीमा रहेको एक चिकित्सकले २५/३० मिनेटको फरकमा बाहिर पालो कुरेर बसेका बालबालिकालाई हेर्नुहुन्छ । ताकि, कुनै बिरामीलाई गाह्रो भएको छ भन्ने तत्काल भित्र लगेर उपचार गर्न सकियोस् ।

बिरामीले सेवा सहज रुपमा पाएका छन् कि छैन भनेर हेर्न मेडिकल अफिसर (सुपरभाइजर) चिकित्सकलाई खटाएका छौं । अस्पतालमा बेड खाली नभएर रेफर भएका बिरामीलाई कुन अस्पतालमा बेड छ भनेर बुझिदिने, एम्बुलेन्सको व्यवस्थापन लगायतका कुराको व्यवस्थापनमा मेडिकल अफिसरले सहजीकरण गर्ने व्यवस्था गरेका छौं ।

हरेक आइतबार र बुधबार निर्देशक, प्रशासन, नर्सिङ र आर्थिक शाखाका प्रमुख विभिन्न वार्डको निरीक्षण गर्छौं, कुनै समस्या देखिए तत्काल समाधानको कोशिस गर्छौं । बिरामी करुवा घरमा धेरै फोहोर भएको र उडुस परेको गुनासो आइरहेको थियो । एक संस्थालाई अनुरोध गरेर त्यसको मर्मत र सरसफाइ गर्‍यौं । यस्तै, आकस्मिक कक्ष बाहिर बिरामी तथा अभिभावकलाई बस्ने व्यवस्था गरेका छौं ।

आकस्मिक कक्षमा आएका बालबालिका आईसीयू बेड वा वार्डमा भर्ना हुने पालो कुर्दा कुर्दै मृत्यु हुने अवस्था कहिले अन्त्य हुन्छ ?

अस्पतालमा आईसीयू बेड वा अन्य बेड खाली नहुँदा अरु अस्पतालमा जानुस् भन्छौं, तर कतिपय अभिभावकले यहीँ मिलाइदिनुस् भनेर बस्नुहुन्छ । कान्तिमा ४० बेडको आईसीयू छ । तर, ठाउँ अभावका कारण बेड बढाउन सकिएको छैन ।

आईसीयूमा बेड भरिएको छ भन्ने पालो कुरेका बालबालिकालाई प्राथमिकता दिइन्छ । तर, आईसीयूमा उपचार गराइरहेका बालबालिकालाई झिकेर अर्को बिरामीलाई राख्ने सम्भावना रहँदैन । यहाँ बेड उपलब्ध नभएको अवस्थामा मेडिकल कलेज वा अरु सरकारी अस्पतालमा गएर उपचार गरे भनेपनि ड्युटीमा भएको चिकित्सकले फोन नम्बर टिपेर राख्ने र बेड खाली भएमा पुनः यही नै उपचार गर्न बोलाउने व्यवस्था मिलाएका छौं ।

आईसीयू चाहिने बिरामीलाई अरु बेडमा राखेर उपचार गर्नु उचित हुँदैन । बिरामीका अभिभावकलाई प्रष्ट भन्दा पनि उहाँहरु जान तयार हुनुहुन्न । त्यस्ता बालबालिकालाई अभिभावकको मन्जुरी लिएर इमर्जेन्सीमै राखेर पनि उपचार गरिरहेका छौं ।

हामीले कान्ति अस्पतालमा सय बेडको आईसीयू बनायौं भने पनि १०१ जना आए भने बेड नपाउने समस्या हुन्छ ।

अस्पतालमा आईसीयू बेडको अभाव देखाएर चिकित्सकदेखि निर्देशककै सेटिङमा बाहिर पठाउने गरेको आरोप लाग्छ नि ?

यो विषयलाई हामीले नजिकबाट हेरिरहेका हुन्छौं । जहाँसम्म चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले कान्तिमा आएका बिरामीका लागि बिचौलियाको रुपमा काम गर्छ जस्तो लाग्दैन । ड्युटीमा रहेको सुपरभाइजरले कान्तिमा बेड नभएको बखतमा कुनै अस्पतालमा खाली रहेछ भनेर पठाउँदा त्यसलाई बिचौलियाको काम भन्न मिल्दैन ।

बिरामी बाहिर पठाएको गुनासो सञ्चार माध्यममा आएका छन् । तर अहिलेसम्म कसैले पनि प्रत्यक्ष रुपमा भन्न आएको सुन्नुपरेको छैन । साँच्चै कोही कर्मचारीले बिचौलियाको काम गरेर बाहिर बिरामी पठाउने गरेको भए कानुन बमोजिम कारबाही गर्छौं ।

बालबच्चाको एकमात्र केन्द्रीय अस्पतालमा सबै सेवाको उपचार नभएर अरु अस्पताल जानुपरेमा कसरी राम्रो मान्न सकिन्छ ?
हामीले १४ वर्षसम्मका बालबालिकालाई उपलब्ध भएको सेवा दिन्छौं । मुटु सम्बन्धी ‘इको’ हुन्छ । तर, इन्टरभेन्सन गर्ने क्याथल्याब छैन । आवश्यक सेवा चाहिने बिरामीलाई मनमोहन वा गंगालाल अस्पताल पठाउने गरेका छौं । यस्तै, बच्चाको फोक्सो सम्बन्धी सबै उपचार हुन्छ । यस्तै, न्युरोलोजी सेवा छ ।

बाथरोगको सेवा छैन । नाक, कान, घाँटीकोे सर्जन छैनन् । हड्डीको, न्यूरो र मुटुको सर्जरी हुँदैन । यही नजिक भएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको उपचारमा सुविधासम्पन्न व्यवस्था छ । तीन करोड जनसंख्या भएको देशमा प्रत्येक अस्पतालमा मुटु र न्यूरोको अपरेसन हुनुपर्छ भन्ने छैन ।

कान्तिमा मात्रै होइन, नेपालका सबै सरकारी अस्पतालमा शल्यक्रियाका लागि ६ महिनादेखि एक वर्षसम्म पालो कुर्नुपर्छ । बिरामीको आर्थिक अवस्था कमजोर हुँदा सर्जरी सरकारी अवस्थामा होस् भन्ने चाहना हुन्छ । हामीसँग २ वटा मात्रै अप्रेशन थिएटर छ । जसका कारण बिरामीले चाहे अनुसार चाँडै सेवा दिन सकेको छैन ।

कान्तिका चिकित्सक र स्वास्थ्यकर्मी ड्युटीको समयमा निजी अस्पताल र क्लिनिकमा काम गरिरहेका छन् भन्ने गुनासो छ, उनीहरुलाई किन कारबाही हुन सकेको छैन ?

मैले कान्तिबाट एमडी गरेको हुँ । यहीबाट मेडिकल अफिसर, विशेषज्ञ हुँदै अहिले निर्देशक जिम्मेवारीमा छु । यहाँका चिकित्सक ड्युटी समयमा बाहिर काम गर्छन् जस्तो लाग्दैन ।
ड्युटीका चिकित्सक निर्धारित समयमा यही हुनुहुन्छ । तर, कार्यालय समयपछि को कहाँ गए भन्न मलाइ गाह्रो हुन्छ ।

यसअघिका निर्देशकले कान्तिलाई सरकारले बेवास्ता गरेको छ भन्ने गुनासो गर्नुहुन्थ्यो, तपाईंको अनुभव के छ ?

मलाई लाग्छ स्वास्थ्य मन्त्रालय वा सरकारी निकायले यो अस्पताललाई नराम्रो दृष्टिले हेर्दैन । कान्तिको समस्या सम्बन्धित ठाउँमा बुझाउन सक्नुपरर्छ । सरकारले आफ्नो दायाराभित्र प्राथमिकतामा राखिरहेको छ । यहाँ नेतृत्व गरिरहेका व्यक्तिले सम्बन्धित ठाउँमा कत्तिको बुझाउन सक्यो त्यसमा भर पर्छ भन्ने लाग्छ ।

यसको मतलब यसअघिका निर्देशकहरुको कमजोर भूमिका थियो ?

म ३१ नम्बरमा निर्देशक भएको छु । मैले नैतिक रुपमा ३० जनाको जिम्मेवारी लिन्छु । कान्ति त हामीले विरासतमा पाएको हौं । हाम्रो पूर्वजहरुको योगदानबाट आएको हो । अगाडिका निर्देशकले गरेको कामलाई निरन्तरता दिँदै सुधारको प्रयास गर्ने हो । उहाँहरुको नेतृत्व कमी वा असक्षम हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ होइन । तर सरकारलाई बुझाउन सक्ने क्षमता चाँहि अल्लि फरक हो जस्तो लाग्यो ।

कान्तिको सेवामा सुधार गर्न सक्छु भन्ने तपाईंलाई आत्मविश्वास छ ?

मैले नेतृत्व लिइरहँदा जति गर्न सक्नुपर्ने काम हो त्यति गर्दै जान्छु । मैले नेतृत्व छोड्दै गर्दा केही प्रतिफल दिन सक्छु । मेरो एकल प्रयासले अगाडि लैजान्छु भन्ने होइन, स्वास्थ्यकर्मी देखि सरकारको समेत योगदान हुनुपर्छ । मेरो वा अन्य कसैको कार्यकाल भन्ने होइन, सबैको साथ–सहयोगले अबको पाँच वर्षमा अस्पतालमा धेरै सुधार हुन्छ, आशा गरौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?