+
+

बजारभरि छन् आयात प्रतिबन्ध लागेका वस्तु

केराउ, मरिच, छोकडालगायत वस्तु औद्योगिक प्रयोजनका लागि मात्रै आयात गर्न पाउने व्यवस्था सरकारले गरेको छ, तर नेपालमा उत्पादन नै नहुने ती वस्तु खुद्रा बजारमा सहजै उपलब्ध छन् ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० मंसिर २६ गते १९:१६

२६ मंसिर, काठमाडौं । नेपाल खुद्रा व्यापार संघले मंसिर महिनाका लागि तीनथरी केराउको खुद्रा बजार मूल्य तोकेको छ । जसअनुसार सेतो केराउको मूल्य प्रतिकिलो १००, हरियो केराउको १४० र सानो केराउको १६० रुपैयाँ छ ।

नेपाली बजारमा अपवादबाहेक जहाँसुकै बग्रेल्ती र बाह्रै महिना केराउ उपलब्ध छन् । बजारमा केराउको माग र स्वदेशी उत्पादनको तथ्यांक सरकारसँग छैन । तर व्यवसायीहरुका अनुसार बजारमा बाह्रै महिना उपलब्ध केराउ नेपाली उत्पादन नै होइन ।

गएको तिहारमा बजारमा प्रशस्तै मात्रामा छोकडा उपलब्ध भयो । व्यवसायीहरुका अनुसार बजारमा उपलब्ध भएको यस वर्षको छोकडा त झन् अघिल्ला वर्षहरुमा भन्दा उच्च गुणस्तरका थिए । भाइमसलामा प्रशस्तै मात्रामा वितरण भएको छोकडा अहिले पनि खुल्ला किराना बजारमा खरिद गर्न पाइन्छ । तर नेपालमा छोकडा उत्पादन हुँदैन ।

दराज अनलाइनमा प्रतिकिलो ८०० रुपैयाँमा छोकडा उपलब्ध छ । यस्तै, काठमाडौं ग्रोसरी नामक अनलाइन बिक्री केन्द्रले पनि २४० रुपैयाँमा २५० ग्राम छोकडा बिक्री गरिरहेको छ ।

अहिले पनि बजारमा सुपारी र मरिच उपभोक्ताको माग बजोजिम उपलब्ध छ । भाटभटेनी र बिगमार्टजस्ता सुपरमार्केटले प्रतिकिलो एक हजार रुपैयाँमा मरिचको बिक्री गरिरहेका छन् । खुला बजारमा अहिले ३० ग्राम सुपारीको मूल्य ४५ रुपैयाँ पर्छ ।

माथि उल्लेख भएका वस्तु औद्योगिक कच्चा पदार्थको रुपमा उद्योगले मात्रै आयात गर्न पाउनेगरी सरकारले आंशिक प्रतिबन्ध लगाएको छ । उद्योगहरुले आयात गरेर बजारमा बिक्री गर्न पाउँदैनन् । सरकारले बिचौलियाको लहैलहैमा कहिले आयात खोल्ने त कहिले आयात रोक्ने गरिरहेका यी वस्तु अहिले नेपाल आयातमा कानुनी रुपमा भने बर्जित छ ।

प्रतिबन्धित वस्तु कसरी बजारमा ?

सरकारले २०७५ सालयता तीनपटक सुपारी, केराउ, मरिच र छोकडाको आयात खोल्दै र बन्द गर्दै गरेको छ । पछिल्लो समय २०७८ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘सुपारी केराउ, मरिच, पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर उद्योगको कच्चा पदार्थको रुपमा आयातको बाटो खोलेको थियो ।

त्यसअघि २०७७ चैतमा वाणिज्य विभागले एक आवेदन माग गरेर अन्तिम पटक व्यापारिक प्रयोजनका लागि मात्रै यी वस्तुको परिमाण तोकेर आयात खोलेको थियो । त्यसयता यी वस्तु व्यापारिक फर्मले आयात गर्न पाएका छैनन् ।

बजार अनुगमनका क्रममा वस्तुहरु भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी आनन्द पोखरेलका अनुसार यसरी भेटिएका छोकडा आयात सम्बन्धमा विभागले अहिले अध्यायन गरिरहेको छ । जसअनुसार एक भन्दा धेरै कारोबार तह बनाएर यी वस्तुको आयात भएको पाइएको निर्देशक पोखरेलले बताए ।

‘सरकारले व्यापारिक फर्मका लागि आयात प्रतिबन्ध लगाएको वस्तु आयात भएर बजार पुगेको भेटिएको छ,’ विभागका प्रवक्तासमेत रहेका पोखरेलले भने, ‘हामी केही केसहरुको विस्तृत अध्ययन गरिरहका छौं ।’

अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार कच्चा पदार्थ ल्याउन अनुमति पाएका उद्योगहरुले एउटै नाममा फरक-फरक फर्म दर्ता गरेर फरक फरक तहमा काम गरेको पाइएको छ । यस्तै, कमजोर भन्सार र राजस्व नियमको फाइदा उठाउँदै चोरबाटोबाट ती वस्तु बजारमा भित्रिरहेको आशंका छ ।

भारतको दबाबमा बन्द, छैन सरकारी अध्ययन

अर्थ र वाणिज्य मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो मुलुक (म्यानमार, इजिप्ट लगायत)बाट आयात हुने यस्ता वस्तु नेपालबाट भने चोरबाटो वा न्यून मूल्य अभिवृद्धिमा भारत पुग्थे । भारतले सार्कबाहेकका अन्य मुलुकबाट आयात हुने यस्ता वस्तुमा उच्च कर लगाएर आयातमा निरुत्साहनको नीति लिइरहँदा नेपालबाट भने साफ्टा सुविधामा सस्तोमा ती वस्तु आफ्नो बजार पुगेपछि गम्भीर आपत्ति जनाएको थियो ।

‘कम्तीमा २० प्रतिशत मूल्य अभिवृद्धि नभई कृषि उपज निर्यात नगर्न भारतले दबाब दियो,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘तेस्रो मुलुकबाट नेपाल भित्रिएर आफ्नो मुलुक जाने कुरामा जानकार भारतले नेपाललाई ती वस्तु निरुत्साहन गर्न दबाब दियो ।’

त्यसपछि सरकारले व्यापारिक प्रयोजनका लागि ती वस्तुको कारोबार प्रतिबन्ध गरेको छ । तर मुलुकमा दैनिक रुपमा यी वस्तुको प्रयोग हुन्छन् र कानुनी रुपमा पैठारी रोक्दा पनि ती वस्तु खपतका लागि बजार आइपुग्छन् भन्नेमा ध्यान नपुगेको सरकारी ठम्याइ छ ।

भन्सार प्रणालीमाथि प्रश्न

मंसिर १० गते भन्सार कार्यालय सुख्खा बन्दरगाह वीरगन्जले ३९१ वटा कन्टेनरलाई एक साताभित्र भन्सार जाँचपासका लागि आउन सूचना जारी गरेको थियो । तीमध्ये केही दर्जन कन्टेनरमा हरियो र सेतो केराउ छ । सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको केराउ बोकेका कन्टेनर वीरगन्ज भन्सारमा कहिलेदेखि आएका थिए, भन्सार कार्यालयलाई नै थाहा छैन ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल ती वस्तुहरु गलत ढंगले आयात भएको र अब लिलामी गरेर सरकारको खातामा पैसा ल्याउने बताउँछन् । यो उदाहरणले पहिलो पनि प्रशस्त मात्रामा यसरी प्रतिबन्धित वस्तु भित्रिएको र त्यसबाट सरकारलाई राजस्वमा ठूलो क्षति पुगेको देखिन्छ ।

अनुगमन र नियमन जरुरी

सरकारले अहिले पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरुमाथिको नियमन कमजोर भएको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा बताउँछन् । यस्ता वस्तुहरु नेपालमा आउने र नेपालको बाटो भएर भारतमा जाने भइराखेको उनले बताए । सुपारी, पोस्तादाना, छोकडालगायत पनि यस्तै वस्तुको रुपमा रहेको भन्दै यसले नेपाल र भारतको बीचको व्यापारको स्वास्थ्यलाई बिगार्ने ओझाको मत छ ।

नेपालको बजारको मागभन्दा ठूलो परिमाणमा त्यस्ता वस्तु आउने र मूल्य अभिवृद्धि नभई भारत जाने गरेकाले प्रतिबन्धको आवश्यकता भएको उनी बताउँछन् । यसलाई अझै कडा नियमनको दायरामा राख्नुपर्ने ओझाको भनाइ छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?