+

के गर्ने जब बुढापाकालाई निमोनिया हुन्छ

२०८० मंसिर  २८ गते १३:१९ २०८० मंसिर २८ गते १३:१९
के गर्ने जब बुढापाकालाई निमोनिया हुन्छ

वृद्ध अवस्थामा ज्यान नै लान सक्ने समस्या हो, निमोनिया । विश्वव्यापी तथ्यांकले यसै भन्छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष दश कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएको छ । खासगरी समयमा उपचार हुन नपाउँदा यसले ज्यान नै लाने जोखिम रहन्छ ।

वाह्य जीवाणु, परजीवि, फंगस र क्षयरोगमा हुने किटाणु जस्ता तत्वले फोक्सोमा प्रवेश गरी संक्रमण हुनु निमोनिया हो ।

बुढापाकालाई नै किन जोखिम ?

बुढापाकामा रोग प्रतिरोधी क्षमता कम हुन्छ । साथसाथै उनीहरु अन्य रोगसँग पनि जुधिरहेका हुन्छन् । यस्तो स्थितीमा निमोनिया गराउने संक्रमणले उनीहरुलाई थप गलाउन सक्छ । जबकि निमोनियाग्रस्त व्यक्तिलाई कडा खालको उपचार गर्नुपर्ने हुन्छ । निमोनिया भएपछि उपचार गराउँदा बाँच्ने संभावना ७० प्रतिशत हुन्छ ।

जाडोमा समस्या 

कतिपय भाइरसले रुघाखोकी मात्र गराँउछ । यस्ता रुघाखोकी शरीरको प्रतिरोध शक्ति बलियो छ भने खासै असर गर्दैन । तर, त्यही भाइरसले प्रतिरक्षा कमजोर भएकाहरुमा असर गर्न सक्छ, खासगरी ६५ बर्ष उमेर पार गरेका बुढापाकामा ।

उनीहरुमा कडा खालका भाइरस र ब्याक्टेरियाले थोरै संक्रमण गर्नसाथ निमोनिया हुने जोखिम हुन्छ । त्यसमापनि दिर्घ रोग मधुमेह, मुटु, बाथ, रक्तचाप, दम, मिर्गौला सम्बन्धि समस्य भएकालाई निमोनियाले सताउने जोखिम उच्च हुन्छ ।

क्यान्सर र बाथ रोगको औषधिले प्रतिरोध क्षमता कम गराउँछ । यस्तोमा पनि निमोनियाको जोखिम अत्याधिक हुन्छ । सबैभन्दा बढी जाडो महिनामा वृद्धलाई यसको जोखिम हुन्छ ।

यसबाहेक, अस्पतालको भेन्टिलेटरमा रहेका बिरामीमा हुने निमोनिया, जुन खासगरी बेहोसी अवस्थामा रहेका वा पक्षाघात भई ‘बेड रेस्ट’मा रहेकालाई लाग्ने गर्छ ।

जाडो याममा सजग रहनुपर्छ

जाडो याममा वातावरण सुख्खा हुन्छ । त्यसमाथि वायुमा धुलो धुँवा थेग्रिएर प्रदूषित भएको हुन्छ । घामको अभावमा धेरैतिर ढुसी फैलिएको हुन्छ ।

यस्तोमा बाह्य जीवाणुहरु तथा भाइरस बढी सक्रिय हुन्छन् । सबैभन्दा बढी एडिनो, आरएसबी भाइरस, राइनो, सिजनल इन्फ्लुएन्जा जस्ता भाइरस सक्रिय हुन्छन्  । ती भाइरसले त्यस्ता व्यक्तिलाई सहजै आक्रमण गर्न सक्छ, जसको रोग प्रतिरोधी क्षमता कमजोर छ । यस्तो जोखिम सबैभन्दा बढी बुढापाका एवं अन्य रोग भएकाहरुलाई हुनसक्छ ।

सो भाइरसलले वयस्क र बालबालिकालाई साधारण रुघाखोकी र ज्वरो गराउन सक्छ भने बुढापाकामा निमोनिया गराउन सक्छ । किनभने जाडो याममा प्राय बुढापाकाहरु निस्क्रिय रहने गर्छन् । ओछ्यानमै बस्छन् । वा झ्याल ढोका थुनेर हिटर वा आगो तापेर बस्छन् । यसले गर्दा फोक्सोलाई पर्याप्त अक्सिजन पुगिरहेको हुँदैन र श्वासप्रश्वासमा समस्या भइरहेको हुन्छ ।

निमोनियाले कसरी फोक्सोलाई संक्रमण गर्छ ?

श्वासनली नाकबाट सुरु भएर मुख र घाँटी हुँदै दुइवटा फोक्सोको भित्री तहसम्म पुग्छ ।  घाँटी नजिको माथिल्लो श्वासनलीमा भाइरस वा जीवाणुले संक्रमण ग¥यो भने साधारण रुघाखोकी लाग्छ । र, नाक बन्द हुने, घाँटी खसखस गर्ने र सुख्खा खोकी लाग्ने हुन्छ ।

यो धेरैजसो आफै निको भएर जान्छ । तर, संक्रमण छाति भित्रको श्वासनलीमा भएमा खोकी लाग्न थाल्छ । यो क्रम जारी रह्यो भने उक्त  संक्रमण फोक्सोको भित्री तहसम्म पुग्छ । यो संक्रमणले विस्तारैै दुवै फोक्सोमा असर गर्छ । जसले गर्दा खकार जम्ने, पाक्ने हुँदै अवस्था जटिल हुन पुग्छ । दुवै फोक्सोमा असर गरेमा लक्षण पनि छिटो गतिमा देखिन्छन् ।

कसरी थाहा हुन्छ ?

सुरुवाती क्षणमा साधारण रुघाखोकी र हल्का ज्वरो आउन सक्छ । विस्तारै पहेंलो वा रगत मिसिएको खकार आउँछ, ज्वरोसँगै हल्का पसिना आउँछ, जिउ दुख्छ ।

यो क्रम बढ्दै जाँदा छाती दुख्ने, सास फेर्न असहज हुने, खानामा अरुची हुने, वाकवाकी लाग्ने हुन्छ ।

यसबाहेक बुढापाकाको होश हराउने र भ्रमित हुने पनि लक्षण देखा पर्न सक्छ ।

कस्तो अवस्थामा अस्पताल जाने ?

सामान्यत निमोनिया हुँदा देखिने रुघाखोकी र ज्वरोलाई सामान्य ठानेर घरमै बस्दा निमोनियाले जटिल रुप लिनसक्छ । केही लक्षणलाई विचार गर्न सकियो भने छिटो पहिचान र उपचार हुनसक्छ ।

सामान्य रुघाखोकी हो भने ३ देखि ४ दिनभित्र निको भइसक्छ । घरेलु उपचारले पनि काम गर्न सक्छ । यदि, ७२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि रुघाखोकी तथा ज्वरो उच्च हुनुको साथै खकार पहेंलो आउने, सास फेर्न कठिन हुने,  छाती दुख्ने जस्तो समस्या देखिए अस्पताल लानुपर्छ ।

पहिचान

छातिको एक्स-रे, खकार र रगतको परीक्षणबाट निमोनिया हो वा होइन भनेर टुंगो गरिन्छ । के छ उपचार ?

यसको उपचारमा पहिला निमोनियाको कारण निर्धारण गर्नु पर्छ, ताकि उपचार सोही अनुसार सहज होस् ।

धेरैजसो भाइरसले गराएको भाइरल निमोनियाको उपचार गर्न सकिँदैन । किनकी सबै प्रकारका भाइरसको एन्टीभाइरल औषधि उपलब्ध हुँदैनन् । केही निमोनिया उपचार नगरी पनि स्वत निको हुन्छ ।

केही भाइरस जस्तै इन्फ्लुएन्जाको सुरुवाती चरणमै पत्ता लागेमा एन्टीभाइरल औषधिले निको पार्न सकिन्छ । ब्याक्टेरियाका कारण हुने निमोनियालाई एन्टिबायोटिक्सद्वारा उपचार गर्न सकिन्छ ।

तर, संक्रमण फैलिएर दुवै फोक्सोमा पुगेको अवस्थामा रक्तचाप घट्ने, भ्रमित हुने र अक्सिजनको मात्रा घट्न सक्छ । यस्तोमा आइसियु र कसैलाई भेन्टीलेटरमा राखेर विशेषज्ञको विशेष निगरानीमा उपचार  गरिन्छ ।

जटिलता के छ ?

समयमै उपचार नभएमा अक्सिजनको कमी, दुवै फोक्सोमा संक्रमण फैलिने, पानी जम्ने, संक्रमण मिर्गौलामा पुगेर काम गर्न बन्द गर्ने र मुटुसम्बन्धी समस्या आएर मृत्यु नै हुनसक्छ ।

निमोनिया भएमा के गर्ने ? निमोनियाको उपचार के छ ?
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय