+
+
विचार :

कम्युनिस्ट नाम राख्ने-नराख्ने बारे बहस गर्न सकिन्छ

कतिपय परम्परागत विचारहरू अब अप्रासङ्गिक भएका छन् तर त्यो सम्पूर्ण रूपले अप्रासङ्गिक छैनन्। कति निरन्तरतामा छन् भने कतिपय परिवर्तन भएका छन्। त्यसको राम्रो अध्ययन गर्नुपर्छ र हामीले त्यस आधारमा अगाडि बढाउनुपर्छ। यही आधारमा पार्टीको नाम राख्न विल्कुल सकिन्छ।

सुरेन्द्र पाण्डे सुरेन्द्र पाण्डे
२०८० पुष ६ गते १७:१६

कुनैबेला खासगरी कार्ल मार्क्सहरूले नै गरेको बहस बारे म प्रष्ट पारौं- १० बुँदाको समाजवादका प्रारम्भिक कार्यक्रम भनेर कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ।

तीमध्ये एउटा सवाल हो- प्रगतिशील कर (ग्र्याजुएटेड ट्याक्स)। यो भनेको जति धेरै कमाइ, त्यति धेरै कर लगाउनुपर्छ। यो नै समाजवादभित्रको एउटा मुख्य कुरा हो भनेर बहस भयो। मार्क्स त्यसबारेमा जानकार थिएनन्। व्यावसायिक पृष्ठभूमिबाट आएका फ्रेडरिक एङ्गेल्सलाई यो लगाउनुपर्छ भन्ने भएपछि त्यो कुरा घोषणापत्रमा समावेश गरियो।

त्यसको अर्थ, लामो समयसम्म समाजमा सबैको सम्पत्ति बराबर हुँदैन। त्यसैले करको माध्यमबाट लामो समयसम्म समाजलाई बराबर बनाउने हो। जो बढी कमाउँछ, त्यसबाट बढी कर लिने।

म यही मान्यतामा छु र मैले त्यसको धेरै ठाउँमा वकालत पनि गर्दै आएको छु ।

अहिले समाजवादी मुलुकहरूभित्र एउटा बहस छ, हिजो सबैलाई बराबर बनाउने नाममा निजी सम्पत्ति खोस्नु ठिक थियो ? आजका समाजवादी भनिने देशहरूले त्यसलाई सच्याइसके। सन् २०२३ मा संसारभर रहेका २४०० खर्बपतिमध्ये २४९ जना चीनमा छन्। हिजोको समाजवादी व्यवस्थामा खर्बपति हुन्छन् भन्ने कुनै परिकल्पना, अनुमान, सोच वा दृष्टिकोण थियो र ? थिएन। आज त अवलम्बन नै गरिसके। खर्बपतिलाई समेत छुट दिने प्रणाली पनि समाजवादी हुन्छ भन्ने कुरा चीनले लागू नै गरिसक्यो। यस्तो अरु देशमा पनि छ।

अबको समाजवादको मोडल कस्तो हुने ? हाम्रो देश त झन् भिन्न बाटोबाट आएको छ। पूँजीवादलाई ढालेर समाजवादमा जाँदा एउटा पार्टी र एउटा कम्युनिस्ट पार्टीको मात्रै अस्तित्व रहन्छ र उसले नै पूँजीवादको अन्त्य गरेर समाजवादी बाटोमा जान्छ भन्ने बुझाइ र अभ्यास थिए। चीन लगायत देशमा लागू गरिएका सामन्ती व्यवस्थालाई अन्त्य गरेर गैर पूँजीवादी बाटोबाट समाजवादमा जाने भन्ने बाटोभन्दा भिन्न भएर हामी आयौं।

त्यो कसरी भने कांग्रेस र हामी सबै (कम्युनिस्टहरू) मिलेर नै सामन्ती व्यवस्था निरंकुश राजतन्त्र अन्त्य गर्यौं। मिलेर नै लोकतान्त्रिक प्रणाली स्थापना गर्यौं। यसरी हाम्रो देशको समाजवाद पनि एउटा लामो कोर्सबाट र भिन्न बाटोबाट स्थापित हुन्छ भन्ने प्रष्ट छ। त्यो न चीनको जस्तो मोडेल हुन्छ, न अरु देशको जस्तो मोडेलको कपी हुन सक्छ। नयाँ मोडेलबाट जान्छ।

ठिक अर्कोतर्फ पूँजीवादी देशहरूको अवस्था अध्ययन गर्दा उनीहरूले पनि केही बदलाव ल्याएका छन्। हिजो पूँजीवादले सबै कुरा बजारमा हुन्छ सबै कुरा लायसेज फेयर हो भन्थ्यो। पूर्ण छुट र प्रतिस्पर्धी व्यवस्था हुन्छ भन्ने जुन थियो, त्यो उसले पनि अवलम्बन गरेन। बरु समाजवादका अनेकौं तत्वहरू आफूभित्र समाविष्ट गर्यो। अधिकतम कर लगाएर समाजमा केही पनि नभएको वर्गलाई सबै वितरण गर्ने प्रणालीमा उनीहरू हिंडिरहेका छन्।

यसरी २०० वर्ष अगाडि बहसमा रहे जस्तै न त्यतिबेलाको पूँजीवाद आज त्यही रूपमा छ, न समाजवादी विचारकहरू, विचार र व्यवस्था त्यही रूपमा छन्। पूँजीवादीहरूले समाजवादका तत्वहरू आफूभित्र समाविष्ट गरे। समाजवादीहरूले पूँजीवादका कतिपय तत्वहरू आफ्नो वृद्धि र प्रगतिको लागि आफूभित्र समाविष्ट गरे।

त्यसैले नेपालको बाटो पनि भिन्न रूपले जान्छ र लामो कालसम्म निजी पूँजी नेपाली समाजमा रहन्छ।

म त अर्को पनि मान्यतामा छु कि मार्क्सले भनेको सर्वहारा वर्ग अहिले अस्तित्वमै छैन। उनले दुइटा वर्ग बारे मात्रै व्याख्या गरेका थिए। एकाथरीको हातमा उत्पादनका सम्पूर्ण साधन हुन्छ र उही वितरण गर्छ। अर्काथरी साधन–स्रोत र उत्पादनका साधनविहीन भएका एउटा वर्ग हुन्छ, जसलाई सर्वहारा वर्ग भनेर व्याख्या गरेका छन्। त्यो व्याख्यामा संसारै अब दुइटा वर्गमा विभाजित हुँदै जान्छ भनियो।

जबकि समयले के भनिदियो भने समाज दुइटा वर्गमा सीमित भएन। अनेक वर्गहरू समाजमा विद्यमान रहे। अहिले त सर्वहारा वर्ग भन्ने अस्तित्वमा छैन यद्यपि श्रमिक छन्। श्रमिकहरु त व्यापक भएर गए।

तपाईं एउटा मिडिया हाउसको श्रमिक हुनुभयो। तपाईंले मिडिया हाउस खोलेर अर्को मिडिया पर्सनलाई जागिर लगाउनुभयो भने तपाईं साहु, पूँजीपति। अर्काकोमा काम गर्नुस्, तपाईं श्रमिक। अर्काको अस्पतालमा काम गर्ने डाक्टर श्रमिक हुन्छ, आफैं अस्पताल खोलेर अरु डाक्टरलाई काम लगाए ऊ पूँजीपति हुन्छ।

यसरी श्रमिकहरूको परिभाषाको दायरा व्यापक भएर गयो। शारीरिक र मानसिक श्रम एकठाउँमा एक भएर गए। हिजो पो मान्छेमा शिक्षा थिएन। शिक्षित वर्ग बढ्दै बढ्दै गएपछि अब अशिक्षितलाई मजदुर भन्ने चलनबाट पनि दुनियाँ बाहिर आइसक्यो। मजदुर पनि शिक्षित भयो। त्यसैले मानसिक र शारीरिक श्रम एउटै हुनथाल्यो। यो कोर्स अगाडि बढ्दै गएको हुनाले श्रमिकको पंक्तिमा विस्तार भयो। पूँजीपतिको चरित्रमा पनि विस्तार भयो।

अहिले भर्खरै एउटा अध्ययन गरेको थिएँ। युरोपमा सन् १८०० सम्म आइपुग्दा दिनको १७ र हप्ताको १०० घण्टा काम गर्नुपर्थ्यो। अहिले हप्तामा दुई दिन बिदा हुन्छ र ३० घण्टा काम गर्नुपर्छ। ८ घण्टाभन्दा बढी काम गराउन पाइँदैन भन्ने संघर्ष थियो। जबकि पूँजीवादी भनिने युरोपका १० वटा देशमा वर्षमा १३०० घण्टा, हप्ताको ३० घण्टा काम गर्नुपर्दो रहेछ। जबकि अहिले पनि भारतमा वर्षको २५०० घण्टा र हप्ताको ४५-५० घण्टा काम गर्नुपर्छ।

यी तेस्रो विश्वका मुलुकभन्दा युरोपका पूँजीवादी मुलुकहरूमा कम समय श्रम गर्नुपर्ने र बढी ज्याला दिने भनेपछि हिजोका कैयौं मुद्दा अब परिवर्तित भए। हिजो ज्याला वृद्धि र कार्यसमय ८ घण्टाभन्दा बढी हुनुहुँदैन भन्ने मुद्दा त अब अप्रासङ्गिक भए त्यो पनि स्वयं पूँजीवादी देशहरूमा। त्यसैले संसारभरको समाजवादको यात्रा पनि नयाँ ढंगले गुज्रिइरहेको छ र पूँजीवाद विकासको यात्रा पनि नयाँ हिसाबले गुज्रिइरहेको छ।

अहिले झन् आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ मेसिन युगले त कैयौं श्रमिकको जागिर विस्थापित गरिदिंदैछ। अतिरिक्त पूँजीको धारणा हिजो र आजमा परिवर्तन छ। किनभने २१औं शताब्दीको पूँजीवाद फरक छ। कार्ल मार्क्सले भन्थे- अहिलेको पूँजीवादले वस्तु बनाएर नाफा खान्छ। उत्पादन (म्यानुफ्याक्चरिङ) पूँजीवादले १७ घण्टा काम गराउँथ्यो। त्यो अत्यधिक श्रमको शोषण गर्ने समय थियो।

शास्त्रीय कम्युनिज्म (कम्युनिस्ट प्रणाली)को नाम वा ब्राण्ड बोकेर हिंड्न आवश्यक छ/छैन भन्ने कुरामा बहस गर्न सकिन्छ। सायद नेपालमा मार्क्स जन्मिएका थिए भने कम्युनिज्मको नाम पञ्चायत लेख्थे होलान्। किनभने ५ जना भलाद्मी मिलेर समाजमा फैसला गर्ने सबैभन्दा राम्रो प्रणाली हो।

भ्लादिमिर लेनिनले मार्क्सले व्याख्या गरेभन्दा बदलाव आयो भने। अब सामान निर्यात गरेर होइन, पूँजी निर्यात गरेर अर्थात् पैसा बेचेर नाफा खाने वित्तीय पूँजीको कुरा उनले गरे।

अहिले त मानिसका निजी अनुभव पनि किनबेच हुनथाल्यो। तपाईं नियमित रूपमा फेसबुक वा अरू कुनै साइट/एप चलाउनुहुन्छ भने तपाईं के चाहनुहुन्छ (अनुभवहरू) भन्ने कुरा एआईले ट्रयाक गर्छ। इतिहासको मात्रै पुस्तक पढिरहनुभयो भने एल्गोरिदम मार्फत तपाईंलाई इतिहासको मात्रै किताब पढाइदिइरहन्छ।

यसरी मानिसको निजी अनुभवहरू पनि अध्ययन गर्न र त्यसलाई प्रोडक्ट बनाएर बेच्न सकिन्छ भन्ने ठाउँमा अहिलेको पूँजीवाद आइपुगेको छ। यस्तो पूँजीवादको युगबाट हामीले अबको समाजवादको यात्रा तय गर्नुपर्नेछ।

शास्त्रीय कम्युनिज्म (कम्युनिस्ट प्रणाली)को नाम वा ब्राण्ड बोकेर हिंड्न आवश्यक छ/छैन भन्ने कुरामा बहस गर्न सकिन्छ। सायद नेपालमा मार्क्स जन्मिएका थिए भने कम्युनिज्मको नाम पञ्चायत लेख्थे होलान्। किनभने ५ जना भलाद्मी मिलेर समाजमा फैसला गर्ने सबैभन्दा राम्रो प्रणाली हो। यो त (निरंकुश व्यवस्था) पञ्चायतले ल्याएर पो यसको नाम बिगारेको त ! हाम्रो समाजमा त पञ्चायत नै थियो नि!

पञ्चायत भनेको हिजोको प्राथमिक न्याय निरुपण गर्ने प्रणाली वा एकाइ थियो। युरोपमा यसलाई नै कम्युन भनियो र त्यसैलाई मार्क्सले कम्युनिज्म भने। उनी यहाँ जन्मिएको भए त्यो व्यवस्थाको नाम अर्कै हुन्थ्यो होला। त्यसमा हामी छलफल गर्न सक्छौं।

तर उद्देश्य के हो भने अन्ततः मानिसहरू त्यो गन्तव्यतिर नजिकिंदैछन्। एउटा सन्दर्भमा एक जनाले मलाई भने- ‘मार्क्सले एउटा विन्दुमा पुगेपछि पहिलो अवस्थामा मानिसलाई काम अनुसारको दाम, दोस्रो चरणमा गएपछि आवश्यकता अनुसारको दाम र क्षमता अनुसारको काम भनेका थिए। अध्ययनको सिलसिलामा अब साम्यवाद आइसक्यो।’

उनको तर्क के हो भने तपाईंलाई चाहिएको पुस्तक बजारबाट अब अनलाइनमै प्राप्त हुन्छ। मोबाइल हातमा लिनुस्, तपाईंलाई चाहिएका संसारका जुनकुनै पुस्तक प्राप्त गर्नुहोस्। आवश्यकता अनुसार लिनुहोस् तर कति पढ्न सक्नुहुन्छ त्यो तपाईंको खुबीमा भर पर्छ। उनले यसमा साम्यवाद आइसक्यो भन्थे।

हिजो तपाईंसँग पैसा भए पनि पढ्न चाहेको पुस्तक प्राप्त गर्न सक्नुहुन्थेन। प्राप्त गर्ने सम्भावनै थिएन। त्यसकारण कतिपय कुरा अहिलेको पूँजीवादले त्यो संभावना बदलिदियो।

अहिले डेनमार्कमा जन्मिएको नयाँ द सिन्थेटिक पार्टीलाई एआईले चलाउँछ। त्यसका सबै घोषणापत्र नै एआईले बनाउँछ। त्यसले युनिभर्सल बेसिक इन्कम भनेर आफ्ना श्रमिकहरूको तलब १३ हजार अमेरिकी डलर दिने घोषणा गरेको छ। यसरी दुनियाँ कता जाँदैछ भनेर यी सबै हामीले अध्ययन गर्नुपर्छ।

कतिपय परम्परागत विचारहरू अब अप्रासङ्गिक भएका छन् तर त्यो सम्पूर्ण रूपले अप्रासङ्गिक छैनन्। कति निरन्तरतामा छन् भने कतिपय परिवर्तन भएका छन्। त्यसको राम्रो अध्ययन गर्नुपर्छ र हामीले त्यस आधारमा अगाडि बढाउनुपर्छ। यही आधारमा पार्टीको नाम राख्न विल्कुल सकिन्छ। यद्यपि अहिले नै कतिपय मानिसहरू यसका लागि तयार नहोलान्। तर समयले हरेक पार्टीहरू परम्परागत विचारबाट निर्देशित छैनन् भन्ने देखाइसकेको छ। नेपालमै पनि व्यावहारिक रूपमा धेरै पार्टी अहिलेको आवश्यकता अनुसार नै काम गरिरहेका छन्। हामी पनि त्यसरी नै काम गरिरहेका छौं।

(कुराकानीमा आधारित)

लेखकको बारेमा
सुरेन्द्र पाण्डे

नेकपा एमालेका उपाध्यक्ष रहेका लेखक पूर्व अर्थमन्त्री पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?