+
+
जाजरकोट भूकम्प :

डेढ महिनादेखि त्रिपालमा छन् पीडित, अझै पाएनन् आवास निर्माणको अनुदान

यज्ञ खत्री यज्ञ खत्री
२०८० पुष ६ गते १९:५३

५ पुस, सुर्खेत । सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका छन् ।

१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु पाल टाँगेर बसेका छन् ।

तर चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान गुमाएका छन् । ‘डेढ महिनादेखि पीडित त्रिपालमुनि छन्’ नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्त भन्छन्, ‘सरकारले दिने भनेको पहिलो किस्ताको रकम अहिलेसम्म हामीले नै पाएका छैनौं ।’

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्नका लागि दुई चरणमा गरेर ५० हजार रकम दिने निर्णय गरेको छ ।

तर अहिलेसम्म सरकारले दिने पहिलो किस्ता (२५ हजार रुपैयाँ) नपाएको नलगाड नगरपालिका ८ जाजरकोटका भूकम्पपीडित वीरबहादुर खत्री बताउँछन् । ‘पुस, माघको चिसो दिनानुदिन बढ्दै छ । तत्काल ओत लाग्ने ठाउँ नभएसम्म हाम्रो ज्यान थप जोखिममा पर्ने देखिन्छ,’ उनले भने ।

तर लामो कानुनी प्रक्रिया र पालिकाले समयमै लगत सङ्कलन गर्न नसक्दा ढिला भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा स्वीकार गर्छन् । अधिक पालिकामा पहिलो चरणको रकम पठाएका भन्दै उनले भने, ‘अब अस्थायी आवास निर्माणले तिव्रता पाउँछ ।’

केही राजनीतिक दल, तीनका भ्रातृ संस्था र सामाजिक संघसंस्था लगायतले भने अस्थायी टहरा निर्माणमा सघाइरहेका छन् । ‘उद्धार र राहतका काममा सरकारले निकै सक्रियता देखायो,’ रुकुम पश्चिम आठविसकोटका अगुवा धिरेन्द्र बटालाले भने, ‘तर अस्थायी टहरा निर्माणमा भने तीनै तहका सरकारले चासो दिएनन्, जसले गर्दा भूकम्पपीडितहरूको बिचल्ली भइरहेको छ ।’

हालसम्म रुकुम पश्चिममा चार हजार अस्थायी टहरा निर्माण भएको छ । करिब २६ हजार घरपरिवार घरबारविहीन छन् । ‘पालिकाले तय गरेको लाभग्राहीको संख्याका आधारमा अस्थायी आवास निर्माणका लागि प्रतिघरपरिवार २५ हजार रुपैयाँ पहिलो किस्तामा उपलब्ध गराइरहेका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले भने, ‘नपुगेको केही रकम केन्द्रसँग माग गरेका छौं ।’

जाजरकोटमा पनि रुकुम पश्चिमकै हाराहारीमा अस्थायी आवास बनेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म जाजरकोटमा जम्मा चार हजार १७१ वटा मात्रै अस्थायी आवास बनेका छन् । जबकि जाजरकोटमा ३३ हजार बढी घरहरूमा भूकम्पले क्षति पुर्‍याएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा १ सय ५३ जनाले ज्यान गुमाएका थिए ।

कतिले पाए पहिलो किस्ता ?

जाजरकोटमा मात्रै जिल्लाभर ३३ हजार ५५ जना लाभग्राही छन् । उनीहरु १३ हजार १४५ जना परिवारसँग सम्झौता भएको छ भने चार हजार ६२४ जनाले मात्रै पहिलो किस्ता रकम पाएका छन् ।

भेरी नगरपालिकामा चार हजार ५४९ लाभग्राही छन् । सम्झौता भएका ५९२ लाभग्राहीले मात्रै अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा ५ हजार ५८६ लाभग्राही छन् । जसमध्ये एक हजार ६५ परिवारले पहिलो किस्ता रकम पाएका छन् । तीन हजार ६६४ लाभग्राही रहेको छेडागाड नगरपालिकाका एक हजार ८६ परिवारसँग सम्झौता भएको छ । ९६ जनाले पहिलो किस्ता रकम पाएका छन् ।

सबैभन्दा बढी क्षति भएको नलगाडमा ८ हजार ९७ लाभग्राही छन् । तर रकम अभावका कारण पहिलो किस्ताको रकम पठाउन नपाउको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

कुशे र जुनीचाँदेमा कसैले पनि पहिलो किस्ता रकम पाएका छैनन् । कुशेमा पाँच हजार २८७ लाभग्राही छन्, जसमध्ये १४० परिवारसँग सम्झौता भएको छ । सम्झौता गरेकाहरुले पनि पहिलो किस्ता पाएका छैनन् । जुनीचाँदेमा दुई हजार ५६३ लाभग्राही छन् । उनीहरुले पनि अनुदान पाएका छैनन् ।

तीन हजार ३०९ लाभग्राही रहेको शिवालय गाउँपालिकामा दुई हजार ८७१ परिवारले रकम प्राप्त गरेका छन् ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म पहिलो किस्ता बापतको ५० करोड ९८ लाख ७५ हजार रकम पालिकाहरुमा पठाइएको छ भने केन्द्रसँग थप ४५ करोड रकम मागिएको छ ।

रुकुम पश्चिममा पनि केन्द्रले पठाएका ५० करोड मध्ये ४९ करोड ८३ लाख ५० हजार रकम पालिकाहरुमो पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिए । उनका अनुसार २६ हजार ८९ लाभग्राही रहको रुकुम पश्चिममा थप एक अर्ब २ करोड करम केन्द्रसँग माग गरिएको छ ।

आठबिसकोट नगरपालिकाका ६ हजार, सानीभेरी गाउँपालिकाका २ हजार ३२१, त्रिवेणी गाउँपालिकाका २ हजार ७९, बाँफिकोट गाउँपालिकाका एक हजार ६९९ र मुसीकोट नगरपालिकाका ५६६ जना लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?