+

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

२०८० पुष  १६ गते १८:२३ २०८० पुष १६ गते १८:२३
Shares
गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो ।

शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की खान दिइन्छ । सामान्यतया महिलाहरुको १३ ग्रामप्रति डेसिलिटर हेमोग्लोबिन हुनुपर्छ । गर्भावस्थामा हेमोग्लोबिनको मात्रा कमी नहोस् भनेर आइरन चक्की दिने गरिन्छ ।

आइरन के हो ?

आइरन एक खनिज (मिनरल) हो, जुन कतिपय शारीरिक प्रक्रियालाई सुचारु रुपले सञ्चालन गर्नका लागि जरुरी हुन्छ । आइरनले शरीरमा हेमोग्लोबिन उत्पादन सहयोग गर्छ । हेमोग्लोबिनले शरीरका विभिन्न भागमा अक्सिजन प्रवाह गर्न रातो रक्तकोषिकालाई सहयोग गर्छ । यसैले शरीरमा आइरनको अभाव भएमा अक्सिजनको कमी हुन्छ ।

आइरनले प्रतिरोधक क्षमता, कोषिकाको उचित सञ्चालन र मांसपेशी बलियो बनाउने काम गर्छ । यदि शरीरमा आइरनको कमी भएमा रक्तअल्पता हुन्छ ।

खानेकुराबाट पाइन्छ आइरन ?

शरीरलाई आइरन हामीले खाने खानेकुराबाट प्राप्त हुन्छ । यसको मुख्य स्रोतहरु माछामासु, हरियो सागपात, कर्कलो, मेथीको साग, तोरी, पालुंगोको साग हुन् । यीबाहेक किसमिस, बदाम, काजु, पेस्तामा पनि आइरन धेरै मात्रामा पाइन्छ । चुकन्दर, अनार, गाँजर, आलुबखडा, सुन्तला, कागती, अमला, केरा, अम्बा, स्याउमा आइरन साेस्न सघाउने भिटामिन सी पाइन्छ ।  यीमध्ये चुकन्दर, अनार, कर्कलो, हरियो सागपात, अमला आइरनको हिसाबले समृद्ध स्रोत मानिन्छ ।

हामीलाई दैनिक कति आइरन जरुरत हुन्छ ?

दैनिक कति आइरन चाहिन्छ भनेर ठ्याक्कै तोकिएको छैन । यसमा मान्छेको शारीरिक अवस्था, उमेर निर्भर रहन्छ । गर्भवती महिलाको शारीरिक अवस्था ठीकै भएमा दिनको एक चक्की आइरन खान दिइन्छ । यदि हेमोग्लोबिनको मात्रा कम छ भने दिनमा दुई चक्कीसम्म आइरन दिने गरिन्छ ।

आइरनको कमीले के हुन्छ ?

शरीरमा आइरनको कमी भएमा रक्तकोषिकाहरु नष्ट हुँदै जाने वा शरीरमा रातो रक्तकोषिका निर्माण प्रक्रियामा कमी हुन थाल्छ । यसले गर्भवती महिलामा पार्न सक्ने जोखिम भनेको गर्भ तुहिने हो । साथै आइरनको अत्यधिक कमी भएमा रक्तअल्पता अर्थात् एनिमिया रोग लाग्न सक्छ ।

आइरनको कमी हुँदा अल्छी लाग्ने, कुनै कुरामा ध्यान केन्द्रित नहुने, कमजोर महसुस हुने, सुस्त हुने लक्षण देखापर्छ । थोरै काम गर्दा पनि थकान लाग्छ ।

आइरन कमी हुन नदिन के गर्ने ?

यसका लागि दैनिक खानपानमा पर्याप्त मात्रामा आइरनयुक्त सागपात, दाल, फलफूल र ड्राइफ्रुट्स खानुपर्छ । त्यस्तै गर्भवती महिलाको हकमा चिकित्सकको सल्लाहअनुसार आइरन चक्कीको सेवन गर्नुपर्छ । सामान्यतयाः गर्भवती महिलालाई गर्भावस्थाको तीन महिना कटेपछि दैनिक आइरनको चक्की सेवन गराउने गरिन्छ । यदि शरीरमा हेमोग्लोबिनको मात्रा त्यति कम छैन भने आइरन चक्की हप्तामा एकचोटि खान सकिन्छ ।

फलामको भाँडामा पनि पाइन्छ आइरन ?

फलामको भाँडामा पकाएर खाएको खानेकुरा पनि आइरन पाइन्छ । त्यसमा पकाएर खाँदा खानेकुरामा केही फलामको तत्व मिसिएको हुन्छ । त्यसैले पनि फलामको भाँडामा खाना पकाएर खानु उत्तम मानिन्छ । उहिले शरीरमा आइरनको पूर्ति यस्तै फलामको भाँडाबाट हुने मान्यता थियो । तर आजभोलि थरीथरीका भाँडाकुँडा आएपछि फलामको भाँडाको प्रयोग त्यति गरेको देखिंदैन ।

गर्भवतीलाई कहिलेबाट दिने ?

सामान्यतया गर्भावस्थामा १३ हप्ता वा तीन महिनापछि आइरन चक्की खान दिइन्छ । किनभने यसबेला वाकवाकी कम लाग्ने, बान्ता कम हुने हुन्छ । गर्भको शिशुको वृद्धिविकास पनि छिटो हुन्छ । यद्यपि गर्भवती महिलाको शरीरमा रगत कमी छ भने पहिलो महिनादेखि नै आइरन चक्की चाहिन सक्छ । बच्चा जन्माइसकेपछि पनि ६ हप्तासम्म नियमित आइरन चक्की खानुपर्ने हुन्छ ।

आइरन चक्की गर्भवती डा. कीर्तिपाल सुवेदी why is iron needed for pregnancy
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

जन्मदर बढाउन चीनमा नयाँ नीति लागु, गर्भनिरोधकमा १३ प्रतिशत कर

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

मानसिक स्वास्थ्यसम्बन्धी सर्वोच्चको फैसला छिट्टै कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

नयाँ वर्ष २०२६ मा चिकित्सकहरूका संकल्प : गीत रेकर्ड गराउनेदेखि मदिरा त्याग्नेसम्म

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय

कोलेस्टेरोल सामान्य हुँदा पनि हृदयघात किन हुन्छ ? जोखिम चिन्ने सरल उपाय