+
+
राजमार्गको दुर्दशा : ८ :

धुलाम्मे बाटोको कहर काट्दैछन् यी मानिस र चौपाया

‘हाम्रो गाउँका मान्छेलाई ४० वर्षदेखि नै दम होला जस्तो छ, २४सै घण्टा धुलोमा सास फेर्नुपरेको छ । यहाँका मान्छेलाई सरकारले पनि देख्दैन कि क्या हो, रोडमा हिंड्नेको मात्रै चिन्ता छ, रोड नबन्दा हाम्रो उठीवास लागिसक्यो ।’

अमृत चिमरिया अमृत चिमरिया
२०८० पुष १७ गते २०:२८

१६ पुस, काठमाडौं । बारीभरि घाँस हुँदा पनि बस्तुभाउलाई खुवाउन सक्ने अवस्थामा छैनन्, धादिङको धुनिबेशी नगरपालिका–९ कानकोटकी रमा गुरुङ । यही अवस्था रहिरहे उनी बाख्रा बाहेक अरू केही पशुपालन गर्न सक्ने छैनन् ।

बाख्रा चरनको लागि र बाख्राको लागि चाहिने घाँस एक किलोमिटर माथि डाँडाबाट ल्याएर खुवाए पनि आफ्नै बारीको घाँस खुवाउन नसक्ने भएपछि उनको अन्य पशुपालन हुनसकेको छैन । गुरुङको ३ वर्ष अगाडि रहेको दुई वटा भैंसी र एउटा गाई पाल्नै नसक्ने भएपछि बेच्नु परेको थियो ।

पाठकवृन्द, हामी यहाँनेर गुरुङका गाईबस्तु र बाख्राबारे कुरा गर्न गइरहेका छैनौं, बरु धुलाम्मे राजमार्गले आक्रान्त जीवनबीच कसरी चौपाया, दोपायालाई पनि बाँच्न कठिन भयो, यसको बेलिविस्तार लगाउन गइरहेका छौं ।

आफ्नो बारीमा पर्याप्त घाँस उपलब्ध भए पनि धुलोको कारण खुवाउन नमिलेपछि पशुपालन छोडिएको गुरुङ बताउँछिन् । ‘अब बारीभरि घाँस भएर के गर्नु, खुवाउन नमिल्ने छ’, उनी पीडा सुनाउँछिन् ।

उनले कुट्मिरो, किम्बु, अम्रिसो, बडहर, गायो लगायत मुख्य घाँसहरू धुलोको कारण सेउलामा परिणत भएको बताइन् । घाँस देखाउँदै उनी भन्छिन्, ‘हेर्नुस् यो धुलो कति छ, घाँसभन्दा धेरै माटो भएपछि बस्तुभाउलाई खुवाउन भएन नि !’

उनी जस्तै शुक्रलाल तामाङ पनि अब बस्नै नसक्ने स्थिति भएको बताउँछन् । ‘घाँस मात्रै होइन, यहाँको पानी छोपेर राख्नुपर्छ । कहिलेकाहीं त धुलो कपडाले छानेर खुवाउनुपर्छ । अब कस्तो छ आफैं भन्नुस्’ उनले पहिले पहिले गाडीको कारणले सुविधा बढेकोमा खुसी लागे पनि अहिले स्थानीयको उठीवास लाग्ने अवस्था रहेको बताए ।

‘अब खेती गरौं, खेती हुँदैन, पशुपालन गर्ने स्थिति छैन । भुराहरू स्कुलबाट आउँदा धुलो–मैलो भएर आउँछन्, अन्यत्र जाने ठाउँ नभएर मात्रै यहाँ बसेको जस्तो भइसकेको छ’, तामाङले दुःखेसो पोखे ।

स्यालीबजारकी ७० वर्षीया मनमाया तामाङ दमको रोगी हुन् तर उनलाई पूरै गाउँको चिन्ता छ । उनलाई दम हुन थालेको १० वर्ष भयो तर अहिले बाहिर–भित्र गर्न पनि धुलोको कारणले डर लाग्छ ।

‘हाम्रो गाउँको मान्छेलाई ४० वर्षदेखि नै दम होला जस्तो छ, २४सै घण्टा धुलोमा सास फेर्नुपरेको छ’ चिन्ता व्यक्त गर्दै उनी भन्छिन्, ‘खै यहाँको मान्छेलाई सरकारले पनि देख्दैन कि क्या हो, रोडमा हिंड्नेको मात्रै चिन्ता छ, रोड नबन्दा हाम्रो उठीवास लागिसक्यो ।’

धुनिबेशी नगरपालिका–९ स्थित मोहन डाँडाका सुकमान लामाले गाउँ नै उठेर जाने बेला भइसकेको बताए । ‘बाख्रा बाहेक अरू पशुहरू पाल्न सक्ने स्थिति छैन, बाख्रा पनि घाँस र चराउने ठाउँ राम्रो नहुँदा जिङ्रिङ्ग परिरहेको छ । खेती नहुने, स्वास्थ्य राम्रो नहुने भएपछि गाउँ नै खाली हुने अवस्था छ’, तामाङले अनलाइनखबरसँग भने ।

उनले बिरामी, वृद्ध र सुत्केरी महिला जोगाउन गाह्रो परिरहेको बताए । ‘विद्यार्थी त विद्यालय पुगेर आउँदा अनुहार नै नचिन्नेसम्म हुन्छन् । यहाँ सबैभन्दा धेरै बिरामी दम रोगीका छन् । अहिले त यहाँ बच्चाहरूलाई तेल लगाएर घाम ताप्न लाग्यो भने उल्टै धुलै–धुलो हुन्छ’, उनी भन्छन् ।

सुकमानका अनुसार अहिले मकैको घोगा लागे पनि गेडा नलाग्ने धेरै समस्या छ । ‘पहिले–पहिले तोरी, कोदो मुरीका मुरी फल्थ्यो अहिले त बाला नै लाग्दैन । लसुन, प्याज, सागपात जे लगाए पनि धुलोले सखाप हुने स्थिति छ ।’ पहिले पहिले यतिबेला तरकारी नै बेच्ने बेला हुने भए पनि अहिले हालत खराब भएको उनको भनाइ छ ।

स्थानीय नानु तामाङ पनि एकछिन बोल्न थाल्यो भने स्वर नै सुक्ने समस्या रहेको सुनाउँछिन् । ‘एक छिन बोलिरहनुपर्छ बेला–बेलामा बोली नै अड्किन्छ, अनि स्वर सुक्दै जान्छ । आफैं भन्नु धुलो कति होला यहाँ ? झ्याल ढोका थुनेर पर्दा, बोरा लगाएर गुम्म भएर बस्न परेको छ । अब हामीले बोल्ने पनि कहाँ हो ?’ आफ्नो कुरा राख्ने ठाउँ नै नपाएको गुनासो गर्दै तामाङले भनिन् । खोरमा बाख्रा भए पनि घाँस र पानीमा धुलो मिसिंदा नफस्टाएको तामाङ बताउँछिन् ।

‘बाख्राहरू जिङ्रिङ्ग परिरहेका छन्, फस्टाएका छैनन् । घाँस नै खुवाउन नसक्ने स्थिति रहेको छ’ मोहन डाँडाको तामाङ बेल्ट र गुरुङ बेल्टका गरी ४० घरभन्दा धेरै प्रत्यक्ष मारमा परेको उनले बताइन् । चिया पसल गरिरहेका स्याउली बजारकै धिरज तमु भन्छन्, ‘यहाँ सडक विभागको मान्छे आउँदा हामीले आवाज उठाएपछि बेला–बेलामा पानी हाल्न थालेको थियो । तर अहिले पर्याप्त हाल्न छोडेको छ । हाले पनि ५ मिनेटमै धुलो उड्न थाल्छ’, उनी भन्छन् ।

स्थानीयको भनाइ अनुसार हावा चल्दा सुरुङमार्गको नागढुंगा क्षेत्र, स्याउली बजार, मोहनडाँडा, गुरुङगाउँ, कानकोट लगायत क्षेत्र कुहिरीमण्डल हुने गरेको छ । सुरुङ मार्ग निर्माणको छेउछाउको बस्तीहरूमा पानी सुक्ने समस्या रहेको उनीहरू बताउँछन् ।

धुनिबेशी ९ नम्बर वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा भेटिएकी ५५ वर्षीया देउतीकुमारी रेग्मी सडक विस्तार हुन थालेपछि धुलो बढ्दा स्थानीय सास्तीमा रहेको बताइन् । ‘दम हुन थालेको त धेरै भयो तर धुलोले गर्दा हिरिक्कै भएँ जस्तो लाग्छ । अब विकास गर्न नै खोलेको भन्छन् रोडको विरोध पनि त्यति भएको जस्तो लाग्दैन तर अहिले गाह्रो चाहिं साह्रै भएको छ’, रेग्मीले भनिन् ।

स्वास्थ्य केन्द्रकी अहेव सरिता अर्यालले पनि धुलोले गर्दा स्थानीय बासिन्दाको स्वास्थ्यमा असर देखिएको बताइन् । ‘हामी प्राथमिक उपचार र केही औषधि मात्रै दिन्छौं । तर यहाँबाट नौबिसे ठूलो अस्पताल र काठमाडौं जानेको संख्या धेरै नै छ । यो गाउँको मुख्य समस्या भनेको दम हो’, अर्यालले भनिन् । नगरपालिका अन्तर्गत पर्ने स्वास्थ्य केन्द्रमा दमका रोगीको लागि महिनामा दुई पटक कफ खुलाउने वाफ लगाउने गरिएको छ । अर्यालका अनुसार दमका रोगीहरूलाई कफ अड्किंदा धेरै समस्या हुने भएकोले महिनामा दुई चोटि वाफ मार्फत कफ निकाल्न थालिएको हो ।’

यस्तै स्थानीयको आँखामा पनि धेरै समस्या रहेको बताउँछिन् । ‘हामीलाई धुलोले यस्तो भयो भन्दै नआए पनि आँखा र श्वास–प्रश्वासको समस्या हेर्दा कारण धुलोकै देखिन्छ’, अर्यालले भनिन् ।

समस्या बारे पहल गरेका छौं : मेयर, धुनिबेशी

धादिङको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य स्थानीयले भोगेको समस्याबारे गम्भीर भएको बताउँछन् । ‘हाम्रो नगरभित्र परेको समस्याबारे थाहा छ । तर सडक विभागलाई काम नगर भन्न पनि सक्दैनौं । हाम्रो मातहतमा पनि पर्दैन तर छिटो काम गर्न, धुलो उड्ने ठाउँमा पानी हाल्न पटक–पटक भन्ने गरेका छौं’, आचार्यले अनलाइनखबरसँग भने ।

उनले नगरपालिकाले १२ कक्षासम्म पढ्ने विद्यार्थीको आँखा र मुटुको निःशुल्क परीक्षण गरिरहेको भन्दै स्वास्थ्य समस्या भएकाहरूलाई उपचारको लागि सहयोग समेत गरेको सुनाए, ‘धुलोका कारण हुनसक्ने स्वास्थ्य समस्यालाई लक्षित गरेर नगरपालिकाले स्वास्थ्य परीक्षण गरिरहेको छ, उच्चस्तरको ल्याब परीक्षण भइरहेको छ ।’

आचार्यले स्थानीयको बाली र दैनिकीमा असर परेको विषय न्यूनीकरण र सडक विस्तारको काम धमाधम गर्न बारम्बार पहल गरिरहेको बताए । ‘सडक विस्तारको समयमै काम त भइरहेकै छ, तर पनि निर्माण पक्षलाई हामीले छिटो गर्न भनिरहेका छौं । केही समय सास्ती हुन्छ, यसलाई व्यावहारिक समस्याको रूपमा बुझ्नुपर्छ ।’

‘स्थानीयको समस्या सकेसम्म कम गर्न लागेका छौं’

मुग्लिन–नागढुंगा सडकखण्ड विस्तारको काम तीन चरणमा भइरहेको छ । ९५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरेर सडक विस्तारको काम गर्दा हिउँदमा धुलोले दिने समस्या न्यूनीकरण गर्न सक्दो प्रयास गरिरहेको सडक विस्तार आयोजनाका निर्देशक ईश्वरबहादुर रिजालले बताए ।

‘स्थानीयलाई धुलोको कारणले परेको प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामीले अन्तर्राष्ट्रियस्तरका वातावरण विज्ञलाई नै हायर गरेर काम गरिरहेका छौं’ रिजालले भने, ‘धुलो कम गर्न बस्ती क्षेत्रमा तीन चरण दुवै लेनमा ट्याङ्कर मार्फत पानी छर्किरहेकै छौं । सडक छेउमै रहेका बस्तीहरूलाई प्रभाव परे पनि धेरै ठूलो बस्तीलाई परेको छैन ।’

रिजालले प्रयासको बाबजुद हिउँदमा धुलोको समस्या रोक्न भने नसकिने बताए । ‘अधिकतम प्रयास गर्ने हो तर हिउँदमा पानी नपर्दा ठ्याक्कै रोक्न सकिन्न । न्यूनीकरण चाहिं सकेको गरेका छौं ।’

मुग्लिन–नागढुंगा सडकखण्ड विस्तारको तीन खण्डमध्ये नागढुंगा–नौबिसे १२.२६ किलोमिटर पहिलो चरण, नौबिसे–मलेखु ४३.५ किलोमिटर दोस्रो चरण र मलेखु–मुग्लिनको बाँकी खण्ड तेस्रो चरणमा काम भइरहेको रिजालले बताए ।

रिजालका अनुसार नागढुंगा सुरुङ मार्गदेखि नौबिसेसम्म सडकखण्डको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ । ‘हामीले काम छिटो सिध्याउन लागिपरेका छौं तर सोचे अनुसार छिटो भइरहेको छैन । पहिलो चरणको २४ महिनाको लागि ठेक्का पाएकोमा अब २०८१ असार मसान्तसम्म मात्रै म्याद रहेको छ’, रिजालले भने ।

२०७९ जेठमा १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा २४ महिनाभित्र निर्माण सक्ने गरी विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सन प्रालिले पाएको थियो । जसमध्ये टेवा पर्खाल, कल्भर्ट निर्माण, क्रस ड्रेन, नाली र दुई वटा पुलको काम भइरहेको छ ।

यस्तै नौबिसेदेखि मलेखुसम्मको दोस्रो खण्डको भौतिक प्रगति जम्मा १५ प्रतिशत मात्रै रहेको रिजालले बताए । ३६ महिनामा सक्ने गरी ४५.५ किलोमिटर सडक खण्डको विस्तार गर्न ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा शर्मा–लामा जेडआईसीजीले ठेक्का लिएको छ । २०७९ जेठमा ठेक्का सम्झौता भए पनि सोचे अनुसारको भौतिक प्रगति नभएको रिजाल बताउँछन् । ठेकेदार कम्पनीले भित्ता काट्ने, पुल निर्माण गर्ने काम गरिरहेको छ ।

उनले सडक विस्तारको काम समयमा सिध्याउन सम्भावना रहे पनि गाह्रो रहेको बताए । ‘अहिले भौतिक प्रगति अनुसार समयमा सिध्याउन त गाह्रो देखिन्छ तर असम्भव छैन । यसको लागि निर्माण कम्पनीहरूले गति बढाउनुपर्छ, त्यसको लागि हामी पहल गरिरहेका छौं । काम समयमा सकियो भने स्थानीयले धुलोको कारण पाएको कष्ट पनि हट्छ ।’

तस्वीर र भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?