१८ पुस, काठमाडौं । कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधि उचाल्यो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा अप्सरी बेगमले ह्याट्रिक विकेट लिएपछि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो ।
उसका लागि इन्दु बर्माले सर्वाधिक ५३ रन बनाउँदा ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन जोडिन् ।
कोशीकी अप्सरीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएकी थिइन् । ओभरको पहिलो बलमा इन्दुलाई नमिता श्रेष्ठको हातबाट क्याच गराएकी उनले दोस्रो बलमा नेरी थापा र तेस्रो बलमा सोनु खड्काको विकेट दिएकी थिइन् ।
११५ रनको लक्ष्य लिएर मैदान उत्रिएको कोशी १५ ओभरसम्म खेलमा थियो । दुई भरपर्दा ब्याटर कप्तान रुबिना (४५) र काजल श्रेष्ठ (२०) क्रिजमा थिइन् । ७६ रन बनाइसकेको कोशीका लागि ३० बलमा ३९ रन चाहिएको थियो र ९ विकेट हातमा थियो ।
१६ औं ओभरमा इन्दु बर्माले कसिलो बलिङ गर्दै मात्र ३ रन दिइन् भने १७ औं ओभरमा एपीएफकी कप्तान सीताले पहिलो बलमै काजलको विकेट लिइन् । तीन डट बल फालेकी उनले बाँकी २ बलमा पनि २ रनमा मात्र दिइन् ।
बाँकी २ ओभरमा एक छक्का र एक चौका १८ रन जोडेको कोशीका लागि अन्तिम १६ रन चाहिएको थियो । कप्तान रुबिना आफैं ६२ रनमा क्रिजमा भएकाले जित अझै असम्भव थिएन ।
एपीएफकी कप्तान सीताले करुणा भण्डारीलाई बल दिइन् । चोटका कारण अघिल्लो संस्करण गुमाएकी उनी यो प्रतियोगितामा लयमा थिइन् । उनले फाइनलमा पनि त्यही साबित गरिन् । उनले पहिलो बलमै रुबिनाको विकेट दिएपछि एपीएफका लागि खेलको जित औपचारिकता मात्र बाँकी रहे जस्तो भयो ।
बाँकी ५ बलमा एक विकेट गुमाएर ४ रन जोडेको कोशीले २० ओभरमा ४ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । एपीएफ ११ रनको जितका साथ च्याम्पियन बन्यो ।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् भने काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १÷१ विकेट लिए ।
बलिया टिमसँग खेल्ने अवसर
नेपाल क्रिकेट संघले पहिलो पटक महिला प्रधानमन्त्री कप राउन्ड रोबिन लिगमा गराएको थियो ।
जसका कारण सहभागी ८ टिमले एकअर्कासँग खेल्ने मौका पाए । यसले निकै महत्वपूर्ण सिकाइ र एक्सपोजर मिलेको एपीएफ टिमकी कप्तान सीता राना मगरले बताइन् ।
‘विगतमा सेमिफाइनल नपुग्ने टिमले एक वर्षभरी त्यही २/३ वटा खेल मात्रै खेल्न पाउँथे’ उनले भनिन्, ‘यो पटक हामी (एपीएफ) तथा कोशी जस्तो टिमसँग खेल्ने मौका पायो । जुनियर युवा बलर तथा ब्याटरले पनि सिक्ने राम्रो मौका पाए ।’
एपीएफले लिग चरणमा ७ वटै प्रदेशलाई हराउँदा कर्णाली प्रदेशले सातवटै खेल हार्यो ।
तर सिनियर खेलाडीहरु भएको बलियो टिमसँग खेल्न पाउनु नै महत्वपूर्ण भएको कर्णाली टिमकी कप्तान किरण कुँवरले बताउँछिन् । ‘हाम्रो लागि ७ वटा खेल पाउनु भनेको निकै राम्रो कुरा हो’ उनले अनलाइनखबरसँग भनिन्, ‘सिनियर खेलाडीसहितको बलियो टिमहरुसँग हामीहरुले खेल्दै सिक्ने मौका पाएका छौं ।’
प्रतियोगिता महिला क्रिकेटकै पहिलो ब्याचदेखि नयाँ खेलाडीका लागि नयाँ अनुभव बटुल्ने मौका बन्यो । सुदूरपश्चिम प्रदेशको कप्तानी ऋतु कनोजियाले गरेकी थिइन् भने हालसालै राष्ट्रिय टिमको कप्तानबाट हटेकी रुबिनाले प्लेयर अफ दि टुर्नामेन्ट बनेर आफू अझै सक्षम रहेको स्थापित गरेकी छन् ।
गण्डकीका खेलेका दुई खेलाडी प्रतियोगितामा छाए । सुमन खतिवडा प्रतियोगिताकै बेष्ट ब्याटर चुनिइन् भने ज्योत्सनिका मरासिनी उदीयमान खेलाडी बनेकी छन् ।
उत्कृष्ट ब्याटर चुनिएकी सुमन खतिवडाले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । ज्योत्सनिका ७ खेलमा ९१ रन बनाएकी थिइन्, जसमा कर्णालीविरुद्ध ५० रनको इनिङ्स खेलेकी थिइन् ।
मधेश प्रदेशकी पूजा महतो उत्कृष्ट बलर बनिन् । बागमतीकी हेलिशा गुरुङ, एपीएफकी राजमती ऐरी, ममता चौधरी, सुदुरपश्चिमकी लक्ष्मी साउदले पनि आफ्नो सम्भावना देखाएकी छन् ।
कोशीको तेस्रो हार
यो प्रतियोगिताका क्रममा एपीएफ र कोशी प्रदेशको भेट तीन पटक भयो, तीन पटक नै एपीएफले बाजी मारेको छ ।
समूह चरणमा कोशी ८ विकेटले हारेको थियो । सबै खेल जितेको एपीएफ शीर्ष स्थानमा रह्यो भने ६ खेल जितेको कोशी दोस्रो भयो । पहिलो र दोस्रो टिमबीच पहिलो क्वालिफायर्स भयो, त्यसमा पनि एपीएफ ५२ रनले विजयी भयो ।
त्यसपछि कोशीले एलिमिनेटरमा बागमतीलाई हराएर आएको सुदूरपश्चिमसँग खेल्ने दोस्रो क्वालिफायर खेल्यो । गत वर्षको बिजेता सुदूरपश्चिमलाई ९ विकेटले हराएको कोशीले एपीएफसँग उपाधि भिडन्त पक्का गर्यो ।
तर तेस्रो पटक एपीएफसँग नै पराजित भयो । विजेता एपीएफले ट्रफीसँगै ५ लाख रुपैयाँ पाएको छ भने कोशी प्रदेशले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
एपीएफलाई पुन विजेता बनाएकी कप्तान सीता राना मगर भन्छिन्, ‘च्याम्पियनको ट्याग लाग्यो । एकदमै खुसी छु ।’
यसपटक एपीएफले डेढ महिनाअघि मात्र खेलाडी जीवनबाट सन्यास लिएका सोनु तामाङलाई प्रशिक्षक बनाएको थियो । पहिलो सहभागितामै उपाधि जित्दा उनी खुसी छन् । आफ्नो अनुभव बाँडेर टिमलाई अपराजित बनाउँदै उपाधि जित्दा निकै सकरात्मकता बढेको छ’ खेलपछि उनले भनेकी छन् ।
एपीएफ टिमका नियमित सदस्य ज्योति पाण्डे भने खेलाडी जीवनबाट सन्यास दिएकी छन् ।
 
                    










 २०८० पुष  १८ गते २१:३३
                        २०८० पुष  १८ गते २१:३३                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4