+
+

कुलमान भन्छन्- टीओडीको डाटा हराएको हुनसक्छ, तर डेडिकेटेडको महसुल उठाएरै छाड्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १९:०५

२४ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही उद्योगहरुको टीओडीको डेटा हराएको (मिसप्लेस भएको) हुनसक्ने बताएका छन् ।

तर, त्यो डेटा नभए पनि प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छाड्ने अडान पनि उनले लिएका छन् ।

संसद्को भौतिक पूर्वाधार समितिमा मंगलबार बोल्दै उनले भने, ‘टीओडीको डेटामा २० घण्टाभन्दा बढी लिएको छ कि छैन भन्ने देखिन्छ । त्यो भेरिभाइ गर्नलाई टीओडी हुनसक्छ । धेरै मिटरहरुको टीओडीको डाटा पनि हामीले डाउनलोड गरेर राखेका छौं । कतिपयको मिसप्लेस भएको हुनसक्छ ।’

टीओडी हेरेरै कति समय विद्युत् उपयोग गरेको थाहा पनि हुँदैन भन्दै संसदीय समितिमा घिसिङले झुट पनि बोलेका छन् । ‘विभिन्न प्रयोजनका लागि टीओडी डाउनलोड गर्नुपर्छ, यसको एनालाइसिस गर्नुपर्छ,’ उनले भने । तर, टीओडी मिटरको एकमात्रै उद्देश्य कुन समयमा कति विद्युत् उपभोग भयो त्यो हेर्ने र त्यसअनुसार बिलिङ गर्ने हो । उद्योगहरुलाई पिक समय र अफपिक समयमा फरक फरक महसुल लगाइने भएकाले कुन समयमा कति युनिट विद्युत् खपत भयो, त्यो थाहा पाउन टीओडी मिटर प्राधिकरणले नै राखिदिने गरेको छ ।

सबस्टेसनमा हुने लगसिटबाट प्रमाणित गराएर पनि महसुल लिइने उनले बताए । तर, लगसिटमा कुन उद्योगमा कति समय लाइन गयो भन्ने तथ्यांक हुँदैन, कुन प्रसारण लाइनमा कति समय लाइन थियो भन्ने मात्रै हुन्छ ।

उद्योगी र प्राधिकरणबीच कति युनिट विद्युत् खपत भयो भन्ने विषयमा विवाद भइरहेको छ । तर, कुलमान घिसिङले भने कति युनिट विद्युत् खपत गरेको तथ्यांक भएकाले त्यसकै आधारमा बिलिङ गरेको बताए ।

‘युनिट हामीसँग छ । किनभने उहाँहरुले नियमित बिल भुक्तानी गर्नुभएको छ । हरेक महिनको युनिट हाम्रो एम पावर भन्ने सफ्टवेयर छ, त्यसमा रेकर्डेड छ,’ उनले भने, ‘युनिटमा डेडिकेटेडको सरचार्ज जोडेर गरेको बिल हो ।’

जबकि, उद्योगीहरुले दैनिक २० घण्टाभन्दा बढी विद्युत् खपत नगरेको र त्यसो हुँदा डेडिकेटेडको शुल्क तिर्न नसक्ने बताउँदै आएका छन् ।

यसअघि कोभिड-१९ महामारी तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायीकै आग्रहमा महसुल उठाउने कार्य रोकिए पनि अब नरोकिने उनले बताए ।

यसअघि संसद्को लेखा समितिको बैठकले १ महिनाभित्र प्राधिकरणले बिल जारी गर्ने र ६० दिनभित्र असुलउपर नभएमा लाइन काटेर अघि बढ्न स्पष्ट निर्देशन दिएको घिसिङले उल्लेख गरे ।

प्राधिकरणले पटक-पटक समय दिएर बिल भुक्तानीका लागि आउन भनेर जानकारी गराए पनि उद्योगीहरु भुक्तानीका लागि नआएको उनको भनाइ छ ।

धेरै मिटरहरुको टीओडी डाटा डाउनलोड गरेर राखिएको र केही छुटेकाहरु पनि हेर्न सकिने घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?