+

किन हुन्छ बारम्बार गर्भपतन ?

२०८० पुष  २७ गते १४:०७ २०८० पुष २७ गते १४:०७
Shares
किन हुन्छ बारम्बार गर्भपतन ?

पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ ।

गर्भावस्थालाई तीन चरणमा विभाजन गरिन्छ– पहिलो, दोस्रो र तेस्रो त्रैमासिक । भ्रूण गर्भमा बसेदेखि तीन महिनाको अवधि अर्थात् १२ हप्तासम्मलाई पहिलो त्रैमासिक, १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो र २९ हप्तादेखि ४० हप्तासम्मलाई तेस्रो त्रैमासिक भनिन्छ ।

गर्भ रहेको तीन र ६ महिनाभित्र गर्भपतनको जोखिम उच्च हुन्छ ।

पहिलो त्रैमासिकमा गर्भपतन हुने मुख्य कारण क्रोमोजोमको गडबडी हो । जुन वंशाणुगत रुपमै आएको हुन्छ । जसलाई ‘क्रोमोजोमल डिफेक्ट’ भनिन्छ । यसमा डिम्बाशय वा शुक्रकीटको गुणस्तरमा खराबी देखिन्छ ।

जसले गर्दा गर्भ बसेपनि भ्रूण स्वस्थ हुँदैन र राम्रोसँग वृद्धि विकास हुन पाउँदैन । त्यसैले गर्भपतन हुने गर्छ । पहिलो त्रैमासिकमा हुने करिब ५० प्रतिशत गर्भपतन क्रोमोजोमको खराबीको कारण हुन्छ । हाम्रो शरीरमा हुने सानोसानो कोषिकाहरु, जुन हाम्रो शरीरमा आमाबुबाबाट आएको हुन्छ, त्यसमा केही खराबी देखिएमा गर्भपतन हुनसक्छ ।

अनियन्त्रित थाइराइडको समस्या, मधुमेह भएमा पनि गर्भपतन हुनसक्छ । तर थाइराइड र मधुमेहलाई औषधिबाट नियन्त्रणमा राखेको छ भने केही फरक पर्दैन । मोटोपनको कारण समेत गर्भपतन हुनसक्छ । त्यस्तै गर्भावस्थामा धुम्रपान, मद्यपान गरेमा पनि गर्भपतन हुने सम्भावना बढी हुन्छ ।

अब के गर्ने त ?

सन्तानको योजना बनाएका दम्पती, जसको बारम्बार गर्भपतन भइसकेको छ, उनीहरुले गर्भधारण गर्नु दुई-तीन महिनाअघि नै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

के कारणले गर्भपतन भइरहेको छ भन्ने परीक्षण गरेपछि सही समाधान खोज्न सकिन्छ । यदि केही समस्या देखिएको छैन, कुनै रोग लागेको छैन, शुक्रकीट र डिम्बाशयमा पनि कुनै समस्या देखिएको छैन भने बल्ल गर्भधारण गर्न सकिन्छ । गर्भधारण गर्नु दुई-तीन महिनाअघिदेखि नै फोलिक एसिड सेवन गर्नुपर्छ । यसले गर्भधारण गर्न सहज बनाउँछ ।

दोस्रो त्रैमासिकमा हुने गर्भपतनमा पाठेघरको विभिन्न समस्याका कारण गर्भपतन हुने गर्छ । जन्मजात पाठेघरको बनावटमा समस्या देखिएको छ भने पनि गर्भपतनको जोखिम हुन्छ ।

सेप्टेट गर्भाशयमा पाठेघरको माथिल्लो भाग पानबुट्टे आकारको हुन्छ । जुन सानो, ठूलो जुनसुकै आकारको हुनसक्छ । सेप्टेट गर्भाशयको समस्या भएकामा गर्भाधारण हुन्छ तर पाठेघरको भ्रूण विकसित हुने ठाउँ नपाएर गर्भपतन हुने जोखिम बढी हुन्छ । बाइकोर्निएट गर्भाशय भएकाको पाठेघर दुई फ्याक भएको हुने हुनाले भ्रूणको वृद्धिसँगै ठाउँ अभाव हुँदा गर्भपतन हुनसक्छ । पाठेघरको मुख एकदम खुकुलो भएमा पनि दोस्रो त्रैमासिकमा गर्भपतन हुनसक्छ । पाठेघरमा भ्रूण बस्ने ठाउँमा मासु पलाउँदा पनि बारम्बार गर्भपतन हुनसक्छ ।

त्यस्तै अनिच्छित गर्भधारण हुँदा बारम्बार औषधिको सेवन वा उपकरणको सहायताले गर्भपतन गरेको खण्डमा पनि पाठेघरमा नकारात्मक असर परेको हुन्छ । पाठेघरको भित्री तह पाठेघरको भित्तामा टाँसिने हुन्छ । जसले गर्दा पाठेघरमा भ्रूण हुर्किन चाहिने ठाउँको कमी हुन्छ । यस्तोमा गर्भधारणमा समस्या नभएपनि भ्रूण बढ्दै गएपछि ठाउँ अभावले गर्भपतन हुनसक्छ । यसबाहेक भाइरस संक्रमण, ब्याक्टेरियल संक्रमण गर्दा पनि गर्भपतन हुनसक्छ ।

कतिपय महिलामा शरीरको प्रतिरोधात्मक क्षमतासम्बन्धी विसंगति (इम्युनोलोजिकल डिसअर्डर) रोगहरू जस्तै, एन्टिफोस्फोलिपिड एन्टिबडी (एपीएलए) एन्टिफस्फोलिपिड सिन्ड्रोम (एपीएस) र थ्रोम्बोफिलिया भएमा पनि बारम्बार गर्भपतन हुने जोखिम हुन्छ । यसमा शरीरका रक्तनलीमा असामान्य रूपमा रगत जम्ने समस्या हुन्छ । यसले गर्दा शरीरमा रक्तसञ्चारमा अवरोध भएर भ्रूणको वृद्धि विकास नहुने र बारम्बार गर्भपतन हुने गर्छ । अर्को अटोइम्युन अर्थात् शरीरले आफ्नै प्रतिरक्षा प्रणालीविरुद्ध समस्या ल्याएमा पनि बारम्बार गर्भपतन हुन्छ ।

पोलिस्टिक ओभरियन डिजिज (पीसीओडी) समस्या

कतिपय महिलामा हार्मोनको समस्याले पनि गर्भपतन भइरहेको हुन्छ । हार्मोनको उत्पादन सामान्यभन्दा बढी हुन गएमा पोलिस्टिक ओभरियन डिजिज (पीसीओडी)को समस्या निम्तिन्छ । जसलाई मेडिकल भाषामा पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (पीसीओएस) भनिन्छ । यसमा हार्मोन असन्तुलन हुने र महिलाको डिम्बाशयमा स-साना सिस्ट अर्थात् फोका आउने हुन्छ ।

यी स-साना तरल पदार्थयुक्त पानीको फोकाजस्तो डल्लो हुने अवस्थामा डिम्बको गुणस्तर राम्रो हुँदैन । यसले गर्दा महिलामा प्रजनन् (सन्तान उत्पादन) क्षमतामा कमी हुन जान्छ । गर्भ रहेपनि गर्भपतन हुने सम्भावना बढी हुन्छ । महिलाको शरीरमा प्रोजेस्टेरोन र ईस्ट्रोजेन हार्मोन हुन्छ, जसले पाठेघरको सुरक्षा गर्छ । गर्भवती महिलामा यी हार्मोनहरु असन्तुलित भएमा गर्भपतनको जोखिम बढ्छ ।

बढ्दो उमेर

बढी उमेरमा गर्भधारण गर्दा पनि गर्भपतनको जोखिम हुन्छ । किनभने महिलाको बढ्दो उमेरसँगै डिम्बको संख्या र गुणस्तर कम हुँदै जान्छ । राम्रो भ्रूण बन्न नसक्दा बारम्बार गर्भपतन हुन्छ । त्यसैले २५ देखि ३० वर्षको उमेरमा गर्भधारण गर्नु उत्तम हुन्छ । त्यस्तै ४० वर्षपछि पुरुषको वीर्यको गुणस्तर पनि कम हुने भएकाले चुनौती थपिंदै जान्छ ।

दुईपटकभन्दा बढी प्राकृतिक रुपमै गर्भपतन भएको छ भने फेरि गर्भधारण गर्नुपूर्व प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । दम्पतीले चिकित्सकको परामर्श अनुरुप शारीरिक परीक्षण गराएर मात्र गर्भधारण गर्नु उपयुक्त हुन्छ ।

गर्भपतन डा. श्वेता सिंह प्रसूति तथा स्त्रीरोग
डा. श्वेता सिंह
लेखक
डा. श्वेता सिंह
प्रसूति तथा स्त्रीरोग एवं नि:सन्तानपन विशेषज्ञ

डा. सिंह हाल ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । नि:सन्तानपन तथा प्रजनन् स्वास्थ्यमा फेलोसिप गरेकी छन् ।  उनको मेडिकल काउन्सिल दर्ता नम्बर ७८९५ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

भक्तपुर अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?

के तपाईं पनि छिटो निको हुने आशमा यस्ता दाबीमा फसिरहनुभएको छ ?

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

गाडी कुदाउँदा कुदाउँदै चालकको निधन, के कारण हुन्छ यस्तो ?

जब फलोअरले नैतिकतालाई ओझेलमा पार्छ

जब फलोअरले नैतिकतालाई ओझेलमा पार्छ

‘हाम्रा पुर्खाले जुन खानपान गरे, त्यसले मोटोपन बढाउँदैनथ्यो’

‘हाम्रा पुर्खाले जुन खानपान गरे, त्यसले मोटोपन बढाउँदैनथ्यो’

‘डाक्टर’ उपाधि, अभ्यास र कानुनी दायरा

‘डाक्टर’ उपाधि, अभ्यास र कानुनी दायरा