+

कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

२०८० माघ  ३ गते १४:५२ २०८० माघ ३ गते १४:५२
कपाल रोपेपछि कस्तो साइड-इफेक्ट हुनसक्छ ?

कपाल झरिरहेका वा झरिसकेका व्यक्तिका लागि कपाल प्रत्यारोपण वरदान नै हो भन्दा हुन्छ । तर कपाल प्रत्यारोपणलाई लिएर मानिसमा विभिन्न किसिमको डर हुन्छ, चाहे त्यो कपालको उमेर होस् वा प्रत्यारोपणपछि कपालको हेरचाह । कपाल प्रत्यारोपण गर्दा कुनै साइड-इफेक्ट हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि धेरैको मनमा हुन्छ ।

हेयर ट्रान्सप्लान्ट भनेको व्यक्तिको आफ्नै कपाललाई टाउकोको अर्को साइडमा लगेर रोप्ने प्रक्रिया हो । सामान्यतया टाउकोको पछाडिको भाग अर्थात् डोनर एरियाको कपाललाई अगाडि कपाल झरेको भागमा रोप्ने गरिन्छ ।

प्रत्यारोपण गर्दा कुनै पनि केमिकलको प्रयोग हुँदैन । यो एकदमै प्राकृतिक प्रक्रिया हो । एक ठाउँको कपाल अर्को ठाउँमा सार्ने मात्र हो । निधार र तालुको कपाल धेरै झर्छ । यो हार्मोनल कारणले गर्दा हुने हो । कपाल प्रत्यारोपण गर्न चाहने व्यक्तिमा कुनै पनि प्रकारको रोग छैन र ऊ स्वस्थ छ भने तुरुन्तै प्रत्यारोपण गर्न सकिन्छ ।

कपाल प्रत्यारोपणको लागि अहिले विश्व र नेपालमा प्रचलित विधि भनेको ‘फोलीकुलर युनिट एक्सट्रयाकसन’ अर्थात् कपाल नझरेको टाउकोको पछाडिको भागबाट कपाल निकाली कपाल झरेको टाउकोको अगाडि र बीचमा रोप्ने विधि हो ।

डोनर एरिया कम हुने, छालासम्बन्धी रोग भएका, अनियन्त्रित मधुमेह र उच्च रक्तचापका बिरामीले कपाल प्रत्यारोपण गर्न मिल्दैन ।

कपाल रोपेपछि कुनै साइडइफेक्ट देखिन्छ ?

कपाल रोप्दा दीर्घकालीन रूपमा खासै केही असर देखिंदैन । विशेषगरी टाउकोको पछाडिको भागको कपाल निकालेर अगाडिको भागमा रोपिने भएकाले यसले दिमाग वा आँखामा केही असर पो गर्छ कि भन्ने प्रश्न हुन्छ । कपाल प्रत्यारोपण गर्दा छालाको तहमा मात्र यसको काम हुने भएको यसबाट दिमाग र आँखामा केही असर हुँदैन ।

पहिले कपाल निकालिएको ठाउँमा दाग बस्ने समस्या देखिन्थ्यो । तर अहिले त्यस्तो समस्या पनि देखिंदैन । कपाल प्रत्यारोपणका जटिलता सामान्यतया देखिंदैन । तर कसैकसैमा लट्ठ्याउने सुईको विषाक्तताका लक्षण, तालु सुन्निने, रगत बग्ने, रौंको जरामा संक्रमण हुने, क्षणिक रूपमा टाउको दुख्ने, चिलाउने र सुन्निने हुन्छ ।

रोपेको कपाल फेरि झर्ने समस्या हुन्छ ?

धेरैमा कपाल झर्ने कारण वंशाणुगत हुन्छ । अगाडिको कपालमा ‘डिएचटी रिसेप्टर’ हुन्छ जसले गर्दा अगाडिको कपाल झर्छ । कपाल रोप्दा पछाडिको कपाल प्रयोग हुन्छ, जसमा ‘डिएचटी रिसेप्टर’ हुँदैन र कपाल झर्ने समस्या पनि हुँदैन । जबसम्म पछाडिको भागको कपाल झरेर जाँदैन, तबसम्म रोपेको कपाल पनि झर्दैन ।

कपाल रोप्न कति लाग्छ खर्च ?

कति कपाल झरेको छ सोही अनुसार नै प्रत्यारोपण गर्ने हो,  कपालको संख्या र खर्च  निर्धारण हुन्छ । काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा भने एउटा कपाल बराबर ३७ रुपैयाँ पर्छ । सामान्यतया अगाडिको हेयर लाइनबाट चारवटा औंलासम्म झरेको छ भने तीन हजारवटा कपाल रोप्नुपर्छ, जसको लागि लगभग एक लाख ५० हजार रुपैयाँ खर्च लाग्छ ।

कपाल रोपेको सुरुको एक वर्ष विशेष ध्यान दिनुपर्छ

प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज र पेपरटेप प्रयोग गरेर छोपिन्छ र ४८ देखि ७२ घण्टाभित्र निकालिन्छ । ब्यान्डेज निकालेपछि त्यसमा एन्टिबायोटिक सात दिन लगाउनुपर्छ । कपाल रोपिएको क्षेत्रलाई भने खुल्ला क्यापले छोप्नुपर्छ, ताकि त्यस क्षेत्रमा कुनै संक्रमण नहोस् ।

ट्रान्सप्लान्ट गरिसकेको ७२ घण्टापछि क्लिनिकमै आएर स्याम्पुले सफा गरिन्छ । ट्रान्सप्लान्ट गरिसकेको एक वर्षसम्म एक प्रकारको औषधि प्रत्यारोपण गरिएको क्षेत्रमा लगाउन सुझाव दिइन्छ । जसले ट्रान्सप्लान्ट कपालमा रक्त सञ्चार गर्न र कपाल छिटो बढ्न मद्दत गर्छ ।

कपाल प्रत्यारोपण गरेको भनेर ६ महिनापछि त थाहा हुँदैन । कपाल प्रत्यारोपणपछि व्यक्तिमा कुनै छालासम्बन्धी समस्या देखिएन वा अन्य कुनै रोग लागेन भने प्रत्यारोपण गरिएको कपाल आजीवन रहन्छ ।

कपाल प्रत्यारोपण डा. सुयोग मैनाली
डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय