+
+

कोशीमा राप्रपाको राजनीति : जता फाइदा, उतै तालमेल

हरि अधिकारी हरि अधिकारी
२०८० माघ ८ गते २०:४१

८ माघ, विराटनगर । कोशीमा राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सोमबार तालमेल गर्ने सहमति भएको छ ।

सत्ता गठबन्धनसँग मिलेर कोशीमा सभामुख पद लिएको दुई सातामै राप्रपाले एमालेसँग तालमेलको सहमति गरेको हो । दुई दलका कोशी प्रदेश अध्यक्षले गरेको लिखित सहमति अनुसार ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको अन्यतर्फ एमालेले आफ्नो उम्मेदवार परशुराम अधिकारीको साटो राप्रपाका उद्धव पौडेललाई मत दिनेछ भने राप्रपाले महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई मत दिनेछ ।

कोशीमा सत्ता गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

एमाले र राप्रपाबीच सोमबार भएको सहमति

जता फाइदा त्यतै गठबन्धन

राप्रपाका नेताहरुका अनुसार कोशीको राजनीतिमा पार्टीभन्दा बढी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय बढी चल्छ । उनी पार्टीको महामन्त्री रहेका बेला पनि त्यही अवस्था थियो, मंसिर २०७८ महाधिवेशनबाट अध्यक्ष भएपछि त उनको निर्णय नै पार्टीको अन्तिम निर्णय हुन थालेको छ । झापाका लिङ्देनले सत्ता गठबन्धन वा एमाले जोसँग मिल्दा फाइदा हुन्छ, उसैसँग सहकार्य गर्ने गरेका छन् ।

पछिल्लो निर्वाचन र त्यसयता राप्रपाले कोशीमा लिएको निर्णयले पनि त्यही भन्छ । २०७९ वैशाखको स्थानीय चुनावमा नेपालगञ्ज उपमहानगरपालिका सहितका पालिकामा एमालेसँग तालमेल गरेको राप्रपाले झापाको दमक नगरपालिकामा सत्ता गठबन्धनसँग सहकार्य गर्‍ यो र, आफ्ना उम्मेदवार राम थापालाई मेयर निर्वाचित गरायो ।

मंसिर २०७९ को आम निर्वाचनमा भने राप्रपा अध्यक्ष लिङ्देनले झापामा एमालेसँग तालमेल रोजे । झापा क्षेत्र नम्बर ३ मा आफ्नो जित सुनिश्चित गर्न अरु चार क्षेत्रमा एमालेलाई समर्थन गरे ।

२०७९ को प्रदेशसभा निर्वाचनपछि २४ पुस २०७९ मा एमालेका हिक्मत कार्कीको नेतृत्वमा बनेको कोशी सरकारमा राप्रपा पनि सहभागी भयो । संसदीय दलका नेता भक्ति सिटौला आफैं मन्त्री भए । राप्रपाले कार्की नेतृत्वको सरकारलाई त्यो बेलासम्म साथ दियो, जबसम्म सरकार रहने अवस्था थियो । सरकार बनाउने र ढाल्ने खेल सुरु भएपछि राप्रपाले सत्ता गठबन्धन र एमाले दुबैबाट आफूलाई अलग राख्ने प्रयास गर्‍यो ।

पछिल्लो पटक कांग्रेसबाट विद्रोह गरेर केदार कार्की एमालेको समर्थनमा गत २७ कात्तिकमा मुख्यमन्त्री बने, अनि विश्वासको मत पाउने बेला सत्ता गठबन्धन र एमाले दुबैले साथ दिए । तर राप्रपाले त्यो बेला प्रमुख प्रतिपक्षी दलको बेञ्च रोज्यो ।

मुख्यमन्त्री कार्की र एमालेबीच खटपट सुरु भएपछि राप्रपाले सभामुख पाउने अवस्था बन्यो । कोशी प्रदेशमा राप्रपा चौथो ठूलो दल हो । ९३ सदस्यीय प्रदेशसभामा राप्रपाका जम्मा ६ जना सांसद छन् ।

तर सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको सिट संख्या जोड्दा टुप्लुक्क बहुमत अर्थात् ४७ सिट पुग्ने भएकाले सभामुख आफूले लिनसक्ने अवस्था भएन । एमालेलाई दिँदा भोलिका दिनमा अप्ठ्यारो पर्ने देखेपछि सत्ता गठबन्धनले राप्रपालाई प्रस्ताव गर्‍यो ।

राप्रपाले हतार गरेन, सत्ता गठबन्धनले संसदीय समितिको सभापति समेत दिने र एमालेले पनि सभामुखमा उम्मेदवार नउठाउने अवस्था बनेपछि २४ पुसमा अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुख बने । राष्ट्रियसभा निर्वाचनमा भने फेरि राप्रपाले एमालेसँग सहकार्य रोजेको छ ।

सिटौलालाई दबाब

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् ।

जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कोशीमा कांग्रेसका प्रमुख–उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृतसमाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४,२४८, कांग्रेसको ३,६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

राप्रपा र एमालेको तोलमेल गर्ने सहमतिपछि पनि सत्ता गठबन्धन अगाडि नै छ । एमाले र राप्रपाको मतभार ४,६४२ छ भने सत्ता गठबन्धनसँग ५४३६ मतभार छ ।

तर यो सहमतिले प्रतिस्पर्धालाई थप बलियो बनाएको छ । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला त चुनाव नै जित्ने दाबी गर्छन् । सहकार्य गर्दा राजनीतिक लाभ हुन्छ कि हुन्न भन्ने हेर्नु स्वभाविक भएको भन्दै उनले भने, ‘यो निर्वाचनमा एमालेसँग सहकार्य गर्दा गेन गर्न सकिन्छ भन्ने आत्मविश्वास भयो, त्यसअनुसार नै सहकार्य गर्ने प्रयास गरेका हौं ।’

राप्रपा नेताहरुले सिटौलालाई रोकेर आफ्नो दलका उम्मेदवार पौडेल जित्ने दाबी गर्नुको कारण कांग्रेसभित्रको अन्तरविरोध पनि हो । कांग्रेसभित्र डा. शेखर कोइराला पक्षलाई संस्थापन पक्ष असन्तुष्ट छ । कांग्रेससँगै माओवादीका केही प्रदेशसभा सदस्यलाई फ्लोर क्रस गराउन सके चुनाव जित्ने राप्रपाको विश्लेषण छ ।

सत्ता गठबन्धनका नेताहरुले पनि त्यो चुनौती लेखेका छन् । डा. शेखर कोइराला पनि सिटौलाले चुनाव हारे अपजस आउने भयका कारण सिटौलाको चुनावी अभियानमा खटिएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि एमाले–राप्रपा तालमेलले गठबन्धनलाई असर नगर्ने दाबी गर्छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?