+
+
सडक दुर्घटना  :

उद्धारमा ढिलाइ हुँदा सडकमै गुम्छ यात्रुको ज्यान

अच्युत पुरी अच्युत पुरी
२०८० माघ ९ गते १३:४३

९ माघ, काठमाडौं । गत साउन तेस्रो साता सिन्धुपाल्चोकको लिसङ्खापुर गाउँपालिका ७ मा भएको मोटरसाइकलमा घाइते दोलखाका विश्वराज श्रेष्ठले उद्धारको याचना गर्दागर्दै सडकमै ज्यान गुमाए । आधा घण्टापछि पुगेको प्रहरी टोलीले उद्धार गरे पनि उनलाई बचाउन सकिएन ।

अघिल्लो साता दाङ भालुवाङस्थित राप्ती नदीमा बस दुर्घटनामा पर्‍यो । रातको समयमा बसले च्यापिएका यात्रुलाई बाहिर निकाल्न उद्दारमा खटिएको सुरक्षा संयन्त्रलाई हम्मेहम्मे परेको थियो ।

सोही समयमा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको एक भिडियोमा एक स्थानीयले भन्दै थिए, ‘विदेशमा भएको भए एउटा क्रेनले बसलाई जुरुक्क उचालेर अर्कोपट्टी सारेर घाइतेको उद्धार भइसक्यो, हाम्रोमा फलाम काट्दै घाइतेलाई निकालेर लैजान कतिबेर लाग्ने हो ।’

यी दुई खबर र त्यहाँ देखिएको प्रवृत्तिले नेपालमा दुर्घटनापछिको आकस्मिक उद्धारमा हुने ढिलाई कसरी मृत्युको कारण बन्दैछ भन्ने पुष्टी गर्न पर्याप्त छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म देशभर ९ हजार ८१४ वटा सडक दुर्घटना भएका छन् । ४६३ जनाले ज्यान गुमाएका छन् । ७ हजार ८३९ जना घाइते भएका छन् ।

तीन महिनाकै यो कहालीलाग्दो दुर्घटनाको श्रृङ्खलाकाबीच राजमार्गमा आकस्मिक उद्धारमा आवश्यक तिब्र सूचनाको अभाव, ढिलाई र विधि नजान्दा ठूलो मानवीय क्षति निम्याइरहेको छ ।

पाल्पाको लगुवामा पुस दोस्रो सातामा भएको बस दुर्घटना ।

आकस्मिक उद्धारको विधि नजान्दा समेत जान्छ धेरैको ज्यान

संसारका सबैजसो देशमा सडक होस वा हवाई दुर्घटना, आपतकालिन उद्धार, उपचार र पुनस्र्थापना हेर्न डेडिकेटेड संयन्त्रको स्थापना गरिएको हुन्छ ।

यस्तो संयन्त्रले सडक दुर्घटना न्यूनीकरणसँगै तीव्र उद्धारमा निरन्तर काम गर्छ । साथै दुर्घटनामा घाइते भएकाहरुलाई जे भेट्यो, त्यसमै चढाएर अस्पताल लैजाने हतारो गर्दैन, बरु व्यवस्थित उद्धार गरी मानिसलाई बचाउने बारे आम मानिसलाई समेत प्रशिक्षित गर्छ । यस्तो संयन्त्रका तालिमप्राप्त कर्मचारी खटाइएका हुन्छन् ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारसहित छिटो अस्पताल पुर्‍याउँदा बचाउन सक्ने सम्भावना अधिक हुने चिकित्सकहरु बताउँछन् ।

टिचिङ हस्पिटलका आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार नेपालमा उद्धार गर्नु भनेको जतिसक्दो छिटो अस्पताल पुर्‍याउनु मात्र हो भन्ने मान्यता छ । तर, त्यसले मात्र घाइतेलाई बचाउन सम्भव हुन्न । यसको साटो घाइतेलाई घटनास्थलमै प्राथमिक उपचार गरी र अस्पतालसम्म लैजान एम्बुलेन्सको जोहो गर्नुपर्छ ।

‘हामीले ‘इमर्जेन्सी नम्बर १०२’ लाई एक्टिभ गराउन नसक्दा यात्रुको अकालमा ज्यान गइरहेको छ,’ उनी भन्छन्, ‘दुर्घटना जहाँ भए पनि नजिकको एम्बुलेन्सलाई बोलाउने नम्बर यही हो ।’ दुर्घटनाका बेला आकस्मिक उद्धारमा सर्वसाधारणदेखि नेपाल प्रहरीसम्मले गरिरहेको गल्ती नै उनी यसलाई मान्छन् ।

‘दुर्घटनामा जस्तो अवस्थामा मानिस भेटियो, त्यस्तै अवस्थामा पोको पारेर अस्पताल ल्याइन्छ,’ उनी भन्छन्, ‘यसरी आकस्मिक उद्धार कतै पनि गरिँदैन ।’ घटनास्थलसम्म जतिसक्दो छिटो एम्बुलेन्स पुर्‍याउन सक्यो, त्यसले मानिसको ज्यान बचाउन उत्तिकै ठूलो भूमिका खेल्ने डा. महर्जन बताउँछन् । ‘आपतकालिन अवस्थाको एउटा सिस्टम हुन्छ, हामी नेपालीहरु त्यो सिस्टममा चलेनौं,’ उनी भन्छन्, हामी अति जान्ने त भयौं, तर त्यसले कति काम गरिरहेको छ, मूल्यांकन गरेनौं ।’

प्रहरीको द्रुत रेस्पोन्स तर, प्रविधिको अभाव  

नेपालका सडक दुर्घटनाका दौरान सबैभन्दा सुरुमा स्थानीयबासी र त्यसपछि पुग्छन् नेपाल प्रहरी । आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेना त्यसपछि खटिन्छन् । तर, प्रहरीसँग अझै पनि आवश्यक प्रविधि र उपकरणको अभाव छ । साथै जनशक्ति समेत पर्याप्त छैनन् ।नेपाल प्रहरीका प्रवक्ता भिम प्रसाद ढकाल भन्छन्, ‘दुर्घटनाको खबर पाउनासाथ बिजुलीकै रफ्तारमा प्रहरी बल खटिन्छ, शहरी इलाका हो भने बढीमा ५/७ मिनेटमै घटनास्थलसम्म प्रहरी पुग्छ ।’

तर, नेपालको कठिन भूगोग, आवश्यक जनशक्तिको अभाव र उपकरणको अभावले भने आकस्मिक उद्धारमा सोचेजति तीव्रता दिन नसकिने उनी स्वीकार गर्छन् । ‘प्रहरी बलले आफुसँग भएको पुरै बल लगाएर कामका खटिएको हुन्छ, कमसेकम क्षति होस भन्नेमा हामी सचेत छौं,’ उनी भन्छन्, ‘तर सबै भूगोल, राजमार्गमा उत्तिकै सुविधा छैन ।’ त्यस अवस्थामा नजिकमा जे सामग्री उपलब्ध छ, त्यसकै प्रयोग गरेर उद्धारको काम गरिने उनी बताउँछन् ।

स्थानीय तहमा खटिने प्रहरी कर्मचारीलाई भूगोलको राम्रो जानकारी हुने भएकाले उनीहरु सकेसम्म घटनास्थलमा पुग्ने र थप बल आवश्यक भए परिचालन गर्ने अभ्यास रहेको भन्दै उनले यसलाई प्रभावकारी बनाउन सोधन स्रोत, जनशक्त र उपकरणको उपलब्धताले ठूलो भूमिका खेल्ने बताउँछन् ।

समन्वयको खाँचो

देशभरका ठूला राजमार्गको पूर्वाधार विकास तथा मर्मतको जिम्मेवारी पाएको सडक विभागका प्रवक्ता रामहरि पोखरेल दुर्घटना न्यूनीकरण र दुर्घटनापछिको आकस्मिक उद्धारमा सबै निकायबीच समन्वयको आवश्यकता रहेको बताउँछन् ।

ठूला राजमार्गमा बढी दूर्घटना दोहोरिने क्षेत्रमा ट्रमा सेन्टरको स्थापना देखि उद्धारमा उपकरण खरीद र जनशक्ति विकास गर्न आवश्यक रहेको भन्दै उनले सडक पूर्वाधारकै कारण दुर्घटना नहोस भनेर विभागले काम गरिरहेको जानकारी दिए ।

पुस अन्तिम साता दाङको भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा भएको दुर्घटना ।

ठूला राजमार्गका पर्याप्त मात्रामा क्रेन, एम्बुलेन्स रहने भन्दै यसमा राज्यका जिम्मेवार निकायबीच समन्वयको खाँचो रहेको उनले बताए । सडक सुरक्षा ऐन आउने क्रममा रहेको भन्दै यो आएपछि आकस्मिक उद्धारमा रहेका कमजोरी हटाउन भूमिका खेल्ने उनले बताए ।

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको विषय धेरै निकायको कार्यक्षेत्र भित्र पर्ने भएपनि सबैको उद्देश्य सुरक्षित सडक यात्रा भएकाले यसमा गम्भीर हुनुपर्ने उनी बताउँछन् ।

गरिब मुलुकमा दुर्घटनास्थलबाट अस्पताल पुर्‍याउँदासम्म हुन्छ ठूलो क्षति

एक तथ्यांक अनुसार नेपालजस्ता कम आय भएका मुलुकमा विकसित मुलुकको तुलनामा दुर्घटनास्थलबाट अस्पताल पुर्‍याउँदा दोब्बर मानिसको मृत्यु हुन्छ । सरकारले गठन गरेको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० अनुसार दुर्घटनापछिको पहिलो घण्टामा २० प्रतिशत घाइते घटनास्थलमा, २० प्रतिशत कमसल उपचार र ६० प्रतिशत घाइते स्थानान्तरणमा हुने ढिलाइले ज्यान गुमाउने गरेको पाइएको छ ।

सोहीकारण अस्पताल पुर्‍याउनु भन्दा अगाडि घटनास्थलमा प्रभावकारी सेवा पुर्‍याउन एम्बुलेन्स, दक्ष कर्मचारी र दुर्घटनाको उपचारमा दक्षता भएका जनशक्ति सम्पन्न अस्पतालसम्म पुर्‍याउने व्यवस्था हुनुपर्ने सुझाव सो प्रतिवेदनले दिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?