+
+
राष्ट्रियसभा निर्वाचन-गण्डकी :

पहिलो जितको खुशी

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा जितेका तीनै जनाको पृष्ठभूमि लगभग मिल्दो छ, लगातारको असफलता र संघर्षपछि पहिलो जित ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० माघ ११ गते २१:१९

११ माघ, पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभामा तीनै जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका उम्मेदवारहरु हराउँदै राष्ट्रियसभा सदस्य जित्नेमध्ये दुई जना नेपाली कांग्रेस र एक जना नेकपा माओवादी केन्द्रका नेता छन् । तर तीनै जनाको पृष्ठभूमि लगभग मिल्दो छ, लामो संघर्ष र असफलतापछि माथिल्लो सदनको यात्रा ।

नेकपा एमालेकी सम्झना देवकोटालाई हराउँदै महिला कोटाबाट निर्वाचित मनरुपा शर्मासँग माओवादीको सशस्त्र विद्रोहले दिएको चोट र चुनावी असफलताका लामै कथा छ ।

सशस्त्र विद्रोहमा पर्वतकी मनरुपाले पति गुमाएकी थिइन् । ‘२०६१ सालमा श्रीमान् गुमाउँदा म फेरि लयमा फर्किउँला जस्तो लागेको थिएन । तर आत्मबल दरिलो पारें, काला दिनहरु छिचोल्दै लडें’, मनरुपा भन्छिन् । शान्ति सम्झौता हुँदै माओवादी संसदीय राजनीतिको यात्रा अगाडि बढ्यो ।

मनरुपाले पनि पार्टीकै बाटो पछ्याइन् । तर सजिलो र सफल भएन । ‘शान्ति प्रक्रियामा आइसकेपछि सजिलो भएन, किनकी एकल महिलाका निम्ति समाज अझै उदार भइसकेको छैन’, उनी भन्छन् । तर मनरुपा आफैं पनि कठिन र चुनौती लिन तयार थिइन् ।

त्यसैको उदाहरण हो, २०६४ सालको पहिलो संविधानसभा चुनाव । युद्धमा पति गुमाएका मनरुपालाई त्यसबेला पार्टीले समानुपातिक सूचीमा बस्न आग्रह गरिएको थियो ।

तर उनले त्यस्तो प्रस्ताव अस्वीकार गरिन् । ‘म महिला, शहीद परिवारका तर्फबाट कोटामा होइन, चुनाव लड्न चाहन्छु’ मनरुपाको निष्कर्ष थियो, ‘महिला भएर होइन, एक जना उम्मेदवार भएर पुरुषसँग चुनाव लड्छु ।’ नभन्दै पर्वत–१ प्रत्यक्ष तर्फ टिकट पाइन् ।

नतिजा भने मनरुपाको पक्षमा आएन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीसँग करिब १ हजार मतान्तरले पराजित भइन् । जोशीले १३ हजार २५८ ल्याएर जित्दा मनरुपाले १२ हजार ८२ मत मात्रै पाइन् । त्यसबेला २२ सय मत बदर नभइदिएको भए जित्थेँ भन्ने उनलाई लाग्छ ।

देशभर माओवादीको लहर चलेको त्यो चुनाव हारेपछि मनरुपालाई त्यसपछि माओवादीले प्रत्यक्षतर्फ टिकट दिएन । कहिले संघीय संसद र कहिले प्रदेशसभाको समानुपातिकमा राखिदियो । तर सांसद भने भएनन् ।

‘प्रत्यक्ष जनताबाट चुनिएर सांसद हुने धोको त पूरा गर्न सकिनँ, तर जनताले नै चुनेका जनप्रतिनिधिको मतबाट राष्ट्रियसभा छिर्ने अवसर भने प्राप्त गरें,’ मनरुपाले खुसी साटिन्, ‘हार खाएन र निरन्तर लागिरह्यो भने ढिलोचाँडो अवसर आउने रहेछ भनेर बुझेकी छु ।’

२०५७ सालबाट सशस्त्र विद्रोहमा होमिएपछि राजनीतिमै रहेकी मनरुपाको पहिलो संसदीय यात्रा भने कांग्रेसकै साथबाट सम्भव भयो । ‘मेरो ध्यान अब यो व्यवस्था बलियो बनाउँदै जनताको पक्षमा कानुन निर्माण गर्ने कुरामा रहन्छ’, उनी भन्छिन् ।

संघर्षपूर्ण विगत

अल्पसंख्यक, अपाङ्ग तथा दलित कोटाबाट राष्ट्रियसभा सदस्य जितेका पदमबहादुर परियारको संघर्ष पनि लामै छ । एमालेका हेमचन्द्र शेरचनलाई हराउँदै राष्ट्रियसभा सदस्य जितेका पदमबहादुरको पोलियोले देब्रे खुट्टा मसिनो र छोटो बनाइदियो ।

अर्थात् सामाजिक विभेदमाथि अपांगता उनको जिन्दगीमा थपिएको थियो । तनहुँको सुगम ठाउँ दमौलीमै पदमले बाल्यकालबाटै सामाजिक अपमान खेप्नुपरेको थियो ।

‘म पढेर ठूलो मान्छे हुन्छु र तिमीलाई देखाउने छु, मानिस जातैले कोही ठूलो सानो हुँदैन’ पदम पुराना कुरा सम्झन्छन् । त्यही इगो र प्रतिबद्धताले उनलाई उच्च शिक्षा लिन प्रेरित गर्‍यो । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका ४२ वर्षीय पदम विद्यार्थी छदै राजनीतिमा होमिए ।

अपांगता भएकाहरुको क्षेत्रमा काम गर्ने संस्था रिसेड स्थापना गरेर ३ कार्यकाल नेतृत्व गरे । ‘म पदकै लागि भनेर कहिल्यै काम गरिनँ, म त दलित र अपांगताहरुको हकहितका लागि लड्न कसम खाएको थिएँ’, उनी भन्छन्, ‘अपमान र विभेदको दोहोरो मार खेपेपछि यही समुदायको पक्षमा लडाइँ लड्दै आएको हुँ ।’

लामो साधक

अन्य कोटाबाट एमालेका चक्रबहादुर पराजुलीलाई हराएर राष्ट्रियसभा सदस्य निर्वाचित किरणबाबु श्रेष्ठले पनि लगातारको हारपछि पाएको यो पहिलो सफलता हो ।

२०५४ सालमै गोरखा नगरपालिकाको मेयर बन्न उनी मैदानमा उत्रिएका थिए । तर सफल हुन सकेनन् । त्यसपछि पनि उनले कहिल्यै जित्न सकेनन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा–१ मा किरणले टिकट त पाए, तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग जित्न सक्ने अवस्था थिएन । डा. भट्टराईले श्रेष्ठलाई सजिलै पाखा लगाए ।

२०६४ सालको चुनावमा टिकट नै नपाएका किरणले गत चुनावमा समानुपातिक तर्फबाट सांसद बन्ने ठूलो आशा गरेका थिए । गण्डकी प्रदेशसभामा आदिवासी जनजाति पुरुषको १ नम्बरमा सिफारिस भएपनि उनी सांसद हुन पाएनन् ।

२ पटकसम्म जिल्ला सचिव भएर पनि गुटकै कारण नेतृत्वमा पुग्न मौका नपाएको बताउने उनी १४औं महाधिवेशनमा भने गण्डकी प्रदेशको महामन्त्री निर्वाचित भए । त्यही महामन्त्री पदपछि किरणले राष्ट्रियसभाको टिकट हात पार्न सफल भए ।

अर्कै उम्मेदवारको नाममा लगभग पक्का भइसकेको अवसर गुटको रस्साकस्सीमा किरणको पोल्टामा प¥यो । ढिलै भए पनि पार्टीले न्याय परेको श्रेष्ठ बताउँछन् ।

हुनपनि गण्डकीबाट निर्वाचित हुने राष्ट्रियसभाको तीन सिटका लागि पटकपटक सांसद, मन्त्री, उपप्रधानमन्त्री र पार्टीको उपसभापति समेत भइसकेका स्याङ्जाका गोपालमान श्रेष्ठ सम्मको दौडधुप थियो ।

सभामुख भइसकेका तारानाथ रानाभाटको पनि चर्चा चलेको थियो । प्रदेशसभा सभापति शुक्रराज शर्मा आफै समेत आकांक्षी थिए ।

अझ देउवाका विश्वासपात्र सोभियतबहादुर अधिकारीले त टिकट पाइसकेको चर्चा समेत चल्यो । तर संस्थापन इतर समूहले भाग पाउँदा किरण उम्मेदवार बनेर राष्ट्रियसभा सदस्य जिते ।

उनी २०२८ सालबाटै राजनीतिमा लागेका व्यक्ति हुन् । ‘लामो राजनीतिक यात्रामा निरन्तरको लगाव र निष्ठामा प्रश्न उठ्ने ठाउँ दिएको छैन, अब पनि जनताको पक्षमा कुरा उठाउँछु’, किरण भन्छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?