+
+

पूरै दुनियाँलाई दुःख दिइरहेको डीपफेक के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:११

पछिल्लो समय विभिन्न बलिउड सेलिब्रेटीका नक्कली फोटो तथा भिडियोहरु भाइरल गराएसँगै डीपफेक हलिउडमा समेत प्रवेश गरेको छ ।

अमेरिकामा यो डीपफेकको घिनलाग्दो खेल चर्चित गायिका टेलर स्विफ्टबाट सुरु गरिएको छ । टेलर स्विफ्टको एउटा डीपफेक तस्वीर भाइरल बनेको छ, तत् पश्चात डीपफेकलाई लिएर अमेरिकामा नयाँ बहस छेडिएको छ ।

सोसल मिडियामा भाइरल भैरहेका स्विफ्टका नक्कली तस्वीरहरुले अमेरिकी नेताहरुको ध्यान डीपफेकतर्फ आकर्षित गरिदिएको छ ।

अमेरिकामा यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन तथा यस्ता सामाग्री तयार गर्नेका विरुद्धमा कडा कारबाहीको माग भैरहेको छ । आखिर डिपफेक के हो त ? आउनुहोस् जानौं ।

के हो डीपफेक ?

वास्तवमा डीपफेक फोटो र भिडियो दुवै स्वरुपमा हुनसक्छ । एउटा विशेष मेसिन लर्निङको प्रयोग गरेर यसको निर्माण गरिन्छ, जसलाई डीप लर्निङ भनिन्छ । डीप लर्निङमा कम्प्युटरलाई दुईवटा भिडियो वा फोटो दिइन्छ । ती दुवैलाई हेरेर कम्प्युटरले आफैं दुवै भिडियो वा फोटोलाई एउटै जस्तो बनाइदिन्छ ।

यो ठ्याक्कै बच्चाले कुनै चिजको नक्कल गरेजस्तै हुन्छ । यस्तो खालका फोटो तथा भिडियोहरुमा लुप्त तहहरु अर्थात् हिडेन लेयर्स हुन्छन् जसलाई केवल सम्पादन सफ्टवेयरबाट मात्रै देख्न सकिन्छ ।

एक हरफमा भन्नुपर्दा डीपफेक भनेको वास्तविक अर्थात् रियल तस्वीर-भिडियोहरुलाई उत्कृष्ट रियल फेक तस्वीर-भिडियोमा बदल्ने एक प्रक्रिया हो । डीपफेकमा तस्वीर तथा भिडियोहरु फेक हुँदाहुँदै पनि वास्तविक जस्ता देखिन्छन् ।

सजिलो भाषामा भन्नुपर्दा डीपफेक एउटा सम्पादित भिडियो तथा तस्वीर हो जसमा एक व्यक्तिको अनुहारलाई अरु कसैको अनुहारमा बदलिन्छ ।

डीपफेक भिडियोहरु यतिधेरै सटिक हुन्छन् कि त्यो नक्कली हो भनेर सहज रुपमा पहिचान गर्न सकिंदैन । डीपफेक भिडियो बनाउनका लागि आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङको पनि मद्दत लिइन्छ ।

कसरी बन्छन् डीपफेक ?

डीपफेक सामग्रीहरु दुईवटा नेटवर्कको सहयोगबाट बनाइन्छ जसमा एउटा इनकोडर हुन्छ भने अर्को डिकोडर नेटवर्क हुन्छ ।

इनकोडर नेटवर्कले सोर्स कन्टेन्ट (वास्तविक अर्थात् स्रोत सामग्री) लाई विश्लेषण गर्दछ र त्यसबाट प्राप्त डाटालाई डिकोडर नेटवर्कमा पठाउँछ । त्यसपछि अन्तिम नतिजा अर्थात् आउटपुट निस्किन्छ जुन हुबहु सक्कली जस्तै हुन्छ । तर यो वास्तवमा फेक अर्थात् नक्कली हुन्छ ।

यसका लागि केवल एउटा भिडियो वा तस्वीर आवश्यक पर्दछ । डीपफेकका लागि विभिन्न वेबसाइटहरु तथा एपहरु पनि छन् जहाँ मानिसहरुले विभिन्न डीपफेक भिडियोहरु बनाइरहेका छन् ।

डिपफेक भिडियोलाई कसरी पहिचान गर्ने ?

यस्तो प्रकारका फोटो तथा भिडियोहरु पहिचान गर्नु सजिलो त छैन तथापि असम्भव पनि होइन । यसलाई पहिचान गर्नका लागि तपाईंले भिडियोहरुलाई अत्यन्तै नजिकबाट हेर्नु पर्दछ ।

खासगरी अनुहारको भावभंगी, आँखाको चाल तथा शरीरको स्टाइलमा ध्यान दिनुपर्छ । यसका अलावा शरीरको रंगबाट पनि डीपफेक पहिचान गर्न सकिन्छ । आमरुपमा यस्ता भिडियोहरुमा अनुहार र शरीरको रङ मिलिरहेको हुँदैन ।

साथै लिप सिङ्कबाट पनि यस्तो खालका भिडियोहरु पहिचान गर्न सकिन्छ । यस्ता भिडियोहरुलाई लोकेसन र अतिरिक्त चम्किलोपनाबाट पनि चिन्न सकिन्छ ।

कुनै पनि विषयवस्तुमा आफ्नो ज्ञानका आधारमा पनि डीपफेक पहिचान गर्न सकिन्छ । जस्तै यदि बाराक ओबामाले भोजपुरी गीत नाचिरहेको भिडियो छ भने त्यो नक्कली हो भनेर पहिचान गर्न कुनै गाह्रो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?