+
+

संरक्षित क्षेत्र घुम्ने पर्यटक कीर्तिमानी संख्यामा, धेरै पुगे शिवपुरी

नेपाल आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गर्छन् । पर्वतारोहण र पदयात्रा जाने सबैजसो पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्नुपर्ने हुन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ १४ गते १७:५०

१४ माघ, काठमाडौं । मुलुकका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक संख्याले कीर्तिमान कायम गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९ लाख ३२ हजार ५ सय ३२ स्वदेशी तथा विदेशी पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका छन् । यो हालसम्मकै सर्वाधिक हो ।

यसअघि आर्थिक वर्ष २०७५/७६ मा ७ लाख ६ हजार १ सय ४८ पर्यटकले संरक्षित क्षेत्र भ्रमण गरेका थिए । कोभिड-१९ महामारीका कारण २०७७/७८ मा २ लाख ५४ हजारमा झरेको पर्यटक संख्या त्यसयता भने क्रमशः उकालो लागिरहेको छ ।

त्यस्तै २०७८/७९ मा ४ लाख ६७ हजार १ सय ५५ ले संरक्षित क्षेत्र भ्रमण गरेका थिए । गत वर्ष यो संख्या दोब्बर बढेको हो ।

नेपाल आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गर्छन् । पर्वतारोहण र पदयात्रा जाने सबैजसो पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्नुपर्ने हुन्छ ।

यसबाहेक जंगल सफारी र काठमाडौं आसपास हाइकिङ–ट्रेकिङ क्षेत्रसमेत संरक्षित क्षेत्रभित्रै पर्छ । नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र संरक्षण क्षेत्र संख्या २० छ । यसबाहेक दुई प्राणी उद्यान छ । यसमध्ये सगरमाथा र चितवन विश्व सम्पदा सूचीमा समेत सूचीकृत छन् ।

कुन आर्थिक वर्ष कतिले गरे संरक्षित क्षेत्र भ्रमण ?

  • २०७५/७६ : ७,०६,१४८
  • २०७६/७७ : ५,००,५३७
  • २०७७/७८ : २,५४,०७९
  • २०७८/७९ : ४,६७,१५५
  • २०७९/८० : ९,३२,५३२

धेरैले घुम्ने संरक्षित क्षेत्र शिवपुरी–नागार्जुन

एक वर्षमा सबैभन्दा धेरै पर्यटकले घुम्ने संरक्षित क्षेत्रमा शिवपुरी–नागार्जुन पहिलो स्थानमा परेको छ । यो क्षेत्रमा एक वर्षमा ३ लाख १ हजार २ सय ७८ पर्यटकले भ्रमण गरेका छन् ।

शिवपुरी धाप ड्याम

दोस्रो स्थानमा चितवन राष्ट्रिय निकुञ्ज छ । यस क्षेत्रमा २ लाख ९२ हजार ३ सय ९२ ले भ्रमण गरे । तेस्रोमा परेको अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ७२ हजार १ सय ८ पर्यटक पुगेका छन् र

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ५७ हजार ६ सय ९० जना भ्रमणमा पुगेको विभागले जनाएको छ ।

मासिक तथ्यांक हेर्दा संरक्षित क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकमा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । वैशाख २०८० मा १ लाख ३७ हजार ६ सय ६६ ले संरक्षित क्षेत्र घुमेका छन् ।

कात्तिक २०७९ मा १ लाख १३ हजार र चैत २०७९ मा १ लाख ९ हजार ४ सय ८४ पर्यटक संरक्षित क्षेत्र पुगेका थिए ।

कुन संरक्षित क्षेत्रमा कति पर्यटक ?

  • शिवपुरी–नागार्जुन : ३,०१,२७८
  • चितवन : २,९२,३९२
  • अन्नपूर्ण : १,७२,१०८
  • सगरमाथा : ५७,६९०
  • लाङटाङ : २७,५६१
  • बर्दिया : २३,५११
  • कोशीटप्पु : १२,०२९
  • रारा : १०,८९९
  • ढोरपाटन : ७,०४५
  • मनास्लु : ६,८५१
  • कृष्णसार : ५,५६९
  • से–फोक्सुन्डो : ३,७८२
  • शुक्लाफाँटा : ३,५२८
  • खप्तड : २,८९१
  • गौरीशंकर : १,८९३
  • मकालु वरुण : १,६१०
  • पर्सा : ८९०
  • कञ्चनङ्घा : ७१३
  • बाँके : २७१
  • अपिनाम्पा : १८

राजस्व धेरै उठाउने क्षेत्र चितवन, दोस्रो सगरमाथा

संरक्षित क्षेत्रमध्ये सबैभन्दा धेरै राजस्व उठाउने संरक्षित क्षेत्र भने चितवन राष्ट्रिय निकुञ्ज हो । दोस्रोमा सगरमाथा छ । एक वर्षमा संरक्षित क्षेत्रबाट ७५ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ ।

त्यसमध्ये चितवनबाट मात्र २८ करोड १३ लाख र सगरमाथाबाट १४ करोड ८१ लाखबराबर राजस्व उठेको छ । शिवपुरी–नागार्जुनले ५ करोड ४३ लाख र लाङटाङले ४ करोड २४ लाख राजस्व उठाएका छन् । बर्दियाबाट ४ करोड ५५ लाख तथा पर्साबाट ३ करोड ६२ लाख राजस्व संकलन भएको छ ।

देशभरिका संरक्षित क्षेत्रले ओगट्ने भेगमा होमस्टे सञ्चालनका लागि अहिलेसम्म १ सय ७० घरधुरीले अनुमति लिएका छन् । जसमा एकसाथ ३ हजार ७ सय ६३ पर्यटकले सेवा लिन सक्छन् ।

एक वर्षमा ९७ चलचित्र–वृत्तचित्र छायाङ्‍कन अनुमति

संरक्षित क्षेत्रमा एक वर्ष अवधिमा ९७ चलचित्र तथा वृत्तचित्र सुटिङ (छायाङ्‍कन) गर्न सरकारले अनुमति दिएको छ ।

विभागका अनुसार यसमा नेपाली र विदेशी दुवै छन् । यसरी सुटिङ अनुमति लिनेमा सगरमाथा राष्ट्रिय निकुञ्जमा धेरै अनुमति जारी भएको छ । संरक्षित क्षेत्रभित्र विभिन्न प्रकारका अध्ययन/अनुसन्धानका लागि २ सय ८४ जनालाई अनुमति दिइएको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?