+

‘छोरी कहिले निको हुन्छ ?’ अनुत्तरित जवाफ कुरिरहेकी एउटी आमा

२०८० माघ  १८ गते ७:०० २०८० माघ १८ गते ७:००
‘छोरी कहिले निको हुन्छ ?’ अनुत्तरित जवाफ कुरिरहेकी एउटी आमा

वीर अस्पताल बाहिर भित्तामा अडेसिएर टुक्रुक्क बसेकी थिइन्, सर्केनी कामी । रुकुमपूर्वको विकट गाउँबाट जसोतसो उनी काठमाडौं आइपुगेकी हुन् । यसअघि उनले आफ्नो आँगनभन्दा टाढाको संसार देखेकै थिइनन् । भोको पेटका लागि जुध्दा जुध्दै आँखाको रौस पनि निथ्रिसकेको थियो ।

गरिबी र अभावले नै घरबाट बाहिर निस्कन दिएन । अभावमै बैँस सकियो । श्रीमान् बिते । छोराछोरी लाखापाखा लागे । उनको उमेर ढल्कियो ।

बुढ्यौलीमा घर छाड्ने रहर थिएन, जाँगर थिएन, खर्च पनि थिएन । तर, बाध्यता आइलाग्यो ।

बाध्यता के भने, कलकलाउँदो उमेरकी कान्छी छोरी जुना बिक अनायास मुर्छा पर्न थालिन् । होसको कुरा गर्न छाडिन् । जथाभावी कोतर्न थालिन् । आँखा देख्नै छाडिन् । हलचल गर्न नसक्ने भइन् । अन्ततः उनलाई घरमै राख्न गाह्रो भयो । छोरीलाई ल्याएर उनी काठमाडौं आइन्, नाइटबस चढेर ।

तर, कहिल्यै गाउँ नछाडेकी, सावाँ-अक्षर नचिनेकी, पुग्दो खर्च नभएकी सर्केनी कामीलाई दूरदराजको गाउँदेखि काठमाडौंसम्मको यात्रा तय गर्न त्यती सजिलो थिएन । त्यसको छुटै महाभारत छ । त्योभन्दा ठूलो महाभारत छ बिरामी छोरीका लागि उनले झेलेको कष्टहरु ।

विवाह गरेर गइसकेकी कान्छी छोरी बिरामी पर्न थालेपछि ज्वाइँले खबर पठाए, ‘छोरीलाई लिन आउनु । म स्यहारसुसार गर्न सक्दिनँ ।’

‘१५ वर्षको उमेरमा छोरीलाई ३५ वर्षको केटोले भगाएर लग्यो’ सर्केनी कामीले सुनाए, ‘तर, बिरामी पर्न थालेपछि पाल्न सक्दिन भन्दै माइत पठाइदिए ।’

आमाको मन हो, ‘दुःखसुख छोरीलाई पाल्छु’ भनी आफैंसँग राख्न थालिन् । यसै त अभाव र दुःख । त्यसमाथि थपिए, बिरामी छोरी । एउटी बुढी आमाले कसरी पालनपोषण गर्ने ? कसरी रेखदेख गर्ने ? कसरी औषधि उपचार गर्ने ?

तीन भाइ छोरा श्रम गर्न भारततिर । बाँकी छोरीहरु विवाह गरेर आ–आफ्नै घरमा । एक्लो ज्यान जसोतसो पालेकै थिइन् । आय–आम्दानीको दिगो स्रोत त थिएन । आफ्नै अन्न उब्जनीले आधा वर्ष खान नपुग्ने । दुःखजिलो ढिंडो–खोले खाएर दिन गुजार्दै थिइन् । यस्तो अवस्थामा बिरामी छोरीलाई घरमा ल्याएर हेरचाह गर्नुपर्ने भयो ।

छोरी हालत धेरै बिग्रिसकेको थियो । छिनछिनमै मुर्छा पर्ने । किन यस्तो हुन्छ ? आमालाई थाहा पत्तो हुने भएन । देवी देवता लागेको होला भनी झारफुक गर्न थाले । तर, समस्या अरु चर्किदै गयो ।

दिनमा १०–२० चोटी बेहोस हुन थालिन् । छिमेकीले अनुमान गरे, ‘छारे रोग लागेछ ।’ सर्केनीले गाउँ चाहर्दै जडीबुटी खुवाउन थालिन् । दुई वर्ष बित्यो, तैपनि निको भएन ।

जति जति समय लम्बिदै गयो, जुना बिकको समस्या जटिल हुँदै गयो । उनी आफु नजिक आउने मान्छेलाई चिर्थोन थालिन् । मान्छेहरुले लख काटे, ‘अब उनको दिमाग बिग्रियो । बहुलाउन लागेजस्तो छ ।’

केही समय बित्न नपाउँदै उनले आँखा पनि देख्न छाडिन् ।

‘म आफैं पनि राम्ररी हिंडडुल गर्न नसक्ने, खुट्टा दुख्छ’ सर्केनी सुनाउँछिन्, ‘त्यसमाथि छोरी थला परेपछि आफैले भित्र–बाहिर लानुपर्ने, खुवाउनुपर्ने, खानेकुरा ल्याउनुपर्ने । धेरै दुःख भो ।’

झारफुकले भएन, जडिबुटीले भएन । छोरीको बिजोग भयो । ऐया र अत्था गर्दै बसेको सुनेर कहिलेसम्म बस्ने ? सर्केनीले ऋणपान गरिन् । छोरीलाई अस्पतालसम्म पुर्‍याउने जोरजाम गरिन् । तर, अस्पताल नजिक भए पो ?

गाडी कुद्ने बाटो भेट्नै एक दिन हिंड्नुपर्ने । केही मान्छे खोजे र छोरीलाई स्टेचरमा बोक्न लगाए । त्यसबापत उनीहरुले १० हजार रुपैयाँ मागे ।

छोरीलाई स्टेचरमा बोकाइयो । सर्केनी पछि–पछि लागिन् । तर, आधा बाटो पुगेपछि ति मान्छेहरुले बिरामीलाई स्टेचरमै छाडेर आफ्नो घर फर्के । सर्केनीले बटुवाहरुलाई गुहार मागिन् । बटुवाहरुले नै बिरामीलाई स्टेचरमा राखेर दाङको लमहीसम्म पुर्‍याइदिए । स्थानीय अस्पतालमा जाँच गराइन् । त्यहाँ उपचार नहुने भन्दै चिकित्सकले काठमाडौं लैजान सुझाए ।

जेठी छोरीलाई साथ लिएर सर्केनी नाइट बसमा चढिन् । लामो र पट्यारलाग्दो यात्रापछि बिरामी छोरीलाई काठमाडौं ल्याइन् । कसैले सुझाए, ‘आँखा नदेख्ने रहेछ, तिलगंगा अस्पताल लानुपर्छ ।’ उनीहरुले बिरामीलाई तिलगंगा पुर्‍याए , ट्याक्सीमा राखेर । बिरामीको सामान्य जाँचपछि चिकित्सकले भने, ‘यो आँखाको मात्र समस्या होइन, स्नायुको समस्या हुनसक्छ । यहाँ उपचार हुँदैन ।’ उनीहरुले बिरामीलाई सुन्धाराकै एक अस्पतालमा पुर्‍याए । त्यहाँको उपचार खर्चिलो हुने भएपछि उनीहरु घुम्दैफिर्दै वीर अस्पताल पुगे ।

वीर अस्पतालमा परीक्षण गरेपछि थाहा भयो, जुनाको मस्तिष्कमा ठूलो ट्युमर छ । मस्तिष्कको धेरै हिस्सा त्यसले ओगटेको छ । त्यही कारण उनी मुर्छा पर्ने, बेहोस जस्तै हुने, आँखा नदेख्ने अवस्थामा पुगिन् । यो निकै जटिल किसिमको ट्युमर थियो र चिकित्सकको लागि चुनौती पनि ।

अस्पताल पुर्‍याएको भोलिपल्ट नै प्रा.डा. राजीव झा, डा. समीर अर्याललगायत समूहले जुनाको शल्यक्रिया गरिदिए । छोरीको शल्यक्रिया भयो । तर, सर्केनीलाई थाहा छैन, ‘छोरी कहिले निको हुन्छे ? कहिले घर फर्कन पाइन्छ ? उपचार खर्च कति तिर्नुपर्छ ? त्यतिका पैसा कहाँबाट जुटाउने ? अस्पताल बस्दा के खाने, कसरी खाने ?’

अशिक्षित नहुँदो हो, गरिबी नहुँदो हो, अभाव नहुँदो हो, असुविधा नहुँदो हो त २० वर्षीय जुनाले यो अवस्था झेल्नुपर्ने थिएन । तर, विकट गाउँमा जन्मिनु, अशिक्षित पृष्टभूमिमा हुर्कनु, गरिब हुनु नै उनको लागि अभिशाप बन्यो । उनको उपचारमा संलग्न चिकित्सक भनिरहेका छन्, ‘उनको ज्यान त जसोतसो बचायौं तर आँखाको दृष्टि सायदै फर्किएला । यदि रोग छिप्पिन नपाउँदै उपचार गर्न पाएको भए सबै कुरा ठीकठाक एवं सामान्य हुन्थ्यो ।’

जुनालाई सानै उमेरमा रोग सुरु भइसकेको थियो । आमा सर्केनी कामीका अनुसार उनी सानो छँदा पनि लगलग काम्ने गर्थिन्, बेलाबखत । त्यसबेला उनीहरुले देवी देवता लागेको ठाने । धामीझांक्री लगाए । रोग बढ्दै गयो । उनीहरुले ‘छारेरोग लागेको’ अनुमान गरेर जडिबुटी खुवाए । यसरी वर्षौ वर्ष जुनालाई घरमै राखियो । घरमै राख्नु रहर थिएन । अभाव, अशिक्षा र असुविधा थियो ।

बिरामी भएपछि श्रीमानले समेत अलपत्र छाडेकी जुना यतिबेला आफ्नी बुढी आमाको साहारामा छिन् । सर्केनी कामीको भागमा दुःखको चाङ लागेको छ ।

उनलाई एकदमै नाजुक अवस्थामा शल्यक्रिया गरियो : प्रा.डा. राजीव झा

बिरामी यहाँ ल्याउँदा एकदमै नाजुक अवस्थामा थियो । २० वर्षकी एउटी युवती, जसको मस्तिष्कको आधा जसो भागमा ट्युमर छ । त्यो पनि सामान्य ट्युमर होइन । शल्यक्रिया गरेर ट्युमर निकाल्दा पनि धेरै चुनौती थियो । बिरामीको ज्यानै जान सक्थ्यो वा पक्षघात हुन सक्थ्यो ।

यद्यपि डा. समीरसहित हाम्रो टोलीले तत्कालै उनको शल्यक्रिया गरेर मस्तिष्कमा भएको सबै ट्युमर निकाल्यौं । ट्युमर असामान्य हो कि भनेर वायोस्पी गर्न पठाइएको छ । उनको ज्यान त बचायौं तर आँखाको दृष्टि फर्कन सक्ने संभावना ज्यादै न्युन छ । दिमाग केही असन्तुलन भएपनि बिस्तारै ठीक हुनेछ । भर्खरै मात्र उनी बोल्ने र खाने भइसकेकी छिन् ।

यदि ट्युमर सामान्य आएमा त उनी पूर्णत निको हुनेछिन् । यदि खराब खालको आएमा थेरापी गर्नुपर्ने हुनसक्छ ।

यदि समयमै रोग पहिचान भएको भए, उपचार गरेको भए यस्तो जटिलता आउने नै थिएन । अस्पतालको सहज पहुँच नहुनु, उपचार गर्ने पैसा नहुनु र सचेतना नहुनुले आज यो जटिलता आएको हो । यद्यपि हामीले उनको शल्यक्रियालगायत खर्चमा सकेसम्म छुट गर्नका लागि पहल गरिरहेका छौं ।

तस्विर : विकास श्रेष्ठ

ट्युमर प्रा.डा. राजीव झा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय