+
+

बदलिंदै सामाजिक मनोविज्ञान : मार्सी फल्ने खेत मासेर स्याउ खेती

जुम्लाका किसानले थाहा पाए कि-स्याउले हाम्रो जीवनस्तर उकास्न मद्दत गर्छ । उनीहरूले मार्सी धान फल्ने खेत मासेर स्याउको व्यावसायिक खेती थालेका छन् । प्रत्येक किसानको घरमा धेरथोर स्याउका बिरुवा भेटिन्छन् ।

प्रकाशचन्द्र खत्री, प्राध्यापक, जुम्ला बहुमुखी क्याम्पस प्रकाशचन्द्र खत्री, प्राध्यापक, जुम्ला बहुमुखी क्याम्पस
२०८० माघ १९ गते १६:०९

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को स्थानीय बासिन्दा समेत भएका कारण म बाल्यावस्थादेखि अहिलेसम्म कर्णालीको समाजमा स्याउले ल्याइरहेको परिवर्तनलाई नजिकबाट नियाल्दै आइरहेको छु ।

सरकारले स्याउ खेतीको लागि बिरुवा, बीउ र मलमा ५० प्रतिशत अनुदान दिन थालेपछि ‘एक घर एक बगैंचा’को अवधारणा अघि बढिरहेको छ । यसले बिस्तारै किसानको जीवनस्तर सुधार्न सहयोग पु¥याइरहेको छ ।

जुम्लाका किसानले यो थाहा पाए कि– स्याउले हाम्रो जीवनस्तर माथि उकास्न मद्दत गर्न सक्छ । अनि उनीहरूले धान फल्ने खेत मासेर स्याउको व्यावसायिक खेती गर्न थालेका छन् । अहिले प्रत्येक किसानको घरमा धेरथोर स्याउका बिरुवा भेटिन्छन् ।

जुम्लाको काली मार्सी धान फल्ने फाँट मासेर स्याउ खेती गर्दा पनि झन् राम्रो आम्दानी हुन थालेपछि किसानले जग्गा भाडामा लिएर स्याउ खेती गर्न थालेका छन् । वार्षिक रूपमा किसानलाई स्याउले राम्रो आम्दानी दिन थालेको र यसमा आकर्षण बढ्दै गएको छ ।

परीक्षणको समयमा स्याउ लगाउँदा उत्पादन भए पनि राम्रो बजार मूल्य नपाउँदा आफ्नो उत्पादन खानको लागि मात्रै प्रयोग हुन्थ्यो । त्यति बेला अन्न उत्पादन गर्ने भूमि मात्रै मासियो भन्ने सोचेर मान्छेहरूले लगाएको बिरुवा काटेर पुनः अन्न लगाउन थालेका थिए ।

त्यतिबेला स्याउ भण्डारणको तरिका परम्परागत थियो । जमिनमुनि खाडल खनेर राख्ने चलन थियो । त्यो खाडलमा जौको भुस, सल्लाको सल्लीपिर राखेर माथिबाट माटोले छोपिदिने चलन थियो । त्यसरी राखेको स्याउ फागुनसम्म रहन्थ्यो ।

बिस्तारै कृषि विज्ञको सल्लाह अनुसार घरको कोठामा तापक्रम मिलाएर बालुवामुनि स्याउ राख्न थालियो । अहिले बिस्तारै आधुनिक तरिकाका कोल्ड स्टोरहरू बनाएर राख्न थालिएको छ । यसरी बिस्तारै स्याउ भण्डारण वैज्ञानिक र आधुनिक हुँदै गएको छ ।

अब किसानले स्याउ उत्पादन गर्न सके बजार मूल्यको समस्या छैन । पहिला बजार नपाएर लगानी गरेका स्याउका बोट बगैंचामै काटेर नष्ट गरिन्थ्यो । रूखलाई दाउराको रूपमा प्रयोग गरिन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन । किसानले लगानी अनुसार प्रतिफल पाएका छन् । यसैले स्याउ खेतीमा आकर्षण बढ्दै गएको छ ।

अहिले जुम्लाको तातोपानी गाउँपालिकाको धौलापानी, लाम्राको ज्युलो र चन्दननाथ भैरवना गुठीको धान रोप्ने खेतमा समेत विकसित फुजी जातको स्याउको खेती गर्न थालिएको छ । फलफूल खेतीमध्ये स्याउ खेतीतर्फ किसानको रुचि बढिरहेको छ ।

हरेक स्थानीय तहलाई वास्तविक किसान पहिचान गरेर सहयोग गर्न चुनौती थपिंदै गएको छ । पछिल्लो समय सरोकारवाला निकायहरूको ध्यान पनि यसतर्फ जान थालेको छ । तर, हुनुपर्ने जति भएको छैन ।

स्याउ खेती र व्यवसाय गरिरहेका किसानलाई आत्मनिर्भर बनाउन बिरुवा वितरणमा ५० प्रतिशत अनुदान दिन थालिएको छ । तर त्यसका लागि मलमा अनुदानको व्यवस्था गर्नुका साथै प्राविधिक सीप र ज्ञान दिन आवश्यक लगानी जरूरी देखिन्छ ।

यस्तै सिंचाइ, घेराबाराको विषयमा समेत ध्यान दिएर सरकारले लगानी गर्नुपर्छ । अहिले बिरुवा किन्दा मात्रै कृषि विकास कार्यालय र स्याउ सुपरजोनले सहयोग गरिरहेको छ तर अन्य समस्या किसान आफैंले सामना गर्दैै आएका छन् ।

स्याउ सम्बन्धी अध्ययन र अनुसन्धान गर्न नेपालमा विश्वविद्यालयस्तरमा त्यति चासो दिएको देखिंदैन । पाठ्यक्रम बनाइन्छ तर त्यसको प्रभावकारी कार्यान्वयन र मूल्यांकन हुँदैन । जुम्लाले जसरी उत्पादन गरिरहेको छ त्यस विषयमा अरूले खासै चासो नदिइरहेको अवस्था छ ।

नेपाल सरकारले अनुसन्धानको जिम्मा दिएको भए पनि त्यही अनुसारको उपलब्धि छैन । यहाँका किसान भारतमा गएर सिकेर आएर जुम्लामा खेती गरिरहेका बेला सम्बन्धित निकायले सक्रियतापूर्वक उनीहरूलाई साथ दिएको देखिंदैन । अनुसन्धानबाट भएका उपलब्धिका विषयमा सबैसँग छलफल र बहस गर्नु जरूरी छ ।

स्याउ खेतीको सामाजिक प्रभाव राम्रो छ । यसले किसानको जीवनस्तर माथि उकास्न सहज बनाउँदै लगेको छ । अहिले जुम्लाका प्रत्येक जसो किसानले स्याउबाट मात्रै वार्षिक थोरैमा पनि एक, डेढ लाख रुपैयाँ माथि आम्दानी गरिरहेका छन् ।

तर नेपालको काश्मिर भनेर चिनिने जुम्लामा गुणस्तरीय स्याउ फलाउन जुनस्तरमा अनुसन्धान हुनुपथ्र्यो त्यो हुनसकेको छैन । किसानले आफैं गर्दै, सिक्दै आइरहेको अवस्थामा भएको उपलब्धि हो, यो । सरकारले नीति–नियम बनाएको भए पनि त्यसको कार्यान्वयन त्यति प्रभावकारी देखिएको छैन ।

यस विषयमा पाठ्यक्रम बनाएर विश्वविद्यालयस्तरमा लागू गर्न जरूरी छ । स्याउ खेतीमा हुनसक्ने क्षति कम गर्न स्याउको बीमा गर्ने किसान बढ्दैछन् । असिना, खडेरी र रोग–कीरा जस्तो समस्या देखिएमा किसानले त्यसको क्षतिपूर्ति पाउन थालेका छन् । यो सकारात्मक पक्ष हो ।

(जुम्ला बहुमुखी क्याम्पसका प्राध्यापक खत्रीसँग पत्रकार कृष्णमाया उपाध्यायले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?