+
+

सगरमाथा आरोहीले दिसा–पिसाब फिर्ता ल्याउनुपर्ने

शव व्यवस्थापन नगर्ने एजेन्सीलाई आरोहण सम्पन्नताको प्रमाणपत्र नदिइने

अच्युत पुरी अच्युत पुरी
२०८० माघ २८ गते २०:१५

२८ माघ, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र आसपास हिमाल आरोहणमा जाने आरोहीले त्यस क्रममा गरेको दिशापिसाब फिर्ता ल्याउनुपर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापन गर्ने स्थानीय तहको अधिकार क्षेत्र प्रयोग गर्दै सगरमाथा रहेको स्थानीय तह सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले ‘आधार शिविर व्यवस्थापन कार्यविधि २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । २३ माघमा कार्यपालिकाबाट स्वीकृत उक्त कार्यविधि २४ माघमा प्रमाणीकरण भएको छ । यो कार्यविधिअनुसार अब आरोहीले सगरमाथाको आधार शिविर तथा आरोहणका क्रममा खुला टाउँमा दिशापिसाब गर्न पाउने छैनन् ।

आरोहीले ‘पुप ब्याग’ वा ‘बायोडिग्रेडेबल ब्याग’ प्रयोग गर्नुपर्ने छ । यसलाई कार्यविधिले अनिवार्य गरेको छ ।

पर्यटन विभाग निर्देशक राकेश गुरुङका अनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने फोहोरमैला व्यवस्थापनका लागि यो कार्यविधि बनाएको हो । सरोकारवाला निकायसँगको छलफलपछि भएको यो निर्णय सबै आरोहीले अनिवार्य पालना गर्नुपर्ने उनले बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र पर्ने सगरमाथासहित ल्होत्से, नुप्त्से र आमादब्लम हिमालमा समेत सोही कार्यविधि लागु भएको छ ।

कार्यविधि अनुसार अब सगरमाथा, ल्होत्से र न्हुप्त्सेबाट हरेक आरोहीले ८ किलो र अमादब्लमबाट ३ किलो फोहोर अनिवार्य आधार शिविरमा झार्नुपर्ने भएको छ ।

वातावरणीय प्रभाव न्यूनीकरण गर्न ‘लिभ नो ट्र्यास’ सिद्धान्त तथा जिम्मेवार पर्वतारोहण अभ्यास प्रवद्र्धन गर्न यस्तो नियम लगाउनु परेको कार्यविधिमा उल्लेख छ ।

 

 आधार शिविर क्षेत्र सफा राख्न हरेक आरोहण दलले क्याम्प वरपर नियमित सरसफाइ अभियान चलाउनुपर्ने छ । आधार शिविरभन्दा माथि चाहिने सामानको सूची तयार गरी अनिवार्य दर्ता गराउनुपर्ने छ ।

पर्वतारोहण अभियान सकिपछि यस अभियान दौरान प्रयोग भएका सामान र टाँगिएका डोरी आधार शिविरमै फिर्ता ल्याउनुपर्ने नियम पनि बनेको छ । आधार शिविरभन्दा माथि खाद्यान्न तथा अन्य सामग्री भण्डारण गरेर राख्न नपाइने भएको छ । आधार शिविरभन्दा माथि बक्स टेन्ट प्रयोगमा समेत रोक लगाइएको छ ।

आधार शिविरभन्दा माथिबाट ल्याएको र क्याम्पमा उत्पादन भएको फोहोर वर्गीकरण गरी प्रदूषकले तिर्ने सिद्धान्तका आधारमा स्थानीय तहले शुल्क लिने भएको छ ।\

आधार शिविरमा सुत्ने टेन्टमा अट्याच ट्वाइलेट बनाउन पाइने छैन । हरेक क्याम्पमा १५ जनासम्मको सामूहिक प्रयोजनका लागि अधिकतम ४ वटा ट्वाइलेट टेन्ट बनाउनुपर्ने भएको छ । यसबाहेक थप दुई सावर टेन्ट र दुई युरिन ट्वाइलेट टेन्ट बनाउन पाइने भएको छ ।

आवश्यक बाहेक खाली टेन्ट टाँगेर राख्नसमेत निषेध गरिएको छ । आधार शिविरमा सुत्न प्रतिव्यक्ति अधिकतम ८० वर्गफिट र भोजनका लागि प्रतिव्यक्ति १० वर्गफिट क्षेत्रफल मात्र प्रयोग गर्न पाइने भएको छ ।

शव व्यवस्थापनपछि मात्र ‘गार्बेज क्लियरेन्स लेटर’

अब सगरमाथा सहितका हिमालमा पर्वतारोही, पथ प्रदर्शक र उचाइ (हाइ अल्टिच्युड) का कामदारको ज्यान गए मृत शरीर व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित ट्रेकिङ÷ट्राभल एजेन्सीको हुने भएको छ । तोकिए अनुसार फोहोर र मृत शरीरको व्यवस्थापन गरेपछि मात्र त्यस्ता कम्पनीले ‘गार्बेज क्लियरेन्स लेटर’ पाउने छन् ।

चम्किलो झिलिमिली बत्ती बाल्न निषेध

कार्यविधिले क्याम्प परिसरमा आवश्यक बाहेक आधार शिविरमा लामो दूरीसम्म देखिने चम्किलो र टाढाबाट नै झिलिमिली देखिने गरी बत्ती बाल्न निषेध गरेको छ ।

आपतकालीन अवस्था बाहेक रात्रिकालीन समयमा क्याम्प परिसरमा बत्ती अनिवार्य बन्द गर्नुपर्ने छ । आधार शिविरमा क्याम्प बनाउँदा ढुंगालगायत स्थानीय सामग्री तोफोड गर्न समेत निषेध गरिएको छ ।

व्यावसायिक बार, बेकरी क्याफे चलाउन निषेध

सगरमाथा क्षेत्रमा अब व्यावसायिक बार, बेकरी क्याफे र स्पा सञ्चालन जस्ता गतिविधिमा रोक लागेको छ । मनोरम प्राकृतिक दृष्य तथा वैभवशाली शेर्पा संस्कृतिका कारण यो विश्व सम्पदा सूचीमा परेको भन्दै गाउँपालिकाले सगरमाथा क्षेत्रको सांस्कृतिक संवेदनशीलता मध्यनजर गर्दै यस्ता गतिविधिमा रोक लगाएको जनाएको छ ।

गाउँपालिका भित्रका कुनै पनि हिमाल चुलीका आधार शिविरमा आरोहण दल, ट्रेकिङ एजेन्सी, होटल व्यवसायी वा कुनै पनि व्यक्ति वा संस्थाले व्यावसायिक गतिविधिका लागि स्थायी टेन्ट बनाउन पाउने छैन ।

अनुमति नलिई साहसिक गतिविधि गर्न नपाइने

सगरमाथा क्षेत्रसहितका हिमालमा अब कानुन अनुसार अनुमति लिएर मात्र व्यावसायिक गतिविधि गर्न पाइने छ । पर्वतारोहण गतिविधिमा सुरक्षा प्रत्याभूतिका लागि आपतकालीन अवस्थामा प्रयोग हुने आवश्यक प्रणाली चुस्त राख्नुपर्ने भएको छ । पर्वतारोहणका लागि आधारभूत प्राथमिक उपचार, प्रविधि ज्ञान र पर्वतारोहणसँग सम्बन्धित तालिम प्राप्त आरोहण सहयोगीको व्यवस्था गर्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ ।

स्याङ्बोचेभन्दा माथि हेलिकप्टरबाट सामान बोक्न रोक

कार्यविधिले अब स्याङ्बोचेभन्दा माथि हेलिकप्टरले सामान बोक्न रोक लगाएको छ । अब हिमालमा हेलिकप्टर प्रयोग उद्धार प्रयोजनका लागिमात्र गर्नुपर्ने भएको छ ।

अब स्याङ्बोचेभन्दा माथि याक, जोप्के (खच्चड) र स्थानीय कामदारमार्फत मात्र ढुवानी गर्नुपर्ने भएको छ । पर्वतारोहणबाट स्थानीय समुदायको जीवनस्तर उकास्न यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाको भनाइ छ । उद्धार प्रयोजन बाहेक आधार शिविरभन्दा माथि हेलिकप्टर उडान र अवतरणमा समेत रोक लगाइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?