+
+
विचार :

त्रिभुवन विश्वविद्यालयलाई कस्तो उपकुलपति चाहिन्छ ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपति एक कुशल व्यवस्थापक हुनुपर्दछ । विश्वविद्यालयभित्र रहेको मानव संसाधन, भौतिक स्रोत र साधन र वित्तीय स्रोतको उच्चतम सदुपयोग गर्दै विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, भौतिक समृद्धि र पर्यावरणीय रूपमा सुन्दर बनाउन सकिन्छ।

डा. भरतसिंह थापा डा. भरतसिंह थापा
२०८० फागुन ४ गते १५:१४

त्रिभुवन विश्वविद्यालयले केही दिनमै नयाँ उपकुलपति पाउँदैछ । लामो समयदेखि नेतृत्वविहीन त्रिवि, निवर्तमान उपकुलपतिकै अनुभव र अभिव्यक्तिका आधारमा आधाभन्दा बढी समय आफ्नो कार्यकक्षमै बस्न नसकेको परिस्थितिमा समस्या नै समस्याले जेलिएको देशको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय अहिले गतिहीन र दिशाहीन अवस्थामा छ।

अधिकांश विद्यार्थीमा विश्वविद्यालयको उपाधि प्रति कुनै उत्साह छैन। प्राध्यापकहरूलाई आफ्नो मूल पेशा शिक्षण, अनुसन्धान र परामर्श भन्दा पनि गैरशैक्षिक क्रियाकलापहरूबाट बढी लाभ भइरहेको देखिन्छ। प्राध्यापक तथा कर्मचारीहरूलाई उपयुक्त काममा लगाउन न कुनै पदाधिकारीसँग सोच छ, न त हिम्मत नै।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आएका विभिन्न उथलपुथल जस्तै; डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, विश्वव्यापीकरण, सामाजिकराजनैतिक ढाँचामा आएको परिवर्तनहरू आदिले उच्च शिक्षामा पाराडाइम सिफ्ट आएको छ। पाठ्यक्रम, शिक्षण विधि, शिक्षण सामग्री, मूल्याङ्कन, छात्रवृत्ति र कक्षामा विद्यार्थीको सम्मिश्रणमा निकै परिवर्तन आएकोले विश्वविद्यालयलाई गतिवान प्रयोगशालाको रूपमा विकास गरिनुपर्दछ।

विश्वविद्यालयले समाजमा व्याप्त गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तनले निम्त्याएका चुनौती, अन्याय, अत्याचार, अज्ञानता, भ्रष्टाचार, आर्थिक मन्दी, मनोरोग लगायत समस्यासँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन सक्नुपर्दछ।

अहिलेको जटिल परिस्थितिमा आउने त्रिभुवन विश्वविद्यालयको उपकुलपतिले मुख्यतया तीनवटा पक्षहरूमा विशेष ध्यान ध्यान दिनुपर्नेछ।

पहिलो, त्रिभुवन विश्वविद्यालयको उपकुलपति एक कुशल व्यवस्थापक हुनुपर्दछ । विश्वविद्यालयभित्र रहेको मानव संसाधन, भौतिक स्रोत र साधन र वित्तीय स्रोतको उच्चतम सदुपयोग गर्दै विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, भौतिक समृद्धि र पर्यावरणीय रूपमा सुन्दर बनाउन सकिन्छ।

त्रिवि कीर्तिपुरको मूल गेटबाट विश्वविद्यालयका विभागहरूसम्म पैदल अवलोकन गर्ने हो भने उपकुलपतिको एक कार्यकालका लागि गर्नुपर्ने कामहरूको सूची तयार पार्न निकै सहयोग पुग्नेछ। देशमा उच्च शिक्षा अध्ययनरत सम्पूर्ण विद्यार्थीको सङ्ख्याको लगभग ८५ प्रतिशत हिस्सा त्रिविमा भइरहेको अवस्थामा घट्दो विद्यार्थी भर्ना र बढ्दो विदेश अध्ययनको महलाई कसरी सामना गर्ने भन्ने विषय अर्को व्यवस्थापकीय चुनौती हो।

दोस्रो, नेतृत्वदायी भूमिका। उपकुलपतिले समग्र विश्वविद्यालयको नेतृत्वदायी भूमिका खेल्न अहिलेको जटिल परिस्थितिमा केही कठोर निर्णय लिन सक्नुपर्छ। दर्जनौं दलीय संगठनहरूलाई सीमित र अर्थपूर्ण, पेशागत संगठनमा रूपन्तरण गर्न र विद्यार्थीको युवा शक्तिलाई सिर्जनशीलतामा परिणत गर्न, खण्डहर भइसकेका अनुसन्धान केन्द्रहरू र असान्दर्भिक विभाग र अध्ययन संस्थानहरूको पुनर्संरचना गर्न कठोर वा निर्मम भएर सुझबुझका साथ निर्णय लिन सक्नुपर्छ।

यसका लागि उपकुलपतिमा उच्च नैतिकता कुशल कार्यान्वयन कला निष्पक्षता र निर्देशनमा स्पष्टता हुनु जरुरी छ। जस्तोसुकै क्षमतावान् व्यक्ति उपकुलपति भए पनि यदि ऊ कुनै राजनैतिक दलको आड र भागबन्डाका आधारमा नियुक्ति हुन्छ भने परिवर्तन असम्भव छ।

त्रिविमा रहेको मानव संसाधनको उच्चतम प्रयोगका लागि प्रतिभाको पहिचान गरी सही व्यक्ति सही स्थानको सिद्धान्त अनुसार जिम्मेवारी तोकिनुपर्छ। युवा प्राध्यापकहरूको वृत्ति–विकास नेतृत्व कलाको विकास गर्न क्षमता र इच्छा अनुसार व्यवस्थापकीय र नेतृत्वदायी भूमिका प्रदान गरिनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त नेपाली तथा विदेशी प्राध्यापकहरूलाई त्रिविमा योगदान गर्न अवसर प्रदान गरिनुपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षण गर्नका निम्ति आवश्यक पूर्वाधारको विकास र पर्याप्त छात्रवृत्तिको व्यवस्था गरिनुपर्छ।

त्रिभुवन विश्वविद्यालयलाई बदनाम गर्ने परीक्षा प्रणालीमा व्यापक सुधार गर्दै अहिलेको परीक्षा नियन्त्रण कार्यालयलाई विघठन गरी शैक्षिक पात्रो कडाइका साथ लागू गरी पूर्णरूपमा प्राध्यापक, संकाय र क्याम्पसहरूलाई शिक्षण तथा मूल्याङ्कनको लागि जिम्मेवार बनाउन विश्वविद्यालयमा सशक्तीकरण र विकेन्द्रीकरणको प्रणालीलाई अवलम्बन गर्दै जानुपर्दछ।

तेस्रो हो प्राज्ञिक नेतृत्व कला। विश्वविद्यालयको शैक्षिक उन्नयनको लागि नवीनतम र राष्ट्रको प्राथमिकतामा परेका क्षेत्रहरूको अध्ययन, अनुसन्धान गर्ने गराउनुपर्छ। यसका लागि आवश्यक नीति तर्जुमा योजना तथा कार्यक्रम तर्जुमा समन्वय र कार्यान्वयन गर्ने संयन्त्र र प्रणालीको विकास गर्ने नेतृत्व कला उपकुलपतिमा हुनुपर्दछ।

उच्च शिक्षालाई सान्दर्भिक, जीवन उपयोगी र अनुसन्धानमुखी बनाउन आवश्यक दिशानिर्देश दिन सक्नुपर्छ। वैचारिक तथा बौद्धिक स्वतन्त्रताका लागि उपयुक्त वातावरण सिर्जना गर्न जरूरी छ। प्रतिस्पर्धाको आधारमा विद्वत् युवा र युवा वैज्ञानिकहरूलाई विश्वविद्यालयमा प्रवेश गराई अध्ययनअध्यापन तथा अनुसन्धान कार्यमा नवीनता ल्याउनु जरुरी छ।

सर्वोत्कृष्ट विद्यार्थीहरूलाई विश्वविद्यालयले विभिन्न योजना मार्फत टिकाइराख्न प्रतिधारण नीति तयार गरी अवलम्बन गर्नुपर्छ। विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विदेशी विद्यार्थीले अध्ययन गर्ने गरी भावी योजना तयार पार्नुपर्छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनर्विचार र पुनर्व्याख्या गरी नयाँ शिराबाट हेरिनुपर्छ।

अन्त्यमा, विश्वविद्यालय अहिले पुनर्निर्माण र पुनरुत्थानको पर्खाइमा छ। परम्परागत र यथास्थितिवादी सोचबाट ग्रसित भई विश्वविद्यालय हाँक्न सकिंदैन। त्यसैले बृहत् रूपान्तरणको रणनीति सहित कठोर तर सुझबुझका साथ निर्णय लिन सक्ने जुझारु, निष्पक्ष, इमानदार र विश्वसनीय नेतृत्वले मात्र त्रिविलाई महान् र दक्षिणएशियाकै एउटा उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सम्भव छ।

(लेखक डा. थापा त्रिवि कीर्तिपुरका उपप्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?