+
+

कुर्सी हल्लिने डर मानेको छैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १३:४१

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए । ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन । विगतमा पनि थिएन नि घटनाहरु त, कति छानबिन भए’, प्रधानमन्त्रीले भने, ‘सुशासन मेरो नारा होइन संकल्प हो ।’

आफूलाई अहिलेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रधानमन्त्री बनाएको भन्दै सुरुमा सरकार १५ दिन हो कि २० दिन हो भन्ने सोचेको सुनाए ।

‘मलाई अहिलेको प्रमुख प्रतिपक्ष लगायतकाले दलले प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० हो भन्ने सोचेको थिएँ । विश्वभरि अध्ययन पनि गरेको थिएँ कति वटा प्रधानमन्त्री १५–२० दिनमा हटेका रहेछन् भनेर’, प्रचण्डले भने, ‘नजिकै हाम्रो छिमेकी भारतमा १३ दिनमा अटलविहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?