+
+

सत्तारुढ दलहरु मुख्यमन्त्रीसँग असन्तुष्ट, तैपनि दिए विश्वासको मत

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० फागुन ६ गते २१:२७

६ फागुन, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

जनमत पार्टीले ९ माघमा आफ्ना २ मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत मागेका हुन् । प्रदेशसभा बैठकमा भएको मतदानमा १०४ मध्ये ६९ सांसदले मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा मत दिए । विपक्षमा ३५ मत परेको छ ।

नेकपा एमाले र जनमत बाहेकका सबै दल र स्वतन्त्र सांसदले मुख्यमन्त्री यादवलाई मत दिएका छन् । सभामुख रामचन्द्र मण्डलले मतदान गरेनन् भने जनमतबाट उपसभामुख भएकी बबिता राउत इसर र लोसपा संसदीय दलका नेता अभिराम शर्मा अनुपस्थित थिए ।

मधेश आन्दोलनका क्रममा मारिएका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले दोषी करार गर्दै जन्मकैदको साजय सुनाएपछि शर्मा फरार छन् ।

एमालेसहितका दलको समर्थनमा २७ पुस २०७९ मा मुख्यमन्त्री बनेका यादवले दुई पटक सिंगो सदनकै मत पाए । पहिलो पटक ४ माघ २०७९ मा सदनमा उपस्थित १०२ सांसदको समर्थन पाएका थिए ।

दोस्रो पटक १ जेठमा एमालेले सरकार छाडेपछि मुख्यमन्त्री यादवले ३० जेठमा विश्वासको मत लिए, जसमा सरकार छाडेको एमालेले पनि मत दिएपछि उनको पक्षमा १०३ मत आयो ।

यसपटक भने सरकार छाडेको जनमतसँगै एमालेले पनि विश्वासको मत दिएन । सरकारको काम कारबाही सन्तोषजनक नभएकाले विश्वासको मत नदिने निर्णयमा पुगेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

विश्वासको मत दिएको सत्ता गठबन्धनका नेताहरुले पनि सरकारको कडा आलोचना गरेका छन् । मुख्यमन्त्री यादवले विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा सत्तामै रहेका गठबन्धन दलका नेताहरु चर्को असन्तुष्टि पोखेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोले संघीयता बचाउन जसपा नेतृत्वको सरकारलाई पटकपटक समर्थन दिँदा लाज पचाएर बसेको टिप्पणी गरे । ‘तपाईंले समर्थन माग्नुभयो, हामी तपाईंलाई समर्थन संघीयता बचाउनलाई दिइरहेका छौं’, मुख्यमन्त्रीलाई इंगित गर्दै उनले कडा प्रहार गरे, ‘तर तपाईं पार्टी कसरी उभो लाग्छ भनेर सोचिरहनुभएको छ ।’

पछिल्लो पाँच वर्षमा पनि जसपा नेतृत्वको सरकारले संघीयता महसुस हुने गरी काम नगरेको उनले बताए । उनले प्रश्न गरे, ‘तपाईंले एक वर्षमा के गर्नुभयो ?’

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले पनि मुख्यमन्त्रीप्रति असन्तुष्टि पोखे । मुख्यमन्त्रीले गठबन्धनका दलहरुसँग सहकार्य नगरेको भन्दै उनले भने, ‘कहिलेकाहीँ यो जसपाको सरकार मात्रै हो कि लाग्छ । कहिलेकाहीँ सरकारको ब्यानरमा जसपा मात्रै देखिन्छ ।’

माओवादी नेता भरत साह

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासमा भएको विवाद सम्झिए । ‘सरकार प्रमुखले गठबन्धन वा सर्वदलीय बैठक गर्नुभएन । भएको भए राजविराज घटना हुने थिएन’, नेता साहले भने ‘सरकारले हामीलाई किन सम्झेन ? किन सहकार्य गरेन ? त्यस विषयमा गम्भीर हुन आग्रह गर्न चाहन्छु ।’

सरकारले संघीयता कार्यान्वयन र जनतालाई सरकारको अनुभूति हुने कुनै कामै नगरेको समेत उनको आरोप छ । ‘एक वर्षमा कानुन निर्माण, विकासे काम जुन गतिमा हुनु पथ्र्यो, त्यो भएन’ माओवादी दल नेता साहले भने, ‘अत्यन्त सुस्त गतिमा भयो ।’

नेपाली कांग्रेसका नेता कृष्ण यादवले पनि असन्तुष्टि नै पोखे । ‘अहिलेको अवस्थामा विपक्षी दल त के, हामी पनि असन्तुष्ट छौं’, भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका यादवले भने, ‘मेरै नेतृत्वमा कांग्रेस सरकारमा हुँदाहुँदै थुप्रै कुरा सच्याएर अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’

उनले सरकारले राम्ररी काम गर्न नसक्दा संघीयतालाई जनताले बोझ ठान्न थालेको बताए ।

‘कुन मन्त्रीलाई मैले भनेको छु, काम नगर्नुस् । आज पनि सरकारमा रहेका मन्त्री वा गइसकेका मन्त्री कसैले त भनिदिओस्, मैले कुनै काममा अवरोध गरेको छु ?’, मुख्यमन्त्री यादवले प्रश्न गरे ।

‘जनताको चाहना अनुरुप काम गर्न सकिएन भने संघीयता कमजोर हुँदै जान्छ’, कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘मुख्यमन्त्रीजीलाई म आग्रह गर्न चाहन्छु, दिनरात एक भएर काम गरौं । होइन भने भोलिको दिनमा हामी पनि गुण र दोषको आधारमा विचार गर्छौं ।’

प्रतिपक्षी मात्र होइन, सत्तारुढ दलका नेताहरुको चर्को आलोचना सुनेका मुख्यमन्त्री यादव झन् चर्को सुनिए ।

किनकी विश्वासको मत पाउनेमा उनी ढुक्क थिए । शुक्रबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सत्ता गठबन्धनको बैठकले तत्काललाई मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो । त्यसैले आफ्नो आलोचना गर्ने एमाले र जनमत मात्र होइन, सत्तारुढ नेताहरुलाई समेत प्रतिप्रश्न गरेका छन् ।

एमाले र जनमततर्फ लक्षित गर्दै उनले मन्त्री हुन्जेल ठीक, मन्त्री नभएपछि सबै बेठीक हुन्छ भन्ने प्रश्न गरे । ‘कुन मन्त्रीलाई मैले भनेको छु, काम नगर्नुस् । आज पनि सरकारमा रहेका मन्त्री वा गइसकेका मन्त्री कसैले त भनिदिओस्, मैले कुनै काममा अवरोध गरेको छु ?’, मुख्यमन्त्री यादवले प्रश्न गरे ।

सरकारले एक वर्षमा के काम राम्रो काम गर्‍यो भनेर प्रश्न गर्ने लोसपाका सांसदलाई उल्टो प्रतिप्रश्न गरे, ‘सरकारले नराम्रो काम के गरेको छ, त्यो त भन्नुस् ।’ मुख्यमन्त्री यादवले यसो हन्दा प्रदेशसभा भवनमा हाँसो फैलिएको थियो ।

सरकारले राम्रो गरेको र गर्ने वालामा रहेको उनले बताए । बजेट खर्च अरु प्रदेशले पनि मधेशले भन्दा बढी नगरेको भन्दै उनले भने, ‘जेठ मसान्तसम्म प्रदेश सरकारको बार्षिक बजेट सबै खर्च हुन्छ, त्यो बाँकी रहँदैन ।’ साथै सांसदहरुले दिएको योजना सबै अघि बढाउने आश्वासन समेत दिए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?