+
+

उत्पादनमूलक कम्पनीहरूको आईपीओ लहर : २ को आउँदै, अरु ४ पाइपलाइनमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १७:४८

८ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासन गर्ने लहर चलेको छ । यहीं समूहका दुई कम्पनी सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी रकम जुटाउँदैछन् । तीबाहेक अरु ४ कम्पनी धितोपत्र बोर्डबाट स्वीकृति लिन पाइपलाइनमा छन् ।

सौर्य सिमेन्ट, मारुती सिमेन्ट, एसवाई प्यानेल र जगदम्बा स्टिल पाइपलाइनमा छन् । कतिपय कम्पनीले साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव लगेर पारित गर्ने, बिक्री प्रवन्धक नियुक्ति गर्ने जस्ता प्रारम्भिक चरणका कार्यहरु गरिरहेका छन् । अम्बे स्टिल, प्रभु स्टिल, लक्ष्मी स्टिल, सर्वोत्तम स्टिलसहित धेरै कम्पनीले प्रारम्भिक चरणका कार्यहरु गर्दैछन् ।

हाल सेयर बजारमा उत्पादनमूलक क्षेत्रका ८ कम्पनी मात्रै सूचीकृत छन् । यस क्षेत्रका सूचीकृत कम्पनीहरुमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, हिमालयन डिस्टिलरी, युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल बालाजु र नेपाल ल्युब आयल छन् ।

तत्कालै आईपीओ निष्कासन हुने कम्पनीहरु :

सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा रहेका तथा प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट गरेर सर्वसाधारणका लागि फागुन १३ देखि आवेदन खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसअघि प्रभावित स्थानीयका लागि खुलाइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता बिक्री नभएपछि सो समेत थप गरी सर्वसाधारणका लागि निष्कासन हुने भएको हो । बुक बिल्डिङ पद्दतीबाट सर्वसाधारणका लागि कम्पनीको आईपीओ मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ पद्दतीबाट आईपीओ निष्कासन गर्दैछ । संस्थागत योग्य लगानीकर्ताबाट बोलकबोल प्रक्रिया पूरा भई मूल्य तय भइसकेको छ । योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर खरिद गरेका छन् । सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ । सर्वोत्तम लगत्तै यस कम्पनीको आईपीओ खुल्नेछ ।

पाइपलाइनमा ४ कम्पनी :
उत्पादन क्षेत्रका अरु ४ कम्पनी सौर्य सिमेन्ट, मारुती सिमेन्ट, एसवाई प्यानेल, जगदम्बा स्टिल पाइपलाइनमा छन् । जगदम्बा स्टिलले प्रतिकित्ता ३ सय रुपैयाँमा आईपीओ निष्कासन गर्न खोजेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम थप गर्दै आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।

स्थानीयबासी र सर्वसाधारणका लागि कुल २ करोड ७० हजार कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल छ ।

सौर्य सिमेन्टले १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नका लागि आवेदन दिएको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसाका दरले आईपीओ निकाल्न स्वीकृति मागेको छ । यसको बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै मारुती सिमेन्टले १ करोड १६ लाख कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता ३७७ रुपैयाँमा आईपीओ जारी गर्न आवेदन दिएको हो । यसको बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ ।

एसवाई प्यानल नेपालले भने अंकित मूल्य १ सयका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?