+
+

थला परिन् जमुनी, चार नातिनातिनाको बिजोग

बुढेसकालमा जमुनीले अर्काको घरमा भाँडा माझ्ने काम गरेर नातिनातिना हुर्काइन् । तर अहिले शरीर नै नचल्ने भएपछि बालबच्चाले के खान्छन् भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० फागुन ९ गते ९:०५

८ फागुन, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका-६ की ७२ वर्षीया जमुनी शेषिन केही समययता हिँडडुल गर्न सक्दिनन् । घुँडा दुख्ने, हातगोडा र जीउ सुन्निने समस्याले उनलाई च्यापेको छ । २० हजार रुपैयाँ खर्च गरेर भारतको सीतामढीमा उपचार गराइन् । केही समय सञ्चो भए पनि पछि उस्तै भयो ।

बिरामी भएर थलिएकी जमुनीको सहारा भनेको १५ वर्षमुनिका चार नातिनातिना छन् । ‘राम्रो डाक्टरकोमा गएर उपचार गराउन पैसा छैन । साँझबिहान बलाबच्चालाई खुवाउनै मुस्किल हुन्छ अनि कहाँबाट उपचार गराउँ ?,’ जमुनी भन्छिन् ।

जमुनीका जेठी नातिनी मुस्कान १५ वर्षकी भइन्, उनीपछिका नाति रेहान आलम १३ वर्षका भए । उनीहरुपछि ११ र ९ वर्षकी दुई नातिनी छन् । सानी नातिनी ४ महिनाकी हुँदा जमुनीका छोरा सागिरको मृत्यु भएको थियो ।

जमुनीका एक मात्र सन्तान सागिर भारतको अहमदावादमा कपडाको बुट्टा काट्ने कम्पनीमा काम गर्ने क्रममा बिरामी परेका थिए । घर फर्केको तीन महिनापछि मृत्यु भयो ।

सागिरको मृत्यु भएको केही महिनापछि बुहारी मेहनाज खातुन छोराछोरी छाडेर माइती भारतको सीतामढी गइन् । अहिले उनले अर्को विवाह गरिसकेकी छन् ।

चार नातिनातिनाको पालनपोषण जिम्मा जमुनीको हातमा आयो ।

बुढेसकालमा जमुनीले अर्काको घरमा भाँडा माझ्ने काम गरेर नातिनातिना हुर्काइन् । तर अहिले शरीर नै नचल्ने भएपछि बालबच्चाले के खान्छन् भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

नागरिकतामा उनको जन्ममिति २००८ वैशाख १ गते छ । यस अनुसार उनी ७२ वर्ष पूरा भइसकिन् । नेपाल सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्तावापत मासिक चार हजार रुपैयाँ दिन्छ, जमुनीले भने यो भत्ता पाएकी छैनन् । भत्ता पाएको भए पनि नातिनातिनाको पालनपोषणमा धेरै भरथेग हुने जमुनी बताउँछिन् ।

७२ वर्षीया जमुनी शेषिन ठुली नातिनी मुस्कानसँग ।

उनले पटक पटक वडाध्यक्षलाई वृद्धभत्ताको लागि सिफारिस गरिदिन भनेकी छन् । तर वास्ता नगरेको गुनासो गर्छिन् ।

‘उनले तपाईं श्रीमानको मृत्यु दर्ता लिएर आउनुस् भन्यो । मलाई छाडेर गएको श्रीमानलाई कहाँ खोज्न जाऔं उहाँ जिउँदै हुनुहुन्छ कि बित्नुभयो, थाहा छैन’, जमुनी भन्छिन् ।

आफू ६८ वर्ष पुगेको आधारमा वृद्धभत्ता दिनुपर्ने जमुनीको माग छ । ‘वृद्धभत्ता पाइरहेको भए आज ठूलो राहत हुन्थ्यो’, उनी भन्छिन् ।

सम्सी गाउँपालिका-६ का वडाध्यक्ष शेष उमैर आफूले जमुनीको नागरिकता नदेखेकाले उमेर थाहा नभएको बताए ।

‘मलाई उहाँले कहिले पनि नागरिकता देखाउनुभएन । तीन महिनाअघि उहाँले मसँग वृद्धभत्ताबारे कुरा गर्नुभएको थियो । मैले नागरिकता लिएर आउनू भनेको थिएँ, तर आउनुभएन’, वडाध्यक्षको जवाफ छ ।

यता जमुनीले वृद्धभत्ता पाएकी छैनन्, उता जमुनीका चार नातिनातिनाको अहिलेसम्म जन्मदर्ता छैन । त्यसको कारण हो जमुनीका छोरा सागिरको नागरिकता नहुनु ।

छोराको नागरिकता नहुनुमा जमुनीसँग पीडादायी कथा छ । उनको निकाह विवाह महोत्तरीको गौशाला नगरपालिका-१० का शेष मञ्जुरसँग भएको थियो । छोरा सागिर जन्मेको पाँच वर्षपछि शेष मञ्जुरले अर्को विवाह गरेर घर छाडे । वर्षौंसम्म घर फर्केनन् ।

बेसहारा बनेकी जमुनी छोरालाई लिएर माइत सम्सी फर्किइन् । छोरालाई पाल्न मजदुरी गर्न थालिन् ।

जमुनीको घर ।

२०६३ मा गाउँमा नागरिकता वितरण टोली आउँदा उनले नागरिकता बनाइन् । तर, पति सम्पर्कमा नभएका कारण छोरा सागिरको नागरिकता बनेन । सागिर हुर्किएर कमाउन थालेपछि जमुनीलाई राहत भयो ।

छोराको कमाइबाट किनेको जमुनीको नाममा सम्सीमा ६ धुर जग्गा छ । त्यसमै फुसको घर बनाएर आमा छोरा बस्न थाले । सागिरले बिहे गरेर छोराछोरी जन्मिए पनि आफ्नै नागरिकता नहुँदा जन्मदर्ता गर्न सकेनन् । जन्मदर्ता नभएकै कारण विद्यालय भर्ना हुन पाएनन्, घरनजिकैको मदरसामा केही वर्ष पढेर पढाइ टुंग्याए ।

नातिनातिनाको जन्मदर्ताको लागि पटक पटक जनप्रतिनिधिलाई गुहार्दा वास्ता नगरेको जमुनीको दुखेसो छ ।

वडाध्यक्ष उमैर जमुनीको वृद्धभत्ता र नातिनातिनाको जन्मदर्ता छिट्टै बनाइदिने बताउँछन् ।

घरको दयनीय स्थिति भएपछि १३ वर्षका रेहान ६ महिनाअघि कामको खोजीमा भारत पुगेका छन्, अहिले उनी कपडामा बुट्टा भर्ने काम सिकिरहेको जमुनी बताउँछिन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?