+
+

माओवादी नेता गगन पुरीविरुद्ध अर्को मुद्दाको तयारी

झापाको रतुवा खोला किनारको जग्गा व्यक्तिको नाममा दर्ता गरेको निष्कर्ष सहित अख्तियारले माओवादी नेता गगन पुरी, उनको परिवारका सदस्य, मालपोतका कर्मचारी र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २०:१६

९ फागुन, काठमाडौं । झापाको दमकस्थित रतुवा खोलाछेउको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारले माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, उनको परिवारका सदस्य, झापाको मालपोत कार्यालयका कर्मचारी र बिचौलियाहरुमाथि हालै अनुसन्धान सकेर मुद्दा दर्ताको तयारी गरेको हो ।

‘रतुवा खोला किनारको सार्वजनिक जग्गा रेवतराज पुरी (गगन) र उनको परिवारको सदस्यको नाममा ल्याई बेचविखन भएको उजुरीको अनुसन्धान गरिसकेका छौं’, अख्तियार स्रोतले भन्यो ‘छिट्टै यसबारे विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।’

गत आइतबार मात्रै पुरी र उनकी पत्नी केशावतीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै ४ करोड ३ लाख रुपैयाँ जरिवाना तोकेको छ । विशेष अदालतको फैसला अनुसार करिव ७ करोड ३५ लाख रुपैयाँको सम्पत्ति जोडेका पुरीको ३ करोड ३२ लाख रुपैयाँ मात्र वैध हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले एक लाख १० हजार वर्गमिटर क्षेत्रफलको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको फेला परेको थियो ।

उनले सरकारी जग्गा कायम भएको पैनी, झाडी, रतुवा खोला, दिपनी खोला र सडक गरी करिब २१६ रोपनी निजी जग्गा कायम गराएका थिए ।
अख्तियारको अनुसन्धान अधिकृतसहितको टोलीले विस्तृत अनुसन्धान गरेर गत साता नै प्रतिवेदन पेश गरिसकेको छ ।

पुरीले भने सुकुम्बासीको नाममा फिल्डबुकमा दर्ता भएको जग्गा आफूले किनेको दावी गरेका थिए । तर अख्तियार स्रोतको भनाइमा रतुवा किनारको सार्वजनिक जग्गा सुकुम्बासीको नाममा दर्ता हुने सम्भावना नै थिएन ।

अनुसन्धान प्रतिवेदनको सार उधृत गर्दै अख्तियार स्रोतले भन्यो, ‘गगन पुरी लगायतको समूहले नापी टोली तथा मालपोत कार्यालय दमकका कर्मचारीहरू समेतको मिलेमतोमा ऐलानी, पर्ती लगायतका सरकारी जग्गाहरूलाई आफ्नो नाममा दर्ता गरी आफ्नो श्रेस्ता कायम गरी सरकारी सम्पत्ति हानीनोक्सानी पुर्‍याएको देखियो ।’

अख्तियार स्रोतका अनुसार, काठमाडौंको बालुवाटारस्थित ललिता निवासकै शैलीमा योजनाकार, संलग्न कर्मचारीहरुलाई भ्रष्टाचारमुद्दा दायर गर्ने तयारी भएको छ । त्यस्तै जग्गा किनेकाहरुलाई पनि जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाउने तयारी छ ।

जग्गाको क्षेत्रफल ललिता निवासको भन्दा धेरै भएपनि सरकारी दररेटमा कम मूल्यांकन भएकाले भ्रष्टाचारको अंक त्यति ठूलो नहुने अख्तियार स्रोतले बतायो ।

पुरी परिवारले आफ्नो नाममा गरेको सरकारी जग्गा करिब २०० जनाले किनेको पाइएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा कसरी ?

दमकमा रतुवा खोलाले २०३८ सालमा धार परिवर्तन गर्दा ठूलो क्षेत्रफल जग्गा बालुवाको थुप्रोमा परिणत भएको थियो ।

बाढीका कारण त्यहाँ रहेको सुकुम्बासी बस्ती विस्थापित भएको थियो । पछि रतुवा खोलामा तटबन्ध गरियो । स्थानीय चलनचल्तीको भाषामा ‘रतुवालाई पाता फर्काएपछि’ निस्किएको जग्गा व्यक्तिको नाममा दर्ता भएको हो ।

झापाको बालुवाटार समेत भनिने त्यो ठाउँबाट सुकुम्बासीहरु विस्थापित भएपछि माओवादी नेता गगन पुरीले जग्गा आफ्नो नाममा ल्याएका थिए । अतिक्रमित जग्गामा पुरीले पार्टीको कार्यालय पनि स्थापना गरेका थिए । उनले ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

पुरीले भने सुकुम्बासीको नाममा फिल्डबुकमा दर्ता भएको जग्गा आफूले किनेको दावी गरेका थिए । तर अख्तियार स्रोतको भनाइमा रतुवा किनारको सार्वजनिक जग्गा सुकुम्बासीको नाममा दर्ता हुने सम्भावना नै थिएन ।

आफू बसेको ठाउँको जग्गा अर्कैको नाममा दर्ता भएपछि सुकुम्बासीहरुले पुस, २०७६ मा दमकमा सार्वजनिक कार्यक्रम गरेर आफूहरुले जग्गा बिक्री नगरेको दाबी गरेका थिए ।

अख्तियार स्रोतका अनुसार, रतुवा खोला किनारको जग्गा व्यक्तिको नाममा दर्ता भएको घटनामा गगन, उनकी श्रीमती केशावती योजनाकारका रुपमा देखिएका छन् ।

उनीहरु बाहेक मनमाया पुरी, देवकुमारी पुरी लगायतको नाम पनि मुछिएको अख्तियारको भनाइ छ ।

स्रोतका अनुसार, घटनामा झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत (उपसचिव) ठाकुरप्रसाद निरौला, प्रमुख नापी अधिकृत शेषबहादुर श्रेष्ठ, शाखा अधिकृत बाबुराम भट्टराई, झापाका तत्कालीन नापी अधिकृत विन्देश्वर पञ्जियार, मालपोत कार्यालयका नासु खगेश्वर भट्टराई, सोमप्रसाद पोखरेल, नापी सर्वेक्षक सीताराम यादव, इद्रिस नदाल पनि आरोपित छन् ।

त्यसैगरी लेखापढी कानुन व्यवसायी रमेश गिरी, भूमिका कोइराला, विनोदकुमार मण्डल, रमेश ढकाल पनि यो प्रकरणमा संलग्न रहेको दाबी अख्तियारले गरेको छ ।

पुरी र उनको परिवारले आफ्नो नाममा आएको जग्गा केही वर्ष राखेर २०७० को दशकको सुरुवातदेखि धमाधम बिक्री गरेको मालपोतको अभिलेखबाट देखिने अख्तियारको भनाइ छ ।

उनी र परिवारको नामबाट मात्रै करिव सयपटक भन्दा बढी जग्गा पास भएको छ । पुरीको नाममा रहेको ५० कित्ताभन्दा बढी जग्गा अहिले पनि अनुसन्धानका लागि रोक्का राखिएको छ ।

खुला राजनीतिमा आएपछिको धन्दा

अख्तियार स्रोतका अनुसार २०६३ मा माओवादी शान्ति प्रक्रियामा आएदेखि नै पुरीले त्यो जग्गा आफ्नो नाममा पार्ने योजना बनाएका थिए ।

२०६६ सालदेखि भने ती जग्गा व्यक्तिको नाममा दर्ता हुन सुरु भएको र २०७० को दशकको सुरुवातमा पुरी र उनको परिवारको नाममा २०० रोपनी भन्दा बढी जग्गा दर्ता भएको देखिएको अख्तियारको दाबी छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २०७६ माघमामा रतुवा खोला किनारको जग्गा अतिक्रमणबारे छानबिन सुरु गरेको थियो ।

सीआईबीकै प्रतिवेदन अनुसार, जिल्ला प्रहरी कार्यालय झापाले गगन पुरी लगायतको समूह विरुद्ध किर्ते मुद्दा दर्ता गरेको थियो, जुन अहिले पनि जिल्ला अदालतमा नै विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?