सामान्यतया अधिकांश महिला २५ देखि ३५ वर्षको उमेरमा आमा बन्छन् । यो सुरक्षित उमेर पनि हो । यो उमेरमा महिला मानसिक र शारीरिक रूपमा आमा बन्न तयार हुन्छन् ।
तर पछिल्लो समय करिअर, जीविकोपार्जन र अन्य प्राथमिकताका कारण विवाह ढिलो गर्ने चलन बढ्दा आमा बन्ने उमेर पनि बढेको छ । हरेक १० मध्ये एक महिलाले ४० वर्षको उमेरपछि प्राकृतिक रूपमा गर्भधारण गर्छिन् । तर यसपछि गर्भावस्थामा हुने जटिलता र महिलाले कति स्वस्थ बच्चा जन्म दिन सक्छिन् भन्ने कुरा टुंगो हुँदैन ।
४० वर्षमा प्राकृतिक रूपमा सन्तान जन्माउने सम्भावना र चुनौती
प्रकृतिले महिलालाई जन्मिनेबित्तिकै निश्चित अण्डा दिएको हुन्छ । जुन उमेर बढ्दै गएपछि अण्डाको गुणस्तर र संख्यामा कमी आउँछ । उमेर बढ्दै गएपछि महिनावारी चक्रपिच्छे स्वस्थ अण्डा खर्चिंदै जान्छ ।
३५ वर्षपछि अण्डाको गुणस्तर तथा संख्यामा कम हुने क्रम थप छिटो हुन्छ । ३८ वर्षपछि त्यो क्रम अझ तीव्र गतिमा जान्छ र ४० मा पुग्दा अत्यधिक कम र कमजोर हुन्छ । नतिजा, गर्भ बस्न कठिन मात्र होइन, सन्तान र आमामा जटिलता देखिने सम्भावना उत्तिकै बढ्छ ।
जो पहिलो सन्तान जन्माउने ३५ वर्षभन्दा माथि उमेरको सन्तानमा ‘डाउन सिन्ड्रोम’ हुने सम्भावना बढी हुन्छ । डाउन सिन्ड्रोम समस्या भन्नाले क्रोमोजोम डिफेक्ट वंशाणुगत सुस्त मनस्थितिको समस्या, शारीरिक रूपमा कमजोर हुने रोग हो ।
उमेर बढ्दै गएपछि राम्रो अण्डा खेर गइसक्छ र खराब अण्डा मात्र रहन्छ । यस्तोमा ४० वर्ष कटेपछि त प्राकृतिक रुपमा बच्चा बस्न मात्र होइन, मुस्किलले बसेकोमा पनि स्वस्थ नहुने जोखिम हुन्छ । यस्तोमा स्वस्थ जन्मिने सम्भावना मात्र पाँच प्रतिशत र गर्भवती हुने सम्भावना २५ प्रतिशत रहन्छ । ४५ वर्षपछि ९५ प्रतिशत सन्तान असामान्य खालको सन्तान जन्मिने जोखिम हुन्छ ।
त्यस्तै, सन्तानमा मात्र नभई ३८ वर्षपछिका आमामा मधुमेह र उच्च रक्तचाप हुने जोखिम पनि रहन्छ ।

४० वर्षको उमेरपछि सन्तान जन्माउन के कुरामा ध्यान दिने ?
एमएच हार्मोन परीक्षण
एमएच हार्मोन परीक्षणले डिम्बाशय पाठेघरमा कति छ ? स्वस्थ छ कि छैन भनेर थाहा पाउन सकिन्छ । यदि डिम्ब स्वस्थ छ भने प्राकृतिक रुपमा एक पटक गर्भधारणको प्रयास गर्न लगाइन्छ । तर अण्डा कमजोर र संख्या कम भएको अवस्थामा आईभीएफ विधि अपनाउनुपर्छ ।
पेटलेट रिच प्लाज्मा (पीआरपी) : आफ्नै रगतबाट प्लाज्मा बनाएर पाठेघरमा हालिन्छ । जसले अण्डाको गुणस्तरलाई बढाउँछ । यो नयाँ प्रविधि हो । जसको अहिले अध्ययन तथा अनुसन्धान व्यापक भइरहेको छ ।
इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) : आईभीएफ पनि पेटलेट रिच प्लाज्मा जस्तै हो । तर यसमा फरक के छ भने यसमा प्रयोग हुने सुई र प्रक्रिया उमेरअनुसारको हुन्छ ।
सबैभन्दा पहिला महिनावारी भएको दुई दिनदेखि सुई लगाएर १२ दिनमा अण्डा तयार हुन्छ । तयार भएको अण्डालाई झिकेर प्रयोगशालामा लगेर शुक्रकीटसँग निषेचन गर्छौं ।
त्यसबाट जब भ्रूण तयार हुन्छ, तयार भएको भ्रूणमा क्रोमोजोम डिफेक्ट भएको नभएको पत्ता लगाउन प्रिजेनेटिक टेस्ट गरिन्छ । यो परीक्षणको रिपोर्ट अर्को महिनावारी हुने समय जति लाग्छ । नतिजा राम्रो आएमा मात्र महिलाको गर्भाशयमा राखिन्छ । गर्भाशयमा राख्नुभन्दा अघि पाठेघर सफा गरिन्छ ।
त्यसका लागि महिलाको पाठेघरलाई राम्रो र स्वस्थ राख्न एस्ट्रोजन हार्मोनको चक्की दिइन्छ । त्यो खाएको १२ र १४ दिनमा पाठेघरको अल्ट्रासाउन्ड गरेर पाठेघर कतिको बाक्लो छ त्यो हेरिन्छ । बाक्लो भएमा पाँच दिन जति पातलो गराउने सुई लगाइन्छ । र, छैठौं दिनमा बल्ल भ्रूण राखिन्छ । यो प्रक्रियामा बेहोस नबनाई अल्ट्रासाउन्डको मद्दतले पाठेघरको मुखबाट सहजै राखिन्छ ।
बच्चा र आमा स्वस्थ हुनसक्छन् त ?
यस्ता प्रक्रियाले सन्तानमा आउन सक्ने जोखिम त कम हुन्छ तर आमामा भने उच्च रक्तचाप र मधुमेह देखिने, मितिअगावै बच्चा जन्मिने, सन्तानको तौल कम हुने र शल्यक्रियाबाट मात्र सन्तान जन्मिन सक्ने सम्भावना हुन्छ । जसकारण यसको न्यूनीकरण गर्न बेलाबखतमा अल्ट्रासाउन्ड गर्ने र रक्तचाप पनि परीक्षण गरी नियन्त्रणमा राख्नुपर्छ ।
शतप्रतिशत सफल हुँदैन
विश्वव्यापी रुपमै हेर्ने हो भने ४० वर्षको उमेर कटेका महिलामा आईभीएफबाट गराइने उपचार ३० देखि ३५ प्रतिशत सफलता मिलेको पाइन्छ । किनकि बाहिर एउटा अण्डा मात्र प्रयोग गरिन्छ । तर नेपालमा दाताबाट अण्डा लिने, एकै पटक दुईदेखि तीनवटा अण्डा राख्ने भएकाले ५० देखि ६० प्रतिशत सफलता प्राप्त हुन्छ । यो प्रक्रिया सुरु गर्नुअघि शतप्रतिशत सफलता मिल्दैन भनेर भनिएको हुन्छ ।

सबैभन्दा कठिन असफल भएपछि गर्नुपर्ने काउन्सिलिङ
सफलता पाउँदा आमासँगै आईभीएफ टिमको पनि खुसीको सीमा रहँदैन । तर असफल भएमा काउन्सिलिङ गर्न निकै कठिन हुन्छ । पैसा, समय, धैर्य र सबैको प्रयास त्यत्तिकै लागेको हुन्छ ।
आईभीएफको लागत
आईभीएफको सबैभन्दा महंगो खर्च भनेको लगाउने दिनहुँजसो सुई, खाने औषधि, प्रयोगशालामा बच्चा बनाउने औषधि (मिडिया) प्रयोग हुन्छ । जुन बाहिरबाट ल्याउनुपर्छ । जसकारण कर पनि बढेर मूल्य बढ्दै गएको देखिन्छ । यसको खर्चदेखि दुई लाखदेखि चार लाख ५० हजार रुपैयाँसम्म लाग्छ ।
त्यस्तै, अण्डा भण्डारणको सबै प्रक्रिया गरी औसतमा दुई लाख ५० हजार अण्डा झिक्न र वर्षैपिच्छे भण्डारणको शुल्क ४० हजार जस्तो लाग्न सक्छ ।
आईभीएफबाट जुम्ल्याहा सन्तानको सम्भावना बढी
यस प्रक्रियाबाट सन्तान प्राय: जुम्ल्याहा जन्मिन्छन् । कारण भनेको एकै पटक दुईदेखि तीनवटासम्म निषेचन भएको अण्डाको प्रयोग हुनु हो । कहिलेकाहीं एउटा अण्डामा मात्र नतिजा शतप्रतिशत नआउने हुँदा दुईवटा प्रयोग गरिन्छ । जसले गर्दा दुईवटा सन्तान जन्मन सक्छन् । जुम्ल्याहा सन्तान हुनुमा जोखिम पनि उत्तिकै हुन्छ । यसमा हुने जोखिम भनेको मितिअगावै पानी फुटेर सन्तान जन्मिने र रक्तचाप उच्च हुने सम्भावना बढी हुन्छ ।
आईभीएफको सुरुवात
यसको सुरुवात सन् १९७८ मा भएको थियो, जब लेन्सी ब्राउन विश्वमै पहिलो पटक टेस्टट्युब बेबी जन्माउने पहिलो आमा बनिन् । विश्वभर नै आवश्यकताअनुसार फस्टाइरहेको आईभीएफ नेपालको विभिन्न स्थान गरी ३३ वटा दर्ता सहतिको आईभीएफ केन्द्र सन्चालनमा छन् ।
देखासिकीमा जबर्जस्ती गर्भधारण गर्नुहुँदैन
कतिपय प्रसिद्ध अभिनेत्रीहरुले करिअरलाई प्राथमिकता दिई ४०-४५ वर्ष उमेर कटेपछि सन्तान जन्माउने गरेको पनि हामी देख्छौं । उनीहरूले आईभीएफ वा आफ्नो अण्डा भण्डारण गर्ने विधि रोजेका हुन्छन् ।
उनीहरुबाट प्रेरणा लिएर सन्तान जुनसुकै समयमा जन्माउन सकिन्छ भनेर ३५ वर्षमाथिको उमेरमा बच्चा जन्माउने सोच बनाएकाहरु पनि धेरै देखिन्छन् । उनीहरूले के कस्ता विधि अपनाएर गर्भवती भएका छन् भन्ने जानकारी नभई यस्तो उदारहण हेरे ढुक्कसँग बस्नु हुँदैन । सम्भव भएसम्म महिलाहरुले ३५ वर्ष अगाडि नै सन्तानको योजना बनाउनु उपयुक्त हुन्छ । ३५ वर्ष वा सोभन्दा बढी उमेरमा बच्चा जन्माउन चाहेमा आईभीएफ जस्ता विधि एउटा विकल्प हुनसक्छ ।

अण्डा भण्डारण गर्ने संख्या बढ्दो
अण्डा भण्डारणको सुविधा भर्खरै आउँदा यसका लागि धेरै जना सहमत भएका थिएनन् । तर अहिले यसबारे बुझेपछि विवाह नगरी बसेका धेरै महिला अण्डा भण्डारणका लागि आउने गरेका छन् ।
त्यस्तै, क्यान्सरको उपचार गराउनुपुर्व आफ्नो अण्डा भण्डारण गराउन आउने हुन्छन् । किनकि क्यान्सरको उपचारको क्रममा हुने रेडियोथेरापी र किमोथेरापी गर्दा पाठेघरमा पनि जान्छ र अण्डामा ह्रास ल्याउँछ । महिनावारी सुकेको अवस्थामा पनि पाठेघरमा अन्य दाताको अण्डा र श्रीमानको शुक्रकीट मिलाएर सन्तान जन्माउन सम्भव छ ।
लामो समयसम्म डिम्बको गुणस्तर सन्तुलन राख्न के गर्ने ?
अण्डा भण्डारण
उमेर छँदै सन्तान जन्माउने योजना छैन वा विवाह भइसकेको छैन भने यस्तोमा आफ्नो अण्डा भण्डारण गरेर चाहेको समयमा त्यही अण्डालाई प्रयोग गरी ३५ वा ४० वर्षमा गर्भधारण गर्न सक्छन् ।
यसबाट फाइदा के छ भने २८ वर्षको उमेर हुँदा झिकिएको अण्डा ४० वर्षमा प्रयोग गरी गर्भधारण गर्दा २८ वर्षमै जन्माएको जति हुन्छ ।
स्वस्थ खानपान
अण्डा भण्डारण गर्न नसक्ने अवस्थामा अण्डाको गुणस्तरलाई बढाउन खानपानमा ध्यान दिन सकिन्छ । खानपानमा थरीथरी रङ भएका फलफूल स्याउ, केरा, प्रशस्त खाने हो भने पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट र सूक्ष्म पोषक तत्व पाइन्छ ।
त्यस्तै, फर्सीको बीउ, सूर्यमुखीको बीउ, गेडागुडी, माछामासुमा पाइने भिटामिन, पोटासियम, आइरन जस्ता तत्त्वहरू सन्तुलित रुपमा खानु पनि डिम्बको लागि फाइदाजनक हुन्छ ।
खानेकुरा खाने मात्र होइन, शारीरिक सक्रियता पनि उत्तिकै जरुरी हुन्छ । यसको लागि शारीरिक व्यायाम तथा योग गर्नु आवश्यक छ ।
स्क्रिनिङ टाइम कम गर्ने
सबैभन्दा महत्त्वपूर्ण भनेको महिलाले स्क्रिनिङ टाइमलाई एकदम कम दिई पर्याप्त सुत्नुपर्छ । जति निद्रा पुग्छ त्यति मेलाटोनिन हार्मोन उत्पादन हुन्छ, जसले डिम्बको गुणस्तर बढाउँछ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
 
                    










 २०८० फागुन  १० गते १४:३३
                        २०८० फागुन  १० गते १४:३३                     
                             
                     
 
 
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                                         
                             
                             
                                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4