+
+

दक्षिण कोरियाका महिला किन चाहँदैनन् बच्चा जन्माउन ?

एजेन्सी एजेन्सी
२०८० फागुन १६ गते २०:१७
कोरियाली युवाहरुको प्रतिनिधिमूलक तस्वीर । तस्वीर : बीबीसी ।

१६ फागुन । झरी परेको एक साँझमा यन्जिन आफ्ना साथीहरुका लागि खाना पकाउँदैछिन् । सोलमा रहेको अपार्टमेन्टमा उनी लामो समयदेखि खुशीसाथ एकल जीवन बाँचिरहेकी छिन् ।

भान्सा तयार भएसँगै साथीहरु खानपिनमा जुट्छन् । तीमध्ये एकले आफ्नो फोनमा रहेको मिम पढेर सुनाउँछिन् । मिममा डाइनोसरको सन्देश छ, ‘होसियार ! आफूलाई हामीजस्तै लोप नबनाऊ !’

मिम देखेर सबै महिला एकछिन हाँस्छन् । हाँसोपछि त्यसको सन्देशमा गम खाँदै त्यहाँ सन्नाटा छाउँछ । अब यन्जिन बोल्छिन् ‘यो जति हाँसो लाग्दो छ र यसको सन्देश उत्तिकै मार्मिक छ । हामीलाई थाहा छ हामी लोप हुने बाटो रोजिरेहछौँ ।’

त्यहाँ उपस्थित उनका साथीहरु र यन्जिनमा पनि आमा बन्ने योजना वा शोख छैन । उनीहरु बच्चाविहीन जिन्दगी बाँचिरहेका छन् । बच्चा विहीन महिलाहरुको त्यहाँ समुदायनै छ । दक्षिण कोरिया विश्वमै सबैभन्दा कम प्रजनन दर भएको मुलुक हो । हरेक वर्ष त्यहाँ प्रजनन दर कम हुँदै गइरहेको छ । दक्षिण कोरियाको प्रजनन दर ०.७२ रहेको छ । स्थिर जनसंख्याका लागि त्यहाँको प्रजनन दर २.१ हुनुपर्छ । यदि घट्दो क्रम चलिरहेको खण्डमा  सन् २१०० सम्म त्यहाँको जनसंख्या घटेर आधा हुने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय संकट

विश्वभरनै विकसित मुलुकहरुमा प्रजनन दर घटिरहेको छ । तर दक्षिण कोरियाको जस्तो हालत भने अन्य मुलुकको छैन । त्यहाँको प्रक्षेपण निकै नै डरलाग्दो छ । अबको ५० वर्षमा त्यहाँको सक्रिय जनसंख्या आधाले कम हुने र सैन्य जनशक्ति ५८ प्रतिशतले घट्ने प्रक्षेपण छ ।  यही अवस्था कायम रहे ५० वर्षपछि आधा भन्दा बढी जनसंख्या ६५ वर्ष माथिका हुनेछन् ।

यसले अर्थतन्त्र, सामाजिक सुरक्षा र आन्तरिक सुरक्षामा असर पुग्ने भएसँगै राजनीतिज्ञहरुले यसलाई राष्ट्रिय संकट भनेका छन् । यो समस्या निराकरणको उद्देश्यले २० वर्ययता सरकारले २८६ अर्ब डलर बराबरको रकम खर्च गरिसकेको छ ।

बच्चा पाउने जोडीलाई सरकारले रकम उपलब्ध गराउने, घरका लागि अनुदान दिने, अस्पताल खर्च व्यहोर्ने र आईभीएफ प्रणालीको रकम तिर्नेसम्म गरेको छ । तर यस्ता आर्थिक सुविधाले पनि उल्लेखनीय काम गरेको छैन ।

राजनीतिज्ञहरुलाई अझै रचनात्मक योजना ल्याउन दबाब परेको छ । सरकारले अहिले बच्चाको हेरचाहको लागि कामदार भित्र्याउनेदेखि ३० वर्षभन्दा कम उमेरमा ३ सन्तान पाएको अवस्थामा सैन्य सेवाबाट उसलाई अवकाश दिनेसम्मको योजना बुनिरहेको छ । तर, नीति बनाउनेहरुले महिलाको आकांक्षा र आवश्यकता भने बुझेका छैनन् ।

महिलाहरु आमा बन्न किन चाहँदैनन् ?

२० वर्षको उमेरमा यन्जिनले सामाजिक मान्यता तोड्दै एक्लै रहने निर्णय लिइन् । दक्षिण कोरियामा एकल जीवन अस्थायी क्षणका रुपमा लिइन्छ । पाँच वर्षअघि उनले बिहे नगर्ने र बच्चा नपाउने निर्णय लिइन् । ‘कोरियामा बच्चाको स्याहार सम्भारमा साथ दिने पति नै पाउनै मुश्किल छ र बच्चा भएका महिलाप्रति कुनै दयाभाव नै हुँदैन’, उनले भनिन् ।

सन् २०२२ मा जन्मेका बच्चामध्ये दुई प्रतिशत आमाबाबुको विवाहबिनै जन्मेको तथ्यांक सार्वजनिक भएको थियो । कामको तनावका कारणले पनि बच्चा हेर्ने फुर्सद नहुने यन्जिन बताउँछिन् । त्यसैले उनले बच्चा नपाउने बरु टेलिभिजनको करियरमा आफूलाई समर्पित गर्ने निधो गरिन् ।

उनी बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम गर्छिन् । तर कार्यालयबाट निस्किँदा सधैँ बेलुकाको आठ बजेको हुन्छ । घर पुग्नेबित्तिकै उनी या त सरसफाइ या त व्यायाममा व्यस्त हुन्छिन् ।‘म मेरो काममा निकैनै व्यस्त हुन्छु । कोरियामा श्रमका लागि निकै परिश्रम पनि चाहिन्छ । यहाँ काम गर्न निकै कठिन छ । जोसुकै पनि यहाँ कामको चक्रमा फसेको हुन्छ’, उनले भनिन् ।

आफ्नो काममा अब्बल नतिजा दिनका निम्ति खाली समयमा अध्ययनको जिम्मेवारी पनि रहेको उनी बताउँछिन् । ‘यदि आफ्नो सुधारका लागि नियमित काम नगर्ने हो भने पछाडि परिने र असफल हुने त्रास यहाँ धेरैलाई छ । त्यसैले सबैजना यहाँ निकै मिहेनत गर्छन् । ‘कहिलेकाहीँ बिदामा म स्लाइन पानी चढाउन जान्छु ताकी काममा जाँदा निकै उर्जावान भएर जान पाइयोस्’, यन्जिन भन्छिन् ।

यन्जिनमा मात्रै होइन अन्य महिलामा पनि यस्तै समस्या छ । ‘बच्चा पाउनेबित्तिकै जागिर छोड्नुपर्ने दबाब कम्पनीहरुले दिन्छन्’, एक महिलाले बीबीसीसँग भनेकी छिन् ।

मानव संशाधन विभागमा काम गर्ने एक २८ वर्षीया महिलाले बच्चा पाउनेबित्तिकै जागिर छोड्न बाध्य महिलाको संख्या धेरै रहेको बताइन् । त्यसैले आफूमा पनि बच्चा पाउने रहर नरहेको बताइन् । पहिलो बच्चा आठ वर्षको नहुँदासम्म आमा र बुवा दुबैलाई एक वर्षसम्मको बिदा सुविधा दक्षिण कोरियामा छ । सन् २०२२ को तथ्यांक अनुसार ७० प्रतिशत महिला र ७ प्रतिशत पुरुषले मात्रै यो सुविधा लिए ।

कोरियामा शिक्षित महिलाहरुको संख्या निकै धेरै छ । यद्यपि त्यहाँ तलबमा भने लैंगिक असमानता उत्तिकै छ । बच्चा नपाउने निर्णय लिएकी अर्की महिला हुन् ३९ वर्षीय स्टेला । उनी विद्यालयमा पढाउँछिन् । ‘हेर्नुस् त नानीहरु कति राम्रा । मलाइ थाहा छ बालबालिका राम्रा हुन्छन् तर म स्वयं भने बालबच्चा नपाउन विवश छु, आमा बन्न कसलाई रहर हुँदैन तर परिस्थितिले सकिँदैन’, उनले भनिन् ।

स्टेला विवाहित हुन् । उनका पति र उनले बच्चा पाउने योजना नबनाएका पनि होइनन् । तर उनीहरु काममा यति व्यस्त भएकी बच्चा पाएर हुर्काउने समयनै उनीहरुसँग नहुने भयो । ‘म मेरो कामप्रति निकै सन्तुष्ट छु । बच्चा हुनेबित्तिकै दुई वर्ष घरै बस्नुपर्छ । यसले त मलाई मनोरोगी बनाउँछ’, उनले बीबीसीसँग भनिन् ।

खाली समयमा उनी के-पप नृत्यशालामा उमेर ढल्केका महिलाहरुसँग नाँच्न जान्छिन् । बच्चा पाउनेबित्तिकै आमाले दुई/तीन वर्ष खाली बस्नुपर्ने हुन्छ । पतिलाई एक वर्षे बिदाको सुविधा लिनु भन्न पनि नसकिने स्टेलाको भनाइ छ । ‘मैले उनलाई आफू काममा गएर घरायसी काममा लगाउनेबित्तिकै केही न केही लफडा हुन्छ । बच्चा घरमा छोडेर काममा जानसक्ने त कल्पना पनि गर्न सक्दिँन’, उनले भनिन् ।

जागिर नै छोडेर आमा बन्ने निर्णय लिन पनि नसकिने उनको मत छ । महँगीले आकाश छोएको समयमा बेरोजगार भएर बच्चा हुर्काउने कल्पना पनि गर्न नसकिने उनी बताउँछिन् । आवास महँगिएको कारणले पनि धेरैले बच्चा पाउने सोच त्याग्दै गएका छन् । कोरियामा आधाभन्दा बढी जनसंख्या सोलमा बस्छन् । अन्यत्र अवसरको कमी हुने भएकाले उनीहरु राजधानीमै केन्द्रित भएका हुन् । स्टेला र उनका पति सोलबाट पर परका प्रान्तमा पुगेपनि आफ्नै घर जोड्न उनीहरुलाई निकै धौधौ छ ।

सोलको प्रजनन दर ०.५५ रहेको छ । यो दक्षिण कोरियाकै सबैभन्दा कम दर हो । कोरियामा आवास मात्रै नभएर शिक्षा पनि उत्तिकै महँगो भएको छ । चार वर्ष देखिनै बच्चाहरुलाई अतिरिक्त क्रियाकलापमा लगाउने गरिन्छ । नृत्य, गणित, विज्ञान तथा तेक्वान्दोका कक्षामा नपठाए बच्चा कमजोर हुने मानसिकता यहाँका अभिभावकहरुमा छ ।

त्यसैले कोरियामा बच्चा पाउनमात्रै नभएर पाएपछि हुर्काउन समेत कठिन छ । सन् २०२२ को अध्ययन अनुसार ९४ प्रतिशत अभिभावकले यस्ता अतिरिक्त क्रियाकलापका कक्षा आफ्ना लागि निकै बोझ भएको बताएका थिए । विद्यालयको शिक्षिकाको हिसाबले स्टेलालाई यो ज्ञान नभएको पनि होइन ।

हरेक महिना बच्चामा कम्तीमा ८९० डलर खर्च हुने उनी बताउँछिन् । ‘अतिरिक्त क्रियाकलापको कक्षा सहित एकजना बच्चालाई कम्तीमा ८९० डलर प्रतिमहिना खर्च हुन्छ । बच्चासँग हुँदा बच्चा पाउन मन लाग्छ तर मेरो कमाइले बच्चाको खर्च धान्नै सक्दिँन’, उनले भनिन् ।

३२ वर्षको उमेरसम्म आमा नबनेकी अर्की महिला हुन् मिन्जी । कोरियामा बच्चाहरु खुशी साथ जिउन नसक्ने भएकैले आफूले बच्चा नपाउने निधो गरेको उनले बताइन् । २० वर्षको उमेरसम्म आफूले पाएको झैं कष्ट कुनै बच्चाले नपाओस् भन्ने उनको सोच छ । ‘मैले मेरो पूर्ण बाल्यकाल नै पढेर बिताएँ ।

कलाकार बन्ने सोच  थियो तर पारिवारिक दबाबका कारण पढ्नै व्यस्त हुनुपर्‍यो । पट्यार लागेपनि गणित नपढी हुन्थेन । मैले जस्तै दु:ख मेरो बच्चाले किन पाओस् ? यहाँ बच्चा खुशी हुने वातावरणनै छैन । त्यसैले मैले बच्चा नपाउने निधो गरेँ’, उनले सुनाइन् ।

बच्चा नहुँदा आफू निकै स्वतन्त्र हुन पाएको उनको अनुभव छ ।

यता, यन्जिनको अपार्टमेन्टमा खाना खाइरहेका साथीहरु उनका पुस्तक र सामानहरु नियालिरहेका छन् । कोरियाली जिन्दगीबाट विरक्तिएकी उनले न्युजिल्याण्ड जाने सोच बनाएकी छन् । लैंगिक समानतामा न्युजिल्याण्ड निकै उत्कृष्ट रहेकाले त्यहाँ जाने निधो गरेको यन्जिनको भनाइ छ । ‘महिला र पुरुषलाई बराबर तलब दिने भएकाले म अब त्यहीँ जान्छु’, उनले सुनाइन् ।

कोरियामा धेरै दम्पतीले बच्चा जन्माउन नचाहनुका कारण महंगी पनि हो । जागिरबाट निकालिने डरले महिलाहरु आमा बन्ने चाहना त्याग्न विवश छन् । यो संकट समाधानमा सरकार पनि लागिरहेको छ । हालै राष्ट्रपति योन सुक उलले अब नयाँ तरिका अपनाएर बच्चा पाउन प्रेरित गर्ने निर्णय लिएका छन् ।

यता यन्जिन न्युजिल्याण्ड पुगेको तीन महिना भइसक्यो । टेलिभिजन प्रोड्युसर रहेकी उनी त्यहाँ पबको किचन सम्हाल्छिन् । न्युजिल्याण्डको जिन्दगीबारे उनी भन्छिन्, ‘यहाँ काम र जीवनको सन्तुलन निकै राम्रो छ । काममा सम्मान पनि उत्तिकै पाइन्छ । यो वातावरणले मलाई कोरिया फर्किनै मन छैन’, यन्जिनले बीबीसीसँग भनेकी छिन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?