+
+

भूकम्पपछिका धक्काहरू

यसपटकको हिउँद जाजरकोट र रुकुमपश्चिममा निकै चिसो भएर आयो। तर बालुवाटार अझै न्यानै छ। सरकार ढल्छ कि जोगिन्छ, को सरगर्मीमा रुमल्लिराखेको काठमाडौंले जाजरकोटलाई त पक्कै बिर्सिइसक्यो। तर त्यहाँ अझै धेरै काम गर्न बाँकी नै छ। सबैभन्दा मुख्य कुरा मानसिक स्वास्थ्यमा काम गर्न बाँकी नै छ।

भावना राउत भावना राउत
२०८० फागुन १७ गते ८:५८

२०८० साल कात्तिक १७ गते शुक्रबार। राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पले त्यो ठाउँ मात्र हल्लाएन, सिंगो देशलाई हल्लायो। यता काठमाडौंमा न्यानोमा सुत्न लागेकी मलाई समेत त्यो भूकम्पले धक्का दियो।

केही सेकेन्ड वा मिनेट जमिन हल्लाउने भूकम्पले, वर्षौं पछाडिसम्म आफ्नो उपस्थिति छोडेर जान्छ– चाहे त्यो मानवीय क्षति होस् वा भौतिक क्षति। मानसिक क्षति त झन् बढी गाढा छँदैछ। र यसपटक यो तत्काल र पछिसम्मको त्रासदीपूर्ण अवस्था जाजरकोट र रुकुमपश्चिमले भोग्दैथियो। घर भत्किएका समाचार, मानिसहरुको मृत्युको खबर, न्यूज फिडमा एकपछि अर्को आइरहेको थियो। जति समाचार थपिंदै जान्थ्यो, मृत्यु र भौतिक क्षतिको संख्या उति नै बढिरहेको थियो। परकम्पनका समाचारहरु पनि आइरहेकै थिए।

****

खलंगाबाट थाप्लेको यात्रा एउटा ट्रकमा सुरु भयो। भौगोलिक विकटता त्यसमाथि सानो कच्ची बाटो। अनि कहिल्यै नगरेको ट्रकको यात्रा। ट्रक बाटोमा भन्दा बढी भीरबाट जोगिंदै चलिरहेको जस्तो लाग्ने। एकअर्थमा भन्दा त्यो ट्रक हिंडेको बाटो यही देशको हालत जस्तो। सास अड्काएर ट्रक दगुर्छ कि ट्रकमा बस्ने हामी गन्तव्य पुग्ने आशमा यात्रा गर्छौं भनेर पहिल्याउन नपाउँदै, ट्रकको ब्रेक फेल भयो। ट्रकमा बसेका हामी, ब्रेक फेल भएको थाहा पाएपछि, भोलिको जीवन सोच्नुभन्दा तत्कालको मृत्यु सहज होस् भनेर कामना गर्नतिर लाग्यौं। धन्न ड्राइभर दाइले ट्रकलाई भित्तातिर ठोक्काइदिनुभयो। ट्रक कुच्चियो तर जीवन बाँच्यो। ‘मृत्युले गालामा चुमेर हिंडेको’ भनेको सायद यही यस्तै नै होला।

****

विकट शब्द धेरैपटक सुनेकी, पढेकी हुँ। तर भोगेको भने यसैपटक मात्र हो। तराईमा जन्मिएकी मान्छे म, पहिलो पटक थाहा भयो, विकटको परिभाषा तराई र पहाडमा कति फरक हुनेरहेछ! झन् यसपटक त जाजरकोट र रुकुमपश्चिम, भूकम्पको धक्कामा परेको थियो। यो अवस्थामा यी ठाउँहरुलाई वर्णन गर्न विकट शब्द मात्र पर्याप्त पक्कै थिएनन्।

थाप्ले पुगेपछि, भूकम्पको अर्को परकम्पन आयो। हिजो–अस्तिकै भूकम्पले चर्किएको थियो होला घर, यसपटकको परकम्पनले आँखैअगाडि फिल्मी शैलीको स्लो मोसनमा घर भत्कियो। मृत्युले अर्कोपटक चुमेर गयो। काठमाडौं जति टाढा लागिरहेको थियो, त्योभन्दा कैयौं गुणा टाढा लाग्न थाल्यो। घर सम्झिएँ। आमा बा सम्झिएँ। साथीभाइ सम्झिएँ। ठीक त्यसैगरी जसरी अघि ट्रकको ब्रेक फेल हुँदा सम्झिएकी थिएँ। एकै मिनेटमा पनि कति धेरै सम्झनाहरु आउँदो रहेछ मनमा। तर यथार्थ आँखैअगाडि थियो। भत्किएको घर। भर्खरै आफन्तजन गुमाएका मानिसहरु। परकम्पनको धक्का। रोएर थाकेका आँखाहरु। चौपायाहरुको बिजोग। र दिन घर्कंदै जाँदा झन् बढी चिसिंदै जाने मुटु कटक्कै बनाउने चिसो सिरेटो।

हामीले लगेको राहत सामग्री वितरणको लागि नक्साङ्कनको काम पहिलो दिन नै सिध्यायौं। अब भोलिपल्टबाट राहत वितरणको लागि नगरपालिकासँगको सहकार्यमा काम अगाडि बढाउनु थियो। उसै पनि चिसोले निद्रा लागिरहेको थिएन। त्यहीमाथि बेला–बेलामा मोबाइलमा मिसकल आए जस्तो आउने परकम्पनले ‘बाँच्न त बाँचिन्छ के ?’ भनेर मनमनै आफैंसँग प्रश्न गरिरहेको नै थियो। हामीले कैयौं रात परकम्पनको डरले त्रिपालमै बितायौं।

नलगाडको वडा नं. १३ मा भूकम्पले मानिसको जीवनमाथि नै धावा नबोले पनि धेरै भौतिक क्षति गराएको थियो। निरन्तरको परकम्पनले मानिसहरुहरुलाई घरभित्र सुत्न त्राहित्राहि गराइरहेको थियो। यस्तो अवस्थामा त्यो ठाउँमा राहतको सामग्री समयमै पुग्नु आवश्यक थियो। तर भौगोलिक कठिनाइले गर्दा त्यहाँसम्म राहत सामग्री पुर्‍याउन सकिरहेका थिएनौं। काठमाडौंबाट राहत सामग्री बोकेर जाने कोही पनि त्यो ठाउँसम्म पुग्न सकिरहेका थिएनन्। अझ ठ्याक्कै भन्नुपर्दा त चाहिरहेकै थिएनन्।

पार्टीका अभियन्ता/डाक्टरको टोली सदरमुकाममै बसेर, फेसबुकमा लाइक कमेन्ट बटुलिरहेको थियो। नलगाड–१३ का लागि सामग्री आवश्यक भनेर निकै फोनहरु आइरहेका थिए। त्यहाँसम्म पुग्ने माध्यम भनेको ट्रयाक्टर, घोडाको प्रयोग र केही दिन पैदल यात्रा गर्नुपर्ने थियो। यो अवस्थामा नलगाड–१३ राज्यबाट मात्र नभई राहत लिएर जानेहरुबाट पनि उपेक्षित भइरहेको थियो।

प्रधानमन्त्रीसँगै धेरै नेताहरु जाजरकोट पुगे तर नलगाड–१३ उपेक्षित भइरह्यो। हेलिकप्टर, राहत र उद्धारमा भन्दा बढी विशिष्ट मानिसहरुको भ्रमणका लागि रिजर्भ राखिएका थिए। हामीले तिरेको कर, हामीले नै भोट हालेका मानिसहरुको विलासिताको लागि मात्र रहेछ भनेर बुझ्न अर्को सेकेन्ड पर्खनुपर्ने अवस्था थिएन। निकै प्रयास, झगडा र भनाभन पछि बल्ल बल्ल भूकम्प गएको एक हप्तापछि नलगाड–१३ मा त्रिपाल र ओढ्ने ओछ्याउने पठायौं हामीले। तर त्यो पर्याप्त भने थिएन। आशा बडो निर्मम तर सुन्दर कुरा रहेछ। नलगाड–१३ त्यत्रो धेरै उपेक्षित हुँदाहुँदै पनि त्यहाँका मानिसहरुलाई आशाले बचाएको थियो।

राहत र उद्धारको लागि प्रयोग गरिनुपर्ने हेलिकप्टरको जसरी दुरुपयोग भएको थियो, त्यसले हाम्रो राज्य उपेक्षित स्थानप्रति कति संवेदनशील छ र राज्यका संयन्त्रहरु कति कमजोर छन् भन्ने कुरा प्रष्ट रूपमा देख्न सकिन्थ्यो।

****

नलगाडको एउटा स्वास्थ्य चौकी सिंगो एकजना डाक्टर विशालको भरमा थियो। प्रधानमन्त्रीले नलगाडको त्यो स्वास्थ्य चौकी पुगेपछि त्यहाँ चाँडोभन्दा चाँडो थप स्रोतसाधन र डाक्टर पठाउने बाचा गरेका थिए। तर जसै हेलिकप्टर चढेर उनी काठमाडौं फर्किए उनले बाचा बिर्सिए। सायद बालुवाटारको चियाले जनताको पीडालाई सर्लक्कै भुलाइदिंदो हो। पार्टीका अभियन्ता डाक्टरहरु सदरमुकाम छोडिरहेका थिएनन्, तर डाक्टरको आवश्यकता दूरदराजलाई सबैभन्दा बढी थियो। बिरामीको चाप बढ्दो थियो। मानिसहरु शारीरिक रूपले त कमजोर भइसकेका नै थिए, मानसिक रूपले समेत विक्षिप्त हुन थालिसकेका थिए।

एकरात, बिहानको करिब १ बजे त्रिपालबाटै एक महिलालाई लगेर बलात्कार गरिएको घटना स्वास्थ्य चौकीमा आयो। तर त्यहाँ न महिला प्रहरी थिए न त महिला चिकित्सक नै। घटनाको विवरण उठाउन प्रहरी ढिलासुस्ती गरिरहेको थियो। विवरण नउठाएसम्म डाक्टरले प्रमाण संकलनका लागि काम गर्न सक्दैनथे। काठमाडौंमा महिला अधिकारको लागि चर्को कुरा उठाइरहने म आफैंले आफूलाई सम्झिएँ। काठमाडौं र जाजरकोटको अवस्था निकै नै भिन्न थियो। बलात्कृत महिला आफ्नै अगाडि हुनुहुन्थ्यो र म आफू त्यो अवस्थामा केही गर्न नसक्ने गरी निरीह भएकी थिएँ। एक त भूकम्पले घर भत्किएको छ। त्रिपालको ओत लागेर चिसोमा सुत्नुपरेको छ अनि त्यही अवस्थामा राति कसैले जबरजस्ती बलात्कार गर्छ। प्रहरी मुचुल्का उठाउँदैन। मुचुल्का नउठाई प्रमाण संकलनको लागि स्वास्थ्यकर्मी काम गर्न सक्दैनन्। अनि स्थानीयहरु बलात्कार जस्तो जघन्य अपराधलाई सामान्यकरण गरिरहेका छन्।

घटना भएको भोलिपल्ट हाम्रो निरन्तर खबरदारी पछि बल्लबल्ल नेपाल प्रहरीले दुईजना महिला प्रहरीको दरबन्दी गयो। र त्यसपछि मात्र उनको थप उपचारको लागि जिल्ला अस्पतालमा पहल गर्न सहज भयो।

****

बेलुकीको करिब ७ बजेतिर नगरपालिकाकै छेउको दलित बस्तीबाट खबर आयो, एकदिने सुत्केरीको लागि त्रिपालको अभाव भएको बारे। सकेजति चाँडो गरी हामीले त्यो नवजात शिशु र उनकी आमाको लागि टेन्ट लगाउन पुग्यौं। बच्चाहरु एकदम मनपर्ने मलाई, त्यति सानो जीवन समाउन भने निकै नै डराइरहेकी थिएँ। एकदिने बच्चा कस्तो हुन्छ भनेर महसुस गरेको मेरो लागि त्यो नै पहिलोपटक थियो। सुत्केरी महिला र नवजात शिशु समातेको त्यो क्षणपछि भने मैले गर्ने सहयोगको प्राथमिकतामा सुत्केरी महिला, साना बालबालिका अनि गर्भवती महिलाहरुलाई राख्न लागें। उसै पनि मानिसको बच्चा अन्य प्राणीको तुलनामा एकदमै कमजोर हुन्छ र उसलाई त्यो समयमा सबैभन्दा बढी स्याहार चाहिन्छ।

एकदिन बिहानै एक अनलाइन न्युज पोर्टलले एक सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको भन्ने समाचार छाप्यो। आमा सहित जुम्ल्याहा बच्चामध्ये एक बच्चाको मृत्यु भइसकेको थियो अनि एउटा बच्चा मर्ने दिन कुर्दै बसिरहेको अवस्थामा थियो। आमाको मृत्यु भएको ३ दिनसम्म पनि राज्यको कुनै संरचना त्यो बाँचेको शिशुलाई बचाउनुपर्छ भनेर उद्धार गर्न पुगेको थिएन। उसलाई त्यहाँबाट सुर्खेत अस्पताल नपुर्‍याउने हो भने उसको पनि जुन कुनै बेला मृत्यु हुनसक्थ्यो। सुर्खेतसम्म लैजाने सबैभन्दा छिटो–छरितो उपाय भनेकै हेलिकप्टर थियो। तर प्रधानमन्त्री कार्यालयले समयमा प्रतिक्रिया र सहजीकरण नगरिदिएकोले हेलिकप्टर बोलाउन कठिनाइ भइरहेको थियो।

तर ढिलै सही जोखिमपूर्ण अवस्थामा हामीले त्यो नानीलाई सुर्खेत पठाउन सफल भयौं। हामीले उद्धार गर्दा त्यो १९ दिने शिशुको तौल करिब १.५ केजी थियो। अहिले सो शिशुलाई आवश्यक उपचारपछि कोपिला भ्याली नामक संस्थाले हेरिरहेको छ। अब मेरो लागि हरेकपटक सुर्खेत पुग्दा भेट्नै पर्ने एउटा सानो जीवन छ।

****

जाजरकोटको एकमहिने बसाइमा विभिन्न ठाउँमा राहतको लागि माग सहित फोन आइरहन्थ्यो। जब–जब म नगरपालिकामा ‘यो वडामा राहत पुगेको छैन’ भनेर कुरा गर्न पुग्थें तब–तब उहाँहरु ठूलो अनुसूची फाइलमा रजिस्टर भएका राहत पुगेका नम्बरहरु देखाउनुहुन्थ्यो। तर गाउँमा पुगेर हेर्दा राहतका नाममा हामीले काठमाडौंमा गर्मीमा ओढ्ने कम्बलहरु पुगेका हुन्थे।

यतिका दातृ निकायहरु, त्यति ठूलो लगानीमा ढुवानी गरेर त्यस्ता कम्बल बाँड्न त्यहाँसम्म किन पुगेका थिए भन्ने मैले कहिल्यै बुझिनँ। एकपटक नगरपालिकाबाट गाउँसम्म केही ट्याक्टर ढुवानी गराउँदा मात्रै पनि करिब ४० हजार खर्च हुनेगर्थ्यो। तर राहतका नाममा पठाएका त्यस्ता कम्बलहरु प्रभावकारी हुँदैनथ्यो। अनि एकै ठाउँमा बारम्बार राहत पठाउँदा राज्यको स्रोत पनि व्यर्थ हुन्थ्यो। त्यो राहतको समयको खर्च विवरण नगरपालिकाले हेर्ने हो भने धेरै खर्च ढुवानीमै भएको देख्न सकिन्छ।

अघिल्लो २०७२ सालको भूकम्पपछि लागू गरिएको एकद्वार प्रणाली केही हदसम्म प्रभावकारी भए पनि गुणस्तर र आवश्यकता अनुसारको सामान नपुग्नाले राहत पुगेको भन्नु मात्र थियो। त्यस्तो चिसोमा त्यस्ता पातला कम्बलको सहायतामा आकाशमुनि रात कटाउनु भनेको राज्यले जाजरकोटका बासिन्दामाथि गरेको भद्दा मजाक मात्र थियो। भूकम्पबाट जोगिएकाहरु चिसोका कारण तल–वितल हुनु भनेको राज्यले अपराध गर्नु हो। राज्यका निकाय गैरजिम्मेवार हुनु हो।

****

पीडामाथि राजनीति गर्नेहरु पनि जाजरकोटमा भेटिए। आफूले अघिल्लो चुनावमा भोट नपाएको भन्दै सो ठाउँमा राहतका सामग्री नपुर्‍याउने वडा अध्यक्षहरुलाई प्रचलनमा रहेको ‘पापी’ शब्द मात्र भनिरहँदा पनि चित्त बुझ्दैन। एउटा गाउँबाट तारन्तार राहत नपुगेको भनेर फोन आइरहेको थियो। नगरपालिकामा बुझ्दा राहत पुगिसकेको जानकारी पाइन्थ्यो तर जब गाउँ पुगियो तब थाहा भयो, अघिल्लो चुनावमा सो गाउँबाट भोट नआएका कारण वडाअध्यक्षले राहतका सामग्री नै नपठाएका रहेछन्।

भोट नआएकै रिसको कारण, एउटा सिंगै गाउँका मानिसहरुको जीवनलाई जोखिमको सँघारमा पुर्‍याएको ती वडाअध्यक्षको बारेमा नगरपालिकालाई पनि थाहा छ र राहतका लागि काम गरिरहेका अन्य सरकारी निकायलाई पनि थाहा छ। तर उनलाई जवाफदेही बनाउनतिर कोही पनि लाग्दैनन्। ठ्याक्कै एक कविले भने जस्तै, ‘म त केवल एक भोट न हुँ, म त केवल एक सास न हुँ!’

जाजरकोटका जनता भूकम्पबाट बाँचेका केवल एक जीवित भोट भएका थिए। भूकम्पको बेला समेत भोटको राजनीति गर्नेहरुले अरु बेला के गर्दा हुन्, सोचेर हृदयमा एक कम्पन कहाली छुटेर आउँछ। त्रिपाल चोरी भएका घटना, कम्बल हराएको घटना सामान्य मानिदिनुपर्ने अवस्था थियो। एक त गर्मीमा ओढ्ने कम्बल आउँछ, त्यो पनि चोरी हुन्छ। प्रकोपको बेला नै हो मानिसले सबैभन्दा बढी मानवीयता देखाउनुपर्ने तर पार्टीको आडमा राजनीति गरिरहेकाहरुमा मानवीयताको थोरै अंश पनि थिएन। हामीले ती वडाअध्यक्षसँग लडेरै, जुधेरै निकैपछि मात्र ती गाउँहरुमा राहतका सामग्री पुर्‍याउन सफल भयौं।

****

मैले जाजरकोटको एकमहिने बसाइमा जे–जति गरें, त्यो पनि जाजरकोटका स्थानीयहरुको लागि कम थियो। काठमाडौंबाट अर्को चोटिको लागि भोट बटुल्न भन्दै भाषण गर्न पुगेकाहरु देख्दा रिसले दाँत किटिन्थ्यो। उनीहरुले गर्न सक्ने धेरै थियो तर उनीहरुको लागि थोरै गरेको जस्तो मात्र देखाउनु थियो। मात्र समाचार बन्नु थियो।

जाजरकोटले मलाई संवेदनशीलता सिकायो। पीडामा हाँस्न आश गरिरहेको अनुहार देख्दा बाँच्न गर्नुपर्ने संघर्ष निकै नजिकबाट बुझायो। मानवताको महत्व बुझायो। त्योभन्दा बढी चैं खराब राजनीतिको कारण हुनसक्ने जटिल परिस्थिति पनि बुझायो। अप्ठेरो समयले हतास अवस्थाको सिर्जना गर्छ। हतास अवस्थामा लिइने निर्णयहरु निकै नै सोच–विचारपूर्ण हुनुपर्ने रहेछ। तर जाजरकोटमा त्यो समय जिउँदाहरुमाथि त राजनीति भइरहेकै थियो, त्योभन्दा बढी अनि अझै घिनलाग्दोसँग लासहरुमाथि राजनीति भइरहेको थियो।

लास उठाउन गरेको ढिलासुस्ती अनि आँगनको डिलमा बसिरहेका मृतकका आफन्तको पीडाले राज्य संयन्त्रमाथि बारम्बार प्रश्न गरिरहेको थियो। रिसले टाउको बल्केर फुट्ला जस्तो हुन्थ्यो तर मैले गर्न सक्ने केही थिएन। मैले सक्ने भनेको सम्बन्धित निकायलाई झगडा गरेरै सही झक्झक्याएर सहजीकरण गर्नु मात्र थियो। पत्रकार साथीहरु लास नउठेको कुराबारे रिपोर्टिङ गर्न पुग्न सक्ने स्थानमा पनि प्रहरी मुचुल्का उठाउनसम्म पुग्न सक्दैनथ्यो। अस्पताल अभावको बीचमा घस्रँदै काम गर्नुपर्ने बाध्यात्मक अवस्थामा थियो।

तर यति सबैका बाबजुद कोही थिए, जसलाई जाजरकोटको पीडा साँच्चै दुखेको थियो। डा. विशाल उप्रेती एक्लै अस्पताल सम्हालिरहेका थिए। ‘डाक्टर भनेको भगवान हुन्’ भन्ने भनाइ उनलाई देख्दा चरितार्थ हुन आउँथ्यो। गन्जागोल कर्मचारीतन्त्रका बाबजुद दिनरात नभनी राहत र उद्धारको लागि खटिएका स्वास्थ्य शाखा प्रमुख तप्त चतारा देख्दा यो राज्यसंयन्त्रसँग सकिंदैन भन्नेहरुका लागि आफ्नै तह र तप्काबाट जे–जति सकिन्छ त्यो गर्न र गरिरहन हौसला मिल्थ्यो। जतिसुकै टाढा किन नहोस्, हिंडेरै भए पनि राहत पुर्‍याउनुपर्छ र पुर्‍याउन सकिन्छ भनेर आँट गर्ने सुदन गुरुङ अनि ‘हामी नेपाल’ देख्दा केही त गर्न सकिन्छ भनेर आशा जाग्थ्यो। खराबै खराबको बीचमा असल मानिस एकाध मात्र भेट्दा पनि आशाको नौलो बिहानी हुन्थ्यो। लाग्थ्यो जाजरकोट चाँडै तङ्ग्रिन्छ।

यसपटकको हिउँद जाजरकोट र रुकुमपश्चिममा निकै चिसो भएर आयो। तर बालुवाटार अझै न्यानै छ। सरकार ढल्छ कि जोगिन्छ, को सरगर्मीमा रुमल्लिराखेको काठमाडौंले जाजरकोटलाई त पक्कै बिर्सिइसक्यो। तर त्यहाँ अझै धेरै काम गर्न बाँकी नै छ। सबैभन्दा मुख्य कुरा मानसिक स्वास्थ्यमा काम गर्न बाँकी नै छ। ढलेका घरहरु अझै उठिसकेका होलान् नहोलान् तर यदि त्यहाँका मानिसको मन चैं यो देशसँग ढल्यो भने, त्यसपछिको भूकम्पले बालुवाटार र सिंहदरबार भत्काउन कुनै बार, गते, मिति र समयको जोखाना पक्कै हेर्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?