+
+

फुटपाथ व्यवसायीको टाउकोमा महानगर प्रहरीको लाठी

नगर प्रहरी फुटपाथ व्यवसायीलाई भौतिक आक्रमण गर्ने तयारी सहित आएका थिए । आउने बित्तिकै जहाँ मन लाग्यो, त्यहीँ हान्न थालेका थिए ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० फागुन १७ गते १८:४०
महानगर प्रहरीको लाठी प्रहारबाट घाइते फुटपाथ व्यवसायी ।

१७ फागुन, काठमाडौं । बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरीको एक जत्थाले फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण गर्‍यो ।

फुटपाथ व्यवसायीका अनुसार करिब ५० नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो । एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् ।

अरू बेला सामान जफत गर्न खोज्दा घम्साघम्सी हुने भए पनि हिजो राति नगर प्रहरी सामान खोस्न नभई आक्रमण गर्ने उद्देश्यले नै आएको सामाजिक सञ्जालमा व्याप्त भिडियोमा देखिन्छ ।

बुधबार राति नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भए । नगर प्रहरीले पनि ५ प्रहरी घाइते भएको जनाएको छ ।

फुटपाथ व्यवसायी अगुवा कुमार सापकोटाका अनुसार नगर प्रहरीको आक्रमणबाट फुटपाथ व्यवसायी बद्री देवकोटा, नानीमाया बस्नेत, राधिका मैनाली, राधा डंगोल, अर्जुन भट्टराई र अर्का एक घाइते छन् । उनीहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न लगिएको थियो ।  चार नगर प्रहरी सामान्य घाइते भएका थिए भने एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको नगर प्रहरीले जनाएको छ ।

घाइते व्यवसायी भन्छन् : योजनाबद्ध आक्रमण भयो

‘हिजो अस्ति सामान जफत गर्न आउने नगर प्रहरीहरू आक्रमणमा उत्रे, भाग्न समेत भ्याइएन, लखटी लखटी कुटे,’ नगर प्रहरी आक्रमणबाट घाइते भएका अर्जुन भट्टराईले अनलाइनखबरसँग भने, ‘माघ ७ गते पनि उनीहरूले हाम्रो थुप्रै सामान खोसेर लगेका थिए । त्यसपछि  पौने ८ बजेतिर हामी सधैं थोरै–थोरै सामान ल्याएर बेच्ने गर्थ्यो । उनीहरूले पनि देख्दै आएका थिए । हिजो त जम्बो टोली आएर थर्काउन थाल्यो, हामी कुरा गर्नै लाग्दा अन्धाधुन्ध आक्रमण भयो ।’

उनले नगर प्रहरीहरू योजनाबद्ध आक्रमण गर्न आएको आरोप दाबी गरे । ‘५० जना जति फिल्डमा थिए, गाडीमा ३० जना जति थिए । गाडीमै ढुंगा, बाँसको लठ्ठी लिएर आएका रहेछन्,’ भट्टराईले भने, ‘कोही पुलमा सिभिल ड्रेस लगाएर बसेका थिए । सबैले एक्कासि आक्रमण गरे । केही साथीलाई समातेर गाडी लगेर लात्ताले टाउकोमा, पेटमा हाने ।’

भट्टराईको पनि भिडियो एक्सरे गरेर हेर्दा तीन ठाउँमा हड्डी भाँचिएको देखिएको छ । ‘सामान्य घाइते त कति भए भए, लछारपछारमा कति लडे, चोट नै देखिएकाहरू मात्रै अस्पताल गएका हुन् । हामीलाई त मान्छे नै होइन, किरा मकौडा सोच्छन नगर प्रहरीहरू,’ उनले भने, ‘केही फुटपाथ व्यवसायीले हात जोड्दा समेत नगर प्रहरीले चड्कन हाने ।’

नगर प्रहरीले फुटपाथ व्यवसायीलाई आक्रमण गरेपछि कुरा छल्न प्रतिकार गरेको तर्क गरेको व्यवसायी सापकोटा बताउँछन् ।

‘उहाँहरूको एक प्रहरी सामान्य घाइते भएका हुन् । हाम्रा साथीहरू घाइते भएपछि आफूहरू पनि घाइते भएको भन्दै उनीहरू नाटक गरिरहेका छन्,’ सापकोटाले भने । फुटपाथ व्यवसायीलाई आक्रमण गरेपछि सस्तो लोकप्रियता पाउने गरेकाले महानगर प्रहरी प्रमुख राजु पाण्डेले ‘स्टन्ट’ गरेको उनको आरोप छ ।

ऐन विपरीत नगर प्रहरीको काम

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले कानुनी रूपमा कसैलाई पिट्न पाउँदैनन् । महानगरपालिकाले ११ साउन २०८० मा  राजपत्रमा प्रकाशित गरेको ‘काठमाडौं महानगरपालिका महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको, महानगर प्रहरी ऐन २०८०’ को परिच्छेद ३ मा उल्लेख भएको काम, कर्तव्य र अधिकारमा नगर प्रहरी बल प्रयोग गर्न सक्ने व्यवस्था छैन ।

तर, काठमाडौं नगर प्रहरीले लाठी चार्ज गर्ने गरेको छ । सहरी व्यवस्थापनको जिम्मेवारी पाएको नगर प्रहरीलाई पक्राउ गर्ने अधिकार समेत छैन ।

आफ्नै ऐन लत्याएर महानगर प्रहरीले लाठी चार्ज गरेर घाइते भएका फुटपाथ व्यवसायीलाई अस्पताल नलगी सिधै नेपाल प्रहरीको टेकुस्थित चौकी पुर्‍याएको थियो ।

‘न्यूनतम मानवीय संवेदना समेत नदेखाइ घाइतेहरूलाई टेकु प्रहरीमा लगेर बुझाइयो,’ फुटपाथ व्यवसायी कुमार सापकोटा भन्छन्, ‘हामी पुगेपछि उपचारका लागि वीर अस्पतालमा लगेका हौैं ।’

सापकोटाले कानुन उलंघन गर्दै महानगर प्रहरीले गरेको आक्रमणपछि मात्रै नेपाल प्रहरी आएको बताए । ‘हाम्रा साथीहरूले सामान जोगाउन नभई ज्यान जोगाएर भाग्नु परेको थियो,’ उनी भन्छन्, ‘नगर प्रहरी फुटपाथ व्यवसायीलाई भौतिक आक्रमण गर्ने तयारी सहित आएका थिए । आउने बित्तिकै जहाँ मन लाग्यो, त्यहीँ हान्न थाले ।’

महानगरपालिकाले बनाएको ऐनको कुनै पनि बुँदामा नभएको कानुन हातमा लिएर नगर प्रहरी भौतिक आक्रमणमा उत्रेको देखिन्छ । महानगर प्रवक्ता समेत रहेका १७ वडाका अध्यक्ष नविन मानन्धरले घटनाबारे जानकारी नभएको भन्दै  पन्छिए ।

महानगरपालिका प्रशासन विभाग प्रमुखसमेत रहेका सहायक प्रवक्ता दीपक अधिकारीलाई घटनाबारे जानकारी लिन सम्पर्क गर्दा उनको मोबाइल फोन अफ छ ।

महानगर प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग सोधपुछ गरे पनि अन्य थप केही निर्देशन दिएका छैनन् । परियारले  घटनाबारे जानकारी माग्दा प्रतिरक्षाका लागि चार्ज गर्नुपरेको भन्दै पाण्डेले जवाफ दिएका थिए ।

आक्रमणको प्रतिरक्षा हो : पाण्डे 

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने प्रतिरक्षाका लागि लाठी चार्ज गर्नुपरेको तर्क गरे ।

‘नगर प्रहरीलाई मान्छे पिट्न पाउने अधिकार छ ?’ भन्ने प्रश्नमा पाण्डेले भने, ‘फुटपाथ व्यवसायीहरूले आक्रमण गरेपछि के गर्नु त ? हामीले प्रतिकार मात्रै गरेका हौं । हामीले घाइतेलाई होइन, आक्रमण गर्नेहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हौं ।’

उनले ‘भिडियो खिच्नेले पनि नगर प्रहरीले चार्ज गरेको मात्रै खिचेको’ भन्दै नगर प्रहरीलाई भएको हमला बाहिर नआएको जिकिर गरे ।

‘हामीलाई हमला भएको कसैले नदेख्ने उनीहरूलाई हामीले धपाउँदा बबण्डर हुने ? उनीहरू पनि हामीलाई आक्रमण गर्न योजनाबद्ध ढंगले लागेको थिए,’ उनले दाबीसाथ भने ।

नेपाल प्रहरीको काम किन नगर प्रहरीले गरेको भन्ने प्रश्नमा उनले घटना हुँदा नेपाल प्रहरी आइनसकेको बताए । ‘नेपाल प्रहरी घटना भएको एकछिनमा आएको हो, हामीले कानुन हातमा लिएको हुँदै होइन,’ पाण्डेले भने ।

घट्नामा संलग्न नगर प्रहरीलाई कारबाहीको माग

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ केन्द्रीय समितिले घटनामा नगर प्रहरीको गल्ती रहेको भन्दै महानगरपालिकाले कारबाही गर्नुपर्ने माग गरेको छ ।

‘आक्रमण गर्नेलाई  तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौं महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नुपर्छ,’ संघ अध्यक्ष माया गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा छ, ‘महानगरले घाइतेको उपचार गर्नुपर्ने, खोसिएका सामान फिर्ता गर्नुपर्छ ।’

यस्तै सन्ध्याकालीन बजार व्यवस्थापन महानगरले गर्नुपर्ने भन्दै संघले महानगरभित्र सस्तो नागरिक बजार व्यवस्था गर्न, श्रम डेस्क व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनका लागि संघसहित सरोकारवाला सम्मिलित कार्यदल गठन  गर्न पनि माग गरेको छ ।

सहमति रछ्यानमा फालेर बालेन हिंसा गर्दैछन् : अभियन्ता ईः

फुटपाथ व्यवसायी र साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापनका लागि आवाज उठाउँदै आएका अभियन्ता ईः ले महानगरपालिका हिंसाको बाटोमा हिँडेको बताएका छन् ।

महानगरभित्रको फुटपाथ व्यवस्थापनका लागि आन्दोलन गरेका ईः ले आफूसँग भएको सहमति रछ्यानमा फालेर सडक व्यवसायीमाथि हिंसा गरेको बताएका हुन् ।

‘बालेनले सडक व्यवसाय व्यवस्थापन गर्ने आफ्नै चुनावी वाचा कार्यान्वयन हुने किसिमले काठमाडौं महानगरपालिकासँग भएको ४ बूँदे सहमतिपछि बिहान ८ बजे अगाडि र बेलुकी ७ बजे पछाडि आवातजावत अवरोध नहुने ठाउँमा सडक व्यवसायलाई केही सहजीकरण भएको थियो,’ उनले भनेका छन्, ‘नगर प्रहरीले यातना नदिने आश्वासन प्राप्त भएको थियो । तर, केही समययता त्यो सहमति र त्यसको आशय रछ्यानमा फाली सडक व्यवसायीमाथि हिंसा र सामान जफत गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।’

‘राति ७ बजेपछि दुई छाक टार्न सुन्धाराको खाली सडक छेउमा उद्यम  गरिरहेकामाथि एक्कासि सामान खोसेर कुटपिट किन ?’ भन्दै प्रश्न गरेका ईः ले नगर प्रहरीले अपराध गरिरहेको बताए ।

उनले गरिबमाथि अन्याय हुँदा संघ सरकार, सांसदहरू नबोलेको भन्दै धनीमाथि डण्डा प्रहार हुँदा मात्रै बोल्ने ? भन्दै प्रश्न गरेका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?