+
+

विश्वकप छनोट : बहराइनसँग घरेलु मैदानमा खेल्ने अवसर गुमाउँदा नेपाललाई के घाटा हुन्छ?

‘नेपालले घरेलु मैदानमा विश्वकप छनोट खेल्न नपाएकोमा एक अर्कालाई दोष दिने भन्दा पनि अब यो घटनाबाट पाठ सिकेर ४०-५० हजार दर्शक क्षमताको रंगशाला बनाउनेतिर जोड दिनुपर्छ ।’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन १८ गते २२:०८

१८ फागुन, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले आउने ८ चैतमा बहराइन विरुद्ध घरेलु मैदान दशरथ रंगशालामा खेल्ने तालिका थियो । त्यसपछि १४ चैतमा बहराइनमा गएर खेल्ने तालिका छ ।

तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रुपमा रहेको दशरथ रंगशालको अवस्था ठिक नहुँदा नेपालले घरेलु मैदानमा बहराइनविरुद्ध खेल्न नपाउने भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघले एक विज्ञप्ती जारी गर्दै रंगशालमा अन्य खेलकुद गतिविधिहरु भएको र एएफसीको प्रतिनिधिको निरिक्षणपछि रंगशाला फुटबल खेलाउन लायक नभएको जानकारी आएकाले नेपालको खेल ८ चैतमा रंगशालमा नहुने जानकारी गरायो ।

धेरैका लागि यो अप्रत्यासित जस्तो लागे पनि फुटबलसँग नजिक रहेका र दशरथ रंगशाल वरपर हुनेहरुका लागि यो नयाँ विषय थिएन ।

बहराइन फुटबल संघकै प्रतिनिधिले आएर दशरथ रंगशालको निरीक्षण गरेर गएपछि उनीहरुले यस्तो मैदानमा खेल्न नसकिने भन्दै एएफसीमा जानकारी गराएका थिए । त्यसपछि आएका एएफसीका प्रतिनिधि मिन्दु दोर्जे लगायतले दशरथ रंगशालको निरीक्षण गरेर एएफसीमा प्रतिवेदन बुझाएका थिए ।

त्यो प्रतिवेदनका आधारमा एएफसीले दशरथ रंगशाला खेल हुन योग्य नरहेको जानकारी गराएपछि एन्फाले नेपालको खेल रंगशालमा नहुने आधिकारिक रुपमै सार्वजनिक गरेको हो ।

नेपालले घरेलु मैदानमा सिमित मात्रै अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँछ । फिफा विश्वकप र एएफसी एसियन कप छनोट बाहेक नेपालले घरेलु मैदानमा खेल्ने भनेका केही अन्तर्राष्ट्रिय खेल मात्र हुन् । यस बाहेक साफ च्याम्पियनसिप थ्री नेसन्स कप जस्ता प्रतियोगिता आयोजना गर्दा पनि अन्तर्राष्ट्रिय खेलहरु हुन्छ ।

सिमित रुपमा घरेलु मैदानमा अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने अवसर पाउने नेपालले त्यो अवसर पनि गुमाएको छ । यसअघि दशरथ रंगशालमा पुनर्निर्माको अवस्थामा रहँदा सन् २०१९ मा नेपालले विश्वकप छनोटकै कुवेत विरुद्धको खेल भुटानको थिम्पुमा गएर खेलेको थियो ।

अहिले फेरि त्यस्तै अवस्था आएको छ । तर यो पटक नेपालले आफ्नै गल्तीकै कारण बहराइन विरुद्धको होम म्याच घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

गल्ती कसको ?

एन्फाले दशरथ रंगशालमा बहराइन विरुद्धको खेल नहुने जानकारी सार्वजनिक गरेपछि अहिले यसमा गल्ती कस्तो भन्ने बहस उठिरहेको छ ।

दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद राखेपको मातहतमा छ भने यसमा फुटबलको गतिविधि एन्फाले सञ्चालन गर्छ ।

तर रंगशालामा पछिल्लो समय फुटबल गतिविधि मात्र नभएर अन्य खेलकुद गतिविधि, त्रिविको दिक्षान्त समारोह, विभिन्न स्कूलका वार्षिक कार्यक्रम, सांगितिक कार्यक्रमदेखि रग्वी खेलहरु समेत हुँदै आएका छन् ।

रंगशालमा प्रयोग गर्नका लागि राखेपलाई जानकारी गराउनुपर्ने हुन्छ । विश्वकप छनोट जस्तो खेलका लागि छोटो समयमा मैदान तयार पार्न कठिन हुने भएकोले एन्फाले यसअघि नै राखेपलाई जानकारी गराउनुपर्थ्यो ।

तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले यसबारे एन्फाले औपचारिक जानकारी नगराएको माग्न आउनेहरुलाई रंगशाला उपलब्ध गराएको बताए ।  ‘विश्वकप छनोट जस्तो खेल हुने भएपछि एन्फाले प्रिइन्फर्म गराएको भए त्यही अनुसार तयार हुन्थ्यो । हामीलाई जानकारी नै छैन,’ घिसिङले भने, ‘रंगशालमा धेरैजसो फुटबलकै लागि प्रयोग भइराखेको छ । त्यसैले विश्वकप छनोटका लागि कुन अवस्थामा मैदान चाहिने जानकारी भएन ।’

एन्फा पदाधिकारीले भने राखेपलाई वर्षैभरीको कार्यक्रमबारे जानकारी गराएको दाबी गरेका छन् ।

एन्फा महासचिव किरण राईले मैदान मर्मतको योजनासमेत राखेपमा जानकारी गराएको बताए । ‘हामीले वर्षदिनभरीको गतिविधिबारे राखेपलाई मिति पठाएको छौं, मैदान मर्मतको योजना समेत पठाएको हो । हामीले एक महिनाअघि नै जानकारी गराएका थियौं यी गेमहरु छन् भनेर ।’

राईले मुख्य रुपमा फुटबलकै गतविधि हुने स्थानमा अन्य खालका गतिविधिहरु आयोजना गर्दा मैदानको अवस्था खराब भएकोले तत्काल त्यसलाई मर्मत गर्न कम समय भएको बताए । ‘दशरथ रंगशालमा मल्टी प्रपोज स्टेडियम हो । राखेपलाई पनि अन्य कामहरु गर्नुपर्ने बाध्यता होला । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्नु ठिक भए पनि अन्य विभिन्न खेल गतिविधि भइरहेको छ । खेलकुद भन्दा बाहिर सांगिति कन्सर्टदेखि स्कुलका कार्यक्रमहरु पनि भइरहेको छ । त्यसले गर्दा पनि समस्या भएको हो ।’

महासचिव राईले रंगशालामा आफ्नो स्वामित्वमा नभए पनि मर्मत लगायत काममा एन्फाले खर्च गरिरहेको बताए । ‘हाम्रो स्वामित्वमा रंगशाला छैन । तर खर्च मेन्टिनेन्स गरिराखेका हो । त्यहाँ सामान्य कार्यक्रमहरु समेत हुँदा राखेपले हामीलाइ उपलब्ध गराउन ढिला भयो होला । हामीले मैदान मर्मत गर्न सकेनौं ।’

वरिष्ठ खेल पत्रकार निरन्जन राजवंशी भने एन्फाकै कमजोरीका कारण नेपालले घरेलु मैदानमा नेपालले खेल गुमाउनुपरेको बताउँछन् । उनले भने, ‘यसले गर्दा एन्फाले आफ्नो विश्वसनियता नै गुमाउँदै गएको छ । नेपालमा फुटबलमा माहोल बनाउन अवसर गुमेको छ ।’

एन्फा महासचिव राईले एक अर्कालाई दोष दिने भन्दा पनि अब यो घटनाबाट पाठ सिकेर ४०-५० हजार दर्शक क्षमताको रंगशाला बनाउनेतिर जोड दिनुपर्ने बताए । उनले भने, ‘नेपाल सरकारलाई राखेप मार्फत के भन्छु भने फुटबलको लागि ५० हजारको डेडिकेटेड स्टेडियमा नसोच्ने हो भने यो ससम्या सधैं भरी आइरहन्छ । मल्टी प्रपोजमा भर पर्दा यस्तो समस्या भोगिरहेका छौं । पूर्वाधार सरकार बाहेक हामीले  बनाउन सक्दैनौं ।’

मिस हुनेछ १२औं खेलाडी

दशरथ रंगशालमा खेल्दा नेपालले घरेलु मैदानसँगै दर्शकको साथ पाउदै आएको छ । दर्शकलाई १२औं खेलाडीको रुपमा समेत हेरिन्छ । जसले गर्दा टिमलाई पनि राम्रो खेल्न प्रेरित गर्छ ।

‘रंगशालमा खेल हुँदा दर्शक, फुटबल शुभचिन्तककको प्रत्यक्ष सपोर्ट हुन्थ्यो । दर्शकलाई १२औं खेलाडीको रुपमा लिइन्छ  र त्यो मिस हुने भयो’, एन्फा महासचिव राईले भने, ‘घरेलु दर्शककै समर्थकको कारण नतिजामा फाइदा हुन्थ्यो त्यो पनि मिस भयो ।’

यस्तै घरेलु मैदानमा खेल हुँदा टिकट राइटदेखि ब्रोडकास्टिङ राइटबाट हुने आम्दानी पनि नेपालले गुमाउने छ । ‘आर्थिक रुपमा पनि केही रिभेन्यु जेनेरेट हुन्थ्यो । त्यो पनि मिस हुने भयो’, महासचिव राईले भने ।

घरेलु मैदानमा खेल्नुपर्ने खेल खेलाउन नसक्दा यसले अन्तर्राष्ट्रियस्तरमा राम्रो सन्देश समेत जाँदैन । राइले भने, ‘दशरथ रंगशाला बाहेक अन्तर्राष्ट्रिय स्तरको अर्को रंगशालमा नहुँदा अन्तर्राष्ट्रिय समुदायमा पनि राम्रो मेसेज गएन । यसले देशलाई नै राम्रो भएन । यो घटनाबाट नेपाल सरकारले पाठ सिक्नुपर्छ र अर्को अन्तर्राष्ट्रिय रंगशालमा बनाउनुपर्छ ।’

राईले विश्वकप छनोट अन्तर्गत अब युएईसँग घरेलु मैदानमा हुने खेल भने नेपालमै गर्ने गरी तयारी गर्ने र अहिलेको खेल गर्न नसकेकोमा एन्फाले क्षमा माग्ने बताए । राखेप सदस्य सचिव घिसिङले पनि अब अर्को होम म्याच गुमाउने नहुनेमा सजग गराएका छन् ।

कहाँ हुन्छ नेपालको खेल ?

विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रमा नेपाल दोस्रो चरणमा समूह एचमा छ । नेपालले यसअघि युएईसँग अवे र यमनसँग होम म्याच खेलिसकेको छ ।

अब हुने नेपाल र बहराइनबीचको खेल समूहको तेस्रो खेल हो । ८ चैतको खेल दशरथ रंगशालमा नहुने भएपछि अब कहाँ हुन्छ भनेर धेरैलाई चासो छ । तर नेपालले कहाँ खेल्ने अहिलेसम्म तय भएको छैन ।

एन्फाले अब नेपालले यो खेल न्युट्रल भेन्युमा खेल्ने र नयाँ भेन्युको बारेमा छिटै जानकारी गराउने जनाएको छ ।

‘हामीले अब चाँडै नै भेन्युको घोषणा गर्नुपर्नेछ । र त्यसमा छलफल गरेर निर्णय गर्नेछौं,’ राईले भने ।

नेपालले होम म्याचपछि १४ चैतमा बहराइन गएर खेल्ने तालिका पनि छ । त्यसैले नेपालले होम म्याच पनि बहराइनमै खेल्ने सम्भावना समेत देखिएको छ । तर यसबारे कुनै निर्णय नभएको पनि महासचिव राईले बताए ।

समूह एचमा दुई खेल खेलिसकेको नेपाल दुवै खेलमा पराजित हुँदै अंक विहीन छ र अन्तिम स्थानमा छ । दुई खेल जितेको युएई ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै बहराइन र यमन दुवैले एक जित र एक हारको नतिजा निकाल्दै समान ३ अंक जोडेका छन् ।

दोस्रो चरणमा एसियाका ३६ राष्ट्रलाई ९ समूहमा विभाजन गरेर खेलाइएको छ । हरेक समूहको शीर्ष दुई स्थानमा रहने कूल १८ टोली विश्वकप छनोटको तेस्रो स्थानमा पुग्दै सिधै एसिया कपका लागि छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले भने एसियन कपको तेस्रो चरणको छनोट खेल्नुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?