+
+
कथा :

बाको खल्तीबाट पैसा चोरेपछि

फेरि-फेरि पनि चोर्न सक्छस् । अरू-अरू बदमासी पनि गर्न सक्छस् । कति पिट्नु ? कति हप्काउनु ? बरु मैले वास्तै गरिनँ भने त्यै एउटा गल्तीले तलाई शिक्षा दिन सक्छ । आत्म अनुशासनमा राख्न सक्छ । तँ पछिसम्म आत्म अनुशासनमा बस्न सक्छस् कि भनेर मैले कुनै प्रतिक्रिया देखाइनँ । बा मेरो कपाल मुसार्दै हाँस्नुभयो ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८० फागुन १९ गते १९:२८

बा ! हाम्रो नौ कक्षाका साथीहरू पिकनिक जाने भनेका छन् । म पनि जाऊँ ? बा-आमा हाँस्दै गफ गरिरहेको मौका छोपेर मैले सोधें ।

के रे ? बाले नसुने झैं गर्नुभयो ।

पिकनिक जाउँ भनेर सोधेको छ, छोराले । सुनेर पनि नसुने झैं गर्ने स्वाङ्गी क्या ! आमा भान्छातिर लाग्नुभयो ।

डराउँदै सुस्तरी मैले दोहोर्‍याएँ । बा, साथीहरू पिकनिक जाने भनेका छन्, म पनि जाऊँ ?

पढ्न छोडेर कता पिकनिक जाने हो ? त्यसै जाने त होइन होला । पैसा चाहिएला । कताबाट ल्याउने पैसा ? बाले हेडसरले पनि जाँच्न नसक्ने गरी प्रश्नै प्रश्न भरिएको उत्तर दिनुभयो ।

म त रन्न भएँ । बालाई पैसा निकाल्न कठिन थियो । ठूलो परिवार, ठूलो खर्च, सानो आम्दानी । स्कुल पढ्ने मात्रै हामी सात जना थियौं । हाम्रो खेती किसानी थियो । स्कुल बिदा परेको बेला र साँझ बिहान हामी सबै खेतीपातीको काम गर्दथ्यौं । अन्नबाली उब्जाएर बेचेको पैसाले हाम्रो गुजारा चल्दथ्यो ।

बाको गोलमोटल जवाफले म आमाको शरणमा गएँ ।

हाम्री आमा, कति राम्री । साडीको फेर समात्दै मैले आमालाई फकाउन खोजें ।

कैलेदेखि नि, छोरा ? आमाले हाँस्दै सोध्नुभयो ।

आमा म जाउँ ? बा, जा पनि भन्नुहुन्न, नजा पनि भन्नुहुन्न । मैले आमासँग लाडिदै भनें ।

जा, मैले पैसा दिने होइन क्यारे ! आमाले जिस्कँदै भन्नुभयो ।

बुढीमाऊ, हजुरको पेवा होला नि ! मामाघर हजुरबा आमाले दिएको । मैले आमाको कम्मरमा झुन्डिएको चावीको झुत्तो समाउँदै सोधें ।

पेवा जति तेरो बाले माग्दै लैजाँदै सिध्याइसक्नुभयो । दिन्छु भन्नुहुन्छ, कहिल्यै दिनुहँुदैन । तरकारी काट्दै आमाले भन्नुभयो ।

मामाघर जानु न त, फेरि । मैले आमालाई सल्लाह दिएँ ।

दिन्छन् सधैं, तेरा मामाहरूले । हान्छन् चिर्पटो उठाएर । आमाले अँगेनामा दाउरा झोस्दै भन्नुभयो ।

बासँग माग्नु न त, उसो भए । दिनुहुन्छ कि ? मैले आमालाई सम्झाएँ ।

विचरा, के माग्ने ? तिमीहरूलाई पढाउने भन्दै यता र उता तानतुन पारेर व्यवहार मिलाइराख्नुभएको छ । बालाई कति गाह्रो छ । तिमीहरू बुझ्दैनौ । आमा थोरै भावुक हुनुभयो ।

म आमाको काखमा घोप्टिएँ ।

बाआमालाई गाह्रो भए पनि छोराछोरीले राम्रो खान, लाउन, पढ्न, रमाउन त पर्‍यो नि Û होइन त ? आमाले मेरा कपाल मुसार्दै भन्नुभयो ।

हो नि, आमा । म जर्‍याकजुरुक उठें ।

बा टुप्लुक्क आइपुग्नुभयो । खुइयय, गर्दै चर्कटी तानेर पिंढीमा बस्नुभयो । आमाले करुवामा पानी र गिलास लगेर बाको अगाडि राखिदिनुभयो । बा कलकल्ती पानी पिउन थाल्नुभयो, ठाडो घाँटी लगाएर । आमा बाको छेउमा उभिरहनुभयो ।

खै गहुँको भाउ नै छैन । ६-६ महिना रगत-पसिना बगाएर उब्जायो कौडीको भाउमा बेच्नुपर्ने । आफ्नो बालीनालीको भाउ त आफैं राख्न पाए पो ? किसानले हात बाँधेको दिनमा कसको पो भविष्य छ र ? बाको अनुहारमा चिन्ताका रेखाहरू दौडिएको प्रष्ट देखिए ।

बाले गहुँको भाउ राम्रो पाए त मेरो काम पनि बन्ने थियो कि ? हिजो आँगनमा झारेको गहुँको थुप्रो मलाई हेरिरहेको थियो । म पिकनिक जाने कुरामा जिद्दी गरिरहन पनि सकिनँ । गौचरनतिर लागें, खेल्न साथीहरूसँग ।

भोलिपल्ट, काखीमा किताब च्यापेर चप्पल पड्काउँदै म स्कुल पुग्दा साथीहरू चउरमा थुपि्रएर पिकनिक जानेहरूको नाम टिपिरहेका रहेछन् ।

ल सानु पनि आइपुग्यो । साथीहरूका औंला मतिर ठडिए ।

मेरो निधो भएको छैन । साथीहरूसँग बस्दै नबसी म क्लासतिर लागें ।

किन ? किन ? साथीहरूका प्रश्नहरू मेरो कानमा गुन्जिरहे ।

म नौ पास भएर दश पुगें । दश कक्षामा पनि साथीहरूले पिकनिक जाने प्रस्ताव गरे । मलाई एक वर्ष अगाडि बाको खल्तीबाट पैसा चोरेको सम्झना आयो । बासँग पैसा माग्ने साहस र चोर्ने दुस्साहस दुवै आएन । हामीले आफ्नो बद्मासी, कुलतलाई अरूबाट त लुकाउन सकिंदोरहेछ तर, आफैंबाट लुकाउन सकिंदोरहेनछ । सम्झ्यो कि त भत्भती पोल्ने

स्कुलबाट घर फर्किंदा आँगनमा गहुँको थुप्रो थिएन । बाले गहुँ बेच्नुभएछ कि क्या हो ! आमा गहुँ बेचेको हो ? म रमाउँदै घरभित्र पसें । घर पुरै धुवाँले भरिएको रहेछ ।
हो । अँगेनामा आगो फुक्दै आमाले भन्नुभयो ।

हजुरको सास नै पुग्दैन । खै छोड्नुस्, म फुक्छु । आमाको हातबाट बाँसको ढुंग्री लिंदै मैले भनें ।

आगो बालेर बाहिर निस्कँदा बा पनि टुप्लुक्क आइपुग्नुभयो । मेरा आँखा बाको खल्तीमा पुगे । बाको कमेजको खल्ती पुट्ट उठेको थियो । बाहिरबाटै नोट छर्लङ्ग देखिन्थे । लोभले मेरो मुखबाट तप्प र्‍याल चुहियो ।

कुन वेला पिकनिकको कुरा उठाउन ठिक हुन्छ ? घरको एउटा कुनाबाट म बाको मूड पढ्दै थिएँ, किताब छोडेर ।

बा, म पिकनिक जाउँ । भात खाने बेलामा आमा पनि सँगै हुनुभएकाले मैले कुरो उप्काएँ ।

केही नबोली भात चाटचुट पारेर बा उठ्नुभयो । म ट्वाल्ल परें । आमा भने मुसुमुसु हाँसिरहनुभएको थियो ।

बुढीमाउ, म हजुरले भनेको केही पनि मान्दिनँ । छोरालाई आपत् परेको वेला पनि हाँस्ने । रुन्चेस्वरमा आमालाई धम्क्याउँदै म पनि उठें । बासँग रिस पनि उठ्यो । खाटमा थ्याच्च बसें र पिकनिक जाने उपायहरू खोज्न थालें ।

बा छिट्टै सुत्नुहुन्थ्यो । ओछ्यानमा पल्टिएपछि चाँडै नै निदाउने बानी थियो । आमा जुठोचुलो गरेर अबेर सुत्नुहुन्थ्यो । कोठामा पढे झैं गरेर म बा सुत्ने समय कुरेर बसें । केहीबेरमा बा घुर्न थाल्नुभयो । म विरालाको चालमा बाको छेउमा पुगें । कमेज खोज्न थालें । बाले कमेज फुकालेर दलानको काँटीमा झुन्ड्याउनु भएको रहेछ । बा एकनास घुरिरहनुभएको थियो । मैले कमेजको पकेटबाट तीनवटा नोट सुस्तरी तानें र लुसुक्क बाहिर निस्किएँ । डिविया नेर लगेर हेरेको त एक एक सयका नोट रहेछन् । खुसीले फुरुङ्ग हुँदै नोटलाई म्वाइँ खाएँ । बा अझै घुरिरहनुभएको थियो । ‘फु’ गरेर डिविया निभाइदिएँ र खाटमा पल्टिएँ । पिकनिक जाने खुशीले रातभर राम्रोसँग निद्रा पनि परेन ।

बिहान बिउँझिएपछि बाले पैसा हराएको कुरा उठाउनुहोला । मलाई शंका गर्नुहोला भन्ने लाग्यो । म सिरकभित्र गुट्मुटिएरै बाहिर हेरिरहें । बाले भैंसी दुहेर दूध भदालोमा तताउनुभयो । आमाले ठेकीमा दही र मदानी राख्नुभयो । बा मथ्न थाल्नुभयो । म लुसुक्क उठेर बाहिर निस्कें । बिहानै घाम रनक्क रन्केका थिए । शायद, घाम पनि मदेखि रिसाएका होलान्, पैसा चोर भनेर । मलाई के गरुँ कसो गरुँ भयो । कोठामा पढे झैं गरेर आमाले भात खान कुन वेला बोलाउनुहोला भनेर कुरिरहें ।

बाबु नानी भात खान आओ । आमाको वाक्य भुईंमा खस्न नपाउँदै म भान्छामा पुगें । आमाले भात पस्किदिनुभयो ।

ला तातो घिउ । ताई नै मेरो नजिक ल्याएर भातमा चरर्र पार्दै बाले घिउ हालिदिनुभयो । मलाई घिउ एकदम मन पथ्र्यो । सपासप भात खाएर उठें । किताब च्यापेर स्कुलतिर लागें । बाले पैसा हराएको थाहा नपाउँदै स्कुल जान सकेकोमा म खुशी भएँ ।

साथीहरूलाई तीन सय बुझाएर नाम टिपाएँ । दिनभर पिकनिक जाने रमाइलोले चपक्क समात्यो । स्कुल छुट्टी भएपछि बाले पैसा हराएको थाहा पाउनुभयो होला भनेर मन ढक्क फुल्यो । घरतिर पाइला नै बढेनन् । स्कुलबाट जति जति घरतिर जान्थें, उति उति मलाई ‘रिसाउनुभएको बाको अनुहार’ सम्झना आउन थाल्यो ।

जेठी बज्यै, मलाई नसोधी मेरो खल्तीबाट पैसा झिकेको मलाई कत्ति पनि मन पर्दैन । बा आमासँग रिसाइरहनुभएको थियो ।

जेठा बाजे, हजुर बुढो हुनुभएछ अब । आमा हाँस्दै बालाई भनिरहनुभएको थियो ।

सानुले झिक्यो होला क्या पैसा, पिकनिक जाने भन्थ्यो नि ! बा-आमाले मलाई दोषी ठहर्‍याएर पर्खिरहनुभएको सम्भिmएँ र झल्यास्स भएँ । मूल बाटो छोडेर बारीतिर लागें र पछाडिको ढोकाबाट लुसुक्क घरभित्र छिरें ।

बाटो बिर्सिस् कि के हो ? आमाले जिस्क्याउनुभयो ।

बा खोइ आमा ? मैले विस्तारै सोधें ।

खोइ खोइ, बिहानै निस्किनुभएको फर्किनुभएको छैन । आमा चामलको पुवा तताउन थाल्नुभयो । भाइबहिनीहरू पनि स्कुलबाट फर्किए । आ-आफ्नो भाग लिएर खायौं । भाइबहिनी खेल्न गए । म आमाले केही भन्नुहोला कि भन्ने सोचेर आमाको छेउ बसिरहें ।

के भो तँलाई आज ? पिकनिक जाने तेरो मन अझै उचालिइरहेको छ ? आमाले मेरो टाउको उठाउँदै सोध्नुभयो ।

साथीले पैसा हाल्दिन्छ रे ! पिकनिक त जाने भएँ म । मेरो मनबाट झ्वाट्ट आयो ।

राम्रै भयो । आमाले थप केही सोध्नुभएन ।

घर फर्किएपछि बाले गाली गर्नुहुन्छ । पिट्न बेर पनि हुन्न । म तयार भएर मणि हराएको सर्प जस्तो झोक्राइरहें । पिकनिक नगए पनि हुने नि ! बालाई घरव्यवहार चलाउन कति गाह्रो छ । मैले बाको पैसा चोर्नै हुँदैनथ्यो । मन शिकारीले बाण हानेर झरेको चरा मर्नु अगाडि छट्पटाए झैं छटपटाइरहृयो ।

साँझ पर्‍यो । भाइबहिनीहरूले लालटिन बाले र पढ्न थाले । मलाई पढ्न पनि मन लागेन । बा आउने बाटो हेरेर बसिरहें । झमक्क अँध्यारो भयो ।

सानु ! बाले आँगनबाटै बोलाउनुभयो ।

हजुर । म डराई-डराई बाहिर निस्किएँ ।

साइकल किनें नि मैले, हेर त । बासँगै नयाँ साइकल आँगनमा ठिङ्ग उभिएको थियो ।

खै, खै । भाइबहिनीहरू पनि बाहिर आए । हामीले नयाँ साइकललाई मुसार्‍यौं र भित्र राख्यौं । बाले आफ्नो पैसा हराएको कुरै गर्नुभएन ।

बुढाको खल्तीमा गहुँ बेचेर आएको धेरै पैसा थियो । तीन सय झिकेको पत्तै भएन । म ढुक्क भएँ । तर मन चङ्गा हुन सकेन, जाँतो बोकेर हिंडेको जस्तो भइरहृयो ।

बाले खल्तीबाट नसोधी पैसा झिकेकोमा केरकार गरे पनि हुन्थ्यो नि ! तँ पिकनिक जान्छु भन्थिस् तैंले चोरिस् पैसा भनेर हप्काए पनि हुने नि ! थप्पड हाने पनि हुने नि ! बाले । पैसा चोर्दा पनि नहप्काउँदा र केही पनि नभन्दा मलाई अनौठो र असहृय अनुभूति भइरहेको थियो ।

बाले पैसा हराएको कुरै गर्नुभएन । बरु बेला मौकामा नारायणगढ जाँदा के ल्याइदिउ“m तिमीहरूलाई भनेर सोध्नुहुन्थ्यो ।

पिकनिक जाने दिन पनि आयो । म पिकनिक गएँ । ‘चोरेर पैसा बुझाएको हुँ’ भन्ने गल्ती भावले मलाई पिकनिकमा पनि रमाउन दिएन । थई-थई मात्र भइरहृयो, दिनभर ।

सानु तेरो पढाइ कस्तो छ, आजकल ? पिकनिकबाट फर्कंदै गर्दा बाले सोध्नुभयो ।

राम्रो छ, बा । बाले अरू पनि केही सोध्नुहुन्छ कि भनेर म पर्खिरहें ।

थप केही पनि सोध्नुभएन । पिकनिकको लागि पैसा कहाँबाट ल्याइस् सानु भनेर किन सोध्नुहुँदैन बा ? म बेचैन भइरहें । बाको नगिच बस्दा पैसा चोरेको तातोले भत्भती पोल्दथ्यो । नगिच बस्न र मनका कुरा गर्नै सक्दिनथें । डरले पैसा चोरेर पिकनिक गएको हुँ नि, भन्न पनि सकिनँ । उफ् !

म नौ पास भएर दश पुगें । दश कक्षामा पनि साथीहरूले पिकनिक जाने प्रस्ताव गरे । मलाई एक वर्ष अगाडि बाको खल्तीबाट पैसा चोरेको सम्झना आयो । बासँग पैसा माग्ने साहस र चोर्ने दुस्साहस दुवै आएन । हामीले आफ्नो बद्मासी, कुलतलाई अरूबाट त लुकाउन सकिंदोरहेछ तर, आफैंबाट लुकाउन सकिंदोरहेनछ । सम्झ्यो कि त भत्भती पोल्ने !

आशा वा लोभ गरेको वस्तु वा अवसर प्राप्त नहुँदा दुःख हुन्छ । मन भट्किन थाल्छ । यसकारण इच्छा-आकांक्षा नबढाउनु नै श्रेयस्कर रहेछ । मैले पिकनिक नजाने अठोट गरें । साथीहरू पिकनिक गए ।

सानु, तेरा साथीहरू पिकनिक गएछन् । तँ गइनस् । बाले साँझतिर सोध्नुभयो ।

म गइनँ बा, होमवर्क गर्नुथियो । मैले छोटो उत्तर दिएँ ।

दिनहरू बितेर गए । मैले एसएलसी पास गरें । वीरेन्द्र क्याम्पस भरतपुरमा आईए पढ्न थालें । बाले किन्नुभएको साइकलमा गीतानगरदेखि भरतपुरसम्म आउने-जाने गर्दथें । म परिपक्व हुँदै गएँ । तर पनि बाको खल्तीबाट पैसा चोरेपछि उहाँको अगाडि कहिल्यै आत्मविश्वासी बन्नसकेको थिइनँ । एकदिन, क्याम्पसबाट घर पुग्दा बा-आमा पिंढीको खाटमा बसिरहनुभएको थियो । भाइबहिनीहरू आँगनमा खेल्दै थिए । म बाआमाको छेउमा गएर बसें ।

जा हातमुख धोएर आइज् । आमाले भुटेको मकै भटमास र मोही ल्याइदिनुभयो ।

बाआमासँगै बसेर मकै खान थालें । पुराना कुराहरू हुन थाले । आमाले बरण्डाभार जंगलजाँदा अजिंगरमाथि सुकेको मुडो भनेर भारी बिसाएको रमाइलो कथा सुनाउनुभयो । बाले पनि कोइराला फाँटको जंगलमा भालुले लखेटेको बेला ओरालोतिर भागेर ज्यान जोगिएको अनुभव सुनाउनुभयो । मलाई पनि खस्खस् भयो ।

बा ! नौ कक्षामा पढ्दा पिकनिक जान मैले हजुरको खल्तीबाट तीनसय झिकेको पत्तै पाउनुभएन नि, हजुरले । मैले पनि हाँस्दै भनें ।

मेरो पैसा झिकेको मैले थाहा नपाउने, लट्ठु ? थाहा पाएँ नि ! तँसँग रिस उठ्यो । चुट्न मन लाग्यो । दाह्रा किटेर संयम भएँ । तँलाई गाली गरुँ, पिटुँ बिर्सिहाल्छस् ।

फेरि-फेरि पनि चोर्न सक्छस् । अरू-अरू बदमासी पनि गर्न सक्छस् । कति पिट्नु ? कति हप्काउनु ? बरु मैले वास्तै गरिनँ भने त्यै एउटा गल्तीले तलाई शिक्षा दिन सक्छ । आत्म अनुशासनमा राख्न सक्छ । तँ पछिसम्म आत्म अनुशासनमा बस्न सक्छस् कि भनेर मैले कुनै प्रतिक्रिया देखाइनँ । बा मेरो कपाल मुसार्दै हाँस्नुभयो ।

बाको महान् सिद्धान्त अगाडि म नतमस्तक बनें । मन हलुका भयो ।

लेखकको बारेमा
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?