+
+

माओवादीले अर्थ सम्हाल्ने हल्लाले नेप्से परिसूचक उलटफेर

सोमबार ६ प्रतिशत बढ्दा मंगलबार साढे ३ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १९:३५

२२ फागुन, काठमाडौं । सोमबार केही मिनेटमै ६ प्रतिशत वृद्धिपछि सर्किट लागेर कारोबार स्थगित भएको सेयर बजार मंगलबार ७० अंक घट्यो । सत्ता गठबन्धनमा उलटफेरपछिका दुई दिनमा सेयरबजारमा भएको तीव्र उतारचढाव अर्थमन्त्री को बन्छ भन्ने अनुमानमा आधारित देखिन्छ ।

सोमबार एमाले नेता विष्णुप्रसाद पौडेल अर्थमन्त्री हल्ला चलेपछि सेयर बजार अनियन्त्रित रुपमा बढेको थियो । तर, मंगलबार अर्थ मन्त्रालय सरकारको नेतृत्व गरिरहेको माओवादीले नै राख्ने समाचार बाहिरिएपछि लगानीकर्ताको मनोबल घटेको विश्लेषण लगानीकर्ताहरुले गरेका छन् ।

सोमबार केही मिनेटमै उच्च दरले बढ्दा सर्किट ब्रेक लागेको बजार मंगलबार घट्नु स्वाभाविक रहेको सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

‘अर्थमन्त्री र सरकार नै परिवर्तन हुँदा स्टक मार्केट प्रभावित हुनु स्वाभाविक हो, यस्तो बेला नेपालमा मात्रै नभई संसारभरका मार्केटमा प्रभाव पर्दछ,’ उनले भने, ‘लगानीकर्ताको मनोभावले बजार चल्ने हो, त्यसकै असर बजारमा पर्ने हो ।’

हिजोसम्म एमाले सरकारमा जाँदा अर्थमन्त्री पौडेल हुने र उनको नेपाल राष्ट्र बैंक नेतृत्वसँग तालमेल मिल्छ भन्ने बुझाइ धेरै लगानीकर्तामा रहेकाले बजारमा सकारात्मक सर्किट लागेको उनको तर्क छ ।

यद्यपि, सरकारी अधिकारीहरु भने सरकारमा जुन पार्टी आए पनि त्यसले राष्ट्र बैंकको नीतिमा खासै प्रभाव नपर्ने बताउँछन् ।

‘बजारप्रति कठोर बनाइएका राष्ट्र बैंकका नीतिलाई अब करेक्सन गर्दै लैजानुपर्ने बेला भएको छ, त्यसकारण एमाले सरकारमा आउँदा ‘ट्युनिङ’ मिल्न जान्छ र करेक्सन हुन्छ भन्ने बुझाइ हिजो थियो,’ अर्का लगानीकर्ता पिताम्बर खकुरेलले भने, ‘तर आज एकाएक अर्थ मन्त्रालय माओवादीले नै सम्हाल्ने चर्चा चल्यो, त्यसो हुँदा त खास परिवर्तन नहोला कि भन्ने संशय थपियो, जसले गर्दा आज बजार बढी नै घट्यो ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यसअघि एमाले सरकारमा रहेकै बेला नियुक्त भएका थिए ।

राष्ट्र बैंकले लिएका केही नीतिप्रति लगानीकर्ता असन्तुष्ट देखिँदै आएका छन् । मुख्यतः सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत हुनु, सेयर कर्जामा दिइने अधिकतम व्यक्तिगत कर्जा १५ करोड र संस्थागत कर्जामा २० करोडको क्याप राखिनुलाई लगानीकर्ताले रुचाएका छैनन् ।

‘बैंकमा तरलता बढी भएर राष्ट्र बैंकमा थन्क्याउनुपर्ने अवस्था हुँदा पनि सेयर बजारमा कर्जा जानै नदिने नीति लिइएको छ,’ खकुरेलले भने ।

एमाले सरकारमा आउँदैमा राष्ट्र बैंकले कुनै पार्टीले भनेअनुसार नीति बनाउँछ भनेर सोच्नु भ्रम मात्र हुने सम्बद्ध अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहिसकेका डा. गोपाल भट्ट गभर्नरले चाहँदैमा वा नचाहँदैमा राष्ट्र बैंकका कुनै नीति नबन्ने र टिमले नै प्रतिनिधित्व गरेर नीतिहरू तय हुने बताउँछन् ।

‘राष्ट्र बैंकजस्तो संस्थामा कुनै एक व्यक्तिले चाहेर मात्रै नीति बन्दैनन्, त्यसकारण कुनै राजनीतिक दलको भूमिका हुँदैन,’ उनले भने, ‘तर, जुन राजनीतिक पार्टीको सरकार हुँदा गभर्नरको पदबहाली हुन्छ, त्यसपछि गभर्नरलाई पनि त्यही पार्टी निकट ठानिन्छ । हरेक व्यक्ति एउटा पार्टीमा आस्था राख्ने होलान्, तर संस्था टिमले चल्ने हो ।’

हाल बजार न्यूनतम विन्दुमै रहेको र कतिपय कम्पनीको बजार मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल झरेको अवस्था रहेकाले बजारमा धेरै डराउनुपर्ने अवस्था नरहेको लगानीकर्ता बताउँछन् ।

‘अहिले कतिपय कम्पनीको सेयर मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल झरेको अवस्था छ, अर्थतन्त्रका वाह्य सूचकहरु मजबुत छन्, ब्याजदर घट्दै गएको छ, त्यसकारण यी पक्षले बजारलाई साथ दिएको छ,’ फुलेलले भने ।

बजार धेरै अंकमा बढेपछि भोलिपल्ट नाफा बुक हुने भएकाले पनि बजार घट्नु सामान्य रहेको लगानीकर्ता बताउँछन् । सोमबार कतिपय कम्पनीको मूल्य ८–१० प्रतिशत नै बढ्यो ।

आइतबारसम्म सेयर खरिद गरेकालाई त्यो वृद्धिले नाफा दियो, त्यसकारण पनि मंगलबार बिक्री चाप बढ्न गएको खकुरेल बताउँछन् ।

‘सोमबार धेरैले बेच्न चाहेर पनि सेयर बिक्री गर्न पाएनन् भने धेरैले किन्न चाहेर पनि किन्न पाएनन्,’ उनले भने, ‘यदि १५/२० मिनेटसम्म कारोबार अवधि लम्बिएको भए, त्यति धेरै दरले बढ्न पनि सक्दैनथ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?