+

पाँच कुरा, जसले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउँछ

२०८० फागुन  २३ गते १४:१५ २०८० फागुन २३ गते १४:१५
पाँच कुरा, जसले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउँछ

हिजोआज ‘इमोस्नल इन्टेलिजेन्स’ (भावनात्मक बुद्धिमत्ता)को बारेमा धेरै चर्चा हुने गर्छ । व्यक्तिले भावनालाई कसरी नियन्त्रण गर्ने र कहिले, कहाँ र कसरी व्यवहार गर्नेबारे ज्ञान दिन्छ ।

एकै समयमा भावनाप्रति संवेदनशील व्यक्तिलाई कुनै पनि परिस्थितिबाट बाहिर आउन धेरै गाह्रो हुन्छ ।  हामीभित्र र वरपर धेरै चीज छन्, जसमा ध्यान दिएन भने भावनात्मक रूपमा कमजोर भइन्छ ।

कुनै पनि क्षेत्रमा सफल हुन नकारात्मक भावनाहरू हटाउनुपर्छ । भावनात्मक रूपमा बलियो भइयो भने दैनिक कार्य राम्रोसँग गर्न सकिन्छ । साथै व्यक्तित्व विकास हुनसक्छ ।

भावनात्मक रूपमा कमजोर बनाउने कुरा

आफैमा विश्वास नगर्ने

बाल्यकाल वा सानै उमेरमा ठट्टा गर्ने, कुराकानीमा बेइज्जत गर्ने, आमाबुवाले बालबालिकालाई अरूसँग तुलना गर्ने र साथीभाइको अघि मजाक उडाउने आदि यस्ता अवस्थामा त्यो व्यक्तिमा हीनताबोधको भावना सिर्जना हुन्छ र जसकारण आत्मविश्वासको पनि कमी हुन्छ र ऊ भावनात्मक रूपमा कमजोर हुन्छ ।

अरूको कन्ट्रोलमा बस्ने

आत्मविश्वासको कमीले सधैं अरूको रायमा भर पर्ने र उनीहरूको सल्लाहअनुसार काम गर्ने व्यक्ति भावनात्मक रूपमा कमजोर हुन्छन् । अर्काको सल्लाहमा मात्र निर्णय गर्ने व्यक्तिले आफूले निर्णय लिन सक्दैनन् र सल्लाह दिने व्यक्ति नभएको अवस्थामा उसले कमजोर महसुस गर्छ ।

दिमागको सट्टा भावनामा आधारित निर्णय लिने

भावनालाई ध्यानमा राखेर निर्णय लिनु धेरै मामिलामा लाभदायी साबित भए पनि करिअर वा पेशाको हकमा भने फाइदाजनक हुँदैन । भौतिक चीजहरूको लागि, केवल व्यावहारिक सोच र तार्किक सोच उपयोगी हुनसक्छ । त्यसैले सबै निर्णय भावनात्मक रूपमा लिनु हुँदैन ।

जिम्मेवारी नलिने

डरका कारण जिम्मेवारीबाट भाग्ने मानिसहरूमा अरूको तुलनामा निराशावादी विचार हुने सम्भावना बढी हुन्छ ।  यस्ता विचारले व्यक्तिलाई समय-समयमा आफ्नो क्षमतामाथि शंका गर्न बाध्य बनाउँछ । जब एक व्यक्तिले आफूले गरेको गल्तीका लागि माफी माग्दैन, उसको जिद्दी स्वभावले उसको अरूसँगको सम्बन्ध बिगार्छ । जिम्मेवारी नलिने जिम्मेवारीबाट टाढा भाग्न खोज्ने व्यक्तिहरू पनि भावनात्मक रूपमा कमजोर हुन्छन् ।

आफ्नो बारेमा नकारात्मक कुरा गर्ने

कसैलाई विश्वास होस् वा नहोस्, मानिसलाई आफूमा विश्वास हुनु जरुरी छ । जो व्यक्तिको आफ्नै बारेमा नकारात्मक कुरा गर्ने, आफूलाई दोषी ठान्ने व्यक्ति भावनात्मक रूपमा कमजोर हुन्छन् ।

गर्भवस्थामा आमाको अवस्थाले पनि फरक पार्छ

भावनात्मक रुपमा बलियो हुने कुरा बच्चा जन्मिसकेपछि मात्र गरिन्छ । तर बच्चा जन्मिनुभन्दा अघि आमाको गर्भमा हुँदा गर्भवती महिलाले परिवारिक माया पाएकी छैनन्, खुसी छैनन् र भावनात्मक रुपमा कमजोर महसुस गर्छिन् भने बच्चामा पनि त्यसको प्रभाव पार्छ ।

भावनात्मक रूपमा बलियो बन्ने उपाय

जीवनमा अगाडि बढ्न वा संसारलाई सकारात्मक दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने व्यक्तिको वरिपरि हुने प्रयास गर्नुपर्छ । यसले आत्मविश्वास बढाउने र आत्मविकासको लागि पनि लाभदायक हुन्छ ।

माफ गर्न र अगाडि बढ्न सिक्नु भावनात्मक रूपमा बलियो हुने अर्को उपाय हो । जिम्मेवारी लिन सुरु गर्नुपर्छ र साना कुराबाट सुरु गर्न सकिन्छ । जस्तै, आफ्नै काम गर्ने वा गल्तीहरूको स्वामित्व लिने बानी पनि बसाउनुपर्छ ।

जसले हामीलाई चोट पुर्‍याएको छ, उसको अगाडि जान हामी डराउँछौं । यो कमजोर व्यक्तित्वको संकेत हो । चोट पुर्‍याउने व्यक्तिलाई आफ्नो विचार व्यक्त गर्न हिच्किचाउनु हुँदैन । यसो गर्दा भावनात्मक रूपमा बलियो भइन्छ ।

हरेक दिनलाई अवसरको रूपमा लिएर सकारात्मक काम गर्न प्रेरित हुनुपर्छ । जसले खुसी रहन र कठिन परिस्थितिहरूमा समाधान खोज्न सहयोग गर्छ । साथै भावनात्मक रूपमा बलियो हुन पनि सहयोग गर्छ । सीमाहरू तय गर्नुपर्छ र नाइँ भन्न सिक्नुपर्छ । सम्बन्धमा सीमा हुँदा व्यक्तिलाई भावनाहरू नियन्त्रण गर्न मद्दत गर्छ ।

तनाव र डिप्रेसनको समस्या छ भने आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसो गर्दा व्यक्ति भावनात्मक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो हुन्छ । योग, ध्यान, माइन्डफुलनेस पनि मानसिक स्वास्थ्य हेरचाह अन्तर्गत समावेश गर्न सकिन्छ ।

गर्भावस्थाको तीन महिनापछि आमाको गर्भमा नै बच्चाको मस्तिष्क विकास हुन्छ र आमाले कस्तो वातावरण पाउँछिन्, त्यसको असर बच्चामा पर्छ । त्यसैले गर्भवती महिलालाई विशेष हेरचाह दिइयो भने जन्मिने बच्चा भावनात्मक रुपमा बलियो हुन्छ ।

भावनाको कुरा गर्दा सकारात्मक भावना राख्नुपर्छ नकारात्मक भावना राख्ने हुँदैन भनिन्छ । कहिलेकाहीं बच्चा एकदमै रोयो डरायो भने उसलाई त्यस्तो गर्नु हुँदैन भनिन्छ । तर जीवनमा सकारात्मक र नकारात्मक दुवै भावना जरुरी हुन्छ । त्यसैले बालबालिकालाई नकारात्मक भावनाबाट बाहिर निस्किएर अगाडि बढ्न सिकाउनुपर्छ ।

भावना मानसिक स्वास्थ्य
गृष्मा पनेरु
लेखक
गृष्मा पनेरु
मनोपरामर्शदाता

पनेरु मनोपरामर्शदाता हुन् । उनी हाल काठमाडौंस्थित सर्वमाया हेल्थ केयर र सारथी फाउन्डेसन नेपालमा कार्यरत छिन् । उनले साइकोलोजीमा एमए गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय