 
																			निर्दलीय पञ्चायती व्यवस्थामा पार्टी खोल्न पाइएन भनेर बहुदलीय व्यवस्था ल्याइयो। पुराना दलमाथिको प्रतिबन्ध हट्यो। नयाँ दलहरू पनि भटाभट खुले। दल खुल्ने क्रम अहिलेसम्म जारी नै छ। बहुदलमा दल खुल्नु स्वाभाविक नै हो।
तर लोकतन्त्रको सर्वाङ्गीण विकासको लागि दल मात्र बहु भएर हुँदैन। बहुदल सँगसँगै बहुगुट पनि हुनुपर्छ। बहुगुट सँगसँगै बहुगिरोह पनि हुनुपर्छ। जतिसुकै मरनच्याँसे दल भए पनि त्यसभित्र गुट भयो भने मात्र लोकतन्त्र लिलिपुट हुनबाट जोगिन्छ। गुट सँगसँगै उपगुट र गिरोहको पनि आरोह हुनुपर्छ। नत्र लोकतन्त्रको अवरोह हुने पक्का छ।
बहुदलीय व्यवस्था बहुगुटीय र बहुगुटीय व्यवस्था बहुगिरोहीय भएपछि मात्रै लोकतन्त्रले लय समात्छ। जसरी अर्थतन्त्रलाई चलायमान बनाउन मुद्राको भूमिका अहम् हुन्छ त्यसैगरी हाम्रो लोकतन्त्रलाई चलायमान बनाउन गुट, उपगुट र गिरोहको भूमिका अहम् रहँदै आएको छ। चानचुने लोकतन्त्रको अनुभव होइन यो। `विश्वको सबैभन्दा अग्लो लोकतन्त्र´को अनुभव हो।
त्यसैले हाम्रा ठूला, पुराना र राजसी दलको त कुरै भएन। साना र नवजात दलमा पनि अनेकौं गुटहरू अस्तित्वरत छन्। गुटभित्र उपगुट छन्। उपगुटभित्र गिरोह छन्। तब न हाम्रो लोकतन्त्रको सन्तुलित विकास र समुन्नति भएको छ।
कहिलेकाहीं त गुटका अघि दलका परमाधिपतिको पनि इज्जत-लूट हुन्छ। केही चल्दैन उनको। त्यति मात्रै होइन कुनै बेला त गुटको पनि होइन उपगुटको पनि होइन गुटभित्रका गिरोहको हालीमुहाली चल्छ।
राष्ट्रहितको जबर्जस्त मुद्दामा पनि गिरोहका अघि निरीह हुन्छन् दलपति अनि हिरो हुन्छ्न् गिरोहपति। अघिल्लो दिन एकथोक बोल्छन् बिचरा दलपति! तर भोलिपल्ट देखाउँछन् त्यसको विपरीत मति। यसलाई हाम्रो बहुगुटीय लोकतन्त्रको सुन्दर र विशिष्ट पक्ष भनौं।
बृहत् नेपाली शब्दकोशका अनुसार- खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो जमातलाई गुट भनिन्छ। अर्थात् ठूलो संगठनमा मतभेद बढ्दै जाँदा तयार भएको अलग समूहलाई गुट भनिन्छ।
यस हिसाबले वैधानिक दलभित्रको अवैधानिक दललाई गुट भन्दा फरक नपर्ला। `दलभित्रका दल´ अर्थात् गुटलाई राज्य, निर्वाचन आयोग र सम्बन्धित दलको विधानले नचिने पनि कम्तीमा शब्दकोशले चिनेको रहेछ। गुटतन्त्रका गन्यमान्यहरूलाई एक थान बधाई दिंदै दिलोज्यान दिएर भनौं-गुटतन्त्र जिन्दावाद!
किन जिन्दावाद? किनभने पहिलो कुरा, गुट चलाएपछि दर्शन सिद्धान्तको बोझबाट मुक्ति पाइन्छ। `फिफ्टी फिफ्टी´ वा `फोर्टी-सिक्स्टी´को आकर्षक भागबन्डीय सिद्धान्त छोडेर अरू बोझिला सिद्धान्त वा दर्शनको भारी किन बोक्ने? मुख्य कुरा त कुनै दर्शन र सिद्धान्तमा आधारित भएर सत्ता राजनीतिका उस्ताद हाम्रा दलमा गुट जन्मेको उदाहरण नै भेटिंदैन।
माउदलमा सिद्धान्तको समापन र दर्शनको दफन भएपछि सो दलका सिद्धान्तहीन, दर्शनहीन र विचारविहीन मनुवाहरूले आफू र आफ्ना आसेपासेको निहित स्वार्थपूर्ति र अस्तित्वरक्षाको लागि गुट जन्माउँछन्। त्यसलाई हुर्काउँछन्। फुलाउँछन् र फलाउँछन्। त्यसमा बिचौलिया र घिचौलियाको प्रवेश भएपछि गुट हुर्कन, बढ्न, फल्न र फुल्नमा बिरूवामा रासायनिक मलको जस्तो काम गर्छ।
फेरि प्रजातन्त्रको पुनर्स्थापनापछिको कालखण्डको अध्ययन गर्ने हो भने दर्शन र सिद्धान्त जस्ता कुराहरू हाम्रो राजनीतिमा एकदमै बोझिला र विराना हुँदै गएका छन्। माउदलले नै बोक्न छोडिसकेको यसको बोझ गुटले किन बोक्थ्यो र! यस्तो भारी बोकेर न सत्तायात्रा संभव छ, न शक्ति यात्रा! नेपालमा राजनीति केका लागि गर्ने? यही सत्ता र शक्तिका लागि होइन? देश र जनता अनि दर्शन र सिद्धान्तका लागि त पक्कै होइन। त्यसैले भनौं- गुटतन्त्र जिन्दावाद !
दोस्रो कुरा, गुट व्यवस्थापन गर्न सजिलो हुन्छ। पार्टी जस्तो अस्तव्यस्त र अस्वस्थ हुँदैन गुट। यो चुस्त हुन्छ। दुरुस्त हुन्छ। मस्त हुन्छ। प्रष्ट हुन्छ। गिरोह योभन्दा झन् चुस्त हुन्छ। संसद् वा त्यहाँका समितिका बैठकमा हेर्नुस्- गणपूरक संख्या नै पुग्दैन। पार्टीको औपचारिक बैठक हेर्नुस् त्यस्तै।
अर्कोतिर गुटभेला डाक्नुस् र उपस्थितिको रेकर्ड राख्नुस्। तपाईं चित् खानुहुनेछ। सिङ्गो पार्टीको लागि चन्दा माग्नुस् अनि गुटको लागि माग्नुस्। त्यसपछि तुलना गर्नुस्। गुटको महत्व त्यतिखेर छर्लङ्ग हुनेछ।
तेस्रो कुरा, गुटको जगमा बनेको अमूक नेता भोलि पार्टीको परमाधिपति हुँदा उसले गर्ने निर्णय र गतिविधिमा देशको हित होइन गुटको हित सर्वोपरि हुन्छ। यसलाई नकारात्मक रूपमा नलिउँ। गुटतन्त्रप्रति हिरिक्क राजनीतिकर्मी र तिनका अनुयायीको कोणबाट हेरौं त! कति लाभकारी छ यो तर्क!
यसर्थ देशको हित सोच्ने विराट उल्झनबाट उसलाई उन्मुक्ति मिल्छ। गुटतन्त्रको यो अकाट्य लाभ हो। गुटतान्त्रिक अभ्यासबाट माथि उठेका गुट व्यवसायीहरू भोलि पार्टीकै मूल नेतृत्व हुँदै एकमना सरकारको नेतृत्व गर्दै देशकै कार्यकारी भए पनि तिनले खास ठूलो कुरो केही गरिरहनुपर्दैन।
किनभने उसको गुटका बाहेक आम जनताले ऊबाट राष्ट्रहितका बडे–बडे कुरा अपेक्षा गरेका नै हुँदैनन्। त्यसैले उसले जनताको होइन गुटको समृद्धि गरे पुग्छ। `गुटका अघि देश झुट´ भन्ने कुरा मनन् गरे पुग्छ। जनअपेक्षा नै थोरै भएपछि उसलाई काम गर्न दबाब नै पर्दैन। यो उसको लागि डिस्काउन्ट हो।
यो डिस्काउन्ट उसको लागि ठूलो अवसर हो जुन अवसर गुटविहीन नेताले पाउँदैनन्। यो अवस्थामा राष्ट्रहितमा काम गरे पनि भो नगरे पनि भो। त्यसैले त सत्ता र शक्तिमा पुगेपछि जिम्मेवारीबोध नभएर होला ती उन्मत्त हुन्छन्। बिन्दास हुन्छन् र गर्ने नगर्ने सारा काम गर्दै देश र जनतामाथि निर्मम ठट्टा गर्छन्। रमाइलो गर्छन्। मनोरञ्जन गर्छन्। तिनको मनोरञ्जनात्मक चेतको लागि चिच्याएर भनौं- गुटतन्त्र जिन्दावाद!
चौथो कुरा, `सानो नै राम्रो´ भन्ने सिद्धान्त गुटतन्त्रको लागि दुरुस्त फिट हुन्छ। त्यसो भए सानो दल खोलेर राजनीति गरे हुन्न? भन्नुहोला। तर गुटगिरीका अघि राजनीति अत्यन्त कठिन काम हो। बृहत् काम हो। महान् काम हो। अर्कोतिर राजनीति गर्न कडा मिहिनेत, त्याग, तपस्या, निष्ठा थुप्रै कुराहरूको आवश्यकता पर्छ। सजिलो काम छोडी गाह्रो काम किन गर्ने?
त्यसमाथि सानो दल खोलेर त्यसको परमाधिपति हुनुभन्दा ‘लो प्रोफाइल’ मै रहेर भए पनि ठूलो र राजसी दलमा बसेर गुट चलाउनु बढी फाइदाजनक छ। यही कुरालाई नेपाली जनताले नै चुनाव मार्फत पटक–पटक पुष्टि नै गरिसकेका छन्, होइन र? यदि नेपाली जनताले त्यो पुष्टि नगरेका भए वामदेव गौतमको दल संसद्मा सम्मानजनक सीटका साथ अझै अस्तित्वमा रहने थियो। यसरी जनताले नै गुटतन्त्रलाई अनुमोदन गरिसकेपछि तपाईं हामी पनि एकस्वरले भनौं- गुटतन्त्र जिन्दावाद!
पाँचौं कुरा, गुट चलाउँदा वैधानिकताको झन्झटबाट मुक्ति मिल्छ। गुट गिरोह बनाउन दल बनाउन जस्तो झन्झट हुँदैन। हस्ताक्षर संकलन गरेर निर्वाचन आयोग गएर मेरो फलानो गुट मेरो ढिस्कानो गिरोह दर्ता गरिपाउँ भनेर कसैले निवेदन हालेको सुन्नुभएको छ? जस–अपजसको सारा भारी माउदलले बोक्छ। चुनाव चिह्नले बोक्छ। झण्डाले नै बोक्छ। यदाकदा दर्शन सिद्धान्तले पनि बोक्छ। जीवित वा मृत त्यागी, सादगी र दार्शनिक संस्थापक नेताहरूले पनि बोक्छन्। गुट त केवल दलको फलमा हावी हुने हो। हिस्सा दाबी गर्ने हो।
न क्रान्ति, न आन्दोलन, न जनता, न निर्वाचन आयोग कसैले पनि गुटलाई चिन्दैन। गुट गिरोहलाई चिन्छ त केवल यसले निर्धारण गरेको निहित उद्देश्य, यसका जन्मदाता र सञ्चालकले मात्र। कुनै क्रान्ति गर्ने, आन्दोलन गर्ने र समाज वा राष्ट्र रूपान्तरणको बृहत् खाका कोर्ने ल्याकत गुट गिरोहसँग पटक्कै हुँदैन।
यसको अधिकतम लक्ष्य भनेको पार्टी कब्जा गर्ने अनि त्यसै मार्फत सत्ता कब्जा गर्ने र आफ्ना अनन्य भक्तहरूलाई राज्यका उच्च ओहोदामा विराजमान गराउँदै राज्यका मेगा प्रोजेक्टका ठेक्कापट्टा हातलागीको सुनिश्चितता मात्र हो। गुटतन्त्रमा रमाउनेहरूको न लय सुरिलो हुन्छ न हृदय फराकिलो हुन्छ।
हरदम गुट विघटन होला कि भन्ने संशयले तिनको राजनीतिक जीवनलाई दिशानिर्देश गरिरहेको हुन्छ। विशाल दलको अधिपति बन्दा पनि ती गुटभन्दा माथि उठ्नै सक्दैनन् चाहे पार्टी नै किन नसकियोस्। वा आफैं नै किन नसकिउन्। किनभने ती लघुताभासले लैस हुन्छन्।
त्यसैले त तिनका लागि एउटा सानो सामुदायिक विद्यालय वा सामुदायिक वन समिति पनि विशाल भइदिन्छ। अनि सो विद्यालय वा वन समितिको चुनावमा समेत ती नाङ्गेझार भएर मैदानमा यसरी उत्रिन्छन् कि मानौं सिङ्गो देश नै सोही स्कूल हो, सोही वन समिति हो।
गुटतन्त्रको अभ्यास मार्फत स्थापित भएकाहरू कथम् पार्टीको परमाधिपति भए भने तिनले समग्र पार्टीलाई आफ्नै गुटको मियोमा घुमाउन खोज्छन्। नघुमे ती आफैं पार्टी फोड्न अग्रसर हुन्छन् र अन्त्यमा फुटाएरै छाड्छन् र अपजस अर्कोलाई बोकाउँदै आफू पानीमाथिको ओभानो बन्छन्।
दलीय राजनीतिको इतिहासमा सामान्यत: एउटा पार्टी एक पटक फुट्दा दुइटा चोइटासम्म भएको सुनिएकै हो। तर एउटा पार्टी फुटेर एकैपटक चारवटा चोइटा भएको विश्व इतिहासको दुर्लभ रेकर्ड पनि हाम्रै गुटतन्त्रमा छ। संसारको सर्वोच्च शिखरको देशमा भएको गुटतन्त्रको कारणले भन्दा पनि यो कारणले चाहिं हाम्रो गुटतन्त्रलाई `संसारको सबैभन्दा अग्लो गुटतन्त्र´ भन्नु उचित हुन्छ। त्यसैले जोशका साथ भनौं- गुटतन्त्र जिन्दावाद!
छैटौं कुरा, हरेक दलमा गुटतन्त्रको हालीमुहाली छ र देश लोकतन्त्र होइन दलतन्त्र पनि होइन गुटतन्त्रबाट सञ्चालित छ। यसरी हाम्रो लोकतन्त्रको सामान्यीकरण होइन विशिष्टीकरण भएको छ। गुटतन्त्र अझै उत्कर्षमा पुग्यो भने हाम्रो लोकतन्त्र थप विशिष्टीकृत भई गिरोहतन्त्रबाट सञ्चालित हुनेछ। यसलाई हाम्रो लोकतन्त्रको मौलिक उत्कर्ष भन्नुपर्छ। यस्तो मौलिक उत्कर्षको सर्जक गुटतन्त्रको जयजयकार गर्दै भनौं- गुटतन्त्र जिन्दावाद!
सातौं, बरू सर्पलाई भ्यागुता खान सिकाउनु पर्ला, गुटतन्त्रमा अभ्यस्त नेतालाई भागबन्डा माग्न, अत्तो थाप्न सिकाउनै पर्दैन।`देशको भन्दा दलको; दलको भन्दा गुटको´ हित चिताउन सिकाउनै पर्दैन। `देश रहे दल रहन्छ अनि दल रहे गुट´ भन्ने सामान्य चेत पनि निलम्बन गरेर ती गुट व्यवसायमा होमिएका हुन्छन्।
सौदेवाजीका एक से एक सिद्धान्तहरू प्रतिपादन गरेका हुन्छन्। फिफ्टी-फिफ्टी, साठी-चालीस, सत्तरी-तीस केही प्रख्यात मोडलहरू हुन्। भागबन्डाको यो प्रारूपलाई कहिले महिला सशक्तीकरणको लेप लगाउँछन् त कहिले अपाङ्ग समावेशिताको। कहिले नामुद पहिचानवादी बन्दै मधेशी, आदिवासी, जनजाति हेपिए भन्छन् त कहिले कर्णाली खै त? भन्छन्। कहिले पार्टीको अस्तित्वरक्षाको भजन गाउँछन्। यदाकदा सिद्धान्त र दर्शनको जलप पनि लगाउँछन्।
समाजवाद सिकाउँछन्। मार्क्सवादको महिमा गाउँछन्। त्यति मात्रै हो र! बीपीलाई सम्झिन्छन्। किशुनजीको तारीफ गर्छन्। पुष्पलालका उद्धरण कोट गर्छन्। मदनलाई आह्वान गर्छन्। मनमोहनको मान राख्छन्। तर इतिहास पल्टाएर यसो हेर्ने हो भने माथि उल्लिखित सबै नेता गुटतन्त्रको निर्मम शिकार भएर पार्टी नै छोडेको वा घोर अपमानित भएर विष पिउँदै पार्टीमा बसेको तथ्य भेटिन्छ।
कुनै सन्धि पास गर्ने कि नगर्ने भन्ने मतदानमा ‘तपाईं बिरामी हुनुहुन्छ त्यसैले तपाईंले भोट हाल्न मिल्दैन’ भन्दै पार्टीको सुप्रिमोलाई समेत मतदानबाट वञ्चित गराउँदै उनको भोट अर्कैलाई हाल्न लगाएर गुटतन्त्रले आफू अनुकूलको नतिजा निकालेको इतिहास साक्षी छ। ती सुप्रिमोले आफ्नो विपक्षमा भोट दिन्छन् भन्ने भलिभाँती थाहा भएर गुटतन्त्रले यस्तो अभ्यास गरेको थियो। यो गुटतन्त्रको अर्को चरमोत्कर्ष हो। यो चरमोत्कर्षको लागि एक लाइक दिंदै तीन बित्ता उफ्रिंदै भनौं- गुटतन्त्र जिन्दावाद!
जो गुटतन्त्रको निर्मम शिकार भयो वा जो गुटतन्त्रलाई हृदयदेखि नै घृणा गर्थ्यो तीनै सम्मानित नेताका नाममा खुलेका अनेकानेक फाउण्डेशन र सामाजिक भनिएका तर शुद्ध राजनीतिक संघ–संस्थाहरू गुटतन्त्रका धारिला औजार बन्दै आएका छन्। नेपालको गुटतान्त्रिक इतिहासमा यो पनि एउटा रेकर्ड गर्न लायक उपलब्धि हो।
यस्ता गुटतान्त्रिक औजारको प्रयोगबाट उठेका नेता भोलि सिङ्गो दलको दलाधिपति भए भने गुटतन्त्रको सबसे ठूलो दुश्मन भएर निस्किन्छन् र भन्छन्-`कुनै अमूक शक्तिले पार्टी कब्जा गर्न लागेको विशिष्ट परिस्थितिमा गुट चलाइएको थियो। तर अब हाम्रो पार्टीमा गुट चल्दैन।´ ती जति नै गुटतन्त्रका विरोधी भए पनि तिनले आफैंले रोपेको वृक्ष उम्रिन, फल्न र फुल्न किन छाड्थ्यो र!
आठौं, दलमा गुट छन् गुटभित्र उपगुट अनि गिरोह छन् र पो खोचे थाप्नु भन्ने शब्द विलाउन पाएको छैन। मूल नेतृत्वले जे भन्छ त्यसको उल्टो भन्नू; जे गर्छ त्यसको उल्टो गर्नू यिनको चारित्रिक विशेषता हो। मूल नेतृत्व पूर्व हिंडे गुटाधिपति पश्चिम हिंड्नु, माउदलले आकाशतिर हेरे गुटाधिपतिले पातालतिर चियाउनु तिनको नियति हो। बात बातमा खोचे थाप्नु र हात–हातमा भागबन्डा लिनु यिनको अस्तित्वरक्षाको अखण्ड उपाय हो।
सबैभन्दा अचम्मको कुरा- आफूले गुट चलाउँदा गुटपतिले जे जे कुराको विरोध गरेका थिए भोलि सोही गुटपति सिङ्गो पार्टीको पार्टीपति भए भने आफूले विरोध गरेका तिनै कुराहरू निर्लज्ज दोहोर्याउनु गुटतन्त्रको विचित्रको विरोधाभास हो।
यही विरोधाभासले गुटतन्त्रलाई अजेय राखेको छ। प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उन्नयनको लागि बहुदल जति अपरिहार्य छ त्यति नै अपरिहार्य बहुगुट भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ। रूख जतिकै शाश्वत छ। हँसिया जत्तिकै धारिलो छ। हथौडा जत्तिकै शक्तिशाली छ। त्यसैले जोडतोडका साथ एकैस्वरमा भनौं- गुटतन्त्र जिन्दावाद!
र अन्त्यमा, गुटाधिपतिका अनेकानेक हर्कतको अनुमोदनको लागि गुटको छुट अपरिहार्य छ। लोकतन्त्रलाई दलतन्त्र हुँदै गुटतन्त्र र अन्त्यमा गिरोहतन्त्रमा विलीन गराउन गुटको भूमिका अटुट भएकोले देशै गुञ्जायमान बनाउँदै भनौं- गुटतन्त्र जिन्दावाद !
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4