+
+

नक्कली नोट कारोबारको आरोपमा ललितपुरबाट ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १८:१८

४ चैत, काठमाडौं । नक्कली नोट कारोबार गरेको आरोपमा ललितपुरबाट तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलका ३७ वर्षीय करण प्रधान, काभ्रेको मन्डनदेउपुर नगरपालिका–११ घर भएका सञ्जय अधिकारी र काभ्रेकै बेथानचोक गाउँपालिका–३ घर भएका २५ वर्षीय सबिन हुमागाईंलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए ।

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले १ चैतमा गोदावरीमा हिँडिरहेको अवस्थामा करण पक्राउ गरेको थियो । उनको साथबाट १ हजार दरका २० थान नक्कली नोट, १ हजार दरकै सक्कली नोट १२ थान, अमेरिकन ५ डलरको नोट २ थान, अमेरिकी १ डलरको नोट ३ थान र आइफोन बरामद गरेको थियो ।

त्यसैगरी सञ्जयको साथबाट १ हजार दरका ११५ थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । एमएम मोबाइलका सञ्चालक सबिनको मोबाइल पसलबाट पनि नक्कली नोट बरामद गरिएको एसएसपी खनालले बताए । उनको पसलबाट १ हजार दरका ६९ थान नक्कली नोट र ५ सय दरका १ थान नक्कली नोट बरामद भएको थियो ।

नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर, ल्यापटप, नक्कली नोट छाप्ने सादा पेपर ४ सय पिस पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?