+
+
भक्तराज आचार्यको सम्झनामा :

नेपथ्यमा बजिरहेछ मुरली

रोशन अधिकारी रोशन अधिकारी
२०८० चैत ६ गते १८:१६

‘अनन्तदेखि बगिरहेको जीवनमा अमृत समान

उनै प्रभुको चिन्तनले नै मिल्दछ पुण्य महान्’

ईश्वरलाई सम्झिएर कथा सुरु गर्दैछु । तर यो ईश्वरको कथा होइन । हामीले ईश्वर मात्र सम्झिराख्यौं, भक्तराज आचार्य जहिल्यै ओझेलमा परिरहे ।

सबै ठिकै नै थियो | फ़ेरि किन जन्मिनुपर्‍यो वर्षौंअघि धनकुटामा आचार्यको घर एक छोरा ? उनी जन्मिनुअघि कहाँ थिए ? अहिले किन आए ? राम, श्याम, विष्णु, दुर्गेहरु जबकि पहिल्यै यहाँ छँदैछन्, किन खाँचो पर्‍यो संसारलाई भक्तको ?

सोच्दै थिएँ, अचानक एक धुन सुनियो |

नेपथ्यमा ‘बजिरहेछ बाँसुरी’ | अनि पो बल्ल बुझें |

जब राम यहीं छन्, श्याम यहीं छन्, भक्त पनि त यहीं चाहियो |

कालान्तरमा अनन्तदेखि अमृत समान बगिरहेको सृष्टि अनि हाम्रो भक्तको जीवनसँगै इन्द्रावती जस्तो अविरल बगिरहन्छ । बग्ने क्रममा किनारको बहानामा कहिले धनकुटाका पाखा पखेरा त कहिले कालेबुङका डाँडाकाँडामा बाफिलो सुस्केरा हाल्छन् भक्तका ओठहरु | कुनै एक साँझ टिष्टाको किनारमा उभिंदा उनको पैतालालाई बागमतीको पानी छोएको भावानुभूति भएर हुन सक्छ, कालेबुङ टु काठमाडौं बगेका हाम्रा भक्त, झ्वाम्म मिसिन पुगे संगीतको महासागरमा, हजार सपनाहरु बोकेर |

र, यसरी आइपुगेका थिए एक भक्त, मन्दिरहरुको सहर | उनलाई आउनु नै त थियो | यही हुनलाई त ऊ जन्मिएका थिए | यहीं हुनलाई त ऊ जन्मिएका थिए | उनको आगमनसँगै कान्तिपुरका ईश्वरहरु टुहुरा हुनबाट जोगिएका थिए | जहाँ छन् बुद्धका दुई आँखा, त्यही कान्तिपुरको तेस्रो आँखामा विराजमान पशुपतिनाथ पनि अति प्रसन्न भए रे, एक भक्तको आगमनले | तत्काल भेट वार्तालापका लागि डाकी पठाई हालेछन् | उता भक्त पनि व्याकुल भई सोधिहालेछन्,

‘भगवान् दर्शन कसरी पाऊँ ?’

दुवैलाई एकअर्काको दर्शन गर्न तीव्र इच्छा तर समयलाई अरु केही इच्छा हुँदो भइगएछ | भक्तले सोचे, ईश्वरले उनलाई वास्ता गरेनन् | अब अहिले जस्तो हुँदो हो त, कोटेश्वरको जाममा फ़से होलान् सोच्न सक्थे |

 

साक्षात् दर्शन नपाएपछि, भक्त तल्लीन भए फ़ेरि आफ़्नै दुनियाँमा | यसमा उनलाई साथ दिन, हजार आँखाले हेर्ने उनकी मायालु साँझ बनी डोली चढी आएकी थिइन् उनको जिन्दगीमा | त्यस उपरान्त दुवै मिलेर जीवनमा रंगहरु पोत्दै जाँदा भए |

भक्तले रेडियोमार्फत हराएको ईश्वर खोजिरहे |

रेडियोमा बजिरहन्थ्यो बाँसुरी |

भक्तराज बाँसुरीको धुनमा आफ़्नो कर्म गरिरहे | असल कर्म, सत्कर्म । सत्कर्म गर्नेले ईश्वर भेटोस् नभेटोस्, उसले पक्कै दर्शन पाउँछ एक सत्य-स्वरुप |

सत्य-स्वरुपको दर्शनसँगै उनि एक सफल गृहस्थी जीवनको सोपानहरु चढ्दै थिए | उनका हजार सपनाहरुमध्ये केही थान सपनाहरु यसरी पूरा हुँदै जान लेखिएको थियो ।

उनी बिस्तारै आफ्नै दुनियाँमा मग्न भइरहेका थिए | अब न भक्त ईश्वरको खोजीमा थिए, न त ईश्वरले भक्तलाई सम्झिरहेका थिए | दुवै आ-आफ्नो स्व-अर्थमा तल्लीन भइगएछन् | मान्छे जब खुसी हुन्छ तब उसले ईश्वर भुल्दछ, तर यसको अर्थ यो होइन कि जब उसले ईश्वर भुल्छ ऊ खुसी हुन्छ | मान्छे जति खुसी भए पनि सधैं खुसी भइरहन सक्दैन, किनकि उसलाई उसको अस्तित्वको सार थाहा छैन ।

ऊ को हो, कहाँ बाट आयो, र कहाँ जाँदैछ ? यसको अज्ञानतामा मान्छे सधैं सिसिफसले चट्टान गुड्काए जस्तो मनभरि अन्धकार बोकेर उज्यालो हाँसेको नाटक गरिरहन्छ । होला, सिसिफस मस्ट बी ह्याप्पी । तर भक्त वाज नट । भक्तसँग हजार सपना र लाखौं प्रश्नहरुको पोको जो थियो ।

उनी आफ्नो नित्य कर्म त गर्थे तर सँगै मनमा सवाल पनि खडा हुन्थ्यो, ‘…कि कसरी शान्ति मिल्छ ?’

उनी ईश्वरलाई अन्धाधुन्ध पुकार्नेवालाहरुमध्येका थिएनन, बरु प्रतिपल प्रश्नहरुको चाङ तेर्स्याइरहेका थिए,

‘कति लिन्छौ परीक्षा मेरो भगवान् ?’

अनुत्तरित प्रश्नहरुको जन्जालमा उनको मुटु जलिरहेको थियो, बिस्तारै बिस्तारै मन गलिरहेको थियो | उनले वर्षौं खर्चिनुपर्‍यो । जम्मा यति बुझ्न कि प्रभु त प्रेमको पो भोको रहेछ | भक्तले सोचे, ‘ओहो कहाँ भौंतारिरहेको यतिन्जेल म | बरु अब प्रेमको खोजी गर्छु |’ उनी अब ईश्वर छोडेर त्यही प्रेमको खोजीमा लागे | मान्छेको जीवन भन्नु नै एकपछि अर्को खोजको खेल रहेछ |

हजार आँखा हेर्ने भक्तकी मायालुलाई पनि भक्तको यो प्रेमको भोक महसुस भइरहेको थियो होला | भक्तले प्रेममा साधना गरे, गरिरहे | उनको साधनाकै वरदान भए उनका अजर गीतहरु | मानौं मनमोहन मुरलीवाला एकसुरले बजाइरहेछ कतै |

नेपथ्यमा बजिरहेछ मुरली |

तर भक्त प्रेमबाट पनि अघाए | प्रेमको बाटोमा हिंड्दा पनि उनका अनुत्तरित पोकाहरुका गाँठा अझै उस्तै थिए, बरु झन् झन् कसिंदै गएको उनलाई महसुस हुन थाल्यो | उनी प्रेमबाट विरक्तिए |

आखिर भक्त पनि त एक मानिस न थिए, कतै अरुजस्तै भक्तको प्रेम पनि मोहमा रुपान्तरण त भइदिएन ? कतै धन, जन, मदले भुलाई त दिएन हाम्रो भक्तलाई ? कतै यो प्रेमको खोज वासना झैं अतृप्त त थिएन ? उनी खै कसरी कसरी जेलिए, हराए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?