+
+
कथा  :

एक साँप्रो भँगेराको

जयाको ह्वाट्सएप कल आयो। फोन घुर्रघुर्र बजिरह्यो। म उसको ह्वाट्सएप प्रोफाइल फोटोमा केहीबेर टोलाइरहें। हेरें, उसको प्रोफाइलमा एक सुन्दर भँगेरा स्याउको डालीमा टुक्रुक्क बसेको छ।

सुरेश राई सुरेश राई
२०८० चैत ७ गते ८:१५

केही दिनदेखि देखिरहेछु एउटा चराको खुट्टा जस्तो देखिने सानो कुनै वस्तु पार्किङ लटको एकछेउ त्यसै परिरहेको छ। आजभोलि अपार्टमेन्टको बसाइ त्यसै पनि झिजो लाग्न थालेको छ। त्यसमाथि ज-जसले जे–जे काम जिम्मा लिएका छन् ठिक ढंगले गर्दैनन्। नत्र भने भुइँ बढार्ने जिम्मा लिएकाहरूले यत्तिका दिनसम्म त्यो वस्तु किन मिल्काएनन् हँ ? मेरै दिमाग तताउनलाई नै हो झैं गरेर किन कोही सफाइ गर्दैन यो साझा प्रांगणको

मोटरसाइकल चालु गरिराखेर त्यो वस्तु के रहेछ भनी नजिक गएर नियालेर हेर्न थालें। त्यो एउटा चराको सम्पूर्ण साँप्रा थियो। त्यसको पञ्जा कुप्रिएको थियो। घामले सुक्दै गएर कालो हुने क्रममा थियो। खैरो टाटे–पांग्रे भुत्लाको रंगले त्यो साँप्रो भँगेराकै थियो भनेर चिन्न कुनै मुस्किल थिएन। 

त्यसै पनि साँझ–बिहान चिर्र–चिर्र गरेर म घरदेखि अफिस अथवा अफिसदेखि घर फर्कंदा अशान्ति फैलाउने यी डिस्टर्बिलोभँगेराहरूलाई म कसरी नचिनुँला ? मनमनै भनें आई हेट् स्प्यारोज् 

त्यो एक भँगेराको साँप्रो थियो त्यसैले त्यो घटना कुनै विशेष थिएन। एकमनले त्यो कुनै मान्छेको काटी फालिएको सिङ्गै खुट्टा हुँदो हो त के हुन्थ्यो होला भनेर सोचें। आङ जिरिङ्ग भो, टाउको चिसो भएर फुलियो। 

त्यो एक सानो चराको शरीरको हिस्सा थियो त्यसैले हरेकको नजरमा बेकारको किस्सा थियो। त्यसैले त यत्रो दिनसम्म कसैले त्यसलाई फ्याँक्ने जाँगर समेत देखाएन। अन्त्यमा जुत्ताको चुच्चोले त्यसलाई अझै कुनातिर ठेलिराखेर म अफिसतिर हुँइकिएँ।

केही छिनपछि म मूल सडकमा गुडिरहेको थिएँ। कसो भएर हो कुन्नि आज जाम थिएन। खुल्ला सडक देखेर मन एक तमासले रमायो र मोटरसाइकलमा बत्तिंदै त्यसै त्यसै गुनगुनाएँ, कुरा गर्छन् कसरी भँगेरा र भँगेरी। चुरचुर गर्छ भँगेरो चिरचिर गर्छे भँगेरी।‘ 

अनायासै आज यो कविता सम्झिन पुग्दा आफैं अचम्ममा परें। यो कसले लेखेको हो ? स्कुले दिनको सम्झना आयो। लेखनाथ पौड्यालले ? हैन, हैन लक्ष्मीप्रसाद देवकोटाले पो हो क्यारे ! हैन हैन माधवप्रसाद घिमिरेले चैं पक्कै हो।

एक पललाई लाग्यो सबै मीठा समयहरू, सबै सानदार उमेरहरू छुटिगए केवल करिअर करिअर भनेर। 

जतिजति म अफिसतिर गुड्दै थिएँ उतिउति एउटा अनौठो कौतूहल मेरो मगजमा खेल्न थाल्यो। त्यो भँगेरालाई आखिर के भएको थियो होला ? त्यो साँप्रोको जुन आकार र प्रकार थियो त्यो पक्कै हुर्केर भर्खर उड्न थालेको एक किशोरावस्थाको भँगेराको हुनुपर्छ। त्यो कुनै ठूलो भँगेराको साँप्रो हुँदै हैन। तुलनात्मक रूपले त्यो सानो छ। 

के ऊ माउ भँगेरा भँगेरीसँग झगडा गरेर गुँड छोडेर भागेको थियो ? के ऊ बाटो हराएर भड्केको थियो ? उसको नाम पनि त थियो होला! थियो भने के थियो ? मैले मनमनै उसको नाम राखिदिएँ- पिकू। बलिउड फिल्म पिकूबाट मैले त्यो नाम टिपेको थिएँ। 

खासमा पिकूलाई के भएको थियो ? कल्पना झांगिंदै गयो। मुनि सडकमा मोटरसाइकलका दुई चक्काहरू घुम्दैथिए। माथि मेरो मगजमा पनि कल्पनाका थुप्रै चक्काहरू साथसाथै घुम्दैथिए, पुरानो युगको चलचित्रको रिल जस्तै।

००० ०००

बुवा सिउराज र आमा पदमाको सबैभन्दा प्यारो सन्तान थियो पिकू। हुनत एक मात्र सन्तान आमा–बुवाको लागि कहिल्यै पनि खास हुँदैन। सबै सन्तान बराबर हुन्छ। तर मरेर गइसकेको सन्तानहरूभन्दा आफूसँग जीवित रहेको सन्तान विशेष हुने नै भयो। सिउराज र पदमाका तीन सन्तानहरू भए जेठा लाला, माहिला पिकू र कान्छी धानाक्षी। तीमध्ये उनीहरूसँग केवल पिकू साथमा थियो।

सिउराज र पदमाको गुँड काठमाडौंको घना बस्तीबीच एउटा अपार्टमेन्टको भित्तामा सानो प्वालमा थियो। जहाँ उनीहरू सारै दु:खले बसेका थिए। उनीहरूलाई चील, बिरालो आदिको त्रास त सधैं हुने नै भयो तर यो शहरमा मान्छे जातिले दिएको कष्ट झनै दर्दनाक थियो।

००० ०००

लाला

पदमाले आँखा मिच्दै भनी छोरा ! अब तिमी उड्न प्रयास गर्नुपर्छ। तिमी थोरै समयले भए पनि यिनीहरूको दाजु हौ, जेठो हौ। तिमीहरूलाई चारो पुर्‍याउन एकदमै कठिन हुँदैछ। दिनभर तिमीहरूको बाउ र म भएर खोजेको चारोले हामी पाँच जनाको पेट भर्न गाह्रो छ। न कीराहरू धेरै पाइन्छन्, न अन्नको गेडा पाइन्छ। यो शहरमा केवल फोहोर मैला पाइन्छ।‘ 

लालाले फुर्कंदै भन्यो, आमा, भोलिदेखि म पनि उड्छु। हेर्नुस् त धुलो–धुवाँले तपाईंका आँखा राताराता भइसकेका छन्। तपाईं बिरामी भैसक्नुभो। भोलिदेखि म पनि चारो खोज्न निस्कन्छु र तपाईंलाई पालो दिनेछु।छोराको कुराले आमाको आत्मा रसायो। 

भोलिपल्ट भाइ र बहिनीको शुभकामना लिएर बुवा–आमा नभएको दिउँसोको समयमा लाला गुँडबाट निस्कियो। उसले घरैघर भएको यो शहरलाई एक पटक मजाले नियाल्यो र हिम्मत बटुलेर पखेटा फिंजाई हामफाल्यो। केही छिनमा ऊ हावामा कावा खाँदै थियो। जिन्दगीको आनन्द लिंदै थियो। त्यो दिन लालाले दुई पटक गरेर खानसम्म सकिने तर स्वादै नभएका केही रोटीका सडेका टुक्रा ओसार्‍यो। ऊ बेस्सरी खुसी थियो। भाइबैना पनि खुसी थिए। यो थाहा पाएर बेलुकी बुवा–आमा पनि खुसी भए। 

बुवा सिउराजले छोरोलाई सावधान गराउँदै भन्यो, पूर्वपश्चिम उड्नु, उत्तर पनि उड्नु तर दक्षिण दिशामा कहिल्यै नउड्नू नि! यो कुरा ध्यान दिनू। दक्षिण दिशामा एउटा ठूलो मायावी पर्खाल छ। त्यसले गर्दा ज्यानलाई खतरा छ। त्यो मायावी पर्खालबाट सधैं जोगिनू। दक्षिणतिर उड्दै नउड्नू।उसले बुवालाई हुन्छ त भन्यो तर त्यो मायावी पर्खाल कस्तो होला भनेर रातभर रोमाञ्चित भयो।

अर्को दिन बुवाआमा गुँडबाट निस्किसकेपछि लाला पनि दिउँसोतिर गुँड बाहिर निस्कियो। डिलबाट दक्षिणतिर हेर्‍यो, अहो कस्तो हरियाली बोटबिरुवा र फूलहरू!  लाला मोहित भयो। 

बुवाको चेतावनी भुलेर ऊ भएभरको शक्ति लगाएर उक्त बोटबिरुवा भएकोतिर बत्तियो। उडेको केही छिनमै ऊ एउटा अदृश्य पर्खालसँग यस्तरी ठोक्कियो कि उसको चुच्चो नराम्ररी भाँच्चियो। रन्थनिएर ऊ पत्थर जसरी भुइँमा खस्यो। उसको चुच्चोबाट रगत बगिरहेको थियो। भुइँमा बज्रेको लाला फुत्रुकफुत्रुक उफ्रन सकेन। चिर्चिर चिर्चिर कराउन पनि सकेन। यसरी उसको प्राण एकै झट्कामा ठोक्किएर खसेर उड्यो। 

उसको लास छेउमै ठिङ्ग उभिएको थियो। त्यही पन्ध्र तले अग्लो बिल्डिङ जसको सिसाको झ्यालमा ऊ भर्खरै ठोक्किन पुगेको थियो। त्यही बिल्डिङ जसको शिरपुछार एक पाटा पूरै आकर्षक सिसैसिसाको भित्ता थियो र जसभित्र धनाढ्य सौखिन शहरियाहरूले इन्डोर प्लान्टहरू रोपिराखेका थिए।

बेलुका सिउराज र पदमाले अबेरसम्म चिरबिर चिरबिर गर्दै आफ्नो जेठो छोरोलाई खोजे। रातिसम्म पनि छोरो नफर्के पछि र जति खोज्दा पनि नभेटिएपछि उनीहरूले कुरो बुझे छोरोलाई दक्षिणी मायावी पर्खालले खायो भनेर। मध्यराति अबेरसम्म त्यो साँघुरो गुँडमा चार अबोध प्राणीहरूको चिर्चिर चिर्चिर… क्रन्दन सुनिइरह्यो।

००० ०००

धानाक्षी 

पदमाले पारेको चार अन्डा मध्ये एउटा अन्डा पहिले नै बतासले उडाएर भुइँमा झारिदिएको थियो। त्यसपछि रहेका तीन मध्ये अन्तिम अन्डाबाट धानाक्षीको जन्म भएको थियो। आफ्नो तेस्रो सन्तान छोरी भएकोमा खुसी हुँदै सिउराजले नाम राखिदिए, मेरी छोरीको आँखा धानको गेडा जस्तै सुन्दर, खिरिलो र भरिलो छ त्यसैले यसको नाम धानाक्षी साँच्चिकै उसको आँखा सामान्य अरु छोरी भँगेरीहरूको भन्दा बाटुलो र सुन्दर थियो।

जेठा दाइको मृत्युपछि पिकू नराम्ररी तर्सेको थियो। उसले आफू कहिल्यै नउड्ने सोच राख्न थालेको थियो। आत्मविश्वास घटेर शून्य भएको थियो।

यसैबीच आफ्नो कान्छा दाइको स्थिति देखेर धानाक्षीले नै पहिले उड्ने निर्णय गरी। बुवाआमासँग दक्षिण दिशामा कहिल्यै नउड्ने प्रतिज्ञा पनि गरी। यसरी धानाक्षीको उडान सफलतापूर्वक सम्पन्न भयो। ऊ बेलाबेला आफ्नो कान्छा दाइलाई मीठो खानेकुरा ल्याएर पनि दिन्थी। एक माइल दुई माइल गर्दै धानाक्षी शहरको निक्कै टाढा टाढासम्म उड्न थालेकी थिई। थुप्रै साथीसङ्गी बनाएकी थिई। एक हूल भएर उनीहरू शहरका गल्ली गल्ली चहार्थे।

  एकदिनको कुरा हो। धानाक्षीको ठूलो समूह बेस्सरी थाकेको थियो। शहरको गर्मी, वायुमण्डलको धुलो–धुवाँ त्यसमाथि पिउने पानीको अभावले गर्दा उनीहरू भोकै र प्यासै केही बेर बिसाउँ भनेर एक तारहरूको विशाल लट्ठामा बसे। 

तारहरूको संख्या यति धेरै थियो कि गुजुल्टिएको भागभित्र गहिरिएर पस्दै जाँदा धानाक्षीले शीतल महसुस गर्दै गई। त्यति नै बेला धानाक्षीको खुट्टा एक प्लास्टिकको त्यान्द्रोमा अल्झन पुग्यो। बतासले उडाइ ल्याएर कतैबाट त्यो त्यान्द्रो तारमा बेरिएर अल्झिरहेको थियो। 

धानाक्षीले तत्कालै खतराको महसुस गरी र जोडले बल गरेर खुट्टा तानी। यसो गर्दा शरीरले सन्तुलन गुमायो र धानाक्षी तुर्लुङ्ग हावामा झुन्डिन पुगी। उसको दाहिने खुट्टा त्यान्द्रोले कसिएको थियो र धानाक्षी हावामा उल्टो झुन्डिरही। फट्फटाइरही चिर्चिर चिर्चिर गरिरही।

टेलिफोन र इन्टरनेटका काला तारहरूको जंजालमा अल्झिएकी धानाक्षी चिर्रचिर्र चिच्याइरही। अबोध भँगेराहरू हारगुहार गरिरहे। उनीहरूलाई यो दुनियाँमा मद्दत गर्न सक्ने शक्ति यो बेला केवल एक थियो। त्यो हो मानव शक्ति। तर त्यही शक्तिको ज्यादतीले गर्दा त आज धानाक्षी फस्न पुगेकी छे। त्यही शक्तिद्वारा उद्धारको आशा राख्नु

धानाक्षीलाई आमाको कुराको सम्झना आयो। एक दिन आमाले भनेकी थिइन्, ‘तिमीहरूलाई थाहा छ ? यी मान्छे भन्ने जातको कान हुँदैन नि !‘ 

अचम्म मानेका थिए बचेराहरू, हो र आमा ?’

हो नि! नत्र हेर त, यस्तो धेरै हल्लाखल्ला ट्याँट्याँ टुँ टुँ पनि कसरी नसुनेका त ! कसरी सहेका त यस्तो ध्वनिको यातना ? ‘ आमाको कुरा अनुसार मान्छे कान नभएको जाति थियो। धानाक्षीले आँट हारी र तुरुक्क आँसु खसाली। अब ऊ मर्न तयार थिई। 

थकित गलित धानाक्षी भोक–प्यास र थकान सहेर दुई दिनसम्म तारमा झुन्डिइरह्यो। अरु साथी भँगेरा भँगेरीहरू पनि विस्तारै विस्तारै उसलाई एक्लै छाड्दै गए। अन्तत: हावामा विलाएको कपुर जस्तै उसको प्राण किस्ता–किस्तामा हल्का हल्कामै उडेर गयो। 

उसको मृत शरीर जहाँ झुन्डिरहेको थियो ठीक त्यसको मुनितिर एक बस बिसौनी थियो। बसमा चढ्ने र ओर्लने मानिसहरूको होहल्लाबीच कसैले धानाक्षीको त्यो वियोगान्त मृत्यु देखेन। 

अब शहरको धुलो र धुवाँले उसको मृत शरीर छिट्टै पुरिनेछ र टाढाबाट हेर्दा सिर्फ एक कालो वस्तु झुन्डिरहेको झैं देखिनेछ।

००० ०००

पिकू

बहिनी धानाक्षीको त्यो दुर्दशा र दाजु लालाको दुर्घटनाले गर्दा पिकूको उड्ने हिम्मत सबै खत्तम भइसकेको थियो।

तर यो शहरमा चारोहरू पाउन मुश्किल पनि त थियो। बाउ–आमालाई धेरै दु:ख दिन पनि त मिलेन। त्यसै पनि आमाको आँखा सधैं पोल्छ, खोक्नु पनि हुन्छ। लाग्छ यो प्रदूषणले गर्दा आमा अब धेरै दिन बाँच्नुहुन्न। उमेर भन्दा बूढो र कमजोर हुँदै जानुभएको छ बुवा पनि। त्यसैले उसले चारोहरू खोज्न उड्ने चेष्टा गर्‍यो। 

आफू माथि नै शंका गर्दै ऊ विस्तारै गुँडबाट निस्कियो। अग्लो डिलबाट एक पटक यो कंक्रिटको जंगललाई नियाल्यो। त्यसपछि हिम्मत जुटाएर उत्तरपूर्वी दिशामा फुत्त हाम फाल्यो र पखेटाहरू फैलायो। 

अफशोच ऊ केही चिजमा ठोक्किन पुग्यो र यो शहरको माझमा कंक्रिटको जंगलमा ऊ सीधै सिमेन्ट ढलान गरेको भुइँमा भ्वाक्कै बजारियो। ऊ आधा घायल हुन पुग्यो। आधा होस् आधा बेहोसमा ऊ चिर्रचिर्र चिर्रचिर्र कराइरह्यो। 

कास! लडेको बखत कुनै झाडी या घाँसे मैदानमा थियो भने ऊ फेरि उठ्ने थियो। उठेर फेरि उड्ने थियो। तर कहाँ पाउनु यहाँ घाँसे मैदान ? कहाँ पाउनु झोरझाडी ? एकै पटकमा जिन्दगीको उडान सबैले कहाँ भर्न सक्छ र ? तर पिकूको निम्ति दोस्रो मौका नसिब भएन। 

यति नै बेला एउटा अचम्मैको दुर्लभ संयोग त्यहाँ घटित भयो। अर्धचेत पिकूमाथि एउटा बिरालोले आक्रमण गर्‍यो र ठीक त्यति नै बेला आकाशबाट एउटा चील पनि बाकटे हान्दै पिकू र बिरालो माथि झम्ट्यो। फेरि ठीक त्यति नै बेला त्यो पार्किङ ग्राउन्ड भएकोले कसैको स्कोरपियो कार पनि त्यहीं ठोक्किन आइपुग्यो। यो सब गन्जागोलबीच पिकूको शरीर यता र उता भएर च्यात्तियो। भुत्लाहरू यत्रतत्र छरिए। यसरी उसको इहलीला समाप्त हुनगयो।

००० ०००

म अफिस पुग्नु र कल्पनाको चलचित्र सिद्धिनु सँगै भयो। बाइक पार्क गरेर अफिस छिरें। ल्यापटप खोलें। खल्तीबाट मोबाइल झिकेर डेस्कमा राखें। जयाको तीन मिस्डकल आएको रहेछ। उसलाई भरे कल गर्छु है भनेर सन्देश पठाएँ। 

जया मलाई असाध्यै प्रेम गर्छिन्। उसको पूरा नाम जया हितान हो। ऊ पर्यावरणविद् र चराप्रेमी पनि हो। सायद हामी छिट्टै बिहे पनि गर्दैछौं। तीन वर्ष अगाडि उसैको करले एउटा कार्यक्रममा उसँगै जान बाध्य भएको थिएँ। त्यो विश्व भँगेरा दिवसको कार्यक्रम थियो। मार्च २० तारिखको दिन। जयाकै संगतले हो मैले चराहरूमा थोरै ध्यान दिन थालेको। नत्र भने त आफ्नै जिन्दगीसँग भिड्न कहाँ फुर्सद मिल्छ र!

अफिसमा आएको छु। काम गर्न तयार भएको छु। तर मलाई अशान्ति भो। पिकूको त्यो एक टुक्रा शरीर झल्झली दिमागमा घुमिरह्यो मानौं त्यसले मलाई बोलाइरहेछ र केही कुराको आश गरिरहेको छ। यो के भैरहेको हो मैले पटक्कै बुझिनँ। 

के यो कुनै प्रकारको ओसीडी (ओब्सेसिभ-कम्पल्सिभ डिस्अर्डर) हो ? अहँ, म ओसीडी भएको मान्छे हैन, हुँदै हैन। म जस्तो ल्याङ्फ्याङे, म जस्तो फुक्काफाल, म जस्तो हू केयर्समान्छेलाई कसरी ओसीडी

मनको वेग यस्तरी उर्लियो कि आफूलाई थाम्न नसक्ने स्थितिमा म पुगें। त्यसपछि अफिस–सफिस छोडेर मोबाइल बोकेर निस्किएँ।

तल गेट किपर दाइले ढोका खोल्दिनु भो र मैले बाइक निकालें। गेट किपर दाइलाई बोलाएर सोधें– तपाईंलाई थाहा छ दाइ ? एक पटक चीनमा सरकारले सम्पूर्ण भँगेराहरू मार्न लगायो। त्यसपछि कीरा फट्यांग्राहरूको आतंकले चीनभरि बालीनाली सखाप भयो। र ठूलो भोकमरी आयो।

दाइ जिल्ल परेर मलाई हेरिरहे, थाहा भएन त सर!म भने त्यहाँबाट हुइँकिएँ।

घर पुगेर मैले निकै व्यग्रताका साथ वरपर खोज्न थालें। पिकूको त्यो साँप्रा टिपें। वरपर खोज्दा उसको बाँकी शरीर पनि नीलकाँडा फूलको फेदमा लडिरहेको भेटें। स्टोर रुमबाट एउटा कुटो उठाएर ल्याएँ र धूपीको फेदमा खाल्डो खनें। 

एक पललाई लाग्यो हुनसक्छ ऊ यतिकै सुकेर सडेर सिद्धिन चाहन्थ्यो। हुनसक्छ उसलाई पानीमा बगेर कतै मिसिन मन थियो। अथवा ऊ आगोमा समाधिस्थ हुन चाहन्थ्यो। या ऊ कसैको आहार हुन रुचाउँथ्यो। 

यी मध्ये कुनै पनि नहुन सक्ने सम्भावना सबैभन्दा उच्च थियो किनिक ऊ एक भँगेरो थियो। म एक मान्छे हुँ। त्यो पनि मरेपछि गाड्ने परम्परा भएको जातिको हुँ। मैले आफूले लागेको गर्छु। म भँगेरा भएर कसरी सोच्न सक्छु

मैले पिकूको मृत शरीरलाई खाल्डोमा राखेर राम्ररी पुरिदिएँ। माटोलाई मायाले सम्याइदिएँ। विस्तारै विस्तारै मनको शान्ति पुनः स्थापित हुँदैथियो।

बेलुकीपख दुई पेग लगाउने सोच लिएर नजिकैको एक रेस्टुराँमा छिरें। दुई पेग त सोच मात्र थियो। त्यो कति पेगसम्म जान सक्थ्यो हेर्न बाँकी थियो। जयाको ह्वाट्सएप कल आयो। फोन घुर्रघुर्र बजिरह्यो। म उसको ह्वाट्सएप प्रोफाइल फोटोमा केहीबेर टोलाइरहें। हेरें, उसको प्रोफाइलमा एक सुन्दर भँगेरा स्याउको डालीमा टुक्रुक्क बसेको छ। 

उसको फोन नउठाई एकोहोरो त्यही भँगेराको फोटोलाई हेरिरहें। मलाई त्यो फोटो देखेर एक किसिमको अनौठो सन्तोषको अनुभूति भो। मानौं कि त्यो फोटोको भँगेरा उही पिकू हो। मानौं कि ऊ मलाई भन्दैछ- ‘अर्को कुनै एक जुनीमा तिमी पनि बेवारिसे भयौ भने म तिम्रो सद्गत गरुँला है सुरेश दाजै! धन्यवाद छ तिमीलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?